site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

‘अपहरण’, ‘म्याच फिक्सिङ’ वा ‘ब्ल्याकमेल’ के भएको भन्ने रहस्यमै भए पनि गण्डकी प्रदेश सभाका सदस्य खेमविक्रम शाही मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुँदा अनुपस्थित हुने तारतम्य पहिले नै मिलाइएको रहेछ । एकै दिनमा उही व्यक्तिको दुईपटक कोभिड-१९ को परीक्षण गराइएको रिपोर्टले यही प्रपञ्चको पोल खुल्छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्धको प्रस्तुत अविश्वास प्रस्तावमा बुधवार मतदान हुनुपर्ने थियो । तर, अविश्वासको प्रस्तावका पक्षमा रहेको जनमोर्चा नेपालका प्रदेश सभा सदस्य खिमविक्रम शाही मतदानकै बेला गायब भए । एक मत निर्णायक भएको प्रदेश सभामा शाही मतदानमा अनुपस्थित हुनेबित्तिकै अविश्वासको प्रस्ताव विफल हुने थियो । सभामुखले प्रदेश सभाकाे बैठकै स्थगित गरेर सरकारी रणनीति विफल बनाइदिए । 

जनतालाई सार्वभौम स्वीकार गर्न नसक्नेहरू जनप्रतिनिधिले बनाएको नेपालको संविधान, २०७२ विफल होस् भनी धूप हालेर बसेका छन् । विभिन्न रूप र अवतारका अधिनायकवाद समर्थकहरू अहिले राजनीतिक दलका नेताका गलत क्रियाकलापको दोष संविधानका संघीय, समावेशी, गणतन्त्रात्मक विशेषतालाई दिन थालेका छन् । यद्यपि, संसदीय मान्यता आत्मात् नगरेकै कारण अहिलेका घटना भएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शाहीको अनुपस्थितिको खास कारण जे भए पनि उनलाई अनुपस्थित गराउने तारतम्य अगिल्लै दिन मिलाइएको देखिएकाले सन्देहको सुई मुख्यमन्त्री गुरुङतिरै सोझिनु स्वाभाविकै हो । प्रदेश सभाकै कुनै सदस्यले दलको निर्देश उल्लङ्घन गरेमात्र उनको सरकार जोगिने थियो । यस अवस्थामा अनुचित उपाय अपनाएर सत्ता टिकाएको कलङ्क मुख्यमन्त्री गुरुङमाथि लाग्ने देखिन्छ । अविश्वासको प्रस्ताव आएपछि प्रदेश सभाको अधिवेशन एकाएक अन्त्य  गरिनुको  कारण सायद यही  प्रपञ्च मिलाउनु थियो । 

गठबन्धन बनाएर संयुक्त घोषणापत्रमा चुनाव लडेका र पछि पार्टी एकतासमेत गरेका नेपाल कम्युनिस्ट पार्टीको एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीचको किचलोपछि सुरु भएको सत्ताको ‘नाटक’ र ‘नौटंकी’ले संसदीय लोकतन्त्रका सबै मर्यादा भंग गरिसकेको छ । बन्दाबन्दीका बेला सांसद अपहरणको घटनाबाट सुरु भएको अनैतिक राजनीति ‘फ्लोरक्रस’ हुँदै  लुकेर ‘अस्पताल भर्ना’सम्म पुगेको छ । 

भारतीय सिनेमाहरूमा देखाइने शैलीको घटनामा अस्पताल पुगेका शाहीलाई भेट्न नदिइएको आरोप उनको पार्टीका नेताहरूले लगाएका छन् । मंगलवार पीसीआर परीक्षणको माग गर्दै अविश्वासको प्रस्तावमा छलफल गर्नबाट एमालेका सांसदले नै रोकेका थिए । बुधवार पीसीआरलाई नै सत्ता जोगाउने प्रपञ्चका रूपमा प्रयोग गरियो ।

अप्रत्याशित अनुचित केही नभए गण्डकी प्रदेश सभामा सरकार अल्पमतमा  परिसकेको छ । नैतिकताको प्रश्न उठाउनु नै मूर्खता ठहरिने अवस्थामा गण्डकी प्रदेशका मुख्यमन्त्री अपवाद हुने अपेक्षा गर्नु पनि हास्यास्पद हुन्छ ।परन्तु,  यस्तो अन्योल  लामो समयसम्म रहन दिनुहुँदैन । उचित प्रक्रिया अपनाएर यसको छिटै टुंगो लगाउनु उचित हुने देखिन्छ । 

यस घटनाबाट राजनीतिक प्रपञ्चमा मतियार भएको देखिने सम्बन्धित अस्पतालको पनि नैतिकतामा प्रश्न उठेको छ भने साख त झन् पक्कै गिरेको छ । कामना गरौँ, प्रदेश सभा सदस्य शाही बिरामी भएका रहेछन् भने शीघ्र स्वास्थ्य लाभ गरुन् । भारतीय सिनेमामा यस्तै प्रकृतिका केही घटना दुःखान्तमा परिणत भएका पनि चित्रित गरिएका हुन्छन् । त्यस्तै अनिष्ट केही नहोस् । संसदीय मर्यादाभित्र रहेर यो खेल टुंगो लगाइयोस् ।

*यसैबीच प्रदेश सभा सदस्य शाहीले अस्पतालबाटै आफू बिरामी भएकाे जानकारी गराएका छन् । साथै उनकाे काेभिड परीक्षण सम्बन्धमा परस्पर विराेधी र अपत्यारिला सूचना सार्वजनिक भएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १२:११
प्रतिक्रिया दिनुहोस्