site stats
बाह्रखरी :: Baahrakhari
विचार
सामाजिक संस्था संचालनमा चुनौती

आफ्नाे समाज र देशकाे विकासका लागि केही गरौँ भन्ने भावना धेरैमा हुन्छ । फरक यति छ, कसैका सपना साकार हुन्छन् त कतिका अधुरै रहन्छन् । समाजका लागि केही गरौं भन्ने सोच, जोस र ऊर्जाका साथ समाजको चौतर्फी विकास, सामाजिक न्याय र परिवर्तनका लागि सामाजिक संघसंस्था स्थापना गरिन्छन् ।

संस्था गठन गर्न जति सजिलो छ संस्थाको दिगो विकास, उचित व्यवस्थापन र प्रभावकारी संचालन त्यति नै कठिन हुन्छ । सामाजिक संस्था स्थापना हुने, केही समय संचालन गरिने र पछि विस्तरै निस्क्रिय हुने गरेका उदाहरण देखिन्छ । एउटै  संस्था लामाे समयसम्म सञ्चालनमा रहेकाे निकै कम भेन्टिन्छ । स्थापनाकालमा सुनौलो आशाका किरण लिए झुल्किएका संस्थाहरु समयको गतिसँगै अस्ताएर गएका छन् । 

नेपालमा सामाजिक संघसंस्थाको इतिहासका हेर्दा सामाजसेवा, कला, संस्कृतिको संरक्षण, पर्यटकीय क्षेत्रको प्रर्वद्धन, सामाजिक न्याय, विकास र समृद्धिका लागि धेरै संस्था स्थापना भए पनि निरन्तरता पाउन नसकेका देखिन्छन् । सुरुका अवस्थामा सबै सामाजिक संस्थाहरुका कार्य प्रगति प्रशंसनीय रहेका छन् । तिनको कार्यशैलीले समाजलाई समेत आकर्षित गरेको पनि पाइन्छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलायमान समयको गतिसँगै ती संस्थाको यात्रा भने क्रमशः ओरालो लाग्दै गएको हामी सहजै अनुमान गर्न सक्छौँ । कुशल नेतृत्व, समयसापेक्ष कार्ययोजना, भावी कार्यक्रम र रणनीतिको निर्माण गर्न नसक्दा समाजिक संस्थाले फड्को मार्न सकेनन् । संस्थाको उद्देश्य प्राप्तिका गरिने कार्य अनुकूल नीति, नियम र कार्यविधि नहुँदा पनि कतिपय संस्था समस्यामा परेका छन् । 

संस्था दर्ता गर्न छुट्टै विधानको आवश्यकता पर्छ । संस्था दर्ता गर्दाको बखतमा धेरैले नमुना विधान अर्थात् त्यस्तै प्रकृतिका संस्थाको विधानमा नाम, ठेगाना, उद्देश्य, कार्यलगायत केही दफामा साान्य परिवर्तन गरेर संस्था दर्ता गर्ने प्रचलन छ । यसरी नक्कल गरिएका विधान नै सामाजिक संस्था संचालनका लागि बाधक साबित भएका छन् । कतिपय सामाजिक संस्थामा कुनै खास कार्यक्रम तथा परियोजना संचालनका लागि कार्यविधि नै नभएको पनि देखिन्छ । फलस्वरूप परियोजना तथा कार्यक्रम संचालन गर्न कठिन हुन्छ । 

काभ्रेकाे ढुंखर्कमा धेरै संस्था स्थापना भए । केही दलगत राजनीतिका कारण निस्क्रिय भए, केही कुशल नेतृत्व पाउन नसकेर बन्द भए त केही समय अनुकूल संचालन हुन नसकेर निस्क्रिय भए । संस्था आफैँ सक्रिय र निस्क्रिय हुने भने हैन । संस्थाको क्रियाशीलता नेतृत्वको भूमिकाअनुसार हुने गर्दछ । 

नेतृत्व संस्थाप्रति जिम्मेवार र जवाफदेही हुनुपर्छ । नेतृत्व गर्ने व्यक्तिले संस्थाको उद्देश्य, काम कर्तव्यलाई इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धताका साथ लाग्ने हो भने निरन्तरता दिन असम्भव हुँदैन । नेतृत्वमा आर्थिक पारदर्शिता, सुशासन, जिम्मेवार, दूरदर्शी दृष्टिकोण हुने हो भने संचालनका क्रममा आउने विभिन्न आरोह अवरोहलाई पार लगाउन सकिन्छ । 

सामाजिक संस्थामा व्यक्तिले पदलाई हैन पदले व्यक्तिलाई छान्ने हुनुपर्छ । व्यक्तिगत स्वार्थ नभई सामाजिक त्यागको भावना हुने व्यक्तिलाई नेतृत्व दिने हो भने व्यक्ति मर्न सक्छ तर संस्था कहिल्यै मर्दैन । आफूले जन्माएको संस्था बाँच्नुपर्छ भन्ने भावनामा आफू संस्थाको जिम्मेवार पदमा नरहे पनि अभिभावकत्व निर्वाह गरी त्यसको संरक्षण गर्ने दायित्व बोध नहुन्जेलसम्म मुनाफारहित जनहितकारी सामाजिक संघ संस्थाहरुले निरन्तरता पाउन सक्दैनन् ।  

दृढ संकल्प, निःस्वार्थ भावना, मन र मस्तिष्कमा संस्थाप्रतिको माया, केही त्याग, तपस्या, स्वयंसेवी भावना नेतृत्वमा हुन्थ्याे भने सबै सामाजिक संस्था जीवित रहने थिए । हामी सबैलाई अर्ती, उपदेश दिन आउँछ तर अपनाउन जान्दैनौ । आफूलाई बुद्धिजीवी भन्छौँ, आफैँ आदर्श ठान्छौँ । समाजका अग्रजहरुको अनुभूति, सुझावलाई स्वीकार गर्न आनाकानी गर्छौँ । समस्या यसैमा छ । 

नेतृत्वमा आफ्नो जिम्मेवारी, काम र कर्तव्य पालना गर्नुभन्दा पनि अधिकारमात्र खोज्ने प्रवृत्तिका कारण आफ्नै बगैँचामा हुर्कँदै गरेको सामाजिक संस्थाको कलिलो मुना आफ्नै हातबाट निमोठिएको समेत कतिपयलाई पत्तै छैन । मालीले कोपिलामै फूल झरेको पत्तो नपाउने अनि दोष भमरालाई दिनुकाे के अर्थ ? 

(सचिव, हातेमालो युवा समाज, काभ्रे )


 

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १०:०७
प्रतिक्रिया दिनुहोस्