काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका पूर्वअध्यक्ष कृष्णबहादुर बलालले तेक्वान्दो (आईटीएफ) ब्ल्याक बेल्ड सातौँ डानको उपाधि हात पारेका छन् ।
नेपाली समयनुसार यही चैत २८ गते बेलुका संयुक्तराज्य अमेरिकाको भर्जेनिया सहरमा तेक्वान्दो ग्रान्डमास्टर रियोस वलिभरोले लिएको बेल्ट परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदै बलाल छैटौँ डानबाट सातौँ डानमा स्तरोन्नति भएका हुन् ।
ब्ल्याक बेल्ड सातौँ डान बेल्ट परीक्षामा उत्तीर्ण भएका बलालले तेक्वान्दो मास्टरको उपाधि पनि हासिल गरेका छन् । आईटीएफ तेक्वान्दोमा सातौँ डानको उपाधि हासिल गर्ने बलाल नेपालका एक मात्र प्रशिक्षक भएका छन् ।
दुई कार्यकाल नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको नेतृत्व गरेका बलाल नेपाल राष्ट्रिय मार्सल आर्ट महासंघ (एमएनजीसी)का संस्थापक अध्यक्ष पनि हुन् ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले सातौँ डान परीक्षाका लागि बलालको नाम मनोनयन गरी अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको प्रोमोसन उपसमितिमा सिफारिस गरेको थियो ।
अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको प्रोमोसन उपसमितिको १४ मार्चमा बसेको बोर्ड बैठकले बलाललाई परीक्षामा सामेल गर्ने निर्णय गरेको नेपाल आईटीएफ तेक्वान्दोका अध्यक्ष अन्जन धमालले जानकारी दिए । धमला एसियाली तेक्वान्दो महासंघका कार्यकारी सदस्य पनि हुन् ।