site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘आईपीओमा १० कित्ते नीतिको उद्देश्य समाप्त भयो, उपयुक्त समयमा रिभ्यु गर्छौँ’
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोभिड–१९ पछि सेयर बजारले नयाँ उचाइ कायम गरेको छ । कारोबार रकम र बजार परिसूचकमा नयाँ नयाँ रेकर्ड कायम गर्दै अगाडि बढेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना चालु आर्थिक वर्षमा मात्रै सेयर बजारले १५ वटा नयाँ रेकर्ड बनाएको बताउँछन् ।

नेपालको सेयर बजार, नियामक निकायको भूमिका तथा बजार सञ्चालनको अवस्था, वस्तु विनिमय बजार तथा धितोपत्र दलाल व्यवसायीको लाइसेन्स र सार्वजनिक निष्कासनमा बुक बिल्डिङ विधि अहिलेको चासोको विषय हो । बुल ट्रेन्डमा रहेको बजारमा लगानी गर्दा लगानीकर्ताले कस्ता कुमार ध्यान दिने, लगानीपूर्व लगानीकर्ताले ध्यान दिनुपर्न पक्षलगायत विषयमा केन्द्रित रहेर बाह्रखरीका विजय पराजुली बोर्ड अध्यक्ष भीष्मराज ढुंगानासँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

कोभिडको कारण अहिले विश्व अर्थतन्त्र नै प्रभावित हुँदा पनि अर्थतन्त्रको ऐनाको रुपमा रहेको सेयर बजार भने वर्षमा शतप्रतिशतभन्दा बढीले बढेको छ । अर्थतन्त्रत प्रतिकूल हुँदा सेयर बजार बढ्नुलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?
कुनै पनि समस्याका केही बेफाइदा र केही फाइदा हुन्छ । कोभिड पछाडिको ‘सिनारियो’ हेर्दा धितोपत्र बजार राम्रोसँग विकास भएको छ । करोबार रकम पनि असाध्यै राम्रो र सन्तोषजनक देखिन्छ ।

Agni Group

गत–फागुन चैतको समयमा विश्वभरि जब कोरोनाको प्रभाव पर्‍यो, विश्वभरिका सेयर बजार खुला थिए । कोभिडको प्रभाव पर्दा ती सेयर बजार डाउन भए । तर, हाम्रो सेयर बजारमा अनलाइन सिस्टमले राम्रोसँग काम गर्ने अवस्था थिएन । लगानीकर्ता आफैँ उपस्थित भएर कारोबार गर्नुपर्ने अवस्था भएकोले हामीले करिब तीन महिना बजार बन्द गर्नुपर्‍यो ।

कोभिडको बेला बजार बन्द गर्दा नेपालको पुँजी बजारले ‘डाउनवार्ड’ (वियरिस) ट्रेन्ड देख्न पाएन । कोभिडमा बन्द भएर बजार खुल्दा अनलाइनमा धेरै सुधार गरेर घर–घरबाटै कारोबार गर्ने व्यवस्था गर्‍यौँ । अन्य आर्थिक गतिविधि बन्द हुँदा लगानी गर्ने अवसर पुँजी बजार मात्रै भयो । जसले गर्दा बजारमा लगानीकर्ता प्रवेश गरे । सोही कारण सेयर बजार अहिलेको अवस्थामा आएको हो ।

Global Ime bank

गत  वर्ष लकडाउन अगाडि १३०० मा रहेको नेप्से इन्डेक्स २६०० माथि पुगेको छ । बजार पुँजीकरण १७ खर्बबाट ३४ खर्ब नाघेको छ । नेपालको अरु सबै आर्थिक गतिविधिलाई चलायमान बढाउने काम नै पुँजी बजारले गर्‍यो । सरकारलाई राजस्वमा योगदान दिएको छ भने बैंकिङ क्षेत्रको कर्जा ठप्प हुँदा कर्जा विस्तार गर्न सपोर्ट गर्‍यो । पुँजीबजार राम्रोसँग चलेको थिएन भने बैंकिङको ब्याजदर अझै घट्ने अवस्था थियो ।

नेपालको पुँजी बजार अहिले इतिहासमै राम्रो अवस्थामा देखिएको छ । सेयर बजारको इतिहासलाई हेर्ने हो भने १६ वटा क्षेत्रमा रेकर्ड तोडिएको छ । अहिले सेयर बजारको अवस्था राम्रो छ । लगानीकर्ता सकारात्मक देखिएका छन् । यद्यपि, हाम्रो बजारमा केही समस्या नभएको भने हैन । अनलाइनको क्षमतामा वृद्धि गर्नुपर्ने, डिम्याटको क्षेत्रमा पनि क्षमता वृद्धि गर्नुपर्नेछ, जुन काम भइरहेको छ ।

सर्भर थप्ने प्रक्रिया अगाडि बढाउने, बोलपत्र आह्वान गर्ने, पूर्वाधारको तयारी गर्ने काम भइरहेको छ । नतिजा आउन समय लाग्छ ।

अहिले प्राथमिक बजार मात्रै नभएर दोस्रो बजारमा पनि नयाँ लगानीकर्ता प्रवेश गरिरहेको देखिन्छ । बुलिस बजार प्रवेश गर्ने नयाँ लगानीकर्ता जोखिममा छन् कि ? सेयर बजारमा लगानी गर्दा जोखिम कम गर्न के गर्नुपर्छ ?
‘बुलिस ट्रेन्ड’मा गइरहेको बेलामा सेयर बजारमा प्रवेश गर्दा अलि बढी जोखिम हुन्छ । अहिलेको ‘बुलिस ट्रेन्ड’ भए पनि अब ‘वियरिस ट्रेन्ड’ भइहाल्छ भनेर कसैले भन्न सक्दैन ।  लगानीकर्ताले बुलिस र वियरिस दुवै ट्रेन्डमा बजार प्रवेश गर्न सक्छन् । तर, लगानीकर्ताले सेयर बजारमा प्रवेश गर्दा केही कुरामा भने विचार गर्नुपर्ने हुन्छ ।

सेयर बजारमा लगानी गर्दा सावधानी अपनाउनुपर्ने कुराहरु लगानीकर्ताले बुझन् आवश्यक हुन्छ । लगानीकर्ताले जुन कम्पनीको सेयर खरिद गर्दै छ, त्यो कम्पनीको ‘टेक्निकल’ र ‘फन्डामेन्टल’ विश्लेषण गर्नुपर्ने हुन्छ । कम्पनीको विगतको लाभांश र र अब कति दिन सक्छ, सेयर मूल्य विगतमा कस्तो थियो र अहिले कति छ, विगतको व्यवसायको अवस्था र अहिलेको अवस्था, सञ्चालक समितिमा कस्ता व्यक्ति छन्, संस्थामा सुशासनको अवस्था कस्तो छ भन्ने कुरा ख्याल गर्नुपर्ने हुन्छ । कम्पनीको सूचना कतिको सहज रुपमा प्राप्त हुन्छ, कम्पनीको भविष्य कस्तो छ र कम्पनीको मूल्य आम्दानी अनुपात, नेटवर्थजस्ता कुरालाई ख्याल गरेर लगानी गर्नुपर्छ ।

बुलिस ट्रेन्डमा रहेको बेलामा पनि सक्षम कम्पनीहरु जसको मूल्य र लाभांशले ‘जस्टिफाइ’ गर्छ भने त्यस्ता कम्पनीमा लगानी गर्न डराउनु पर्दैन । एक्कासि मूल्य बढेको छ तर, मूल्य बढ्नुको कुनै आधार छैन, यस्ता अवस्थामा उक्त कम्पनीमा लगानी गर्न डराउनुपर्छ । केही निश्चित व्यक्ति अथवा समूहले त्यसको मूल्यलाई ‘म्यानुपुलेट’ गरेको हुनसक्छ ।

यसलाई ‘टेक्नकल टर्म’मा भन्नुपर्दा कुनै पनि कम्पनीमा लगानी गर्दा त्यसको टेक्निकल र फन्डामेन्टल हुन्छ । त्यसको विश्लेषण गर्‍यो भने सबै ‘इन्डिकेटर’लाई देखाउँछ । लगानीकर्ता शिक्षित छन् भने टेक्निकल र फन्डामेन्टल विश्लेषण गर्नुस् । जसबाट आफ्नो निर्णय लिनुस्, यसले  लगानीकर्ताको हित गर्छ ।

धितोपत्र बजारसँग सम्बन्धित विषयमा प्रहरी र प्रशासन कार्यालयमा उजुरी पर्न थालेको छ । लगानीकर्तामा नियामक निकायप्रति विश्वास नभएर हो अथवा कुन निकायमा उजुरी दिने ज्ञानको अभावले हो ? 
हाम्रो नेपाली सञ्चार क्षेत्रमा जानेको, बुझेको पत्रकारबाट त सही सूचना आउँदैन भने एउटा साधारण लगानीकर्ता र साधारण गाउँका नागरिकले सबै बुझेको हुन्छ भन्ने हुँदैन । जसले जिल्ला प्रशासनमा उजुरी दिनुभयो, उहाँ मर्कामा पर्नुभएको थियो । तर, कहाँ उजुरी दिने भन्ने थाहा पाउनु भएन ।

यस्तो अवस्थामा सञ्चारमाध्यमले धितोपत्र बजारसम्बन्धी कुनै मर्का पर्‍यो भने नेपाल धितोपत्र बोर्डमा उजुरी दिने हो भनेर जानकारी गराउनुपर्छ । लगानीकर्ताबाट फोन, अनलाइन अथवा इमेलका माध्यबाट प्राप्त भएको सबै उजुरी र गुनासो बोर्डले सम्बोधन गर्छ । ‘टी प्लस टु’मा सेयर खरिद–बिक्रीको सेटलमेन्टपछि त्यसको भोलिपल्ट रकम भुक्तानी गर्नुपर्न व्यवस्था गरका छौँ भने एक महिनासम्म भुक्तानी नदिनु भनेको ब्रोकरको कमजोरी हो । ब्रोकरले बदमासी गरेका छन् भने बोर्डले कारबाही गरिरहेको छ । त्यसैले कोही लगानीकर्ता मर्कामा परेका छन् भने बोर्डमा उजुरी दिने हो । यो वास्तममा बोर्डको विश्वसनीयता नभएर हैन, लगानीकर्ताले सही सूचना नपाएर हो ।

बोर्डमा विश्वास नभएर हैन, लगानीकर्तामा अवार्नेसको कमीले गर्दा प्रशासन कार्यालय तथा प्रहरीमा उजुरी पुगेको भन्न खोज्नुभयो ?
तीन करोड जनसंख्यामध्ये ३० लाख सेयर बजारमा हुनुहुन्छ । त्यसमध्ये कतिपयले प्राथमिक बजारमा मात्रै लगानी गर्ने हो, कारोबार गदैनन् । जसमध्ये पनि आधाले मात्रै सेयर बजारको बारेमा बुझ्नुभएको छ । केही पर्‍यो भने उजुरी दिने कुरामा जे थाहा छ, त्यही गर्नुभयो । यसमा अवार्नेसको कमी भएकै हो । मलाई यस्तो समस्या भयो भनेर पालिकामा पनि जान सक्नुहुन्छ । तर, उहाँहरुलाई यस्तो समस्या भए कारबाही गर्ने धितोपत्र बोर्ड हो, उता उजुरी दिनूस् भन्नुपर्छ । नभए उहाँहरुले अलमलिएर झन् दुःख पाउनुहुन्छ ।

नेप्सेको अनलाइनमा बारम्बार देखिने समस्याले बेला–बेलामा बजार नै प्रभावित हुने गरेको छ । यसको समाधान कसरी गर्दै हुनुहुन्छ ? 
२०७७ असार मसान्तमा करिब ३५ हजार लगानीकर्ताले अनलाइन कारोबार गर्ने गरेकोमा अहिले पाँच लाख नाघेको छ । त्यति बेला उक्त सिस्टमले  ३५ हजार लगानीकर्तालाई मात्रै समावेश गरेकोमा अहिले पाँच लाख पुग्दा कति विस्तार भयो ? लगानीकर्ताको संख्या बढ्दा क्षमता पनि त्यहीअनुसार विस्तार गर्नुपर्‍यो । तर, क्षमता विस्तार गर्न त आजको भोलि हुँदैन ।

त्यसको लागि हार्डवेयर तथा सफ्टवेरदेखि सिस्टममा इन्प्रुभमेन्ट गर्नुपर्ने हुन्छ । नेप्सेमा पहिले म्याचिन इन्जिन एउटा मात्रै थियो ।  जसबाट ३०/३५ हजारको कारोबार हुँदै आएको थियो । कारोबार बढ्दै जाँदा म्याचिन इन्जिन थपिँदै गएर अहिले ६/७ लाखले कारोबार गर्न सक्ने अवस्था बनेको छ । तर, त्यतिले पनि पुग्दैन, अझै सिस्टिम इन्प्रुभमेन्ट गर्न भनेका छौँ ।

नेप्सेको अनलाइन सिस्टम सीडीएसीको सेटलमेन्ट सिस्टम र डीपीहरुको सिस्टम, ब्रोकरको टीएमएस र टीएमएसबाट बैंकमा रकम पठाउने सिस्टम तथा कनेक्ट आईपीएस सबैको इन्ट्रिग्रेट सिस्टम हो । यसमा कतिपय सिस्टम अझै पनि वेबबेस हुनसकेको छैन । सबै सिस्टम वेबबेस भएपछि अझै सहज हुन्छ ।

सीडीएससीको मेरो सेयरमा पनि बारम्बार समस्या हुँदा क्लोजआउट पर्ने तथा लगानीकर्ताले लगानी गर्ने अवसरबाट वञ्चित भयौँ भन्ने गुनासो छ नि ?
सीडीएससीको मेरो सेयरमा समस्याहरु देखिएको छ । त्यसको समस्या समाधान गर्ने भनेका छौँ । उहाँहरुले पनि सर्भर थप गर्दै हुनुहुन्छ । कुनै पनि कुरा आवश्यक परेको अवस्थामा नोटिस निकालेर बिडिङ गराउने  अनि प्रक्रिया गुर्नपर्ने हुन्छ । कुनै पनि सामान चाहियो भने प्रक्रिया पूरा गरेर सम्पन्न गर्न तीन/चार महिना लाग्छ । यही प्रक्रियागत कुराले पनि अप्ठेरो पारेको छ ।

क्यापिटल मार्केटमा कम्प्युटर अथवा प्रविधि खरिद गर्नुपर्‍यो भने सार्वजनिक खरिद नियमावलीको व्यवस्था पूरा गर्न पाइँदैन । यस्तो बेलाको लागि कुनै निकाय अथवा समितिबाट स्वीकृत गराएर यसलाई छिटो गर्ने व्यवस्था गर्नुपर्छ । यसमा हामाी छलफल गरिरहेका छौँ । यो गर्न सकियो भने प्रक्रिया छिटो हुन्छ र लगानीकर्ताको समस्या घटाउन सक्छौँजस्तो लाग्छ ।

सिस्टममा एक मिनेट समस्या भयो भने पनि आवाज उठाउँछौँ । जसले गर्दा आवाज छिटो फैलिएको मात्रै हो । हामी एक वर्ष अगाडिभन्दा अहिले कुन अवस्थामा छौँ र अहिले कति सहज रुपमा काम गरिरहेका छौँ, त्यसलाई पनि हेर्नुपर्छ ।

लगानीकर्ता लगानी गर्नबाट वञ्चित नै भएको अवस्था पनि छैन । पूर्ण रुपमा सिस्टम सञ्चालन नहुँदासम्म अहिले केही अल्पकालीन व्यवस्था गरेका छौँ । अहिले सेयर बेचेपछि रियल टाइममा खातामा कति सेयर छ भनेर देखिँदैन । कुनै लगानीकर्ताले बिहान एक हजार कित्ता सेयर छ र दुई/तीनपटकमा हिसाब नै नराखी सेयर बिक्री गर्‍यो भने कति सेयर बाँकी छ भन्ने थाहा नहुने र समस्यामा पर्ने अवस्था छ । तर, अब बोर्डले रियल टाइममा देखिने गरी सिस्टम अपग्रेड गर्न सीडीएससीलाई निर्देशन दिएको छ । यसको प्रक्रिया सुरु भइसकेको छ ।

मेरो सेयरको सिस्टम अहिले ओभर लोड छ । गत वर्षको यही अवधिसम्म सबैभन्दा ठुलो आईपीओ आयो भने अधिकतम लगानीकर्ताले भाग लिने भनेको तीन लाख थियो । अहिले एउटा आईपीओमा १८ लाख लगानीकर्ताले भाग लिन्छन् । आईपीओ भर्नेको संख्या ६ गुणाले बढेको छ । त्यसको लोड मेरो सेयरमा छ भने अर्कोतर्फ, दोस्रो बजारमा दिनभरि भएको कारोबारको ‘ई–डीआईएस’ गर्ने लोड पनि मेरो सेयरमा छ ।

सेयरको भारित औसत लागत निकाल्ने भार पनि मेरो सेयरमा छ । यति तीनवटै कामको लोम मेरो सेयरमा रहेकोले पनि समस्या भएको हो । मेरो सेयरको मोबाइल एप्स बनाएर सञ्चालनमा ल्यायौँ । त्यसले केही भार ‘सेयर’ भए पनि यसको लागि छुट्टाछुट्टै सफ्टवेयर बनाएर लागु गर्न सकेका छैनौँ । यसको लागि छुट्टाछुट्टै सफ्टवेयर बनाएर जाऊ भनेका छौँ र त्यहीअनुसार काम सुरु भइसकेको छ । अब करिब ६० लाख लगानीकर्ता आए भने पनि  धान्न सक्ने गरी सिस्टम बनाउन भनेका छौँ । त्यहीअनुसार उहाँहरु लाग्नुभएको छ ।

आईपीओमा गाउँभरिबाट कागजात ल्याएर सबैको नाममा भर्ने प्रवृत्ति देखिएको छ । यसलाई निरुत्साहित गर्न बोर्ड के गर्दै छ ? साथै, तपाईंले आईपीओमा १० कित्ते नीति हटाउनुपर्छ भन्नुभएको थियो, अब १० कित्ते नीति हट्ने हो ?
हामीले सुरुमा जुन उद्देश्यले १० कित्ते नीति ल्याएको हो, अब त्यसको औचित्य समाप्त भइसक्यो । पहिले मासमा सेयर जाओस् र सबै लगानीर्ताको हातमा १० कित्ता मात्रै  भए पनि सेयर परोस् र उनीहरु सेयर बजारमा आकर्षण भएर बढीभन्दा बढी कारोबार गरून् भन्ने उद्देश्य थियो । अहिले आएर सबैलाई १० कित्ता पर्छ र जसरी भए पनि १० कित्ता सेयर पानुपर्छ, त्यसको लागि जति धेरै मान्छेको खाता खुलाएर भर्न सक्यौँ, त्यति धेरै सेयर परेर नाफा हुन्छ भन्ने उद्देश्य देखियो । जसले गर्दा गाउँ–गाउँमा गएर नागरिकताहरु संकलन गरेर ल्याउने र खाता खोलेर सेयर भर्ने तथा अहिले त स्कुल–कलेजमा गएर विद्यार्थीलाई सेयर भर्न खाता खोल आधा–आधा गरौँला भन्नेखालको प्रवृत्ति देखियो । १० कित्ते नीति जुन उद्देश्यले  ल्याइएको थियो, त्योभन्दा धेरै बाहिर गइसक्यो ।

यसले फ्रड कारोबार बढ्न सक्ने अवस्था देखिएको छ । जसको नाममा खाता छ, उसले डकुमेन्ट त दियो तर कसले खाता सञ्चालन गरेको छ भन्ने नै थाहा छैन । यसरी सञ्चालन भएका खाताबाट भोलि कुनै गैरकानुनी काम अथवा फ्रड भयो भने जसले डकुमेन्ट दिएको हो, ऊ जिम्मेवार हुन्छ । यसमा सोझा सर्वसाधारण नागरिक पर्ने अवस्था आएको छ । यसलाई कसरी कन्ट्रल गर्ने भन्नेमा बोर्डले काम सुरु गरेको छ । अहिले बोर्डले सेन्ट्रलाइज केवाईसी सिस्टम सुरु गर्न भनिसकेको छ । उक्त सिस्टम आएपछि वास्तविक मान्छेले एकपटक डिम्याट खाता र केवाईसी अपडेट गर्नुपर्छ । त्यसपछि वास्तविक खाता सञ्चालक को हो भन्ने थाहा हुन्छ र उनीहरुलाई पनि जिम्मेवार बनाउन सकिन्छ भन्ने बोर्डको उद्देश्य हो ।

१० कित्ते नीतिमा पहिले त सबैले १० कित्ता पाउँथे । तर, अब १० जनामा एकजनाले बल्ल १० कित्ता पाउने अवस्था आयो । अब यस्तै प्रवृत्ति रहिरहने हो भने आईपीओ भर्नु मात्रै हो, पदैन भन्ने भावनाको विकास हुन्छ । यसले सेयर बजारको विकास गर्दैन । उपयुक्त समयमा यसलाई रिभ्यु गछौँ ।

बुक बिल्डिङ विधिबाट सार्वजनिक निष्कासन गर्दा योग्य संस्थागत लगानीकर्ता र निष्कासन गर्ने कम्पनीको मिलेमतोमा हुन सक्ने सम्भावित जोखिमबाट लगानीकर्तालाई संरक्षण गर्न बोर्डले कस्तो नीति लिन्छ ? 
बुक बिल्डिङ भनेको सबैभन्दा पारदर्शी व्यवस्था हो । यसमा कसैलाई मर्का पर्ने भन्ने कुरा हुँदैन । यो सबै पक्ष लाभाम्वित हुने व्यवस्था हो । अहिले विश्वभरि नै सार्वजनिक निष्कासनमा यही व्यवस्था प्रयोग हुन्छ । तीन/चार वर्षदेखि राम्रो नाफा कमाएको र सोहीअनुसारको नेटवर्थ भएका कम्पनीलाई १०० रुपैयाँमा नै आईपीओ जारी गर भन्दा कसैले पनि गर्दैन । हाम्रो देशमा सेयर बजारमा वास्तविक क्षेत्रका कम्पनी आउन नसकेको कारण नै यही हो । मेरो आफ्नो सम्पत्तिको बजार मूल्य २०० हो भने २०० मै बेच्न त पाउनुपर्‍यो नि । मेरो सम्पत्ति किन्न २०० रुपैयाँ तिर्न सबै राजी हुन्छन् भने १५० रुपैयाँमा बेच भन्न पाइँदैन नि र उसले बेच्दैन पनि । त्यसैले बुक बिल्डिङ मात्रै यस्तो पद्धति हो, जसमा डिमान्ड र सप्लाइको आधारमा मूल्य निर्धारण हुने व्यवस्था हो ।

यसमा सुरुमा योग्य संस्थागत लगानीकर्ताले सबै विश्लेषण गरेर म यो कम्पनीको सेयरको लागि प्रतिकित्ता यति तिर्न तयार छु भन्ने एक प्रकारको आशय पेस गर्नुहुन्छ । त्यही आधारमा कम्पनीको सेयरको आधार मूल्य तय हुन्छ । आधार मूल्य तय भएपछि बोलकबोल हुन्छ । आधार मुल्यभन्दा २० प्रतिशत तल–माथि हुने गरी बोलकबोल हुन्छ । यही बोलकबोलको आधारमा सबैभन्दा उच्च मूल्य कबोल गर्नेबाट सेयर दिँदै जाँदा जतिमा सेयर सबै बिक्री हुन्छ, त्यसमा कट अफ मूल्य निर्धारण हुन्छ । र, त्यसमा पनि १० प्रतिशत कम मूल्यमा सर्वसाधारणलाई सेयर जारी हुन्छ ।

सर्वसाधारणलाई निष्कासन हुनेभन्दा १० प्रतिशत बढी मूल्य तिर्न बजारमा सबै तयार छन् भने सर्वसाधारणलाई जोखिम हुनेभन्दा पनि लाभान्वित हुन्छन् । वास्तविक मूल्यमा सेयर जारी गर्न पाउने भएपछि वर्षौँदेखि सेयर बजारमा प्रवेश गर्न चाहेर पनि प्रवेश नगरेका कम्पनी अब बजार प्रवेश गर्छन् ।

धितोपत्र बजारलाई अर्थतन्त्रको ऐना भन्छौँ । तर, अर्थतन्त्रको ऐना हुन सबै क्षेत्रका कम्पनी बजार प्रवेश गर्नुपर्छ । बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी मात्रै सेयर बजारमा आएर अर्थतन्त्रको ऐना हुँदैन । वास्तविक क्षेत्रका कम्पनी मात्रै आएर पनि हुँदैन । अर्थतन्त्रमा रहेको सबै क्षेत्रका प्रतिनिधित्व भयो भने मात्रै अर्थतन्त्रको ऐना हुन्छ । बोर्ड अहिले त्यही अभियानमा लागेको छ । त्यसको लागि सबैभन्दा उपयुक्त व्यवस्था बुक बिल्डिङ हो । यसमा सबै लगानीकर्तालाई बेनिफट हुन्छ ।

नेपालमा वस्तु विनिमय बजारको ऐन बनेको चार वर्ष बितिसक्न लागेको छ । ऐन आएपछि बोर्डले लाइसेन्सको लागि दुईपटक दरखास्त माग गरे पनि अझै लाइसेन्स दिएको छैन । वस्तु विनिमय बजार नियमनको दायरामा कहिले आउँछ ?
यसलाई नियमनको दायरामा ल्याउनलाई नै ऐन नियम बनाएको हो । तर, त्यो ऐन–नियमअनुसार इजाजत दिनुपर्नेमा समयमा दिन नसकेको पक्कै हो । पहिले आवेदन माग गर्दा ६ वटाको आवेदन परेको रहेछ । त्यसलाई ३० दिनमा टुंगो लगानउनुपर्नेमा त्यो सबै रद्द हुने भइहाल्यो । अब बोर्डले नयाँ प्रक्रिया सुरु गर्नुपर्नेछ । नयाँ प्रक्रियामा पहिलेकालाई र नयाँलाई कसरी व्यवस्थित गरेर लैजाने, कस्ता वस्तु विनिमय गर्ने र कति पुँजी चाहिने हो भन्ने विषयमा निर्क्योलमा पुरेर नीतिगत र प्रक्रियागत व्यवस्था गरेर मात्रै जाने भन्ने योजनाअनुसार त्यसको प्रक्रिया सुरु गर्‍यौँ ।

त्यसको तयारी गर्दै जाँदा धेरै समय अलमल भयो । अहिले बोर्डले विज्ञ सञ्चालको नेतृत्वमा सदस्यको नीतिगत र प्रक्रियागत व्यवस्था गर्न समिति बनाएका थियौँ । उहाँहरुको प्रतिवेदन आइसकेको छ, त्यसलाई बोर्डमा पेस गरेर निर्णय गर्छौँ । दिन भए दिने र नदिए भए पनि अब चाँडै निर्णय हुन्छ । अब नयाँ दरखास्त आह्वान हुन्छ ।

सेयर बजारमा भित्री सूचनाको आधारमा हुने कारोबार नियमन भएन र सूचीकृत संस्थाले गलत सूचना दिँदा पनि नियामक निकाय र नेप्सेले लगानीकर्ताको हितमा काम गर्न सकेन भन्ने आरोप लागेको छ नि ? 
अहिले बजारमा सुशासन र पारदर्शीताको यति धेरै खाँचो छ कि हामी धेरै पछाडि छौँ । बजारलाई सूचनाको केन्द्र बनाउन हामी पछि परेका छौँ । अहिले सूचीकृत कम्पनीले पेस गर्नुपर्ने विवरण पेस गरिरहेका छन् कि छैनन्, ती विवरण भरपर्दो छन् कि छैनन् भन्ने अवस्था छ । केही कम्पनीले वार्षिक विवरण पनि पेस नगरेको अवस्था फेला पर्‍यो र हामीले कारोबार रोक्का पनि गर्‍यौँ । बजारमा लगानीकर्ताले सूचनाको आधारमा कारोबार योजना बनाउने हो । त्यसैले विवरण सही, भरपर्दो र समयमा दिनुपर्छ ।

बैंक र बिमा कम्पनी वर्षौँदेखि नियमन हुँदै आएका कम्पनी हुन् । उनीहरुले समयमा विवरण उपलब्ध गराउँदै आएका छन् । तर, समयमा आएको विवरणमा पनि सोच्न बाध्य हुनुपर्ने अवस्था आएको छ । त्रैमासिक प्रारम्भिक विवरण अथवा एक वर्षको प्रारम्भिक विवरण र वास्तविक विवरणमा धेरै अन्तर हुने गरेको छ । यसलाई मध्यनजर गरेर बोर्ड संस्थाहरुको सुशासन र रिपोर्टिङमा धेरै मिहिनेत गर्न बाँकी छ ।

अहिले बोर्ड जुन कम्पनीको विवरण नियमित आएका छैनन्, तिनीहरुको विवरण नियमित गराउने र जसको नियमित रुपमा आउनेलाई यथार्थपरक गराउने बोर्डको च्यालेन्ज छ । त्यसको लागि बोर्डले अहिले एउटा सिस्टम बनाएको छ, त्यसमा सूचीकृत कम्पनीले अनलाइन रिपोर्टिङ गर्छन् । त्यसको डाटा संकलन गरेर विश्लेषण गर्ने काम गर्न पाएका छैनौँ । त्यसलाई विश्लेषण गर्ने प्रविधिको अझै आवश्यकता छ । अर्को वर्षबाट त्यहाँ आएको सूचनाहरुलाई विश्लेषणका औजारहरु प्रयोग गरेर वास्तविकता कस्तो छ भने अध्ययन गर्नेछौँ । उनीहरुले प्रकाशित गरेको विवरण कति सही छन्, त्यसलाई निगरानी गरेर सही सूचना ल्याउन वातावरण बनाउन चार्टर्ड एकाउन्टेन संघसँग सम्झौता गरेर कार्य अगाडि बढाउँदै छौँ ।

जहाँसम्म भित्री सूचनाको आधारमा हुने कारोबार छ, यसलाई नियन्त्रण गर्नपर्छ । ऐनमा यसलाई नियन्त्रण गर्नुपर्ने व्यवस्था रहेको छ । तर, यसको लागि धितोपत्र बोर्डलाई जति अधिकार दिनुपर्ने हो, त्यो छैन । भित्री सूचनाको आधारमा कारोबार हुन्छ भने त्यो नेपालको कानुनानुसार फौजदारी अभियोग अथवा जघन्य अपराध हो । यस्तो कुरालाई निणन्त्रण गर्न नियमनकारी निकायमा सूचनामाथिको पहुँच बढ्नुपर्छ । कुन–कुन संयन्त्रको प्रयोग भएर सूचना बाहिरिएको छ, त्यसको अध्ययन गर्न सबै सूचनामा नियमनकारी निकायको पहुँच हुनुपर्छ । अन्यथा, यो कुरा कसरी छानबिन गर्न सकिन्छ ? यो जरिवाना अथवा सजाय दिने कुरा हचुवाको भरमा निर्णय गरेर हुँदैन । ऐनमा छानबिन गर्नका लागि आवश्यक सूचनामा पहुँच धितोपत्र बोर्डलाई दिनुपर्छ, जुन छैन । जसले गर्दा आजसम्म भित्री सूचनाको आधारमा भएको कारोबारको पुष्टि भएर कारबाही हुन सकेको छैन । तर, बोर्डले अध्यनन गरिरहेको छ । पहिले नेप्सेले प्रारम्भिक अध्ययन गरेपछि बोर्ड थप अध्ययन गर्छ । त्यसमा भित्री सूचनाको आधारमा कारोबार भएको पुष्टि हुने आधार भयो भने मात्रै अदालत लैजाने हो । अबका दिलनमा भित्री सूचना पत्ता लगाउने र त्यसको पहिचान गरेर कारबाही गर्ने व्यवस्था गर्नुपर्छ । बोर्ड त्यसमा लगेको छ ।

सेयर बजारमा हकप्रद एफपीओको हल्ला फैलाएर मूल्यमा कर्नरिङ हुने गरेका छन् । यसको नियन्त्रण कसरी हुँदै छ ?
भन्नका लागि कर्नरिङ भयो भनिरहेका हुन्छन् । बोर्डले पनि भएको हो कि हैन भनेर वाच गरिरहेको हुन्छ । लगानीकर्ताले पनि वाच गरेका हुन्छन् । सेयर बजारमा डिमान्ड र सप्लाइको आधारमा मूल्य तय भएको छ । कुनै पनि सेयरमा लगानीकर्ताले दुई हजार तिर्‍यो भने उसले कर्नरिङ गर्‍यो भन्ने भन्दा नकिन्दा हुन्छ । जब सेयरको मूल्य उपयुक्त छैन भन्ने लाग्छ भने त्यसलाई नकिन्दा भयो ।

यदि, कर्ननिङ भयो भने बोर्डले कारबाही पछि गर्छ । तर, जुन किसिमले बजारमा हल्ला आउँछ, वास्तविकता त्यस्तो हुुँदैन । २०० रुपैयाँ पनि नपर्ने सेयरको मूल्य दुई हजार पुगेको छ भने त्यसको पछि किन लाग्ने छाड्दा भयो नि । त्यसैले सेयर बजारमा लगानीकर्ताले पनि विवेकपूर्ण निर्णय गर्नुपर्छ ।

कर्नरिङ भयो भन्नुभन्दा पनि जुन सेयर राम्रो, त्यसलाई राख्दा घाटा हुँदैन अथवा मूल्यमा उतार–चढाव भयो भने पनि तुरुन्तै रिकभर हुन्छ अथवा  केही समय राख्दा रिर्टन दिन सक्छ र लाभ हुन्छ भन्नेखालका सेयर छानेर खरिद गर्ने हो । जुन सेयरको मूल्य अकस्मात् बढाएको छ, त्यसलाई ध्यान दिन हुँदैन ।

धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स दिने तयारी गरेको कुरा आइरहेका छन् । लामो समयदेखि प्रक्रियामा रहेका बैंकका सहायक कम्पनीले ब्रोकर लाइसेन्स पाउँछन् कि पाउँदैनन् ? नयाँ लाइसेन्स वितरण हुने हो ?
बजारमा सेवा विस्तार गर्न जरुरी छ । हाम्रो अहिलेको जुन संयन्त्र छ, ८/१० लाख बजारमा भएको बेलामा तयार भएको संरचना अहिले २०/३० लाख भइसक्यो भने अझै बढ्दै छ । झन्डै १० लाख एनआरएन बजार प्रवेश गर्ने कुरा आएको छ भने अन्य मेकानिजम र औजार पनि आउँछ ।

हामीले जुनसुकै ठाउँमा बसेर कारोबार गर्न सक्ने सिस्टम बनाएका छौँ । जसले गर्दा बजारमा पहुँचको वृद्धि गर्नुछ । यो गर्ने कसरी भन्दा हाम्रोमा विभिन्न उपाय छन् । एउटा बैंकलाई नै लाइसेन्स दिने कि, बैंकका सहायक कम्पनीलाई दिएर कम्पनी काठमाडौंमा खडा गरेर खासै फरक नपर्ला । दिने हो भने बैंकलाई नै दिँदा राम्रो होला । तर, राष्ट्र बैंकले नियमन गरिरहेको ठाउँमा धितोपत्र बोर्ड नियमन गर्न जाने कि नजाने भन्ने हुनसक्छ । ब्रोकर लाइसेन्सका सम्बन्धमा विभिन्न अध्ययन हुँदा केही फाउन्डेसन तयार गरेर दिने भन्ने कुरा भएको छ ।

बजारमा तत्कालै सेवा विस्तार गरेर जान सक्ने भनेको विद्यमान  संरचनामै हो । केही गरौँ भनेर खोज्दा अर्को समस्या आउँछ । त्यसैले  भएको संरचनामा विस्तार गरेर जाऔँ भन्ने हो । ५० वटा ब्रोकरलाई विस्तार गर्नुपर्छ भन्ने महसुस भएको हो, हामी प्रयासमा लागेका छौँ । तर, एउटा काम गर्न लाग्दा एउटा पक्ष र अर्को काम गर्न खोज्दा अर्को पक्षले विरोध गर्ने अवस्था छ । विरोध भए पनि अगाडि जानैपर्छ । निश्चित मोडालिटीमा अगाडि बढ्छौँ ।

बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन सकिँदैन भन्न खोज्नुभयो ?
बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने सम्भावना मरेको छैन । तर, बैंकलाई ब्रोकर लाइसेन्स दिँदा फाइदा हुन्छ कि अहिले भएको संरचनामा नै थप ब्रोकर लाइसेन्स दिँदा फाइदा हुन्छ कि भन्ने एउटा राष्ट्रिय नीतिको कुरा हो । सबैभन्दा राम्रो त ब्रोकर लाइसेन्स ओपन गर्ने र जो–जो आउँछन् र जान्छन् छोडिदिने गर्दा बढी फाइदा होला । तर, त्यसमा पनि निरीक्षण, सुपरिवेक्षणका कुरा छन् । यही गर्ने भन्ने निर्णय भएको छैन अब समयले बताउला ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC