site stats
बाह्रखरी :: Baahrakhari
खेल
वेस्ट बंगालको टोलीलाई हराउँदै विराटनगर सेमिफाइनलमा (तस्बिरसहित)

विराटनगर । विराटनगर–११ छैटौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको युनाइटेड फुटबल क्लब वेस्ट बंगाललाई हराउँदै घरेलु टोली अन्तिम चारमा पुगेका हो ।

शनिबार विराटनगरको सहिद रंगशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा विराटनगरले वेस्ट बंगाललाई ३–० ले पराजित गर्‍यो । विराटनगरको जितमा सुनील खड्काले दुई र प्रकाश बुढाथोकीले एक गोल गरे ।

खेलको २५औँ मिनेटमा सुनीलले गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । प्रकाशले निकालेको क्रस पासलाई सुनीलले डिबक्सभित्रदेखि गरेको प्रहारले जाली चुम्दा वेस्ट बंगालका गोलरक्षक निजम सिंह प्रतिक्रियाविहीन रहे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

घरेलु दर्शकको साथ पाएको विराटनगरले गोल गर्ने थुप्रै अवसर खेर फाल्यो । खेलको पाँच मिनेटमै विराटनगरका प्रकाशको पासमा कप्तान दीपक राईले गोल गर्ने गतिलो अवसर गुमाए । दीपकले डिबक्सभित्रदेखि गरेको प्रहार बाहिरियो । यस्तै, नवौँ मिनेटमा विराटनगरका सुनीलले डिबक्सनजिकदेखि गरेको प्रहार पनि पोस्टमाथिबाट बाहिरिएको थियो ।

पहिलो हाफमा विराटनगरले वेस्ट बंगाललाई दबाबमा राखेको थियो । तर, थप गोल गर्न सकेन । खेलको ८६औँ मिनटेमा विराटनगरका प्रकाशले डिबक्सभित्रदेखि गरेको प्रहारले चाली चुम्यो । सन्तोष खड्काले निकालेको क्रस पासलाई प्रकाशले क्लियर गरेका हुन् । सुनीलले ८८औँ मिनेटमा अर्को गोल गरे ।

खेलको म्यान अफ द म्याच दुई गोल गर्ने सुनील खड्का घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।

विराटनगरका प्रशिक्षक सन्जीव बुढाथोकीले पहिलो हाफमा खेडालीहरूले सोचेजस्तो प्रदर्शन नगरे पनि दोस्रो हाफदेखि राम्रो खेल्दा नतिजा आफ्नो पक्षमा आएको बताए । सेमिफाइनलमा रणनीति परिवर्तन गरी खेलिने उनले बताए । ‘‘सेमिफाइनलमा राम्रो टिमसँग प्रतिस्पर्धा हुँदै छ,’’ उनले भने, ‘‘केही खेलाडी र फरवार्ड परिवर्तन गर्ने योजना बनाएको छु ।’’

यता, वेस्ट बंगालका प्रशिक्षक अनिमेश तामाङले पाएको थुप्रै अवसरहरु खेलाडीले खेर फाल्दा हार्नुपरेको बताए ।

विराटनगरले अब सेमिफाइनलमा चैत ३० गते हुने विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

आइतबारको दोस्रो क्वार्टरफाइनल खेलमा मच्छिन्द्र क्लब र भारतको पन्जाब पुलिसबीच प्रतिस्पर्धा हुनेछ । पन्जाबले शनिबार 'टाइब्रेकर'मा गोरखा ब्वाइज क्लब रुपन्देहीलाई ४–२ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो ।

 

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  २१:२९
प्रतिक्रिया दिनुहोस्