site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एफएनसीसीआईको भिजन पेपर सार्वजिक : १० वर्षमा सय अर्ब डलरको अर्थतन्त्र बनाइने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले १० वर्षे भिजन पेपर सार्वजनिक गरेको छ ।

महासंघको ५५औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस-२०७७ को अवसरमा सार्वजनिक गरिएको भिजन पेपरमा सन् २०३० सम्ममा नेपालको अर्थतन्त्रको आकार सय अर्ब डलर पुर्‍याइने उल्लेख गरिएको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आर्थिक रुपान्तरण-२०३० पुस्तक (भिजन पेपर)को सार्वजनिक गरेका हुन् ।

महासंघको वर्तमान नेतृत्वले अबको एक दशकभित्र मुलुकको आर्थिक अवस्था कस्तो हुने भन्ने परिकल्पनासहित भिजन पेपर तयार गरेको हो । महासंघको भिजन पेपरमा मुलुकको अर्थतन्त्र दोहोरो अंकमा वृद्धि गर्ने, आगामी १० वर्षभित्र मुलुकको अर्थतन्त्र १०० अर्ब डलरको पुर्‍याउने र दिगो उच्च आर्थिक वृद्धिमार्फत अतिरिक्त २२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य महासंघले राखेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महासंघका अध्यक्ष शेखर गोल्छाले प्रष्ट भिजन लिएर अर्थतन्त्रको सुधारका लागि लाग्न आवश्यक रहेकाले त्यसैको सुरूवात महासंघले तयार पारेको राष्ट्रिय आर्थिक रूपान्तरण २०३० रहेको बताए । उनले ती लक्ष्य पूरा गर्ने बलियो आधार र सुझावहरुसमेत भिजन पेपरमा दिइएको बताए ।

भिजन पेपर इमानदारितापूर्वक कार्यान्वयन हुँदा आगामी दशकमा एक सय ५० अर्ब डलरभन्दा बढी लगानी हुने गोल्छाले बताए । जसमध्ये करिब एक सय आठ अर्ब डलर निजी क्षेत्रबाट लगानी हुने उनले बताए । यो भिजन पेपर कार्यान्वयन हुँदा अहिलेको करिब ३४ अर्ब डलरको अर्थतन्त्र १०० अर्ब डलरमा पुग्ने उनले उल्लेख गरे ।

“आगामी दशकमा थप २२ लाखले रोजगारी पाउनेछन् । हाल व्यापार घाटा र अर्थतन्त्रको अनुपात करिब २८ प्रतिशत छ । १० वर्षमा आधा घटाउन सकिन्छ," उनले भने ।

महासंघले तयार पारेको १०० योजना कार्यान्वयनमा सरकारको सहकार्य आवश्यक रहेको पनि उनले बताए । ४० वटा योजना दुई वर्षभित्रै कार्यान्वयनमा लान सक्ने उनको भनाइ छ ।

उनले निजी क्षेत्रप्रति पहिले नै खराब भावना नराख्न आग्रह गरे । “अव्यावहारिक अनुगमनले व्यवसायीलाई समस्या पारेकोप्रति हामी संवेदनशील छौँ । प्रधानमन्त्रीज्यूलाई पनि आग्रह गर्न चाहन्छु, व्यवसायीप्रति पहिले नै खराब भावना राखेर गरिने अनुगमनले कसैलाई फाइदा हुँदैन । यसमा सुधार आवश्यक छ । पहिले त यसको नियमावली नै बन्नुपर्छ," उनले भने ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १२:४९
प्रतिक्रिया दिनुहोस्