
नगेन्द्रराज शर्मा
साँझ अलि परेको थिएन । म उसको दैलोमा उभिन पुग्दा अगेनाका वरिपरि उसका जहान मात्र थिए । एउटी स्वास्नी, तीनवटी छोरी र एउटा छोरो । सबैजना नांगै थिए, केवल साहिँलीको कम्मरदेखि मुनि घुँडासम्म छोपिएको थियो एउटा गुन्यूले, बाँकी केटाकेटी निर्वांग । ठूलीचाहिँ छोरी वर्ष दसेककी थिई होली या त्योभन्दा बढीकी हुन सक्छे, कमकी थिइन । अर्की अलिक सानी, अर्की झन् सानी र काखमा छोरो । यो हो हाम्रो एउटा खोँच, कमला खोँचको मरिन खोलाको किनाराको एउटा माझीगाउँको एउटा घरको कुरो हो ।
साहिँलो । कालो–चिम्सो–नेप्टो, पुड्को तर हिस्सी परेको, मनकारी पनि । रमाइलो, मिलनसार । ऊ काठमाडौँमा पढ्न भनेर वर्ष पाँचेक बस्यो, तर उसले त्यस अवधिमा के र कति पढ्यो, त्यस कुराको ज्ञानचाहिँ केवल साहिँलैलाई छ । ऊ अलिक रउसी खालको मान्छे । मेला–जात्रा बिराउँदैनथ्यो । जाँडरक्सी त उसको जातैले पाइआएको । उसको बाबु जिमिनदार भएकाले पढ्न बसेको छोरालाई हम्मेसी पैसाको कम पनि हुन नपाउने । अनि त स्वभावतः नै उसका केटी साथीहरू पनि दुई–चारजना हुने भइहाले । उसलाई बेलाबखतअनुसारको आधुनिक लुगा लगाउनुपथ्र्यो । त्यति मात्र हैन, कहिले कहिले त कोटमा अत्तर पनि छर्किन्थ्यो । ठिटीहरू यदाकदा उसलाई मधिसे भनेर जिस्क्याउँथे, ऊ झन् दंग पथ्र्यो । नपरोस् पनि किन ? यहाँका आइमाईहरूले विदेशीहरूलाई मात्र दिने गरेको सहुलियत ऊ पनि पाउँथ्यो, उसको कालोपन बिहारीहरूकोजस्तै थियो नि ।
ढोकाबाट भित्र पस्ने आँट मेरो आएन । फनक्क बाहिरतिर के फर्केको थिएँ, मेरो अगाडि साहिँलो ङिच्च गरिरहेको । ऊ अझ कालो भएको, उसका आँखा अझ साना भएका, अलिक छिप्पिएको । ऊ पनि नाङ्गै थियो, एउटा धर्के सानो कट्टु मात्र लगाएको । हातमा माछा मार्ने जाल, कम्मरमा फुर्लुङ । फुर्लुङमा केही मसिना माछा ।
करिब पाँच वर्षअघि काठमाडौँमा ऊ र म सँगै पढ्न बसेका थियौँ । त्यसपछि हाम्रो भेटघाट, चिठीपत्र केही थिएन । आज अचानक उसलाई त्यस हालतमा देखेर म जिल्ल परेँ । मलाई त्यस ठाउँमा देखेर ऊ झन् जिल्ल । अनि, हामी माथि उक्ल्यौँ एउटा लिस्नु चढेर । अनि, एक घण्टा नबित्दै हाम्रा कुरा सिद्धिए, हामी पुराना भयौँ, त्यतिन्जेलमा बढारिएको मटानमा मेरो एउटा ओछ्यान लाग्यो । ‘छाप’बाट लाल्टिनको चिम आयो, छिमेकबाट मट्टीतेल आदि ।
हामीलाई उसका छोराछोरीले घेरे ।
‘छोराको नाम के राखिस् त साहिँला ?’ सोधेँ ।
‘देवानन्द ।’ ऊ ङिच्च हाँस्यो ।
‘वाह !’ अचानक मेरो मुखबाट निस्कियो । तर, यसपालि म जिल्ल परिनँ, यस घरमा आइपुगेपछि मैले धेरै यस्ता उल्कापातको सामना गरिसकेको थिएँ ।
‘छोरीहरूको नि ?’
‘त्यस्तै छ...।’ ऊ फेरि हाँस्यो ङिच्च ।
‘तैपनि ?’
‘यसको कुमुकुम, यसको नर्गिश, यसको निम्मी...।’ भनेर ऊ खितित्तै हाँसिदियो । किन्तु मचाहिँ हाँस्न पनि सकिनँ, रुन पनि सकिनँ ।
‘लु बाजे, आगो बल्यो ।’ तलबाट साहिँली कराई, देखेँ बारीमा मेरो भान्सा तयार पारिएको रहेछ ।
भात पकाउँदा साहिँली अलिक चर्केको सुनेँ ।
‘बस्तुभाउको पनि वास्ता छैन...खालि खोलाँ गयो, पुग्यो, भोज खुवाउन ल्या’को राँगाले मुन्टो बटारिसकेछ...।’ साहिँली रिसाई ।
‘ए, खुस्केछ ? कहिले ?’
‘कोनि कहिले, ब्याहान बस्तु फुकाउन जाँदा पो थाहा पाएँ, हिजै मर्याजस्तो छ, कमिला लागिसक्या छ ।’
‘थुक्क, भुराभुरी बिरामी भन्छ गाउँलेले...जाँड कस्तो छ नि, छिप्यो कि छिप्या छैन ?’
‘जाँड ता ठिकै छ ।’
‘उसो भे भोलि ब्याहानै उर्दी लाउनुपर्ला ।’
भान्सा सकिएपछि फेरि साहिँला र म मटानमा थियौँ, उसले मलाई केही दिन त्यहीँ बस्ने आग्रह गर्यो । तर, मैले मानिनँ ।
‘अचेल गाईबस्तुको रोग चम्केको छ कि क्या हो ?’ राँगो मरेको कुरा सम्झेर मैले सोधेँ ।
‘छैन, अचेल ता केटाकेटीको पो रोग चम्केको छ, रुघाखोकीले र खोपेकोले सोतर छन् । रुघाखोकीले त जैले पनि यत्तिकै मर्छन्, यसपालि वैद्यले पनि के गर्यो के ?’
‘राँगो पनि मर्यो भन्या हैन ?’
‘ए, त्यो त मर्नै आँट्याथ्यो, यो घरको छनु हालेको भोज ख्वाउनुपर्ने थियो । त्यसैले किनेको । सबका केटाकेटी बिरामी भएर यत्तिकै भइराख्याथ्यो, अब भोलि गर्नुपर्ला भोज ।’
‘अनि, अर्को राँगो किन्नु पर्दैन त ?’
‘पर्दैन, त्यसैले भइहाल्छ नि ।’
अनि, साहिँली सब केटाकेटीलाई लिएर आइपुगी ।
‘तिम्रो नाउँ के हो ?’ मैले त्यो ठूलीचाहिँ नाङ्गी छोरीलाई सोधेँ ।
‘...।’ ऊ बोलिन ।
‘कुमकुम हो ?’
‘...।’ उसले ‘हैन’को मुन्टो हल्लाई ।
‘तिम्रो बाबु त त्यसै भन्छ त ?’
‘आमा कुमे भन्छ, सप्पै कुमे भन्छ ।’ बोली ऊ ।
‘हाम्रो गाउँमा कोही लुगा लाउँदैन ।’ साहिँलाले अलिकति सरम वा असजिलोको अनुभव गरेछ क्यारे...सप्पै यस्तै, भर्खरका तरुनीले चाहिँ अलिक आङसम्म छोप्छ, अरूले ता भो...।’
मलाई साहिँलीतिर हेर्न आज मन लागिरहेको थियो, तर उसलाई चाहिँ हाम्रो अगाडि बस्न रत्ती पनि असजिलो लागेको थिएन । यद्यपि, म साहिँलाको घरमा पहिलोपटक पुगेको थिएँ, किन्तु हाम्रो पारिवारिक सम्बन्धचाहिँ दुई–तीन पुस्तादेखि नै थियो । मरिनको किनारामा हाम्रो पनि अलिकति खेत थियो रे, अस्तु ।
‘ए कुमे ! भन न, किन लुगा नलाएकी भन्या ?’ मैले तेस्रोपल्ट सोधेँ, अलिक सारो स्वरमा ।
‘लाज लाग्छ भन्या ।’ उसले साँच्चीकै लाज मान्दै र लाजले मुख लुकाउँदै भनी ।
म तीनछक परेँ । लुगा लगाउँदा लाज हुने र नाङ्गै बस्ता लाज नहुने कुरो मैले यसअघि कहिल्यै सुनेको थिइनँ ।
‘थुक्क मुर्दा, अनि यस्तालाई के लुगा सिइदिनु ?’ साहिँलीले उसको थाप्लोमा धारे हातले हिर्काई ।
‘साहिँली तिमी कति जाँड खान्छ्यौ ?’ अनि, मैले अर्कै कुरो झिकेँ ।
‘काँ बाजे, म त ठ्याप्पै खाँदैन ।’ ऊ बिस्तार–बिस्तार बोल्दै गई, ‘ट्यामदेखि विट्याम खाँदैन, मात्ने गरी खाँदैन ।’
‘तैपनि, दिनको कति ट्याम खान्छ्यौ ? एक ट्याम ? एक ट्याममा कति जति ?’
‘काँ खानु र ? उही ब्याहान एक बटुको, दिउँसो दुई बटुको, बेलुकी फेरि एक बटुको, कहिलेकाहीँ गर्मीमा दिउँसो...तीन–चार बटुको पनि खाइन्छ, अनि...अनि, कहिलेकाहीँ संगीसाथी आ’बेलाँ अलि–अलि...त्यत्ति हो बाजे ।’
‘दिनको सालाखाला पाँच–छ बटुको पर्दो हो ।’ मैले मनमनै गुनेँ, किनकि यहाँ गर्मी पनि सधैँजस्तो भइरहन्छ, खालि पुस र माघ छाडेर, सँगीसाथी पनि सधैँजस्तो जुटिरहन्छन् ।
‘बटुको त बटुको, तर बटुको कत्रो नि ?’
‘ऊ तेत्रै त हो नि बाजे ।’ उसले औँल्याई, पर कुनाको सिलेबरको एउटा बटुको जुन सानु–सानु बाटाजस्तै थियो ।
म फेरि एकपल्ट झस्केँ ।
‘यो बटुकोमा कति माना जान्छ ?’ सोधेँ ।
‘कोेनि बाजे, कति जाला र ? खुप्पै गए माना छएक जाला, पानीमानाले । कुरुवाले त तीन कुरुवा पनि जाँदैन...।’
‘अँ, त्यति मात्तै जान्छ तेरो झोल, पानीमानाले एक पाथीभन्दा घटी जाँदैन । धेरै बेरदेखि चुपचाप दाम्लो बाटिरहेको साहिँलो गुर्रायो, साहिँलीतिर चिम्से आँखा तर्दै र मुसुक्क हाँसेर मतिर हेर्दै बोल्यो, ‘बर्खाभरिमा दुई भकारी धान र एक खोल्मा मकै एक्लै सिद्ध्याउँछ यो अइमे (आइमाई)ले ।’
‘त, मैले मात्रै सिद्ध्या’को होला, एउटा तरुनीसँग गिदाउन (गीत गाउन) पायो भने आफू एक ब्याहानै सिद्ध्याएको पत्तो पाउँदैन...असत्ती...।’
अनि, आँगनको बाटो गरी दुई–चारजना मान्छे कुरा गर्दै हिँडिरहेका थिए, एउटा भनिरहेको थियो, ‘अँ, यसपालि दैवदशाले गर्दा अलि–अलि केटाकेटी नोक्सान परे...के गर्नु, आमा–बाबु मुख नबारिदिने...यसो द्यौ–द्यौताको पूजापाठ पनि छैन...कताबाट हुन्छ त...? तर, हाम्रो ओखतीचाहिँ ता बुझ्यौ माहिला...पक्का ओखती हो नि । त्यो सरकारीजस्तो कच्चा होइन । त्यो त छमहिने, हाम्रो एकपल्ट दिएपछि वास्...पाको भो पाको...।’
‘यही हो कि क्या हो, खोपाउने मान्छे ?’ मैले सोधेँ ।
‘हो बाजे, झाँगाझोलीको थापा बैद्दे (वैद्य) ।’
‘कतिजति मरे केटाकेटी खोपाउँदा ?’
‘धेरै मरेन, आधीसरो म¥यो होला ।’ यो उत्तर थियो साहिँलीको ।
‘त्यस्तै होला ।’ साहिँलाको समर्थन ।
भोलिपल्ट बिहान म लुरुलुरु मरिन खोलाको किनारै–किनारा सिन्धुलीतिर लागिरहँदा साहिँलाको उर्दी सुनिरहेको थिएँ ।
‘ए, ज्वाइँ ! ज्वाइँ हौ !’
‘हौ...हौ...।’ सायद ज्वाइँ पल्लो गाउँबाट ।
‘सितन खाने बोहोतो र जाँड खाने बटुको लिएर आउनू है आज ।’
‘भुराभुरी बिरामी छन् हौ, आउन सत्तैmन आज, एक–दुई दिनपछि गर्नू...।’
‘भएन, भएन, सितनले मानेन ।’ (अर्थात् राँगो मरिसक्यो ।)
‘के अरे ?’
‘सितनले मानेन भन्या क्या...। मुन्टो बटारिसकेछ हिजै...।’
‘लौलौ...उसे भा’ आउँला !’
‘ए, ससुरा...ससुरा हौ !’
‘ए, भानिज...!’
‘ए, काका...!’
‘ए, मामा...!’
‘ए, साला...!’
‘सितनले हतार गर्यो है...आजै आओ...सितन खाने बोहोतो र जाँड खाने बटुको जनङ्गे लिएर आउनू...नत्र पाउने छैन, है...।’
(हालसालै सार्वजनिक कृति ‘नगेन्द्रराज शर्मा : समग्र आख्यान’बाट पुस्तक अंश । सम्पादक : रोशन थापा ‘नीरव’)