काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)ले प्रतिनिधिसभा र संसद्का समितिहरुमा अझै नेकपा नै हुनुपरेको गुनासो गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सुरुमै एमाले सांसद खगराज अधिकारीले यस्तो गुनासो गरेका हुन् ।
“हामी जब समितिमा जान्छौँ सभामुख महोदय, नेकपा हुन बाध्य छौँ । यस्तो परिस्थिति निर्माण हुनु स्वयं संसद्को क्रियाशीलतामा गम्भीर प्रभाव पार्ने कुरा हो,” सांसद अधिकारीले भने, “यो संविधान, कानुन, दलसम्बन्धी व्यवस्था समेत विपरीत छ । प्रतिनिधिसभा नियमावलीविपरीत छ ।” उनले संसद्ले नेकपा नचिन्ने भन्दै आफूहरु मिनि संसद् (समिति)मा नेकपा हुन नसक्ने पनि बताए ।
सांसद अधिकारीले आफूहरुले संविधानसम्मत हुन चाहेको पनि बताए । त्यस्तै, उनले दलको संख्याको अनुपातमा समितिमा प्रतिनिधित्व हुँदै आए पनि अहिले भने त्यस्तो नभएकोमा असन्तुष्टि जनाए । “अहिले हामी नेकपा एमाले र माओवादी भइसक्यौँ । अरु दलको सम्बन्धमा त्यस्तो नहोला । तर, नेकपा एमाले संसदीय समितिहरुमा नेकपा एमाले भएर प्रतिनिधित्व गर्न चाहन्छ । तर, आज हामीले पाइरहेका छैनौँ,” अधिकारीको असन्तुष्टि थियो ।
उनले नेकपा एमाले संसद्को सबैभन्दा ठूलो पार्टी भएको भन्दै त्यही अनुपातमा समितिहरुमा प्रतिनिधित्वको माग पनि गरे । एमालेका प्रमुख सचेतकले विभिन्न समितिका लागि पठाएका नामहरु संसद् बैठकमा पढेर सुनाउन पनि उनले सभामुखसँग माग गरे ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकतापछि नेकपाका रुपमा रहँदा समितिमा समेत सोहीअनुसार भागबन्डा भएको थियो । सो क्रममा केही संसद्का समितहरुमा माओवादीबाट गएकाहरुले धेरै भाग पाएका थिए । अहिले सर्वोच्च अदालतको फैसलापछि दुवै दलको एकता भंग भएर पूर्ववत् अवस्थामा फर्किएपछि एमालेले समितिमा संख्याका आधारमा प्रतिनिधित्वको माग गरेको हो ।