site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गण्डकीमा माओवादी केन्द्रका दुई मन्त्रीद्वारा राजीनामा
फाइल तस्बिर : फेसबुक ।

गण्डकी । नेकपा (माओवादी केन्द्र)बाट गण्डकी प्रदेश सरकारमा सहभागी दुवैजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले प्रतिनिधित्व गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गण्डकी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आजको पहिलो बैठकमा माओवादी केन्द्र संसदीय दलका तर्फबाट मन्त्री चुमानले पार्टी संसदीय दलको निर्णयानुसार आजै प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा बुझाएको जानकारी दिए ।

पार्टी दुई भइसकेको अवस्थामा पछिल्ला समयमा भइरहेका गतिविधिलाई सरकारभित्र रहेर विरोध गर्न नैतिक प्रश्न उठ्ने अवस्था समेत रहेकाले सरकारबाट बाहिरिने निर्णयमा पुगेको उनले स्पष्ट पारे ।

नेपाली जनताको बलिदानीपूर्ण संघर्षको जगमा संघीयता, धर्म निरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वजस्ता धेरै महत्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै चुमानले यसको कार्यान्वयनका लागि आफूहरू निरन्तर क्रियाशील बनेको बताए ।

सरकारमा रहँदा संविधानको कार्यान्वयनका लागि हरतरहले क्रियाशील बनेको उल्लेख गर्दै उनले आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी लिने क्रममा ४६ वटा संशोधनसहितका कानुन निर्माणलगायतका महत्वपूर्ण उपलब्धि हासिल भएको जानकारी दिए । रासस

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  २१:११
प्रतिक्रिया दिनुहोस्