काठमाडौं । साइकलमा एक्लै दोलखादेखि दिपायलसम्मको १२ सय किलोमिटर यात्रा तय गरेका साहसिक साइकल यात्री देवेन्द्र बस्न्यातले आफ्नो साइकल यात्राका अनुभव सुनाए ।
मंगलबार अपरान्ह हेल्प नेपाल नेटवर्कद्वारा आयोजित कार्यक्रममा साइकल यात्री बस्न्यातले आफूले वाङमय शताब्दीपुरुष सत्यमोहन जोशीबाट आशीर्वाद थापेर दोलखा पुगेको बताए । दोलखाको राजकुलेश्वर सामूदायिक विद्यालयको प्राङ्गणबाट सुरु गरेको साइकल यात्राका क्रममा उनले आफूले भोगेका केही प्रसंगहरू उल्लेख गरे ।
दोलखाबाट साइकलमा हिँडेका देवेन्द्र मुढेभन्दा तल खाना खान रोकिए । तर होटल साहुले आफूसँग खाना नभएको र नजिकै बसेर खाइरहेका तीर्थयात्रुहरूले आफै खाना बनाएर खाएको बताए ।
शारीरिक ऊर्जाका लागि खाना जरुरी थियो । के गरूँ भन्ने उनी सोच्दै थिए; संयोग, त्यहीँ तीर्थयात्री समूहमा उनका एक साथी भेटिए । भेटघाट र कुराकानी भए पछि देवेन्द्रले साथीसँगै त्यही समूहमा खाना खाए । र धुलिखेलतिर लागे ।
देवेन्द्रले सुनाए, “खाना खाएर म धुलिखेलतिर हिँडे । त्यो मेरालागि स्मरणीय क्षण थियो । यदि साथी भेट नभएका खाना खोज्दै अझै उकालो लाग्नु पथ्र्यो होला ।”
यात्राका क्रममा कतिपय ठाउँमा बाटो बिग्रिएको सम्झना गर्दै त्यस्तो बाटोमा यात्रा गर्न कठिन भएको बताए । काठमाडौंबाट हेटौंडा जाँदा उनले आफू थानकोट, चित्लाङ हुँदै यात्रा गरेको बताए । हेटौंडा नारायणगढको यात्रा सहज भए पनि नारायणगढ बुटवलको यात्रा केही गाह्रो भएको उनले बताए ।
उनी भन्छन्, “दाउन्नेको सात आठ किलोमिटर बाटो धुलोले गर्दा केही नदेखिने । झन् त्यसमाथि ठूलाठूला ट्रकहरू हिँड्ने । आफू छेउ लागेर हिँड्दा पनि डरलाग्दो हुने । त्यसैले पनि बेलुका ७.३० बजे मात्रै म बुटवल पुगेँ ।”
बुटवलबाट भोलिपल्ट बुटवलबाट हिँडेर भालुवाङ पुगेका उनी लालमटिया, कोहलपुर, चिसापानी, अतरिया, डडेलधुरा हुँदै दिपायल पुगेको अनुभव बताए ।
कतिपय ठाउँमा कुकुरले लखेटेको चर्चा गर्दै उनले भने, “बरु बाघसँग डर लाग्थेन होला, कुकुरले यसपटक एकदमै तर्सायो !”
दोलखाको राजकुलेश्वर विद्यालय भवन र डडेलधुराको पुस्तकालय निर्माणका लागि ‘पेडल फर एजुकेशन’ श्लोगनका साथ सहयोग रकम जुटाउने सामाजिक कार्यका लागि लामो साइकल यात्रा थालेका देवेन्द्र बस्न्यातले सहयोगी हातहरूको सहयोग प्रति नतमस्तक भएको उल्लेख गरे ।
उनी भन्छन्, “सहयोगीहरूको साथ देखेर कतिपय ठाउँमा म भावुक पनि भएँ भने स्थानीयको स्वागत र सहयोगले मलाई उत्साहित तुल्यायो । समयमा तोकिएको ठाउँमा पुग्नु पर्ने प्रेसरले गर्दा बाटोमा राम्रा स्टोरीहरू भेटिए पनि त्यो गर्न सकिनँ ।”
५० वर्षको उमेरमा समाजसेवाका लागि एकल साइकल यात्रा गरेका देवेन्द्र बस्न्यातले स्कुल र पुस्तकालयका लागि सहयोग रकम उठ्दै गरेको बताए । कार्यक्रममा उपस्थित विभिन्न व्यक्ति तथा संस्थाहरूले पनि सहयोग रकम प्रदान गर्ने जनाएका छन् ।