site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पुनःस्थापित संसद् र कमल राणा

दुई वर्ष हुनै लाग्यो पहिलो संसद्को उपाध्यक्ष बन्ने दक्षिण एसियाकै प्रथम महिला कमल राणालाई विशाल नगरस्थित उनको अपार्टमेन्टमा भेटेको । कुराकानीको थालनीमै उनले सुनाइन् – सानै उमेरमा बिहा भयो । पढाइ पूरा गर्न पाइन । केटाकेटी हुर्किएपछि फेरि भर्ना भएर पढ्दै थिएँ । विसं २०१६ तिरको कुरा हो । सरकारबाट (राजा महेन्द्र) महासभा सदस्यमा मनोनीत गरिबक्सियो ।

संसदको माथिल्लो सदन महासभामा राणासहित राजाबाट मनोनीत १८ र प्रतिनिधि सभाबाट निर्वाचित १८ गरी ३६ सदस्य हुन्थे । तिनताका महिलाका लागि राजनीति सहज थिएन । 

त्यसैले त दुई सदनात्मक संसद्मा महिलाको प्रतिनिधित्व दुईमै सीमित थियो । राणा मनोनीत भएर माथिल्लो सदनमा पुगेकी थिइन् भने प्रतिनिधि सभामा कांग्रेसबाट द्वारिकादेवी ठकुरानी प्रत्यक्ष निर्वाचित ।

Prabhu Bank
Agni Group
NIC Asia

एकपटक राणाले द्वारिकादेवीलाई सोधेकी थिएन – म त राणाकी बुहारी । काठमाडौंमै रहेँ । सरकारबाट मनोनीत गरिबक्सियो । तपाईँ चुनाव उठ्ने वातावरण चाहिँ कसरी बन्यो हँ ? 

द्वारिका देवीले त्यस दिन भनेको कुरा राणाले यसरी सुनाइन् — मेरो क्षेत्र डँडेलधुरा कति दुर्गम छ भने तपाईंले  कल्पना पनि गर्न सक्नुहुन्न । अरु भएको भए मलाई चुनाव उठ्न प्रोत्साहित गर्थे भनेर म कल्पना गर्न पनि सक्दिन । मलाई त विश्वेश्वर बाबुले हातैमा ल्याएर टिकट दिनुभएको चुनाव लड्नुस् भनेर । नत्र, चुनावमा उठेर म कसरी यहाँसम्म आईपुग्थेँ होला र !  

Global Ime bank

राणाले लेखकलाई सुनाइन् — संसद्मा निर्वाचित भएर आएपछि बीपीले द्वारिकालाई मन्त्री बनाउनु भयो । देशकै पहिलो महिला मन्त्रीको इतिहास कोरियो । तर, मलाई अहिले आएर लाग्छ स्वास्नी मानिस भएकाले उहाँलाई सहायक मन्त्री बनाइयो । लोग्ने मान्छे भएको भए मन्त्री भैहाल्थ्यो होला । 

तल्लो सदन प्रतिनिधि सभामा कांग्रेसको दुई तिहाइ बहुमत भए पनि माथिल्लो सदनमा उसले अध्यक्ष र उपाध्यक्ष जित्न मनोनीत सदस्यलाई मिलाउनुको विकल्प थिएन । राजाले सरकारलाई अप्ठेरोमा पार्न आफ्ना विरोधीलाई छानीछानी महासभामा मनोनीत गरेको बीपीले समेत आत्मवृत्तान्तमा उल्लेख गरेका छन् । 

यी सब कारण पनि कांग्रेसीहरु मनोनीतलाई पार्टी प्रवेश गराउन लागि परेका थिए । यो मिसनमा सर्वाधिक सक्रिय हुनेमध्येका एक थिए कांग्रेसका प्रमुख सचेतक विश्वबन्धु थापा । उनले राणालाई भनेका थिए– हजुरले कांग्रेसको सदस्यता लिनु पर्‍यो । हामी उपाध्यक्ष बनाउछाैँ । 

राणाले २०७६ असार १५ गते लेखकलाई सुनाइन् – विश्वबन्धुको कुरा सुनेर मलाई भनक्क रिस उठ्यो । अनि भनिदिएँ । म उपाध्यक्ष पनि उठ्छु । कांग्रेसमा त जाँदै जान्न । 

त्यहीबाट विवाद सुरु भयो । उमेर विवाद निकालेर उनलाई रोक्ने प्रयास भए । राणाले लेखकलाई सुनाइन् – स्वयं प्रधानमन्त्री बीपी आएर भन्नुभयो । ए विश्वबन्धु ! छोड, यो सब । राजनीति सिद्धान्तको लडाइँ हो, उमेरमा अड्किनु हुँदैन । तर, विश्वबन्धुले मान्दै मानेनन् । बुबाका साथ जन्म स्थान पाल्पा गए उमेर प्रमाणित हुने कागज ल्याएर उमेदवार भएँ । चुनाव भयो । सत्तापक्ष कांग्रेसका उमदवार डीके शाहीलाई हराएँ । वासिङटनपास्टलगायत प्रसिद्ध अमेरिकी पत्रिकामा समाचार छापियो । नेपालमा सत्तापक्षका उमेदवारलाई हराएर महिला भइन् उपाध्यक्ष । 

उमेरले नौ दशक नाघेकी कमल राणाले मन्द मुस्कानका साथ सुनाइन् – मेरो दाइ हृषिकेश शाह संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि । न्युयोर्कबाट पत्रिकाको “कटिङ“ पठाइ दिनुभयो र समाचार हेर्न पाएँ । 

तिनताका महिलाले चुलोचौका हेर्ने हो राजनीति होइन भन्ने बुझाइ थियो । राणा परिवारकी बुहारी (मीनशम्शेर राणाकी पत्नी) भएकाले मात्र उनलाई केटाकेटी हुर्केपछि कलेज जाने छुट मिलेको थियो । तिनताका संसद्का पदाधिकारीलाई राज्यले गार्ड दिए पनि मोटर भने दिएको थिएन ।  गाडी हुनेलाई तेल भने दिइन्थ्यो । राणा आफ्नो निजी मोटरमा राष्ट्रिय झन्डा लगाएर आवतजावत गर्थिन् ।

राणाले सम्झिइन् – हामी मीनभवनमा बस्थ्याैँ । पानी पर्‍यो भने हिलोले घर (हालको मीनभवन क्याम्पस) पुग्नै गाह्रो हुन्थ्यो । 

सिंहदरबारस्थित ग्यालरी बैठकमा बिहान ९ देखि १२ बजेसम्म महासभा र दिउँसो प्रतिनिधि सभाको बैठक हुन्थ्यो । महासभाको काम सकिएपछि राणा नेसनल कलेज (हालको शंकरदेव) मा बेलुकाको सिफ्टमा पढ्न थालिन् ।

राणाले लेखकलाई सुनाइन् – नातामा भतिजा पर्ने ब्रह्म शम्शेर कांग्रेसका सांसद थिए । उनले एक दिन भने – मुवा झन्डावाल गाडी लिएर पढ्न गएको त अलि सुहाएन । उनले व्यंग्य गरेको चित्त बुझेन र भनिदिएँ – तिमी भएको भए भट्टी जाने थियौ । म सरस्वतीको मन्दिर गएँ । के भयो त ? संसद्मा झन्डा हल्लाएर जान्थेँ भने क्याम्पस जाँदा छोपेर । कलेजमा मेरोमात्र मोटर हुन्थ्यो । 


राणाले भनिन् – म त्यो जमानाको मान्छे । कलेजमा पनि दुई छात्रामात्र थियाैँ । म र मनमोहन अधिकारीकी श्रीमती साधना प्रधान । छोरी चेलीलाई पठाउनु हुँदैन । पढेलेखे भने चिठी लेख्न जान्ने भएर पोइल जान्छन् भन्ने जमानाको कुरा गर्दैछु म । हिजोआज त स्कुल कलेजमा केटाभन्दा केटी नै बढी छन् भन्ने सुन्दा दंग हुन्छु । राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखजस्ता उच्च पदमा महिला पुगिसके । राजनीतिक क्षेत्रमा ३३ प्रतिशत प्रतिनिधित्व हुनै पर्ने संविधान बन्यो । यो चानचुने उपलब्धि हैन । 

राणा उपाध्यक्ष हुँदा संसदीय अभ्यास नेपालका लागि नित्तान्त नौलो थियो । संसदीय मर्यादा र परम्पराको कुरै छोडाैँ, पढेलेखेका सांसद नै नगण्य थिए । 

छ दशकअघि अध्यक्षको आसनबाट महासभा बैठक चलाउँदाको रमाइलो अनुभव पनि उनले सुनाइन् – हाम्रो घरमा फोन थिएन । मनोनीत भए पनि कांग्रेसको समर्थनमा निर्वाचित भएका थिए अध्यक्ष डम्बरबहादुर सिंह । अहिले संसद भवन (वानेश्वर) रहेकै स्थानमा सेनाको ब्यारेक थियो । केही विवाद भयो कि अध्यक्ष ज्यू, बिरामी हुनुहुन्छ हजुर चाँडै आउनु पर्‍यो भन्ने खबर त्यही ब्यारेकमार्फत मकहाँ आइहाल्थ्यो ।

स्मरणमा आइरहने संसद्को एउटा घटनाका बारेमा राणाले भनिन् – अठार महिनामा अधिवेशन त जम्मा दुईवटा भए । तर, यसबीच धेरै घटना भए । बीपीको हँसिलो मुहार र भाषण गर्ने कला अनि सबैको आदर गर्ने बानी म भुल्न सक्दिन । अर्को एउटा घटना छ । तिनैताका मुस्ताङको सीमामा चिनियाँ पक्षले हानेको गोली लागेर नेपाली सेनाका हवल्दार बमबहादुर मरेको घटनामा संसद्मा गरमागरम बहस चलिरहेको थियो ।

यस्तैमा एक दिन सदनको कारवाही हेर्न बबर शम्शेर पनि आउनु भएको थियो । म पनि उहाँसँग बसेर प्रतिनिधि सभाको बहस सुनिरहेकी थिएँ । त्यो दिन विपक्षी दलका नेता भरतशम्शेरले निकै राम्रो सम्बोधन गरे । सरकार र प्रधानमन्त्रीको जमेर आलोचना गरे । बैठक सकिएपछि बबरशम्शेरले नातीलाई भन्नुभएको थियो – तिम्रो प्रस्तुति मलाई एकदमै मन पर्‍यो तर त्यसरी प्रधानमन्त्रीको आलोचना गर्न नहुने । कमसेकम प्रधानमन्त्रीको मर्यादा राखेको भए हुने ।

भरतशम्शेरका बाजे बबर, मोहनशम्शेरपछि प्रधानमन्त्री हुने रोलक्रममा हुनुहुन्थ्यो । विसं २००७ सालमा राणा शासन अन्त्य भएकाले उहाँ प्रधानमन्त्री हुन पाउनु भएन । एक सय चार वर्षे राणा शासन पनि अन्त्य भयो ।  

राणाले ती दिन सम्झिइन् । संसद् मजाले चलेको थियो । बीपीजस्तो नेता हामीले पाएका थियौँ । असाध्यै असल मानिस । तेरोमेरो भन्ने नभएको । तर, के गर्ने बीपी र राजा महेन्द्रको ठ्याक मिलेन । राजाले आज लिन्छन् भोलि लिन्छन् भन्ने हल्ला चल्न थालिहाल्यो ।

विसं २०१७ साल पुष १ गते राणा घरमै थिइन् । कसैले संसद् भंग भएको सूचना दियो । पहिलो सूचना दिने मानिस को थियो उनको स्मरणमा छैन । 

राणाले सुनाइन् – खबर सुनेर झसंग भएँ । बिहान उठेर सदन गएको बानी । के गरौं ? के गरौँ? जस्तो भयो । सुनसान । घरमै बसेँ । बाहिर जाने कुरा भएन । चिनेका मानिस सबै जेल परिहाले । केही दिनपछिको कुरा हो, संसद्मा रहेका आफ्ना सामान लिन भनेर सिंहदरबार छिरेँ ।

सुनसान छ । बरफबाग नजिक विपक्षी दलका नेता भरतशम्शेर अरु राजबन्दीका साथ घाम तापेर बसेका देखिए । कराए – ए मुमा मेरो गलबन्दी हजुरकोमा छुटेको छ है । म लिन आउँछु । बोलिन । बाटो लागेँ । किनभने मलाई कार्यकक्षमा रहेको आफ्नो सामान लिनु तर कसैसँग नबोल्नु भनिएको थियो । भरत शम्शेरले फेरि भने – ए मुमा हामीसँग नबोल्नु भनेको होला है । म नबोलेरै फर्किए । 

बहुदलीय संसदीय व्यवस्था गएपछि के हुने हो भन्ने अन्योल कायमै थियो । 

राजा र बीपीको व्यक्तित्व टकरावबाहेक संसद् विघटन हुनुपर्ने अर्को कारण उनले अझै पहिल्याउन सकेकी छैनन् । भन्छिन् –त्यस बेला संसदीय व्यवस्था नगएको भए राजनीतिकरुपमा देश धेरै अघि जानुपर्ने थियो । देश बन्ने थियो । जनता धेरै माथि पुग्थे । दुर्भाग्य भयो । 

छ दशकअघि संसद्को नेतृत्व गरेकी कमल राणाले देशमा बहुदलीय व्यवस्था (२०४६) स्थापना भएर चारवटा संसदीय (२०४८, २०५१, २०५६ र २०७४) र दुई वटा संविधान सभा (२०६४ र २०७०) का चुनाव भइसक्दा समेत संसद्को कामकारबाही प्रत्यक्षरुपमा हेरेकी छैनन् । 

यस सन्दर्भमा राणाले लेखकलाई सुनाइन् – अब त ऊ बेलाको जस्तो संसद् छैन । सदनको कारबाही त म अहिले पनि रुचिपूर्वक हेर्छु । तर, टेलिभिजनको पर्दामा । आधा कुर्सी खाली देख्दा मन दुख्छ । हाम्रो पालामा सधैँ भरिभराउ हुन्थ्यो । अब त संसद्मा पढेलेखेका मानिस धेरै भए । उनीहरु कसरी प्रस्तुत हुन्छन् होला ? एकपटक गएर संसद्को कारबाही हेर्ने मन छ । 

राणासँगको वार्तालाप केही सांसदलाई सुनाएर  एकपटक उनलाई संसद् बैठकमा आमन्त्रण गरेको भए हुने नि भनेको थिएँ । 

तर, संसदीय प्रजातन्त्रको जग बसाउन महत्त्वपूर्ण भूमिका खेलेकी प्रथम उपाध्यक्ष राणालाई संसदीय व्यवस्था पुनःस्थापना भए यताका तीन दशकमा न संसद् सचिवालयले सम्झियो न त राजनीतिक दल र तिनका सांसदहरुले नै । 

कुनै समय संसद्लाई “खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने संस्था“ ठान्ने कम्युनिस्टहरु नै यति बेला पुनःस्थापित संसद्लाई पंगु बनाउने खेलमा लागेका छन् । यसबेला त राणालाई सदनको कारबाही देखाउन कसैले पहल नगरेकै राम्रो !
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १५, २०७७  १३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC