जीवनको सबैभन्दा ऊर्जाशील र महत्त्वपूर्ण अवधि युवावस्था हो । बाल्यकालमा आमाबाबुकै निर्देशनअनुसार हुर्केको व्यक्ति युवावस्थामा प्रवेश गरेपछि उसमाथि सामाजिक, पारिवारिक, सांस्कृतिक एवम् व्यावसायिक दायित्व थपिन्छन् । युवावस्थालाई बाल्यावस्था र प्रौढावस्थाबीचको समयावधि भनेर पनि चिनाइन्छ । संयुक्त राष्ट्रसंघले तथ्याङ्कीय प्रयोजनका लागि युवावस्था भनी १५ देखि २४ वर्षबीचको उमेर समूहका व्यक्तिलाई परिभाषित गरे पनि राष्ट्रसंघकै ह्याबिट्याट युथ फन्ड तथा अफ्रिकन युथ चार्टरमा १५ वर्षदेखि ३५ वर्षसम्मका व्यक्तिलाई युवा मानिएको छ । नेपाल सरकारले भने १६ वर्षदेखि ४० वर्षसम्मका नागरिकलाई युवा मानेको छ । युवावस्थामै जीवनले सामाजिक, आर्थिक र व्यावसायिक स्थायित्व लिन्छ । त्यसपछि त युवावस्थामा निर्माण गरेको सडकको यात्रामात्र हो । कस्तो बाटो निर्माण गर्ने भन्ने युवावस्थामै निर्धारित हुन्छ । यस अर्थमा पनि युवावस्था जीवनको सर्वाधिक महत्त्वपूर्ण क्षणका रूपमा देखिन्छ । यसरी युवावस्था जीवनको अत्यन्त उर्वर, संवेदनशील एवं सक्रिय अवस्था हो ।
खासै जिम्मेवारीविहीन अवस्थाबाट आफ्नो लागि मात्र नभएर परिवार र समाजका लागि पनि जिम्मेवार बन्नुपर्ने अवस्थामा प्रवेशको सङ्क्रमणकालीन क्षणका साथसाथै जीवनको उत्तरार्धको बाटो पनि तय गर्नुपर्ने भएकाले युवावस्थालाई सङ्घर्षपूर्ण, जटिल र संवेदनशील मानिन्छ । युवावस्थाको सुरूको चरणमै व्यक्ति आफ्नो स्वतन्त्र परिचय खोज्न थाल्छ । शारीरिक विकासले पूर्णता पाउने समय भएकाले हर्मोनहरूको तीव्र्र परिवर्तन, यौनिकताको विकास र विपरीत लिङ्गीप्रतिको आकर्षण एवं संसर्ग हुँदै पेसा व्यवसाय चयन अनि पारिवारिक (वैवाहिक) अवस्थामा प्रवेशसमेत यही अवधिमै हुने गर्छ । छोरो वा छोरीको भूमिकाबाट स्वपहिचान र आत्मनिर्भरता सहित दाम्पत्य जीवनमा प्रवेश गरी बाबु वा आमाको गहन जिम्मेवारी वहनसमेत युवावस्थामै गरिने भएकाले यस अवस्थाभर व्यक्ति विभिन्न मानसिक द्वन्द्वबाट गुज्रिरहन्छ । मूलतः युवावस्थाका मानसिक द्वन्द्वलाई निम्न प्रकारमा वर्गीकरण गर्न सकिन्छ :
१. दृष्टिकोणबीचको द्वन्द्व
युवावस्थाका विभिन्न क्षणमा दृष्टिकोणहरूबीचको द्वन्द्व देखा पर्छ । यस प्रकारको द्वन्द्वमा समान महत्त्वका उद्देश्यहरू उपस्थित हुँदा निर्णय गर्न नसक्ने अवस्था हुन्छ । दुवै लक्ष्य सकारात्मक र जीवनका लागि महत्त्वपूर्ण हुने भए पनि निर्णय नगरुन्जेल द्वन्द्वले व्यक्तिलाई तनावमा पार्छ । युवावस्थाको प्रवेशमै धेरै जना आयआर्जनलाई महत्त्व दिन थाल्छन् । खास गरी फुर्मास गर्ने अनि साथीभाइका अगाडि मन खोलेर खर्च गर्न पाइने र आत्मनिर्भर वा स्वतन्त्र भएको महसुससमेत हुने भएकाले यतिखेर व्यवसाय वा जागिर गर्ने विचार मनमा आउँछ । सोही समयमै पढाइलाई निरन्तरता दिई उच्च डिग्री हासिल गर्ने सोच पनि हुन्छ । तुरून्तै आयआर्जन हुने काम गरिहाल्ने कि पछि राम्रो आयआर्जन गर्न पढाइमा एकोहोरिने भन्ने द्वन्द्वले युवायुवतीलाई ग्रस्त पारेको पाइन्छ । यस्तै रोजगारी कि बिहेवारी पहिले भन्ने विषयले पनि धेरै युवायुवतीलाई अनिर्णयको बन्दी बनाएको हुन्छ । अर्काथरी युवायुवतीलाई पारिवारिक वातावरणका साथसाथै स्वदेशको पढाइले आकर्षित गरेको हुन्छ भने साथीभाइ तथा सामाजिक सोचका कारण राम्रो गर्न विदेश गई अध्ययन गर्नुपर्छ भन्ने दृष्टिकोणले विचलित बनाएको हुन्छ । यी विषयहरूमा निर्णय नगरून्जेल व्यक्ति एक किसिमको छटपटी, तनाव र चिन्ताले आक्रान्त बनेको हुन्छ । दुवै दृष्टिकोण सकारात्मक र उपयोगी भए पनि धेरै युवायुवती सही समयमा सही निर्णय र सल्लाहको अभावमा अलमलमा पर्छन् । मनोवैज्ञानिकहरू यस किसिमको द्वन्द्वलाई “गधा र घाँस“को उदाहरणद्वारा प्रस्ट पार्ने गर्छन् । बाँधेर राखेको गधालाई समान दूरीमा दुवैतिर मीठामीठा घाँस राखिदिँदा गधा कुन घाँस खाने भन्ने निर्णय गर्न नसकी भोकभोकै मर्छ रे १ घाँस एकातिरमात्र भएको भए गधा सहजै घाँस खान जान्थ्यो तर दुवैतिर भएकाले एकातिरको खान जाँदा अर्कोतिरको सम्झने र फर्कने अनि फर्केर खान जान लागेको घाँसको नजिक पुग्दा अर्कोतिरको घाँस सम्झेर फर्कने गर्दा दुवैतिर घाँस हुँदाहुँदै पनि गधा भोकभोकै मर्न पुग्छ । यसबाट के स्पष्ट हुन्छ भने लक्ष्य एवं अवसर दुवै राम्रा भए पनि उचित समयमा सही निर्णय गर्न नसक्दा धेरै युवा अन्योलेमा पिल्सिने गरेका छन् । यसरी राम्रो राम्रो अवसरका बीचमा पनि सही समयमा सही चयन गर्न नसकेमा जीवन कष्टकर बन्ने गर्छ । धेरै युवायुवती युवावस्थाका विभिन्न क्षणमा यस प्रकारको मानसिक द्वन्द्वबाट पीडित हुने गरेको देखिन्छ ।
२. निषेधको द्वन्द्व
मन नपर्ने दुईवटा विकल्पमा छान्नुपर्ने अवस्थामा निषेधको उपस्थित हुन्छ । दुवै विकल्प अप्रिय र तनावपूर्ण भए पनि एउटा छान्न अनिवार्य हुँदा युवायुवती न त एउटा विकल्प चयन गर्न तयार हुन्छन् न त दुवैलाई निषेध नै गर्न सक्षम हुन्छन् । अकस्मात् क्यान्सर निदान भएपछि डाक्टरले किमोथेरापी अथवा अप्रेसन कुनै एक गर्नुपर्ने भयो । तर, दुवै कष्टकर हुन्छन् । यी विधिबाट रोग पूर्ण निको हुन सक्छ भन्ने पनि छैन भनेका अवस्थामा बिरामीमा जुन प्रकारको संशय तथा तनाव उत्पन्न होला त्यसै प्रकारको अप्रिय र तनावपूर्ण अवस्था निषेधको द्वन्द्वले पैदा गर्छ ।
युवायुवतीमा खासगरी आर्थिक अवस्था कमजोर भएका परिवारमा बिरामी आमाबाबु हेरेर घरमै बस्ने कि स्वदेशको रोजगारीले आर्थिक स्थितिमा परिवर्तन नआउने भएकाले केही समयका लागि जोखिमको सूचीमा भएका देशमा गई काम गर्ने भन्ने विषयले पनि द्वन्द्वको रापमा पारेको हुनसक्छ । दुवै विकल्प अप्रिय र पीडादायी भएकाले व्यक्ति स्वयं निराश र त्रस्त हुन्छ । पढेलेखेर भविष्य राम्रो पार्ने उद्देश्यले सङ्घर्षमा जुटेको बेला अकस्मात् घर चलाउने मुलीको निधनले जिम्मेवारी आफूले वहन गर्नुपर्ने अवस्थामा घर चलाउन सङ्घर्ष गर्ने कि आयआर्जनका अरू बाटा खोज्ने भन्नेजस्ता द्वन्द्वले युवायुवती निर्णय गर्न असमर्थ हुन्छन् भने कुनै एउटा निर्णय लिइहालेमा पनि अर्को विकल्प बरू कम घातक थियो कि भनी दुबिधामा पर्छन् । यस द्वन्द्वले व्यक्तिको शरीर एकातिर र मन अर्कोतिर पारिदिने भएकाले जहाँ र जहिले पनि असन्तोष र काममा अरुचि थपिँदै जान्छ । द्वन्द्वबाट छुटकारा पाउन सक्ने अन्य उपाय नहुने तथा उपलब्ध विकल्पमध्ये कुनै पनि विकल्प छानेर निर्णय गर्दा पनि नतिजा सुखद् नहुने भएकाले व्यक्ति सम्पूर्ण कुरालाई टार्न वा पन्छाउन चाहन्छ ।
३. धारण र निषेधको द्वन्द्व
धारणा र निषेधको द्वन्द्वमा आफूलाई निकै मन पर्ने विकल्प उपस्थित हुन्छ तर सो विकल्पको चयनसँगै अन्य समस्या सँगसँगै आइलाग्छन् । यस्तो अवस्थामा सही विकल्पलाई त्याग्न नसक्ने तर सँगै आउने समस्यालाईस्वीकार गर्न पनि नसक्ने अवस्था देखापर्छ । युवायुवतीमा प्रेम सम्बन्धको विकास भएपछि अन्तर्जातीय वा समाजद्वारा स्वीकार गर्न नसक्ने अन्य किसिमको विवाह गर्न मन लाग्ने तर यसैका कारण परिवारबाट एक्लिनुपर्ने भएपछि मानसिक द्वन्द्व चुलिने अवस्था उत्पन्न हुन्छ । काम गरिरहेको ठाउँमा तलब वृद्धिसहित बढुवाको प्रस्तावसँगै कठिन ठाउँमा सरुवा भई जानुपर्ने प्रस्ताव आएमा व्यक्ति स्वीकार र निषेधको द्वन्द्वमा पर्छ । राम्रो छात्रवृत्तिको अवसरसँगै व्यक्तिगत स्वतन्त्रता खुम्चिने गरी अतिरिक्त समय काम गर्नुपर्ने अवस्था वा साथीभाइको वैवाहिक सम्बन्ध तथा बालबालिकासहितको पारिवारिक वातावरणबाट आफू पनि विवाह गर्न आकर्षित हुनु तर सँगसँगै आउने आर्थिक भार वहन गर्न असमर्थ भएको निक्र्योल गर्नु यस अवस्थाको राम्रो उदाहरण हो । यतिखेर निर्णय गर्न नसकेमा व्यक्ति तनावका कारण थलिँदै जान्छ र उसको कार्यकुशलतामा नकारात्मक असर पर्छ । लामो समय यस प्रकारको द्वन्द्व रहेमा युवाको ऊर्जाशील समय खेर जान्छ ।
आफ्नो स्वायत्तता, स्वतन्त्रता एवम् मौलिक पहिचानसहित जीवनका महत्त्वपूर्ण कार्य पढाइ, पारिवारिक जीवन र पेसाव्यवसाय चयन एवं ती क्षेत्रमा कुशलता देखाउनुपर्ने समय नै युवावस्था भएकाले यतिखेर एकपछि अर्को अनेक किसिमका मानसिक द्वन्द्व र तनावपूर्ण परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ । यस्तो परिस्थितिको बुद्धिमत्तापूर्ण तरिकाले सामना गर्ने क्षमता र सीप विकासका लागि मनोसामाजिक तालिम, परामर्श एवम् अध्ययनहरू प्रभावकारी हुने देखिन्छ । माथि उल्लेख गरिएका समस्या वा द्वन्द्व निर्णय नगरुन्जेल विकसित हुँदै जाने भएकाले विवेकपूर्ण र छरितो निर्णय गर्न सकेमा भने तनाव स्वतः हराएर जान्छ । तनावले जटिलरूप लिएको खण्डमा भने सोको समाधानका लागि मनोविद्हरूले संज्ञानात्मक व्यवहारवादी थेरापीको प्रयोग गरी उपचार गर्छन् ।