![महिला चेम्बरको आयोजनामा तीनदिने व्यापार मेला काठमाडौंमा (भिडियोसहित)](https://12khari.top/uploads/posts/Chamber1615202749.jpg)
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सव तथा १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चेम्बरअन्तर्गतको नेपाल महिला चेम्बरले तीन दिने व्यापार मेलाको आयोजना गरेको छ ।
व्यापार मेलाको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे । यस्तै अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला चेम्बरले पाँचजना महिला व्यवसायीहरूलाई सम्मान गर्यो । आईटी एन्ड इन्नोभेसन अवार्डबाट अदिति गोयल, बिजनेस मोटिभेटर अवार्डबाट राधालक्ष्मी श्रेष्ठ, एग्रो आन्टरप्रेनर अवार्ड झापाको कन्काई महिला ग्रुपलाई सम्मान गरेको छ । यस्तै महिला उद्यमी अवार्ड रेखा चौधरी शर्मालाई प्रदान गरिएको छ । उनीहरुलाई उपराष्ट्रपति पुनले सम्मान गरेका हुन् ।
कार्यक्रममा उपराष्ट्रपति पुनले सामाजिक राजनीतिक रुपान्तरणमा महिलाहरूको महत्त्वपूर्ण भूमिका रहे पनि त्यो भूमिकाको बास्तविक सम्मान हुन नसकेको बताए । “संविधानले महिलाहरूलाई समान अधिकार दिएको छ । सामाजिक न्यायसहितको समानुपातिक सहभागिताले समाजका सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व बढाएको छ,” उनले भने, “तर कानुनले दिएका अधिकारहरूको व्यवहारिक कार्यान्वयनका लागि अझ धेरै काम गर्न बाँकी छ ।”
दिनानुदिन बलात्कारका घटनाहरू बढ्नु चिन्ताको विषय भएको उल्लेख गर्दै उनले अपराधीहरूलाई कानुनी कारबाही गर्न नसक्दा समाजमा असुरक्षा बढेको र अन्तर्राष्ट्रियस्तरमा मुलुकको छविसमेत धुमिल भइरहेको बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिलाहरूद्वारा सञ्चालित फर्म तथा व्यावसायिक प्रतिष्ठानहरूलाई करमा विशेष छुट दिन आग्रह गरे । कृषि तथा जलविद्युत् क्षेत्रमा जस्तै महिला सञ्चालित उद्यम व्यवसायहरूलाई बैंकहरूले ब्याजदर घटाउने गरी सरकारले नीति ल्याउनुपर्ने उनको भनाइ थियो । सरकारले महिलाद्वारा सञ्चालित व्यवसायलाई १५ लाखसम्म बिनाधितो ऋण दिने नीति लिए पनि विभिन्न झन्झट बेहोर्नुपरेको पनि उनले बताए ।
नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले राजनीतिक आर्थिक अधिकार पाए पनि कार्यान्वयन फितलो हुँदा महिलाहरू लाभान्वित हुन नसकेको बताइन् । महिलालाई आर्थिक रुपले सक्षम नबनाइ कानुनी अधिकारको पूर्ण उपयोग हुन नसक्ने उनको भनाइ थियो ।