
जनकपुरधाम । जनकपुर साहित्य महोत्सव शनिबार सकिएको छ ।
अन्तिम दिनको पहिलो सत्रमा 'कसले देला सुशासन ?' विषयमा बहस गरियो । प्रदेश नम्बर-२ का न्यायाधिवक्ता दीपेन्द्र झा, पत्रकार हरिबहादुर थापा, अधिवक्ता मुनिदेवी दास, दीपेन्द्र चौहान र प्रस्तोता बीपी साहले सो सत्रमा बहस गरे ।
यस्तै, अर्को सत्र 'सिनेमाको रङ' विषयमा अभिनेत्री मनीषा कोइराला, नायक राजेश हमाल र प्रस्तोता अनुप बरालबीच छलफल भयो । नायिका कोइरालाले राज्य तथा समाजले कला क्षेत्रलाई सहयोग नगरेका कारण नेपाली फिल्ममा प्रगति नभएको बताइन् । कला, साहित्य तथा खेललाई सहयोग नगर्ने समाज खल्लो हुने गरेको उनले गुनासो गरिन् ।
नायक हमालले आफूले देशको सम्पूर्ण समुदायको प्रतिनिधित्व हुने गरी चलचित्रहरुमा अभिनय गरेको बताए ।
अर्को सत्रमा नेपाली कांग्रेसका नेता प्रदीप गिरिले सीता विमर्स शीर्षकमा प्रवचन सुनाए । उनले आफ्ना विचार प्रस्तुत गर्दै आजको सीता बन्न महिलाहरुलाई आग्रह गरे । नेता गिरीले रामायणको पात्र सीता क्रान्तिकारी र स्वाभिमानी रहेको भन्दै हरेक महिला सीता बन्नुपर्ने धारणा राखे ।
‘‘सीताको वास्तविक चरित्रलाई लुकाइएका कारण सीता बन्ने कि नबन्ने बहस चलिरहेको छ,’’ उनले भने, ‘‘म त सीता बन्न आग्रह गर्छु । तर हिजोको सीता होइन, आजको सीता बन्नुपर्छ ।’’