काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप दिने काम जारी राखिएको छ ।
सिभिल हस्पिटल नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुलाई बुधबारदेखि कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरिएकामा अनुपस्थित सांसदहरुलाई बिहीबार पनि खोप दिइएको छ । बिहीबार राष्ट्रियसभा सदस्य वामदेव गौतमलगायत सांसदहरुले कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । खोप लगाइसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै राष्ट्रियसभा सदस्य गौतमले खोपबाट केही हुन्छ कि भनेर ज्येष्ठ नागरिकले रत्तिभर पनि शंका गर्नु नपर्ने बताए । परिवार र समाजको सुरक्षाका निम्ति कोभिडविरुद्धको खोप लगाउनैपर्ने उनको भनाइ छ ।
उनले भने, "ज्येष्ठ नागरिकले रत्तिभर शंका गर्नु हुँदैन केही हुन्छ कि भनेर । झन् बलियो हुन, झन् एन्टिबडी निर्माण गरेर कोरोनाले छुन पनि नसक्ने बनाउँछ । कसैले पनि चिन्ता गर्नु पर्दैन । कुनै पनि हालतमा लगाउनुपर्छ । हाम्रो समाजको सुरक्षाका निम्ति, प्रत्येक परिवारका सदस्यको सुरक्षाको निम्ति लगाउनुपर्छ ।"
बिहीबार संघीय संसद् सचिवालयका कर्मचारीहरु, स्वकीय-सचिवलगायतका कर्मचारीहरु र ट्राफिक, बम डिस्पोजल, कुकुरबाट जाँच गर्नेलगायत सुरक्षाकर्मीलाई खोप दिइने संघीय संसद सचिवालयले जनाएको छ ।