site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
‘आफन्त’ले साना उद्योग व्यवसाय र पेशा प्रवर्धन तथा उद्यमशीलता विकास गर्न सघाउने

काठमाडौं । लघु, घरेलु तथा साना उद्योग व्यवसाय र पेशा प्रवर्धन गर्न तथा उद्यमशीलता विकास गर्न आफन्त नामक सामाजिक सञ्जाल सञ्चालनमा आएको छ । नेपालीले नेपालीकै लागि बनाएर सञ्चालनमा ल्याएको ‘आफन्त’ को प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालले सार्वजनिक गरे ।

प्रधानमन्त्री कार्यालयका सचिव अर्यालले ‘आफन्त’ लाई साना उद्योगी र तिनका उत्पादनदेखि बजारीकरण गर्न सघाउने किसिमले सदुपयोग गर्न आग्रह गरे । सरकारका तर्फबाट सहयोग रहने प्रतिवद्धता जनाउँदै उनले एप र सञ्जालहरुको भीडमा यो त्यत्तिकै नहरायने र उत्पादन, बजार, उद्यमीहरूलाई जोड्ने विश्वास व्यक्त गरे । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वेवसाइट तथा एप दुबै माध्यममा उपलब्ध आफन्त सञ्जाल गाउँघरमा दिदीबहिनीहरुले उत्पादन गरेको अचार, जंगलबाट संकलन गरेको निगुरोमात्रै नभएर साना तथा लघु उद्यमीहरुका उत्पादनलाई कसरी सहज रुपमा बजारीकरण गर्न सकिन्छ भनेर खोजी गर्ने क्रममा यो उपाय आएको नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष तथा आफन्त नेपाल प्रालिका अध्यक्ष श्यामप्रसाद गिरीले बताए ।

कृषि, औद्योगिक लगायत अन्य स्थानीय उत्पादक र थोक तथा खुद्रा व्यापारी र उपभोक्ताबीच वस्तु खरिद बिक्रीबारे जानकारी लिने दिने माध्यमका साथै निर्यातमूलक वस्तु उत्पादनकर्ता र बाह्य खरिदकर्ता र व्यापारीबीच जानकारी आदान प्रदान गर्ने माध्यमको रुपमा आफन्तलाई अगाडि बढाइएको उनको भनाइ  छ । विभिन्न कालखण्डमा नेपालमा रहेर वा नरही नेपाललाई माया गर्ने गैर नेपाली र नेपाली समुदायबीच अन्तरक्रिया गर्ने माध्यम पनि आफन्त रहेको अध्यक्ष गिरीले दाबी गरे ।

अन्य सामाजिक सञ्जालमा जस्तै ‘आफन्त’ मा तस्बिर, भिडिओ पोस्ट गर्न तथा लेख, ब्लगहरु पनि पोस्ट गर्न, च्याट गर्न मिल्नेछ । अन्य सामाजिक सञ्जाल भन्दा ‘आफन्त’ मार्फत उद्योगी व्यवसायीले संसारभर छरिएका ग्राहकलाई कुनै पनि उत्पादन बिक्री गर्न सक्ने सञ्चालनकर्ता कम्पनी आफन्त नेपाल प्रालिले जनाएको छ । बिक्रेता र क्रेतालाई जोड्ने पुलका रुपमा काम गर्ने ‘आफन्त’ लाई नेपालीको अनलाइन साझा चौतारी बनाउन खोजिएको हो ।

रोजगारी दिने र कामको खोजीमा रहेकालाई पनि सहयोग पुर्याउने ‘आफन्त’ प्लेटफर्ममा आफ्नो कम्पनीलाई चाहिएको जनशक्तिबारे विस्तृत विवरण राख्न सकिनेछ । जागिरको खोजीमा रहेकाहरुले पनि आफूलाई उपयुक्त लागेको भ्याकेन्सीमा एप्लाइ गर्न सक्नेछन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  २१:१४
प्रतिक्रिया दिनुहोस्