site stats
बाह्रखरी :: Baahrakhari
विशेष
भोट नदिनेहरुलाई नै अहिले सबैभन्दा धेरै कांग्रेस चाहिया’ छ : देउवा 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई भोट नदिनेहरुलाई नै अहिले सबैभन्दा धेरै कांग्रेस चाहिएको बताएका छन् । 

महेन्द्रनारायण निधि प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रममा देउवाले कांग्रेसले भोट नपाएका कारण देश संकटमा फसेको र संकटका समयमा भने नागरिक समाजसहित विभिन्न तप्काले कांग्रेसलाई सम्झिएको बताएका हुन् । 

“कांग्रेसलाई भोट नदिनेहरुलाई यतिबेला सबैभन्दा बढी कांग्रेस चाहिएको छ, कांग्रेस किन बोल्दैन ?, कांग्रेस किन आन्दोलन सशक्त बनाउँदैन ? कांग्रेसले के गर्छ ? जस्तो प्रश्न उहाँहरु हामीलाई गरिरहनुुभएको छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले कांग्रेसप्रतिको अपेक्षाका लागि सबैलाई धन्यवाद दिए ।

“हामीलाई त आफैँ संसद्को बैठक बोलाउनेसमेत संख्या थिएन, प्रधानमन्त्रीले छ महिनासम्म संसद् नबोलाएपछि संसद् बैठक बोलाउनका लागि पनि मधेस केन्द्रित दलसँग छलफल गरेको थिएँ,” देउवाले संसद्मा जनताले दिएको जनमतप्रति संकेत गर्दै भने, “संसदमा केही गरेन, सडकमा केही गरेन भनेर नागरिकले प्रश्न गर्नुभयो । कांग्रेस आवश्यक पार्टी रहेछ भनेर ठान्दिनुभयो म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।” 

देउवाले त्यसरी प्रश्न गर्नेहरुलाई प्रतिनिधिसभा विघटन पछि नबोलेको विषयमा पनि जवाफ दिए । 

सर्वोच्चले स्टे अर्डर नदिँदा चुप बस्न बाध्य भयौँ 

सभापति देउवाले सर्वोच्च अदालतले ‘स्टे अर्डर’ नदिदा चुप बस्न बाध्य भएको बताए । 

“प्रतिनिधिसभा विघटन भयो । हामीले उही दिन बैठक बसेर यो कदम असंवैधानिक र अलोकतान्त्रिक हो भन्यौँ,” देउवाले भने, “त्यसपछि अदालतमा रिट पर्‍यो । विघटन संविधानमा नभएको व्यवस्था भएकाले सर्वोच्चले स्टे अर्डर जारी गर्ला भन्ने अपेक्षा थियो । सर्वोच्चले स्टेअर्डर जारी गरेन, जे पनि हुन सक्छ भनेर हामी चुप बस्न बाध्य भयौँ।” 

उनले सर्वोच्चको आदेश नमान्ने आफ्नै मान्ने भने भोलि आउने आदेशका कारण थप संकट आउने भएकाले पनि चुप बस्न बाध्य भएको बताए ।

प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  १८:३१
प्रतिक्रिया दिनुहोस्