बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विचार निसानामा नेपाली कांग्रेस प्रकाश पोख्रेल 
बाह्रखरी - बुधबार, फागुन १२, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

समयमा दलकाे अधिवेशन नगर्दा लोकतन्त्रको पहरेदार ठानिएको देशकै पुरानो र ठूलाे पार्टी नेपाली कांग्रेसको वैधानिकता नै सङ्कटमा पर्ने खतरा बढेको छ । लोकतन्त्रमा पदाधिकारीकाे वैधता आवधिक निर्वाचनले दिने हो । तर, कांग्रेसले भने लोकतन्त्रको पक्षधर भएर पनि दलकाे आवधिक अधिवेशनप्रति इमानदार भएकाे पाइएन । एकपटक नेतृत्वमा आइसकेपछि कुर्सी बचाई राख्ने कसरत गर्ने पार्टी नेतृत्व पार्टी नै नरहने स्थितिप्रति भने गम्भीर देखिएन । कहिले "मेरा गोरुको बाह्रै टक्का" र कहिले  "गोरु चुट्ने हलो अड्काउने" जस्तो प्रवृत्तिबाट कांग्रेस नेतृत्व अलग हुन सकेन । शीर्ष तहका नेताहरूबीचको असमझदारी र गुटबन्दीका कारण पार्टीले ठूलो नोक्सानी बेहोर्दै आएको छ । कांग्रेसको इतिहासमा अधिकांश पार्टी  सभापतिले तोकिएको समयमा अधिवेशन गरेर नयाँ नेतृत्व हस्तान्तरण गरेको  पाइँदैन । गुटबन्दी र घेराबन्दीलाई आन्तरिक लोकतन्त्र ठान्ने नेतृत्व कार्यकर्ताको मनोभावनाअनुसार नचल्दा  लोकतान्त्रिक  अभ्यास र संस्कार नै संकटमा परेको छ ।

विधि र विधानको पैरवी गर्ने नेपाली कांग्रेसले विधानत: गर्नुपर्ने आवधिक अधिवेशन नगर्दा पार्टी नै वैधानिक संकटमा परेको हो। संवैधानिक छिद्रकाे आड लिएर पार्टीको वैधता बचाउनु पर्ने परिस्थिति पैदा हुनु लोकतान्त्रिक पार्टीको लागि क्षम्य हुनै सक्दैन । 

विधानतः अगिल्लाे अधिवेशनकाे ४ वर्षभित्रै पार्टीकाे अधिवेशन गर्नुपर्ने हो । तर, विधानमा उल्लेखित विशेष परिस्थितिको व्यवस्थाको दुरुपयोग गर्दै पदासीन भइरहन खोजिरहेकै बेला मुलुक कोरोनाको कहरमा थलिन पुग्यो। कुर्सी बचाइरहन सभापतिलाई सहज भयो । अहिले संवैधानिक व्यवस्थामा टेकेर २०७७ सालको  भदौमा अधिवेशन गर्ने  समयतालिका सार्वजनिक गरिए पनि उक्त समयमा अधिवेशन हुनेमा आशङ्का बाँकी नै छ । निर्धारित समयमा अधिवेशन हुन नसक्ने परिस्थिति पैदा भयो भने पार्टीको वैधता बचाउने उपायको खोजीको चर्चा अहिलेदेखि नै सुरु भएको छ । 

Agani Group

संसदीय व्यवस्थाका मूल्य मान्यता कुल्चिएर अध्यादेशमार्फत मुलुक चलाइरहेका प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रकै मियो मानिने नेपाली कांग्रेसलाई निसाना बनाएकाे स्पष्टै छ् । कांग्रेसभित्र विग्रह पैदा गरेर सत्तामा टिकिरहने दाउ ओलीकाे हुनसक्छ । कांग्रेस सभापतिलाई फकाउने कसरतमा उनी सफल पनि देखिएका छ्न् । विभिन्न नियुक्तिका भागबन्डाले यो पुष्टि भएकाे छ । अधिवेशनको समय पुनः पछि धकेल्ने गरी ओलीको भ्रमजालमा परेर दलसम्बन्धीको अध्यादेशको फेरो समात्ने मनसुवा सभापतिमा पलायो भने पार्टीमात्र हैन मुलुक नै ठूलो दुर्घटनामा  पर्नेछ। लोकतान्त्रिक व्यवस्थामाथि नै हमला हुनसक्ने खतरा बढ्नेछ । 

करिब दुई तिहाइ बहुमत प्राप्त कम्युनिस्ट सरकारले मुलुकको बागडोर सम्हाल्न नसकेपछि यतिबेला नेपाली जनताको आँखा कांग्रेसतर्फ मोडिएको छ । नेपाली कांग्रेस भने स्वयं विधिविधान र अनुशासन च्युत हुन थालेकाे देखेर सचेत नागरिकमा चिन्ता पनि बढेको छ । 

sarbottam cement

पछिल्लो समय नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लहर बढेको छ । नवप्रवेशीको बलमा मात्र पार्टी सङ्गठन बलियाे होला भन्ने कल्पना गर्नु खहरेको भेलबाट बिजुली निकालेर सहर उज्यालो बनाउने परिकल्पना समान हो । पार्टी एकीकरणको नाममा जनाधार नभएका पार्टीका कार्यकर्तालाई जिम्मेवार पदमा आसीन गराइरहँदा पार्टीमा आजीवन योगदान गरेका कार्यकर्ताको अवमूल्यन भएको हेक्का नेतृत्वमा हुनुपर्ने हो । नेपाली कांग्रेसभित्र अनुशासनमा रहन नसकेर बाहिरिएका सीमित कार्यकर्ताको झुन्ड मिलेर गठन भएका पार्टीलाई पुनः पार्टीमा भित्र्याएर जिम्मेवार पद दिँदै जाने हो भने कांग्रेसको हालत के होला ? वर्षाैंसम्म पार्टीमा योगदान गरेका पदविहीन कार्यकर्ताले सजिलै पद प्राप्तिको बाटो नयाँ पार्टी गठन र एकीकरणलाई बनाउन थाले भने नेपाली कांग्रेसबाट चोइटिने समूह कति बन्लान् ? कांग्रेस नेतृत्व यसप्रत गम्भीर हुनुपर्ने थिएन ? 

प्रधानमन्त्री केपी ओलीले असंवैधानिक तवरले संसद्काे हत्या गरेपछि देशकाे राजनीतिक भविष्य अन्योलग्रस्त बनेको छ । यस परिस्थितिमा नेपाली कांग्रेसको अपेक्षित भूमिका देखा नपर्दा जनतामा निराश भएका छन् । पार्टी अधिवेशन सम्पन्न भएको ३ महिनाभित्र  विभागहरू गठन गरेर संगठन विस्तार गर्नुपर्ने आफ्नो दायित्व बेवास्ता  गर्दै कार्यकाल सकिएपछि  अधिवेशनको मुखमा विभिन्न पद वितरण गर्नुलाई नेतृत्वकाे दक्षता ठान्ने ‘ज्ञान’ त पद लिने कार्यकर्तामा मात्र होला । 

सत्यतथ्य उजागर गर्न खोज्नु कांग्रेसभित्र निकै जटिल विषय हो । जयजयकारको आत्ममुग्धताबाट कांग्रेस नेता अलग हुनसकेका छैनन् । आलोचकको त कुरै छाडौँ समालोचकलाई समेत किनारा लगाएर भजनमण्डलीको बीचमा रमाउने नेतृत्वले नेपाली कांग्रेसलाई कता लैजाला ? करिब एक वर्ष पहिले नेपालको राष्ट्रियता जोडिएको विषयमा सदनमा पेस भइसकेको संशाेधन प्रस्तावबाट पछि हटेको बारेमा उपयुक्त  सुझाव दिन पुग्दा आफ्नै नेताले आफूलाई झपारेको पार्टीको जिम्मेवार तहमा रहेका एक मित्रले मलाई सुनाएका थिए । "पार्टीमा आफू स्थापित हुन खोज्ने हो भने नेतृत्वको अघि चुप लागेर नै बस्नुपर्ने रहेछ" भन्ने उनको निष्कर्ष थियाे । 

रास्ट्र, जनता र पार्टीको हितमा बोल्दै गर्दा पदीय भूमिका विहीन कार्यकर्ताले नेपाली कांग्रेसलाई आजसम्म टिकाएका सबैले थाहा पाएका छन् । इतिहासलाई साक्षी राखेर अगाडि बढ्न सके त भविष्य उज्ज्वल बन्नसक्ला । तर, यतिबेला  कांग्रेसको ध्यान आफ्नै इतिहासमा ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ । 

स्थापनाकालदेखि नै आफ्नो सिद्धान्त, आदर्श र लक्ष्य प्राप्तिको संघर्षमा कांग्रेस कहिल्यै विचलित भएन र यसबाटै आजसम्म उसको साख जोगिएको हो । वि.सं. २००३ को विराटनगर मजदुर आन्दोलन, २००७ सालको  क्रान्ति, २०११ सालको सत्याग्रह, २०१४ सालको भद्र अवज्ञा आन्दोलन, २०३७ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको ऐतिहासिक जनआन्दोलन र २०६२/६३ को लोकतान्त्रिक आन्दोलनसम्म कांग्रेसले सधैँ लाेकतन्त्रका पक्षमा नेतृत्वदायी भूमिका खेल्याे । जनताकाे सार्वभौमसत्ताका पक्षमै आफूलाई उभ्यायो । 

जहानियाँ राणाशासन समाप्त गरी नेपाललाई स्वतन्त्र, स्वाभिमानी र प्रजातान्त्रिक राष्ट्रका रूपमा विकास गर्ने लक्ष्यसाथ २००३ कात्तिक १५ गते बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस गठन भएको थियो । यसमा विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, बालचन्द्र शर्मा, गोपालप्रसाद भट्टराई, ईश्वर बराल, नरेन्द्र रेग्मी, सुब्बा देवीप्रसाद सापकोटालगायतले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । यही प्रयासको निरन्तरता र चेतना विस्तारले  २००३ माघ १२ र १३ गते कलकत्तामा सम्पन्न भेलाले नेपाली राष्ट्रिय कांग्रेसको जन्म दियो । त्यही सम्मेलनलाई नेपाली कांग्रेसको प्रथम राष्ट्रिय महाधिवेशन मानिन्छ।

महाधिवेशनले तत्कालीन अवस्थामा जेलमा रहेका टंकप्रसाद आचार्यलाई सभापति बनाएर विश्वेश्वरप्रसाद कोइरालालाई कार्यवाहक सभापति बनायो। राणाशासन समाप्त गर्ने वैधानिक संगठनका रूपमा गठित उक्त समितिमा बालचन्द्र शर्मा, डिल्लीरमण रेग्मी, कृष्णप्रसाद भट्टराई, देवव्रत परियारलगायतले जिम्मेवारीपूर्ण नेतृत्व लिएका थिए ।

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच २००६ चैत २७ गते कलकत्तामा एकीकरण भयाे । एकीकरणपछि पार्टीको नाम नेपाली कांग्रेस राखियो । एकीकरणसँगै पार्टीको चौथो महाधिवेशन पनि भयो । सम्मेलनले कांग्रेसको ऐतिहासिक घोषणापत्र, २००६ जारी गरेकाे थियो । साथै राणाशासन अन्त्यका लागि जनतालाई आह्वान गरियो।

घोषणापत्रमा राणाशासन समाप्तिका साथै निर्वाचित जनप्रतिनिधिको सरकार, शोषणमुक्त आर्थिक व्यवस्था, सामाजिक न्याय, राष्ट्रिय स्वतन्त्रता, समानता एवं विश्व शान्तिमा आधारित परराष्ट्र नीतिलाई आफ्नो आधारभूत सिद्धान्तका रूपमा अंगीकार गरिएको थियो ।

कांग्रेसको २००६ को महाधिवेशनपछि २००७ कात्तिक २१ गते भारतको बैरगनियामा सम्मेलन गरी प्रजातन्त्र स्थापनार्थ कांग्रेसले सशस्त्र क्रान्तिको उद्घोष गर्यो। त्यही क्रान्तिका माध्यमबाट १०४ वर्ष लामो जहानियाँ शासस अन्त भई २००७ फागुन ७ गते नेपाल प्रजातान्त्रिक युगमा प्रवेश गर्यो । 

सात सालको जनक्रान्तिको सफलतासँगै कांग्रेसको पाँचौं महाधिवेशन २००९ जेठमा जनकपुरमा भएको थियो। विश्वेश्वरप्रसाद कोइराला सभापति निर्वाचित भएको महाधिवेशनले देशमा यथाशक्य चाँडो आमनिर्वाचन गराउन सत्याग्रह गर्ने घोषणा गर्यो । देशव्यापी रूपमा २०११ सालमा सत्याग्रह भयो ।

छैटौं महाधिवेशन २०१२ माघमा वीरगन्जमा भयो । सुवर्ण शमशेर कांग्रेसको सभापतिमा निर्वाचित भएका थिए । यही महाधिवेशनमार्फत कांग्रेसले औपचारिकरूपमा समाजवादलाई आत्मसात् गरेको थियो । विराटनगर विशेष महाधिवेशन, २०१४ ले बीपी कोइरालालाई पुनः सभापति बनायाे । 

सातौं महाधिवेशन २०१७ मा भएपछि पार्टीमा प्रतिबन्ध लाग्याे ।  झापाको कलवलगुडीमा २०४८ सालमा आठौं महाधिवेशन, नवौं महाधिवेशन काठमाडौंमा २०५३ मा र दसौं महाधिवेशन पोखरामा २०५७ मा भए । आन्तरिक विवादका कारण २०५९ सालमा कांग्रेस टुक्रियो । दुवै पक्षले छुट्टाछुट्टै अधिवेशन गरे ।

कार्यकर्ताको दबाब र राजनीतिक घटनाक्रमले अन्ततः २०६४ सालमा पार्टी एकीकरण भई १२ औं अधिवेशन २०६७ असोजमा भएको थियो। तेहाैं महाधिवेशन २०७२ फागुनमा काठमाडौंमा भएको थियो ।

एकपटक टुक्रिसकेको कांग्रेसमा एकतापछि पनि भावनात्मक एकीकरण हुन नसक्नु पार्टीमात्र नभई मुलुककै लागि दुर्भाग्य हो । सहमति, सहकार्य र एकताको दुहाइ दिने नेतृत्व पंक्तिले पार्टीको केन्द्रीय समितिको बैठक सञ्चालन गर्दा एउटा पक्षले बहिष्कार गर्नुपर्ने परिस्थिति निर्माण भएको थियो । सबै पक्षको मतलाई समयमै सम्बोधन गर्न सकेको भए नेपाली कांग्रेसले आफुलाइ बचाउन संविधानको सहारा लिनुपर्ने थिएन। नेपाली कांग्रेस कमजोर बन्दै जाँदा लोकतन्त्र र राष्ट्रियता पनि कमजोर हुने तथ्य अहिले प्रमाणित भएको छ ।  कांग्रेस नेतृत्वले आफ्ना कमीकमजोरी केलाएर सच्चिएर अगाडि बढ्न जरुरी छ ।

नेपाली कांग्रेस बीपीको आदर्शबाट विचलित हुँदा लोकतन्त्र र राष्ट्रियता नै संकटमा परिसकेको छ । बीपीकाे राष्ट्रियताप्रति अडान र लाेकतन्त्रप्रतिकाे प्रतिबद्धता अटल थियाे । कांग्रेस नेतृत्वले बीपीको फोटोमा माला लगाउँदैमा उनको आदर्श आत्मसात गरेको मान्न सकिँदैन । आफ्नो इतिहास सम्झिँदै वर्तमान र भविष्यको स्पष्ट कार्ययोजनासहित व्यक्तिभन्दा पार्टी बलियो बनाउनेतर्फ नेता र कार्यकर्ता अग्रसर हुनु आवश्यक देखिन्छ । लोकतन्त्रको रक्षक शक्ति नेपाली कांग्रेस भएकाले लोकतन्त्र विरोधी तत्त्वको निसानामा नेपाली कांग्रेस सधैँ पर्दैआएको छ । सामान्य कार्यकर्ताले बचाइराखेको नेपाली कांग्रेस पार्टीलाई षड्यन्त्रको धारबाट मुक्त बनाउन  निर्धारित समयमा अधिवेशन हुनु अपरिहार्य छ । कांग्रेस बचेमात्र लोकतन्त्र जाेगिन सक्छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, फागुन १२, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्