site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘ढिलोचाँडो नयाँ जनादेशबाट हामी सत्तामा जाने बाटो खोज्नुपर्छ’ (भिडियोसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीति पनि ध्रुवीकृत भएको छ । प्रधानमन्त्रीको कदमलाई पार्टीले आधिकारिक रूपमा असंवैधानिक र बद्नीयतपूर्ण भने पनि आन्दोलनमा जान भिन्न मत देखिएको छ ।

कांग्रेस केन्द्रीय समितिको बैठकले पार्टीको आगामी महाधिवेशनको मिति तय गरेको छ । यसै सेरोफेरोमा न्युज एजेन्सी नेपालले नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसँग कुराकानी गरेको छ । कुराकानीमा सहमहामन्त्री महतले कांग्रेस आन्तरिक राजनीति र संगठनको लागि महाधिवेशनमा केन्द्रित हुने र प्रतिनिधिसभाको आवधिक निर्वाचनको लागि तयार हुने गरी तयारी थाल्ने बताएका छन् ।

नेपाली कांग्रेसले तोकिएको समयमा महाधिवेशन गर्न सकेन । के अब कांग्रेस संवैधानिक संकटतर्फ उन्मुख हुँदै गएको हो ?
केही संकटमा गएको छैन । संविधानले नै दिएको व्यवस्था हो । त्यो व्यवस्थालाई हामीले सहज रूपमा उपयोग गर्न सक्छौँ । हामीले के कुरा विर्सन हुन्न भने फागुन ७ गतेको कार्यतालिका थियो, त्यो सम्पन्न गर्नको लागि देश एक वर्ष नै कोभिडमय रह्यो । त्यसमा पनि करिब पाँच महिना त लकडाउन र निषेधाज्ञाको अवस्थाबाट देश गुज्रियो । लकडाउनको समयमा सम्पूर्ण जनता नै घरमा बन्दी भएको अवस्थामा नेपाली कांग्रेसको विभिन्न निकायहरु सक्रिय हुने अवस्था थिएन । त्यो समय हामीले गुमायौँ । त्यसैले फागुन ७ गते महाधिवेशन सम्पन्न गर्नको लागि कठिनाइ उत्पन्न भयो । त्यसैले हामीले थप ६ महिनामा अधिवेशन सम्पन्न गर्नको लागि उपयोग गर्नुपर्ने आवश्यकता पर्‍यो । त्यसमा पनि संसद् विघटनपछि जुन हाम्रो विरोधको निरन्तर शृंखला पार्टीले सञ्चालन गर्‍यो, त्यो कारणले हामीले माघभित्र सक्रिय सदस्यता पार्टीलाई बुझाउने समयावधि जुन जिल्लाहरुलाई दिएका थियौँ, आन्दोलनको कारणले पनि सबै जिल्लाबाट सक्रिय सदस्यता आइसकेन । त्यसकारणले पनि सक्रिय सदस्यता बुझ्ने थप समयको आवश्यकता पर्‍यो । त्यसपछि छानबिनको प्रक्रिया आउँछ । छानबिनको प्रक्रिया सम्पन्न भएर पार्टी सभापतिले हस्ताक्षर गरेर क्रियाशील सदस्यता सार्वजनिक गरेपछि अधिवेशन अगाडि बढ्ने अवस्था भएको हुनाले आगामी भदौ ७ गते अधिवेशनको शृंखला सुरु हुन्छ । महाधिवेशनको समय भदौ ७ गतेलाई निर्धारित गरेका छौँ ।

Agni Group

त्यसो भए भदौ ७ गते नेपाली कांग्रेसको महाधिवेशनको अन्तिम डेडलाइन हो ?
होइन । हाम्रो समय सकिनेभन्दा केही अगाडि नै महाधिवेशनको मिति तोकेका छौँ ।

कोभिडलगत्तै प्रतिनिधिसभाको विघटनमा जानुपर्‍यो भन्नुभयो । तर, कांग्रेस आन्दोलनमा हो कि चुनाव प्रचारमा हो ? 
नेपाली कांग्रेस जनतामा विश्वास गर्ने पार्टी हो । जनताबाट अनुमोदित नभईकन सत्तामा जाने कुरालाई कहिले पनि नेपाली कांग्रेसले स्वीकारेको छैन । त्यो हाम्रो सिद्धान्त, विचार हो । जबर्जस्ती सत्तामा जाने कुरा अरु पार्टीहरुको लागि स्वाभाविक हुनसक्छ । तर, नेपाली कांग्रेसको लागि स्वाभाविक हुँदैन । त्यसो हुनाले जनतामा जाने, देशको वस्तुस्थितिको बारेमा जनतालाई सुसूचित गर्ने कुराहरु महत्वपूर्ण हुन् । नेपाली कांग्रेसले यस अर्थमा विकेन्द्रीकृत आन्दोलन गर्‍यो । हामीले जनतालाई खर्च गरेर काठमाडौंमा आऊ भन्नुको सट्टा हामी जिल्ला–जिल्लामा, वडा–वडामा आन्दोलन गर्दा अहिलेको समसामयिक राष्ट्रिय विषय, संसद् विघटनको विषय, तीन वर्षको कुशासनको विषयलाई हामीले आम जनतामा पुर्‍याउन सफल भयौँ । त्यसैले हामीले सञ्चालन गरेको विरोधको कार्यक्रम जनताको सहभागितालाई प्राथमिकता दिने तर खर्च गरेर ओहोरदोहोर गर्ने विकृति अरु दलले गरेको जस्तो खासगरी कम्युनिस्ट पार्टीका दुवै घटकले समर्थन र विरोधमा गरेको देखियो । त्यस अर्थमा हामी स्वतस्फूर्त रूपमा विरोधका कार्यक्रमहरु गर्‍यौँ । यद्यपि, यसमै हामी रोकिन्छौँ भन्ने होइन । विरोधका ठूला कार्यक्रमहरु पनि हामी गर्न सक्छौँ । त्यो गर्दा पनि जनताको स्वतस्फूर्त सहभागितालाई प्राथमिकतामा राख्छौँ । 

Global Ime bank

सभापति शेरबहादुर देउवाले विरोधसभामा अथवा सञ्चारमाध्यममा बारम्बार अदालतको निर्णयलाई कुरौँ भन्नुभएको छ । तर, तपाइँहरुले चुनावको तयारीमा लाग्नुहोस् भन्ने अभिव्यक्ति दिनुभएको छ । यसले त कसरी आन्दोलन गरेको भयो ?
होइन, अदालतले विघटनलाई सदर गरेर निर्वाचनमा जाऊ भन्यो भने हामी तयारीबिनाको अवस्थामा रहने कुरा हुँदैन । जुनसुकै बाटो अदालतले निर्देश गर्छ, त्यसको लागि हामी तयार हुनुपर्छ भन्ने पनि हामीलाई लागेको छ । यस अर्थमा पनि सभापतिले पुनःस्थापना होस्, त्यसलाई पनि सहज रूपमा हामी स्वीकार गर्छौँ र निर्वाचनमा जाने स्थिति आयो भने, अदालतले त्यो किसिमको बाटो तय गर्‍यो भने त्यो निर्णयलाई हामी अवेज्ञा गर्न सक्दैनौँ । जनतामा गएर फेरि नयाँ जनादेश लिएर संसद् स्थापना गर्ने कुरालाई हामीले अवमूल्यन गर्न सक्दैनौँ भन्ने सभापतिको भनाइ उपयुक्त नै हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनःस्थापनामा मात्रै जोड दिनुभएको छ, चुनावमा कम छ । तर, सभापति देउवाले चुनावलाई जोड दिनुभएको छ । 
व्यक्तिगत रूपमा कुनै नेताले के भन्नुभयो, त्यो महत्वपूर्ण कुरा होइन । महत्वपूर्ण कुरा के हो भने नेपाली कांग्रेस केन्द्रीय समितिले सर्वसम्मतिले के पारित गरेको छ, त्यो महत्वपूर्ण हो । केन्द्रीय समितिले के पारित गरेको छ भने यो असंवैधानिक हो र असंवैधानिक निर्णयको विरुद्धमा हामी विरोधका कार्यक्रमहरु गर्छौँ । जनताको तहसम्म पुग्छौँ भनेर भनेको कुरा महत्वपूर्ण हो । त्यसैमा पार्टी हिँडेको छ । सभापतिले अदालतको निर्णय जसरी आउँछ, दुईवटै परिस्थितिको लागि हामी तयार हुनुपर्छ र पुनःस्थापना नै भए पनि ढिलोचाँडो जनतामै जानुपर्छ, अब डेढ वर्षपछाडि हामी निर्वाचनमै जानुपर्छ भनेपछि त जनताको नयाँ जनादेश त महत्वपूर्ण कुरा हो । किनभने, यो तीनवर्षे सरकार असफल भइसक्यो । फेल भइसक्यो । जनतालाई हिजो गरेको वाचा–बन्धन उहाँहरुले पूरा गर्न सक्नु भएन । उल्टो दिशामा हिँड्नुभयो भन्ने कुरा जनताले महसुस गरिराखेका छन् र जनता नयाँ जनादेश दिनको लागि आतुर छन् । त्यो अवस्थामा त्यस्तो परिस्थिति आयो भने अहिले त हामी निर्वाचनमा जान्नौँ भन्ने कुरा जनता र लोकतन्त्रमा विश्वास गर्ने पार्टीले नकार्न सक्दैन । तर, कथंकदाचित सत्तामा बस्नेहरुले त्यसलाई नकार्ने, आलटाल गर्ने काम गर्न खोज्यो भने त्यसकै विरुद्ध फेरि नेपाली कांग्रेस खनिन्छ । त्यो कुरा पार्टी सभापतिले आमसभामा र पार्टी बैठकहरुमा भन्नुभएकै छ ।

संवैधानिक सर्वोच्चतालाई कांग्रेसले स्वीकार गर्दैगर्दा सर्वोच्चको निर्णयलाई सडकबाट दबाब दिन हुन्छ कि हुँदैन ? 
त्यसैले त हामी आफ्नो दृष्टिकोण सार्वजनिक गर्न पाउने हाम्रो अधिकार छ । हाम्रो बुझाइमा संविधानका सबै स्टेप पूरा नगरीकन विघटन भयो । तर, त्यसको अन्तिम निर्क्योल गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएको छ । यदि, हामी संविधानको कुरा गछौँ भने फेरि अर्को पाटो संविधानले नै गरेको व्यवस्थालाई पनि हामीले नकार्न सक्दैनौँ । त्यसो हुनाले हामीले सर्वोच्च अदालतको फैसलालाई पनि अस्वीकार गर्न सक्दैनौँ । हाम्रो मतभिन्नता हुनसक्छ । सर्वोच्चको निर्णय यस्तो नहुनुपर्ने भन्ने लाग्नसक्छ । तर, त्यो निर्णयलाई हामी मान्दै मान्दैनौँ भन्नचाहिँ हामी सक्दैनौँ । त्यसो हुनाले हाम्रो दृष्टिकोण स्पष्ट छ । त्यो दृष्टिकोण भनेको केन्द्रीय समितिले सर्वसम्मत पारित गरेको दृष्टिकोण हो । त्यसमा हामी कडा हुन्छौँ । त्यसैले कुनै नेताले यसो भए हुन्थ्यो भन्नेमा हाम्रो झुकाव होला । तर, पार्टीको मूल निर्णयलाई हामीले आधिकारिक दृष्टिकोण मान्नुपर्छ ।

राजनीतिक दलहरुले सत्तामा जाने कुरालाई आफ्नो लाभको रूपमा स्वाभाविक रूपमा हेरिनै हाल्छन् । अहिले कांग्रेस दुवै हातमा लड्डुको अवस्थामा भएको हो ? 
यो लड्डुको कुरै होइन । यो कसले भन्यो मलाई थाहा छैन । दुवै हातमा लड्डु भन्ने कुरालाई म खारेज गर्छु । मूल कुरा जनताको हातमा लड्डु हुनुपर्छ । भनेको मतलब जनता लाभान्वित हुनुपर्छ । जनताप्रति प्रतिबद्ध लोकतान्त्रिक व्यवस्था, संवैधानिक व्यवस्था हो । जनताको आवश्यकता पीरमर्का, जनताको भावनालाई हामीले बेवास्ता गर्न मिल्दैन । त्यसकारण पार्टीको हातमा लड्डु हुन्छ कि हुँदैन, कुन पार्टीको हातमा लड्डु हुन्छ, कसको हातमा लड्डु हुन्छ, त्यो महत्वपूर्ण कुरा होइन । मूलकुरा जनता मजबुत हुन्छन् कि हुँदैनन्, जनता अधिकारसम्पन्न हुन्छन् कि हुँदैनन्, जनताको आवश्यकता, पीरमर्काप्रति सत्ता संवेदनशील छ कि छैन, त्यो महत्वपूर्ण कुरा हो । त्यसकारण अहिले हाम्रो निष्कर्ष के हो भने तीन वर्षको कम्युनिस्ट शासनकाल गफमय भयो, कुरामय भयो । काममा पटक्कै ध्यान दिनु भएन । राज्यको साधन–स्रोत, संयन्त्रलाई चरम दुरुपयोग र सत्तालाई मात्रै केन्द्रमा राख्ने काम उहाँहरुले गर्नुभयो । त्यस अर्थमा यसको हामीले विरोध गरेका छौँ । त्यसकारण तपाइँले हेर्नुभयो भने हाम्रो विरोधको प्रकृति र कम्युनिस्ट पार्टी प्रचण्ड–माधव पक्षकोमा के फरक छ भने हामीले संसद्को विघटनसहित तीन वर्षको कुशासनको विरोध गर्ने निर्णयमै छ । भ्रष्टाचारलगायतका चरम दुरुपयोगका कुराहरु पनि हाम्रो विरोध कार्यक्रमको अंग हो, संसद् विघटन मात्रै होइन । उहाँहरुको एकबुँदे संसद् विघटनको विषय मात्रै छ भने हाम्रो समग्रमा त्यो विषयसहितको आन्दोलन हो ।

संसद् विघटन भएपछि फुटेको नेकपाका दुवै पक्षले कांग्रेस सभापतिलाई प्रतिनिधिसभाको पुनःस्थापना भए पनि वा चुनावमा गए पनि विभिन्न खालका आश्वासन र आग्रहहरु गरिराख्नुभएको छ । त्यस सन्दर्भमा के भन्नुहुन्छ ? 
कुनै पनि पार्टीगत वा व्यक्तिगत लाभका अफरलाई उहाँले सिधै अस्वीकार गरिसक्नुभएको छ । त्यो मेरो सरोकारको विषय होइन, हामीले जे भनिराखेका छौँ, भनिरहेका छौँ भन्नुभएको छ । नेपाली कांग्रेस मूलभूत रूपमा ढिलो या चाँडो नयाँ जनादेशको बाटोबाट मात्रै सत्तामा जाने कुरामा विश्वास गर्छ । जनताबाटै अनुमोदिन भएर कुनै क्षणिक रूपमा कोहीसँग जोडिएर तत्कालीन पार्टीगत लाभ लिऊँ वा व्यक्तिगत लाभ लिऊँ भन्ने मानसिकतामा नेपाली कांग्रेसको नेतृत्व छैन ।

कार्यकर्ताहरु अलमल भइरहेका छन् नि ? 
पटक्कै अलमल हुनुपर्ने अवस्था छैन । अलमलिने आवश्यकता पनि छैन । अब ढिलोचाँडो नयाँ जनादेशबाट हामी सत्तामा जाने बाटो खोज्नुपर्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC