site stats
बाह्रखरी :: Baahrakhari
खेल
आईपीएल अक्सन आज, सन्दीप बिक्ने सम्भावना कति ? 

काठमाडौं । विश्व चर्चित डोमेस्टिक क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइर्पीएल) २०२१ को अक्सन आज (बिहीबार) हुँदै छ । चेन्नईमा हुने अक्सन नेपाली समयानुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।

आज हुने अक्सनमा नेपाली टोलीका खेलाडी सन्दीप लामिछानेको पनि बोली लाग्नेछ । तीन सिजन दिल्ली क्यापिटल्समा बिताएका सन्दीपलाई यो सिजन क्लबले रिलिज गरेको हो ।

उनलाई सन् २०१८ को सिजनमा दिल्लीले २० लाख भारतीय रुपैयाँमा अक्सनमार्फत तीन सिजनको सम्झौतामा टिममा भित्र्याएको थियो । आईपीएलको यो सिजनमा कुल २९२ खेलाडी छन् । अक्सनमा १६४ भारतीय र १२५ विदेशी खेलाडी छन् । यो सिजन आईपीएल अक्सनबाट २२ विदेशीसहित ६१ खेलाडी बिक्ने छन् । आठ फ्रेन्चाइज टोलीको अक्सनमा खर्च गर्न पाउने कुल रकम १९६ करोड ६० लाख भारु छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाली टोलीका खेलाडी सन्दीप तीनवर्षे दिल्लीको यात्रापछि अक्सनमा सहभागी हुँदै छन् । सन्दीपले आफ्नो न्यूनतम मूल्य ४० लाख भारु तोकेका छन् । विश्व क्रिकेटमा पछिल्लो समय राम्रो अवस्थामा रहेका सन्दीपले आफू बिक्ने आशा राखेका छन् । तर, स्पिनरको कोटा खाली हेर्दा मुम्बई र पन्जाबमा झिनो सम्भावना देखिन्छ ।

स्पिनरको प्रतिस्पर्धा बढी हुँदा सन्दीप यो सिजन नबिक्ने सम्भावना रहेको छ । एसोसिएटबाट नेपालका लेग स्पिनर सन्दीप लामिछाने, अमेरिका तीव्र गतिका बलर अली खान र संयुक्त अरब (यूएई)का युवा स्पिनर कार्तिक मयप्यन छन् ।

आईपीएल अक्सनमा योपटक टिमहरुसँग विदेशी खेलाडी किन्नको लागि निश्चित स्थान मात्रै खाली रहेको छ । सहभागी टिमले अधिकतम २५ जना खेलाडी टिममा राख्न पाउँछ, जसमा अधिकतम आठजना विदेशी खेलाडीको लागि ठाउँ रहन्छ ।

सन्दीपलाई मुम्बईले यो सिजन भित्र्याउन सक्ने अवस्था छ । चारजना विदेशी खेलाडी राख्न पाउने भएकाले सन्दीप पनि उसको लक्ष्य छ । साविक विजेता टोलीसमेत रहेको मुम्बईसँग स्पिनरको रुपमा राहुल चहार, अनुकुल रोय, जयन्त यादव र क्रुनाल पान्ड्या रहेका छन् । लेगस्पिनर चाहरले पछिल्लो सिजन सबै खेल खेलेका थिए । त्यसैले यो सिजन भारतमा हुन लागेको प्रतियोगिताका लागि मुम्बईले एक लेग स्पिनर भित्र्याउन सक्ने छ ।

यता, पन्जाब लिङ्सले पनि सन्दीपलाई भित्र्याउन सक्ने बुझिएको छ । गत सिजन कमजोर प्रदर्शन गरेको पन्जाबले यो सिजन भने आफूलाई बलियो रूपमा प्रस्तुत गर्ने योजना बनाएको छ ।

पछिल्लो सिजन मात्र दुई खेल खेलेका मुजिब उर रहमानलाई पन्जाबले रिलिज गरेको कारण पन्जाबसँग स्पिनरको रुपमा रवि विश्नोई र मुरुगन अश्विन मात्र रहेका छन् । २० वर्षीय युवा लेगस्पिनर रवीले सबै खेल्न पाएका थिए ।

यस्तै, २०१६ देखि आईपीएलमा सहभागी जनाउँदै आएका आश्विनले भने पछिल्लो सिजन नौ खेलमा १० विकेट लिएका थिए । दुई युवा लेगस्पिनर रहेका कारण टिमले नेपाली लेगस्पिनर सन्दीपलाई भित्र्याउन सक्छ ।

आईपीएल २०१८ र २०१९ मा सन्दीपले कुल नौ खेल खेल्ने क्रममा १३ विकेट लिएका थिए । सो क्रममा ८.३४ प्रतिओभर रन खर्चेका छन् भने २२.४६ को औसत र १६.१५ को स्ट्राइक रेटले विकेट लिएका छन् ।

यस्तो छ, मिनि अक्सनअघि मुम्बई र पन्जाबको टिम 
मुम्बई
: रोहित शर्मा, काइरन पोलार्ड, हार्दिक पान्ड्या, ट्रेन्ट बोल्ट, क्विन्टन डी कक, सूर्यकुमार यादव, जस्प्रित बुमराह, राहुल चहर, इशान किशन, कु्रनाल पान्ड्या, क्रिस लिन, धवल कुलकर्णी, मोहसिन खान, अनुकुल रोय, आदित्य तारा, सौरभ तिवारी, जयन्त यादव र अनोमलप्रित सिंह ।
पन्जाब : लोकेश राहुल, क्रिस गेल, निकोलस पुरन, मोहम्मद शामी, क्रिस जोर्डन, मन्दीपसिंह, मयंक अग्रवाल, रबि बिश्रोई, प्रभसिम्रन सिंह, दिीपक हुडा, शरफराज खान, अर्शदीप सिंह, मुरुगन आश्विन, दर्शन नलकान्डे, ईशान पोरल र हरप्रित बार ।

प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  १२:४८
प्रतिक्रिया दिनुहोस्