नेपाल दिवस पृथ्वी जयन्ती

विविधताका आधारमा मात्र नेपाली समाज वास्तवमा एकीकृत हुनसक्छ भन्ने बिर्सनु हुँदैन 

गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका हुन् वा राज्य विस्तारमात्र गरेका हुन् भन्ने विवाद सजिलै टुंगो नलाग्ला । परन्तु,  उनले त्यतिबेला काठमाडौं उपत्यकालगायत गोरखाबाट पूर्वतर्फका राज्यहरू  आफ्नो राज्यमा मिलाउन नसकेका भए आज नेपाल भनिने मुलुकको अस्तित्व यस प्रकारको हुने थिएन भन्नेमा सायद कसैको विमति नहोला । यसैले आफूलाई नेपाली भन्दा लाज नलाग्ने सबैका लागि पृथ्वीनारायण श्रद्धेय छन् । उनले गोरखा राज्य विस्तार गर्दा पक्कै पनि जनमत संग्रह गरेका थिएनन् । राज्य जितेपछि हार्नेहरूसँग गोरखाली सैनिकले अमानवीय व्यवहार पनि गरेको वर्णन इतिहासमा लेखिएको छ । तर, आजभन्दा करिब तीन शताब्दी पहिलेको नेपाल त के संसारको कुनै पनि राष्ट्रले अर्को राज्य विजय गर्दा पृथ्वीनारायण शाहको भन्दा खासै फरक व्यवहार गरेका उदाहरण अपवादमात्र भेटिएला । यसैले आजको आँखा वा मापदण्डका आधारमा पृथ्वीनारायण शाहको मूल्याङ्कन गर्र्दा अन्याय हुन्छ । 

गोरखाबाट पश्चिमतिर पर्ने नेपालको अहिलेको भूभाग उनका छोरा र नाति राजा भएका बेला नेपालमा गाभिएको हो । सुगौली सन्धिबाट मेची पूर्व र महाकाली पश्चिमको नेपालको ठूलो भूभाग गुम्यो । जङ्गबहादुर राणाले अङ्ग्रेजहरूलाई रिझाएबापत  ‘नयाँ मुलुक’ भनिने पश्चिम तराईको केही भूभाग नेपालमा थपियो । चीनले तिब्बत लिएपछि गरिएको सीमासम्बन्धी सन्धिबाट पनि नेपालले उत्तरतिरको केही भूभाग गुमायो । अहिलेको नेपालको भौगोलिक सीमा यसरी कायम भएको हो । भूगोलमात्र राष्ट्र त पक्कै पनि होइन । बीपी कोइरालाका शब्दमा त राष्ट्र भनेका जनता हुन् । त्यस अर्थमा नेपालको भौगोलिक सीमाभित्र बसोवास गर्ने सबैले नेपाल राज्यलाई आफ्नो ठान्न सक्नुपर्ने हो । तर, अझै सबै नेपालीले नेपाल राज्यलाई भावनात्मकरूपमा आफ्नो ठान्न भने सकेको देखिँदैन । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका हैनन् भन्नेहरूले यही यथार्थलाई औँल्याउने गर्छन् । यसलाई पूर्णतः अस्वीकार गर्नु पनि सही हुँदैन ।

नेपालको चरम विविधता भएको राज्य हो । भौगोलिक, सांस्कृतिक, भाषिक, धार्मिक, जातिगत विविधताका कारण नेपाल समरूपी राज्य बन्न सक्तैन । तर, नेपालका शासकहरू विशेष राणा र शाहहरूले नेपालको यस विविधतालाई दबाउन खोजे । राणा शासनविरुद्ध भएको जनक्रान्तिपछि अपेक्षाकृत खुकुलो परिवेशमा समाजको बहुलता प्रकट हुनै लागेको के थियो राजा महेन्द्रले लोकतन्त्रसँगै जनताको पहिचानको आकांक्षा पनि कुल्चिदिए । देशको बहुल यथार्थ मिचेर “ एउटै राजा एउटै देश एउटै भाषा एउटै वेश” भन्ने नारा चरितार्थ गर्न खोज्दा नेपाल सही अर्थमा राष्ट्र बन्न सकेन । सायद, यही कारणले बीपी कोइरालाले चार दशक पहिले नेपाल “प्रशासनिक एकाइ” मात्र बनेको भनेका होलान् । लोकतन्त्र पुनःस्थापना पछिका वर्षहरूमा नेपाली समाजको विविधता र बहुलताको सम्मान एवं स्वीकृति बढ्दै गएको छ र देश सही अर्थमा राष्ट्रिय एकीकरणका दिशामा अग्रसर देखिएको छ । राजनीतिले सही बाटो समात्यो भने भावनात्मकरूपमा नेपाल एकीकृत हुन धेरै समय लाग्नेछैन । यद्यपि, विविधताका आधारमा मात्र नेपाली समाज वास्तवमा एकीकृत हुनसक्छ भन्ने बिर्सनु हुँदैन । र, यो अवसरका लागि पनि नेपालीले पृथ्वीनारायण शाहप्रति कृतज्ञ हुनुपर्छ । कसैलाई पृथ्वी जयन्ती मनाउन मन लाग्दैन भने यसलाई नेपाल दिवसका रूपमा मनाए पनि हुन्छ । भन्छन् बैगुनी समाजको नाश हुन्छ । यसैले बैगुनी नबनौ ।
 

प्रतिकृया दिनुहोस
ad