
बीबीसी । न्युजिल्यान्डले अस्ट्रेलियासँग क्वारेन्टिनमुक्त ‘ट्राभल बबल’ को भ्रमण नीति स्थापित गर्न सहमति जनाएको छ ।
प्रधानमन्त्री ज्याकिन्डा एडर्नले २०२१ को सुरुतिरदेखि नै दुवै देशमा पर्यटकलाई क्वारेन्टिनमा नबसी आवतजावत गर्न दिन सकिने बताएकी हुन् । तर त्यसका लागि दुवै देशको कोरोना संक्रमण अवस्था अहिलेकै जस्तो रहनुपर्ने हुन्छ ।
न्युजिल्यान्डबाट आउनेहरुलाई गत अक्टोबरदेखि नै प्रायः अस्ट्रेलियन स्टेटहरुमा बिनाक्वारेन्टिन प्रवेश गर्न अनुमति दिइराखिएको थियो । तर यसमा न्युजिल्यान्ड फर्किसकेपछि भने उनीहरुले १४ दिनसम्म अनिवार्य होम-आइसोलेसनमा बस्नुपर्ने हुन्छ र केही अपवादबाहेक अस्ट्रेलियाबाट न्युजिल्यान्ड प्रवेशमा चाहिँ अनुमति दिइएको थिएन जसले यसलाई एकपक्षीय बनाइदिएको थियो । यस्तोमा यो नयाँ ट्राभल बबल जारी भए अब दुवै देशका नागरिकले स्वतन्त्र रुपमा आउजाउ गर्न पाउनेछन् ।
एडर्नले यो कहिलेदेखि लागु हुनेछ भन्ने निश्चित मिति तोकेकी छैनन् र पूर्ण सहमतिका लागि अस्ट्रेलियाको सरकारले पनि सम्झौतामा हस्ताक्षर गर्नुपर्ने हुन्छ । अस्ट्रेलियाका केही भूभागबाहेक यी दुवै देशमा पछिल्ला केही महिना संक्रमण दर एकदम कम छ ।
गत जुनमा भाइरसमुक्त भएको घोषणा गर्ने न्युजिल्यान्ड पहिलो मुलुक थियो जहाँ पूर्ण सिमाना बन्द र कडा लकडाउनपश्चात् संक्रमितको सङ्ख्या शून्य पुगेको थियो । त्यसपछिदेखि त्यहाँ थोरै सङ्ख्यामा केही बिरामी मात्र भेटिएका छन् ।
यस्तै किसिमको ट्राभल बबलबारे यसअघि सिंगापुर र हङकङले पनि छलफल गरेका थिए तर अचानक संक्रमणदर वृद्धि भएपछि अहिले यो विषय स्थगित गरिएको छ ।