site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

परराष्ट्र मन्त्रालयले सरकारको परराष्ट्र नीति आइतवार सार्वजनिक गरेको छ । परराष्ट्र नीति पहिलेका अध्ययन प्रतिवेदनहरू, राजनीतिक दलका दस्ताबेज र विज्ञहरूसँगको छलफलका आधारमा तयार गरिएको बताइएको छ । असंलग्नता र पञ्चशीलका परम्परागत नीतिहरू अब पनि नछाडिने र छिमेकीसँग सन्तुलनका आधारमा सम्बन्ध कायम गर्नेजस्ता विषयहरू नयाँ नीतिमा समावेश भएको जानकारी दिइएको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले आधाभन्दा धेरै समय बिताइसकेपछि सार्वजनिक गरिएको परराष्ट्र नीतिको सान्दर्भिकतामा प्रश्न उठ्न सक्छ । तर, सरकारले आफूले अपनाउने नीति सार्वजनिक गर्दा शासनलाई पारदर्शी र उत्तरदायी बनाउन सहयोगै पुग्छ । अरू मन्त्रालयमा पनि सरकारले अपनाउने नीति सार्वजनिक गरेर पारदर्शिता अपनाएमा सरकारको सराहना नै हुनेछ । तर, त्यस्ता नीतिहरू व्यापक सहभागिता र सहमतिमा बनाइएमात्र दिगो र राष्ट्रिय बन्न सक्छन् भन्ने सधैँ हेक्का राख्नुपर्छ ।   

नेपालको परराष्ट्र सम्बन्धको प्रसंग उठ्नेबित्तिकै हिजोआज ‘बेला न कुबेला भेनेजुयला’ को चर्चा पनि सँगै हुन्छ । विशेषगरी अहिलेको सरकार गठन भएपछि नेपालको परराष्ट्र सम्बन्धको इतिहासमा पहिले कहिल्यै नभएका उर्बौलोपन देखिएको छ । भेनेजुयलाको प्रकरणमा सत्तारुढ दलका एक जना अध्यक्षले गरेको अमेरिकाविरुद्धको विष बमन वा चीनमा पठाइएका नेपाली राजदूतहरूको भारत विरोधी टिप्पणी कूटनीतिक मर्यादा र राष्ट्रिय हितविपरीत थिए । भेनेजुयला प्रकरणले त राज्य सञ्चालनमा वा राज्यका नीतिहरूमा कम्युनिस्ट कट्टरता देखाउने संकेत गरेको थियो । चीनको कम्युनिस्ट पार्टीबाट दीक्षा लिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चीनकै बाटो अनुसरण गर्न खोजेको देखिएको थियो । राष्ट्रिय स्वाभिमानको रक्षाका लागि पनि सत्तारुढ दलले अर्को मुलुकको सत्तारुढ दलसँग अस्वाभाविक निकटता बढाउनु वाञ्छनीय हँुदैन । नेकपाको आन्तरिक विवादमा चिनियाँ राजदूतको सक्रियताले राष्ट्रिय स्वाभिमानमा धक्का लागेको छ । 

नेपालले अहिलेसम्म अपनाउँदै आएको परराष्ट्र नीतिभन्दा खासै भिन्न नभए पनि यसलाई ‘राष्ट्रिय नीति’ भने भन्न मिल्दैन । राष्ट्रिय नीति मानिनका लागि आवश्यक व्यापक विमर्श यसको तर्जुमाका क्रममा भएको देखिएन । प्रमुख विपक्षी दललगायत अरू राजनीतिक दलहरू, परराष्ट्र मामिलासम्बन्धी प्राज्ञिक विशेषज्ञ र कूटनीतिज्ञहरूलगायतसँग पर्याप्त विमर्श हुन सकेको भए यसले राष्ट्रिय नीति कहलिन पाउने थियो । तात्त्विक परिवर्तन र सन्तुलनका नाममा अव्यावहारिक नीति लिइयो भने देशको साख गिर्नेमात्र हैन जनताले सास्ती पनि पाउनेछन् । असंलग्नता र सन्तुलनका नाममा भूगोल, इतिहास, संस्कृति र जनस्तरको निकटता निरपेक्ष परराष्ट्र सम्बन्ध विकास गर्न सकिन्छ भन्ने ठान्नु मूर्खता हुन्छ । यस्तै छिमेकलाई प्राथमिकता भन्दै पश्चिमी मुलुकहरूलाई उपेक्षा गरियो भने नेपाल विश्व मञ्चबाट एक्लिन सक्छ । अझै पनि बेला छ । सार्वजनिक गरिएको परराष्ट्र नीतिमा व्यापक सहभागितामा विमर्श गरी राष्ट्रिय सहमति जुटाउन सकिन्छ । कम्तीमा परराष्ट्र नीतिमा त दलगत राजनीति नगर !      
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC