site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

ऐना हेर्दा दाग देखेपछि अनुहार पुछ्नुको साटो ऐना पुछ्नेहरूको संख्या नेपाली समाजमा ठूलै छ । तिनमा पनि राजनीतिक दलका नेताहरू त सबैजसो ऐनालाई दोष दिन अभ्यस्त छन् । अहिले ‘राजावादी’ भनिनेहरूको जुलुसमा देखिएको भिडका लागि राजनीतिक दलका नेताहरूले प्रतिगमनका पक्षधरको सलबलाहटलाई दोष दिनु पनि यही ऐना फुटाउने प्रवृत्ति हो । केहीले राजावादीको सलबलाहटले गणतन्त्रमाथि खतरा उत्पन्न्न भएको देखेका छन् भने केहीले यसलाई संघीय शासन प्रणाली समाप्त पार्ने षड्यन्त्र ठानेका छन् । संसद्भित्रको तेस्रो ठूलो दल र प्रदेश नम्बर २ मा सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्षले संघीय प्रणालीलाई समाप्त पार्न खोज्नेहरू विरुद्ध सम्पूर्ण गणतन्त्रवादी शक्ति एकजुट हुन आह्वान गरेको समाचार छ । आफ्नो दोष र कमजोरीको समीक्षा गर्दा जनताले थाहा पाउलान् भनेर होला उनीजस्ता नेताहरू सबैतिर ‘षड्यन्त्र’ देख्ने गर्छन् । परन्तु, अवसर पाएर पनि जनताका पक्षमा काम नगर्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू संघीयताका मूल शत्रु हुन् भन्ने यथार्थ सबैले बुझिसकेका छन् । 

गाउँमा सजिलो सडक बनाएर स्थानीय यातायात सहज बनाउन पुग्ने पैसा खर्च गरेर धेरै पालिकाका जनप्रतिनिधिले आफ्ना लागि सुविधाजनक गाडी किनेका छन् । कोभिड—१९ को महामारीमा समेत जनप्रतिनिधिहरूले भ्रष्टाचारको मौका छोपे । केही साता पहिले सार्वजनिक भएको सप्तरीको बोदे बर्साइन नगरपालिकाको खर्च विवरण यसको प्रतिनिधि दृष्टान्त हो । यस्ता विकृति र विसंगति प्रदेश २ मा नै धेरै भएका भएका छन् । तिनमा पनि अधिकांश प्रतिनिधि जनता समाजवादी पार्टीका नै छन् । तर, तिनलाई पार्टीले कुनै कारबाही गरेको अहिलेसम्म थाहा पाइएको छैन । बलात्कारको मुद्दा गाउँमै मिलाउन दबाब दिने पार्टी सदस्यहरूलाई स्थानीय नेताहरूले कारबाही गराउन होइन उम्काउन लागेको थुप्रै घटना सार्वजनिक भइसकेका छन् । यस्ता घटनाबाट आजित भएर जनताले आक्रोश प्रकट गर्न थालेका हुन् । अर्थात्, पश्चगमनका सानातिना सलबलाहटले अहिलेको शासन व्यवस्थालाई खासै चुनौती दिन सक्तैनन् । बरु, सत्ता र विपक्षमा रहेका राजनीतिक दलका नेताहरूको नालायकी एवं बदनियतबाट गणतन्त्र वा संघीयतामा धक्का लाग्नसक्छ । 

प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले भ्रष्टाचार गर्नुको साटो जनताको सेवा सुविधामा ध्यान दिएको भए अहिले कसैले पनि संघीयताविरुद्ध आवाज उठाउने आँट गर्ने थिएनन् । उनीहरूले नै छातीमा हात राखेर सोचून् प्रदेश र स्थानीय तहका प्रतिनिधिले उपयोग गरेको विलासी सुविधा अपरिहार्य हो त ? यसैले संघीयता जोगाउने हो भने जनता समाजवादी पार्टीलगायतका राजनीतिक दलका नेताहरूले आफ्नो आचरणमा सुधार गर्नु आवश्यक छ । प्रदेश नम्बर २ मा मात्र जनतालाई उपलब्ध गराउन पर्ने सेवा र सुविधा सहज बनाउन र भ्रष्टाचार हुन नदिन ध्यान दिएको भए अहिले संघीयता जोगाउन कसैसँग गुहार माग्नुपर्ने थिएन । साथै, संघीयता वा गणतन्त्र जोगाउन जनता आफैँ अगाडि सर्नेथिए । जनता यस पद्धतिका विपक्षमा गए भने त्यसको कारण अहिलेका राजनीतिक दलका नेताहरू नै हुनेछन् । नेपाली जनता धेरै चेतनशील भइसकेका छन् । अब षड्यन्त्रको गफ हाँकेर जनतालाई झुक्याउन सकिनेछैन ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC