
काठमाडौं । प्रिमियर लिग फुटबलमा ब्राइटनले दोस्रो जित निकालेको छ । लिगमा ब्राइटनले नौ खेल खेलेको छ ।
एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा घरेलु टोलीलाई २-१ ले पराजित गर्दै लिगमा दोस्रो जित निकालेको हो । १० खेलाडीमा समेटिएको ब्राइटनका लागि डानी वेलब्याकले गोल गर्दै अग्रता दिलाएका थिए ।
खेलको १२औं मिनेटमा वेलब्याकले लल्लनको पासमा गोल गर्दै ब्राइटनलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए । तर, दोस्रो हाफ सुरु भएको २ मिनेट नबित्दै घरेलु टोली एस्टन भिल्लाले बराबरी गोल फर्काएको थियो । खेलको ४७औं मिनेटमा एज्रीक कोन्साले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका हुन् । उनले डी-बक्सनजिकैबाट ट्रोको फ्रिकिक प्रहार वान टच गोल गरेका थिए ।
५६औं मिनेटमा ब्राइटनले पुनः अग्रता लियो । सोली मार्सले ग्रोबको पासमा गोल गर्दै ब्राइटनलाई २-१ को अग्रता दिलाए । त्यसपछि थप गोल नहुँदा ब्राइटनले एस्टन भिल्लाको भिल्ला पार्क मैदानमा ऐतिहासिक पहिलो जित निकालेको हो । भिल्ला पार्कमा पहिलो जित निकाल्ने क्रममा ब्राइटन १० खेलाडीमा समेटिएको थियो ।
खेलको अन्तिम समयतिर तारिक लाम्पाटीले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड खाँदै मैदमा बाहिरिएपछि ब्राइटन १० खेलाडीले समेटिएको थियो । उनले पहिलो पहेँलो कार्ड खाएको ३ मिनेटभित्र दोस्रो कार्ड खाएका थिए । यो जितसँगै लिगमा ९ खेलबाट दोस्रो जित निकालेको ब्राइटनको ९ अंक छ । आठ खेल खेलेको एस्टन भिल्लाको भने १५ अंक छ ।