Skip Advt.

कहिले आउला कोरोनाको खोप ? यस्तो छ खोपको अवस्था 

कहिले आउला कोरोनाको खोप ? यस्तो छ खोपको अवस्था 

काठमाडौं । अमेरिकाका मोडेर्ना र फाइजर दुवै कम्पनीले यतिबेला ९० प्रतिशतभन्दा धेरै प्रभावकारी भएको दाबी गरेसँगै कोभिडविरुद्धको खोप छिटै उपलब्ध हुनेमा विश्‍व आशावादी बनेको छ । यी दुईबाहेक रुसको स्पट्‌निक र चीनको साइनोभ्याक कम्पनीको खोप पनि अन्तिम चरणमा पुगिसकेका छन् र सुरक्षित अनि प्रभावकारी भएको दाबी गरिएका छन् । कुनै पनि खोप ९० प्रतिशत प्रभावकारी हुनु भनेको सो सुई सयजनामा लगाउँदा केबल १० जना मात्र बिरामी पर्न सक्ने सम्भावना हुन्छ भने बाँकी ९० जनामा यसले काम गर्नेछ ।

यता अमेरिकाकै जन्सन एन्ड जन्सन अनि बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले निर्माण गरिरहेको खोपलाई पनि उचित दाबेदार मानिएको छ । सबै खोपहरू यसै वर्षको अन्त्य, डिसेम्बर या २०२१ फेब्रुअरीसम्म उपलब्ध हुन सुरु हुने अपेक्षा गरिएको छ । ऐतिहासिक रुपमा खोप विकास गर्न वर्षौं लाग्‍ने गर्छ । यसअघि सबैभन्दा छोटो समयमा निर्माण गरिएको खोप, ‘मम्प्स’ को थियो जसलाई मान्छेमा प्रयोग गर्ने स्वीकृति पाउन चार वर्ष लागेको थियो ।

हामीले कहिले यी सुइ लगाउन पाउनेछौँ भन्ने कुराचाहिँ हाम्रो जागिर, उमेर अनि स्वास्थ्यले निर्धारण गर्ने बताइएको छ । धेरै छिटोमा खोपहरू डिसेम्बरको अन्त्यतिर वितरण गरिने बताइएको छ जसमा पहिलो प्राथमिकता अति उच्च जोखिमा रहेका समूह, अनुमानित २० करोड मानिसहरूलाई दिइने आधिकारिक निकायहरूको योजना छ । अमेरिकाका सरकारी अधिकारीहरूले बताएअनुसार यदि दुवै खोपले स्वीकृति पाएमा वर्षको अन्तयसम्ममा २ करोड मानिसका लागि पर्याप्त डोज हुने अपेक्षा छ ।

फाइजर र मोडेर्ना 
फाइजरको खोप अमेरिकी कम्पनी र जर्मनको बायोएनटेकले संयुक्त रुपमा निर्माण गरेका हुन् भने ‘बायोटेक्नोलोजी’ फर्म मोडेर्नाले ‘नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्टिसियस डिजज’ सँगको सहकार्यमा कोभिडविरुद्धको खोप विकसित गरेको छ । आगामी केही सातामै खोपलाई प्रयोगमा ल्याउने स्वीकृति पाउन अहिले दुवै कम्पनीहरू परीक्षण एवं अनुसन्धानको गति बढाइरहेका छन् ।

खोप स्वीकृत भएलगत्तै कसलाई पहिले दिने भन्ने प्राथमिकतासम्बन्धी निर्णय लिइनेछ तर यसमा ध्यान दिनुपर्ने कुराहरूबारे धेरै महिना अगाडिदेखि नै छलफल भइसकेको हुँदा सबैभन्दा पहिले स्वास्थ्यकर्मी त्यसपछि अन्य अति आवश्यक पेसामा संलग्‍न व्यक्तिहरू जस्तै, शिक्षक, सुरक्षाकर्मी, खाद्य सामग्रीको काम गर्नेहरू, उमेरका कारण बढी जोखिममा भएकाहरू, दीर्घरोगीले पहिले खोप पाउनेछन् ।

कुनै स्वास्थ्य समस्या नभएका स्वस्थ अनि युवाहरूले चाहिँ आगामी अप्रिलदेखि मात्र खोप पाउने बताइएको छ तर त्यो समयमा पनि सबैले तत्कालै खोप लगाउन पाउने छैनन् । अहिले भइरहेका प्रायः खोप ट्रायलहरूमा बालबालिकालाई संलग्न नगराइएको हुँदा उनीहरूलाई नदिइने पनि भनिएको छ । फाइजर मात्र पहिलो त्यस्तो कम्पनी हो जसले १२ वर्षदेखिका सहभागीलाई ट्रायलमा समावेश गरेको छ जसकारण १२ वर्ष पुगेकाहरुले पनि यो खोपको पहुँच पाउन सक्छन् ।

यसरी अप्रिल, मे, जुन, जुलाइतिर मात्र कुनै स्वास्थ्य समस्या नभएका साधारण नागरिकहरूमा खोप उपलब्ध हुने अनुमान गरिएको यसअघि वरिष्ठ डाक्टर एन्थोनी फौसीले पनि बताएका थिए ।

यसमा पनि मोडेर्ना खोप माइनस २० डिग्रीमा राख्नुपर्ने हुन्छ भने सामान्य तापमानको फ्रिजमा यसलाई एक महिनासम्म स्टोर गर्न सकिन्छ जसले ग्रामीण क्षेत्रमा विशेष फ्रिजर नभएका फार्मेसीहरूमा यसको वितरण सहज बनाइदिन्छ ।

उता फाइजरको खोपचाहिँ अत्याधिक चिसो, माइनस ७० डिग्रीमा राख्नुपर्ने हुन्छ । कम्पनीले अहिलेसम्म तापमान जाँच गर्न आफ्नै जीपीएसले ट्रयाकयुक्त, ड्राइ आइसले भरिएका कुलरहरू वितरणका लागि तयार गरेको छ । मोडेर्ना र फाइजर दुवै खोपका दुई डोज आवश्यक पर्नेछन् । फाइजरको बुस्टर सुई पहिलोपटक लगाएको तीन सातापछि लगाउनुपर्ने हुन्छ भने मोडेर्नाको चाहिँ चार सातापछि लगाइनेछ ।

यदि यी दुवैले स्वीकृति पाउने हो भने यिनीहरू मान्छेमा प्रयोग हुने ‘आरएनए मेसेन्जर’ प्रविधियुक्त विश्वकै पहिलो खोप हुनेछन् । यिनीहरू परम्परागत खोपभन्दा धेरै फरक छन् । किनकि पहिलेका खोपहरूमा मरिसेकेको या कमजोर भाइरस अथवा ल्याबमै निर्मित प्रोटिनको प्रयोग गर्ने गरिन्थ्यो । तर मोडेर्ना र फाइजर दुवैले कोरोना भाइरसको सक्रिय सेल प्रयोग गरी हाम्रो प्रतिरोधात्मक प्रणालीलाई असली भाइरस पहिचान गर्न सिकाइरहेका छन् ।

दुवै खोप कति सुरक्षित छन् भन्ने पूरै डाटा उपलब्ध भइसकेको छैन तर हालसम्मका रिसर्चमा यसले स्वास्थ्यमा कुनै असर नपार्ने देखिएको छ । खोप प्रयोगमा आउन सुरु भइसक्दा पनि सुरक्षासम्बन्धी जाँच एवं निरीक्षण जारी रहनेछ । फाइजरको खोपबाट हुने साइड इफेक्ट भनेको सुई लगाएको ठाउँमा दुख्नु, थकान र हल्का ज्वरो रहेको छ । त्यस्तै मोडेर्नाको साइड इफेक्टचाहिँ टाउको, मांसपेशी अनि सुई लगाएको ठाउँमा पनि दुख्ने रहेका छन् ।

तर यसमा अझै पनि जान्नुपर्ने कुरा भनेको सुई लगाइसकेपछि हाम्रो शरीरमा भाइरसविरुद्धको इम्युनिटी कतिन्जेल रहनेछ ? जसबारे अझै अध्ययन जारी छ । सामान्य अवस्थामा भाइरसबाट संक्रमित हुनुले शरीरलाई खोपभन्दा प्रभावकारी इम्युनिटी दिन सक्ने बताइएको छ तर त्यस्तो पनि सधैँ नहुन सक्छ । 

त्यस्तै संक्रमित व्यक्तिमा खोप लगाउने कि नलगाउने भन्ने कुरा पूरै डाटा आएपछि मात्र निर्धारण गर्न सकिने बताइएको छ । हाल अमेरिकी सरकारले लाखौं डोजहरू खरिद गर्ने व्यवस्था मिलाइसकेको छ र सर्वसाधारणमा निःशुल्क वितरण गरिने बताएको छ । तर पनि खोप आएको महिनौँसम्म सबैका लागि पर्याप्त हुनेछैन ।

यता खोप आइसके पनि हामीले सामाजिक दूरी अपनाउने र मास्क लगाउने जस्ता उपायहरू अपनाइरहनुपर्ने स्वास्थ्यविद्हरूले बताएका छन् । भाइरसलाई फैलनबाट रोक्न प्रत्येकले सुई लगाएको हुनुपर्नेछ जसका लागि धेरै समय लाग्ने हुँदा त्यतिन्जेल सुरक्षाका उपायहरू अपनाउन जरुरी भएको बताइएको छ । त्यस्तै कसैले अहिलेका यी खोपहरू लगाउन पाएनन् भने पनि धेरै फरक पर्ने छैन । किनकि विश्वव्यापी रुपमा दर्जनौँ कम्पनीहरू यसको निर्माणमा लागेका छन् र उनीहरूले पनि बिस्तारै सफलता हासिल गर्नेछन् जसकारण पछि विकिसत हुने अरू नै खोप भएपनि सबैले कोरोनाको सुई लगाउन पाउने वैज्ञानिकहरूको विश्वास छ ।

फाइजरसम्बन्धी प्राप्त भएको हालैको अर्को रिसर्च डाटाले यो ६५ वर्षभन्दा माथि उमेरका मानिसहरूमा पनि प्रभावकारी साबित हुने पुष्टि भएको छ जुन अत्यन्तै सकारात्मक समाचार हो । सञ्‍चारमाध्यम सीएनएनले जनाएअनुसार अमेरिकाको एफडीएले डिसेम्बर ८, ९ र १० मा नै खोप स्वीकृति अनि वितरण सम्बन्धी बैठक बस्ने निर्धारण गरेको छ ।

रुसको ‘स्पट्‌निक भी’
रुसमा निर्मित कोरोनाविरुद्धको खोप, ‘स्पट्‍‌निक भी’ को ट्रायलबाट प्राप्त प्रारम्भिक नतिजाले पनि यसलाई ९२ प्रतिशत प्रभावकारी देखाएको छ । १६ हजार स्वयंसेवकहरूलाई यो खोप लगाएको डाटाका आधारमा नतिजा सार्वजानिक गरिएको थियो । हाल बेलारुस, यूएई, भारत अनि भेनेजुएलामा यसको तेस्रो चरणको क्लिनिकल ट्रायल सञ्चालन गरिरहेको छ ।

अहिलेसम्म स्पट्‌निकले सुरक्षासम्बन्धी कुनै समस्या देखाएको छैन । रुसी अनुसन्धानकर्ताका अनुसार स्वयंसेवकहरूले दुईमध्ये खोपको पहिलो डोज लगाएको २१ दिनसम्म कुनै गम्भीर प्रतिक्रिया या साइड इफेक्ट देखिएका छैनन् ।

तर फाइजर जसरी नै यसको पनि पूरा डाटा संकलन भएपछि मात्र आधिकारिक मान्यता दिन सकिने बताइएको छ । फाइजर खोपले कोरोना भाइरसको केही हिस्सा, ‘जेनेटिक कोड’ शरीरमा प्रवेश गराइ प्रतिरोधात्मक प्रणालीलाई अभ्यास गराउँछ भने अन्य दुई खोपले चाहिँ कोरोना भाइरससँग मिल्दोजुल्दो अन्य हानि रहित भाइरसलाई परिमार्जित गरि त्यसको प्रयोग गरिरहेका छन् । सबै खोपका दुई डोज नै आवश्यक पर्ने बताइएको छ ।

तर स्पट्‌निकको सबैभन्दा ठूलो फाइदा भनेको यसलाई फाइजर जसरी माइनस ८० डिग्रीको अत्यन्तै कम तापमानमा स्टोर गरि राख्नुपर्नेछैन ।

पुटिनले मंगलबार मात्र स्पट्‌निक खोप भारत र चीनमा उत्पादन हुन सक्ने बताएका हुन् । यी दुवै देशले आफ्नो आवश्यकता मात्र नभएर तेस्रो मुलुकलाई पनि आपूर्ति गर्न सक्ने बताइएको छ । स्पट्‌निक भी बाहेक रुसको ‘एपीकोरोनाभ्याक’ पनि गत अक्टोबरमै आपत्‌कालीन प्रयोगका लागि स्वीकृत गरिएको थियो । स्पट्‌निक खोपलाई आफ्नै छोरीमाथि पनि प्रयोग गरिसकेको पुटिनले यसअघि बताएका थिए ।

तर पनि फाइजर र मोडेर्नाको तुलनामा स्पट्‌निकले चाहिँ धेरै तल्लो स्तरमा हुँदैखेरि ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ । फाइजरले हाल ४३ हजार सहभागीहरूमा ट्रायल सञ्चालन गरिरहेको छ र १६४ सकारात्मक केस प्राप्त भएपछि रिसर्च पूरा हुने बताएको छ । अहिले ९४ सकारात्मक नतिजा प्राप्त हुँदा प्रारम्भिक डाटा हेरेर यसले आफ्नो खोप ९० प्रतिशत प्रभावकारी भएको निष्कर्ष निकालेको हो । यता मोडेर्नाले पनि ९५ सकारात्मक केस प्राप्त भएलगत्तै प्रारम्भिक डाटाका आधारमा खोप ९४.५ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ । कम्पनीले ३० हजार स्वयंसेवकमा सञ्चालित ट्रायलमा १५१ सकारात्मक केस प्राप्त गर्ने लक्ष्य राखेको छ ।

तर स्पट्‌निकको लक्ष्य ४० हजार मानिसमा परीक्षण गर्नु थियो जसमा यसले १६ हजार स्वयंसेवक नियुक्त गरी २० सकारात्मक नतिजा प्राप्त गरी आफ्नो प्रभावकारिता दाबी गरेको हो । जसकारण नै यसलाई पश्चिमी स्वास्थ्यविद्हरूले पर्याप्त तथ्यांक मान्‍न नसकिने बताउँदै आएका छन् । 

जोन्सन एन्ड जोन्सन :
अमेरिकाकै जोन्सन एन्ड जोन्सन कम्पनीका वैज्ञानिकहरूले पनि एउटा डोज मात्र आवश्यक पर्ने कोरोनाविरुद्धको खोप विश्वव्यापी प्रयोगका लागि पूर्ण रुपमा स्वीकृत हुन फेब्रुअरीसम्ममा सबै डाटा प्राप्त हुने बताएको छ । कम्पनीले ६० हजार स्वयंसेवक नियुक्त गरी ठूलो स्तरको अन्तिम ट्रायल वर्षको अन्त्यसम्ममा पूरा गर्ने बताएको छ । जोन्सन एन्ड जोन्सन कम्पनी फाइजर र मोडेर्नाभन्दा केही पछि परेको छ । तर पनि प्रारम्भिक डाटाका आधारमा आपत्‌कालीन प्रयोगका लागि केही दिनभित्रमै स्वीकृति माग्न निवेदन दिने बताएको हो ।

त्यस्तै जोन्सन एन्ड जोन्सन कम्पनीकै अर्को दुई डोज आवश्यक पर्ने खोपका लागि पनि परीक्षण सुरु गरिने बताइएको छ जसमा भने ३० हजार सहभागी ट्रायलमा संलग्न हुनेछन् । यसरी जोन्सन एन्ड जोन्सनले दुईवटा खोप निर्माण गर्ने तयारी गरिरहेको छ । जसमध्ये एउटा डोजवाला खोप आगामी जनवरी या फेब्रुअरीमै उपलब्ध हुन सक्ने बताएको हो । 

बेलायतको एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटी खोप :
मोडेर्ना र फाइजरको सफलताले एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीको सहकार्यमा निर्माण भइरहेको खोप पनि प्रारम्भिक नतिजा सार्वजानिक गर्न दबाबमा आएको छ । डिसेम्बरभित्रमै कम्पनीले पनि आफ्ना ट्रायलहरूबाट प्राप्त डाटा सार्वजानिक गर्ने बताएको छ । एस्ट्रजेनेकाको खोपले युवादेखि वृद्धसम्म सबैमा उत्तिकै इम्युन प्रतिक्रिया उत्पन्न गराउन सफल भएको डाटा यसअघि नै सार्वजानिक गरेको थियो । सुरक्षित र प्रभावकारी साबित भएमा यो खोपको ३ अर्ब डोज उत्पादन गरिने कम्पनीले बताएको छ । मोडेर्ना र एस्ट्राजेनेकाले फरक प्रविधिबाट खोप निर्माण गरिरहेको भएपनि प्रक्रिया र प्रोटिन तत्त्वमा समानता भएकले मोडेर्नाको प्रभावकारितासम्बन्धी खबर यसका लागि पनि सकारात्मक संकेत भएको बताइएको छ । 

चीनको साइनोभ्याक 
चीनको साइनोभ्याक बायोटेक कम्पनीले निर्माण गरिरहेको कोभिड-१९ विरुद्धको ‘कोरोनाभ्याक’ खोपले पनि एकदम छिटो इम्युन प्रतिक्रिया उत्पन्‍न गराउने सक्ने केही दिन अगाडि मात्र खबर गरिएको थियो । चीनमा साइनोभ्याक कम्पनीको कोरोनाभ्याकसहित चार अन्य अनुसन्धानात्मक खोपहरू अन्तिम चरणको ट्रायलमा पुगेका छन् जसले अब छिटै प्रभावकारिता जाँच गर्नेछन् ।

साइनोभ्याकको रिसर्चका लागि ७०० भन्दा बढी सहभागीलाई संलग्न गराइ पहिलो र दोस्रो चरणको ट्रायल सञ्चालन गरिएको थियो । साइनोभ्याकले हाल ब्राजिल, इन्डोनेसिया र टर्कीमा अन्तिम चरणको ट्रायल सञ्चालन गरिरहेको छ । त्यस्तै अन्य चार चिनियाँ खोपका ठूला ट्रायलहरू पाकिस्तान र साउदी अरेबिया, भइरहेको छ ।

कोरोना भ्याक खोप अहिले नै चीनमा आपत्‌कालीन प्रयोगका लागि सयौँ हजारौँ मानिसमा प्रयोग भइरहेको छ । 
यसबाहेक अन्य दुई खोपलाई पनि चीनमा सुरक्षित र प्रभावकारी दाबी गर्दै आपत्कालीन प्रयोगका लागि स्वीकृत गरिएको छ । चिनियाँ अधिकारीहरूका अनुसार नोभेम्बरको सुरुवातमै ६० हजार भन्दा बढीले चिनियाँ खोप लगाइसकेका छन् जहाँ यतिबेला कोरोना नियन्त्रित अवस्थामै छ । 

साइनोभ्याकले निर्माण गरेको यो खोपको सबैभन्दा ठूलो फाइदा भनेको यसलाई फाइजर जसरी अत्यन्तै कम तापमानमा स्टोर गरी राख्नुपर्ने छैन । कम्पनीका अनुसन्धानकर्ता गाङजेङका अनुसार यसलाई सामान्य फ्रिजको तापमान, ‘२ देखि ८ डिग्री सेल्सियस’ सम्ममा राख्‍न सकिनेछ र तीन वर्षसम्म स्थिर रहन सक्छ जसकारण पनि खोपहरू मध्ये यो आकर्षक विकल्प बन्न सक्ने बताइएको छ । चीनले २०२१ का सुरुवाती महिनाहरूमै खोप पूर्ण रुपमा तयार हुने यसअघि बताएको थियो । 

(विभिन्‍न सञ्‍चारमाध्यमहरूको सहयोगमा)
 

प्रतिकृया दिनुहोस
ad