लिम्बुवानको आरम्भ

सगुन सुन्दर लावती

पाँचथरको सदरमुकाम फिदिम, गडीस्थित सुम्जिरी सुम्हाःलुङ आम्बेपजः मन्दिरको ठूलो ऐतिहासिक महत्त्व छ । लिम्बुवानको नाम र आरम्भ यसै पवित्र भूमिसँग गाँसिएको छ । इतिहासका पानाहरू छिचोलेर हेर्ने हो भने किरात जातिका विभिन्न हाँगाले विभिन्न स्थानमा बसोवास, बसाइँसराइ र शासनसत्ता संचालन गरेका छन् । यसै क्रममा शासन, सिमाना र आधिपत्यको किसिम र प्रकारमा उतारचढाव भएको पाइन्छ ।

मुन्धुमका अनुसार, खाम्बोङबास वा खम्बु, ताङसाङथास वा मंगोल र मुनाफेन्स वा चिनियाँबीच अन्तरघुलन भयो । हिमालय क्षेत्रमा तीमध्ये सबैभन्दा पहिले आगमन खम्बुको भयो । ताङसाङथास र मुनाफेन्सको आगमन त्यसपछिका कालखण्डमा भयो र तिनको अन्तरघुलनबाट मानव जातिले ठूलो आकार ग्रहण ग¥यो ।

इमानसिं चेम्जोङको भनाइमा हिमालय प्रदेशका अतिरिक्त किरात जातिको प्रभाव भारत, बंगलादेश, म्यानमार, थाइल्यान्ड, भियतनाम, मलेसिया र फिलिपिन्सका टापुसम्म फैलिएको थियो । आधुनिक भारतकै भूभागको हिसाबले तिनको बसोबास हिमांचल प्रदेश, आसाम, मनिपुरदेखि बंगलादेशको चितागंगसम्म बिस्तार भएको थियो ।

बसाइँसराइ र मानव गतिशीलता हेर्दा किरातहरूको कुनै शाखा श्रीलंका त कुनै शाखा गंगा नदीको समथल भूभाग पुगेको पनि ऐतिहासिक विश्लेषण छ । अझै अघिको समयकालको चर्चा गर्ने हो भने काबुलको हजारा जाति र किरातीहरूको उत्पत्ति पर्सिया अर्थात् एकै थलोबाट भएको दाबी छ भन्ने इमानसिं चेम्जोङले ‘हिस्ट्री एन्ड कल्चर अफ किरात पीपल’मा उल्लेख गरेका छन् ।

किरातहरू एक समय सिन्धु घाँटी सभ्यताको अंश थिए । आर्य जातिको आगमनसँगै तिनीहरू भारत र तिब्बततर्फ लागेको भन्ने दाबी छ । यस्तै अर्को सिद्धान्तअनुसार, लिम्बुहरू चीनको सिचुवान युनान प्रान्तबाट वासस्थान फेर्दै आएका हुन् । सेन मक्वान समूहको यो हाँगा क्रमिकरूपमा म्यानमारबाट आसाम, उत्तर बंगालको समथल भूभाग हुँदै अन्ततः पूर्वी नेपालको पहाडमा आइपुगेको बताइन्छ । तत्कालीन समयको किरात भूमिमा आठ राजाको शासन थियो ।

होन्देन हाङ, याकेटेट हाङ, छेस्बी हाङ, लारासो पाङबो हाङ, खेसीवा हाङ, एकाङसो हाङ, खाडी हाङ र ऐमे हाङ आठ राजाहरूको सयुक्त शासन क्षेत्र पूर्वमा कालिम्पोङ, भुटान र देउमाईदेखि टिस्टासम्म फैलिएको थियो । उत्तरतर्फ दार्जिलिङ र सिक्किम, पश्चिममा दूधकोसी, इलाम, झापा हुँदै दक्षिणतर्फ तिनको राज्य पश्चिम बंगालको सिलगुरी, मैनागरी र महाकालगुरीसम्म विस्तार भएको थियो ।

 

आठ राजाको आश्रयमा बसोबास गरेको भए पनि तिनको ज्यादती र दमन असह्य भएपछि सेन मक्वान जनताले अन्ततः विद्रोह गर्ने निधो गरे । यही सामूहिक निर्णय लिन पाँचथर, फिदिमको सुम्जिरी सुम्हाःलुङ आम्बेपजः मन्दिरमा भेला भए । पूज्यस्थल स्थापना गर्ने क्रममा तीन ढुंगाको चुल्हो निर्माण गरे, तीनवटा आँपको बिरूवा रोपे । पवित्र जल चढाएर बल मागे । ज्यान रहेसम्म युद्ध गर्ने र विजयी भएरमात्र घर फर्कने कसम खाए । सुम्हाःलुङ भन्नाले तीनवटा चुलो र आम्बेपजः भन्नाले झुरुप्प आप भन्ने बुझिन्छ । मन्दिर परिसरमा रहेको एउटा आपको रुख चट्याङ परेर नास भए पनि दुईवटा पुरानो रुख अझै पनि जस्ताको तस्तै छ । मन्दिरकै बगलमा महागुरु फाल्गुनन्द अध्ययन तथा संरक्षण प्रतिष्ठानले महागुरुको सालिक स्थापना गरेको छ ।

इमानसिं चेम्जोङको भनाइमा उनीहरू आठ राजाविरुद्धको युद्धमा विजय भएपछि मन्दिर परिसरमा पुनः भेला भए । दस सरदारको एकतामा सफलता पाएकाले राज्यलाई दस भागमा बाँड्ने निधो गरे । दस राजाको वंशलाई दस लिम्बुवानको शासकको रूपमा स्थापना गरे । यसै क्रममा शासकलाई लिम्बु र जनतालाई याक्थुम्बा भन्ने प्रचलन स्थापित भयो । तर, कालान्तरमा दस लिम्बुवानको शासन, प्रशासन कमजोर भएसँगै जनता सबैले आफूलाई लिम्बु भन्न थाले ।

धनुकाँडको बलमा राज्य स्थापना भएको हुनाले ली अर्थात् धनु, आम्बु अर्थात् प्राप्त गर्नु भन्ने अर्थ अनुकूल विद्रोहलगत्तै लिम्बुवान भन्ने नाम प्रयोगमा आयो । लिम्बुवान भन्ने नाम यही समयबाट स्थापित भयो । त्यसपश्चात सुम्जिरी सुम्हाःलुङ आम्बेपजः मन्दिरमै बसेर दस लिम्बुवानको रीतिस्थिति, दैनिक जनजीवन सबै सम्बोधन गर्ने गरी नयाँ संविधानसमेत तयार गरियो । इस्वी संवत ५५० देखि १६०९ सम्म शासनकाल कायम रह्यो ।

 

योगी नरहरीनाथले इतिहास प्रकाश, सन्धिपत्र संग्रह भाग १ मा जनाएअनुसार, दस लिम्बुवानको दस राजा, राजधानी र शासन क्षेत्र निम्न रूपमा थियो :

१. पुरानो राजधानी ताकलुक देन यक (गढ) ६ थर प्रान्तमा खेवाहाङ राय राजा ।

२. कुर्ले यक (गढ) चौबीस मिकलुङ प्रान्तमा माबोहाङ राय राजा ।

३. फेदेन यक (गढ) पान्थरमा पापोहाङ राय राजा ।

४. हस्तापु यक (गढ) मा लिन्से हाङ राय राजा ।

५. आङदाङ येक (गढ) इलाम, फाकफोक प्रान्तमा लोलिमहाङ राय राजा ।

६. पालावाङ यक (गढ) सात तराई फेदाप प्रान्तमा फेयोहाङ राय राजा ।

७. पोमाजुङ यक (गढ) फाङ देन आठराई प्रान्तमा आकलुक राय राजा ।

८. ताकपेसु यक (गढ) तम्बर खोलामा साम्वासोङहाङ राय राजा ।

९. मेरिङदेन यक (गढ) तम्बर खोलामा सीसीयेन राय राजा ।

१०. चेनलुङ यक (गढ) दश पाँच खपन माइमा इङहाङ राय राजा ।

दस लिम्बुवानको सिमाना उत्तरमा तिब्बत, दक्षिणमा बिहारको जलागढ, पूर्वमा टिस्टा नदी र पश्चिममा दूधकोसी नदीसम्म थियो । विभिन्न शाखाका किरातीहरूको शासनसत्ता त्यसो त वल्लो किरात, माझ किरात, झापा, मोरङ, सुनसरीका समतल भूभाग, भुटान, सिक्किम, पश्चिम बंगालको दार्जिलिङ, सिलगुडी, जलपाइगुडी, डुवर्स र बिहारको उत्तरी क्षेत्रसम्म विविध कालक्रममा कायम थियो ।

किरातहरूको सौर्य र पराक्रमको वर्णन एलेक्जेन्डर द ग्रेटसँग पनि जोडिएको छ । राजा पर्वताखाङले इसापूर्व ३१७ को समयमा राजकाज चलाए । उनी हिमाली किरात प्रदेशका सबैभन्दा शक्तिशाली राजा थिए । मगधका राजा चन्द्रगुप्त मौर्यसँग उनको मित्रता थियो । एलेक्जेन्डरको फौजले पंजाब र सिन्ध कब्जामा लिएको थियो । कब्जामा रहेको भूमि फिर्ता लिन पर्वताखाङले चन्द्रगुप्तलाई सैन्य अभियानमा सहयोग गरे । यही सहयोगको बदलामा चन्द्रगुप्तले पर्वताखाङलाई उत्तरी बिहारको भूभाग हस्तान्तरण गरिदिए ।

काठमाडौंमा पनि किराती राजाहरू थिए । योगी नरहरिनाथका भनाइमा ‘तीन सहर खाल्टो जलमय हुँदा कीर्तिपुर दहचोक मातातीर्थ गोदावरी गोकर्ण भइमाल विशालनगर जयवागीश्वरी इत्यादि क्रमसँगै परिवर्तित राजधानीहरूमा अनेक शाखाका किराती राजाहरूले राज्य गरे । त्यो बेलामा शिवभक्त हाङ राजाहरूले स्थापना गरेका आदेश्वर (आदीश्वर = नाथेश्वर) भृङ्गेश्वर (भृङ्गीश्वर) किरातेश्वर, गोभ्राटेश्वर, पशुपति, मृगेश्वर, आर्यादेवी, विरूपाक्ष, नागेश्वर, सिद्धेश्वर, गौरीकुमार इत्यादि शत सहस्र देवताहरूका कलापूर्ण प्राचीन प्रतीक अद्यापि विद्यमान छन् ।’

उनले भनेअनुसार राजा क्रमलीलको एउटा शिलापत्र सिद्धाचल मृगस्थली किरातेश्वर गुह्येश्वरी गोरक्षनाथबाट पशुपतिनाथ ओर्लँदा आर्यघाटमाथि छ । एवं प्रकारका अनेकौं किरातकालीन अभिलेखहरू उपेक्षित र दुरवस्थामा छन् ।

सन्धिपत्र संग्रहमा उल्लेख भएबमोजिम, काठमाडौं खाल्डोमा राज्य गर्ने एउटा हाँगाका किराती राजाहरूको नामावली यस प्रकार छ ः १. यलम्बहाङ, २. यञ्चिहाङ, ३. स्कन्धहाङ, ४. वलंभहाङ, ५. हृतिहाङ, ६. हुमतिहाङ, ७. जितेदास्तिहाङ, ८. गलिञ्जहाङ, ९. कुष्कहाङ, १०. स्वयम्बहाङ, ११. पर्वहाङ, १२. पञ्चहाङ, १३. किकेहाङ, १४. स्वनन्दहाङ, १५. थुङकोहाङ, १६. ग्रिध्रिहाङ, १७. नन्यहाङ, १८. लुँकेहाङ, १९. थोरहाङ, २०. थोकोहाङ, २१. ब्रम्हाहाङ, २२. गुञ्जहाङ, २३. पुष्कहाङ, २४. केशुहाङ, २५. सुङ्गुहाङ, २६. संशहाङ, २७. गनञ्जहाङ, २८. खिबुहाङ, २९. गस्तिहाङ, इत्यादि ।

(सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी, केन्द्रीय कार्यसम्पादन समिति )

प्रतिकृया दिनुहोस
ad