site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
विमान होइन अब ‘हाइपरलुप’ को युग, विश्वकै पहिलो सफल परीक्षण

बीबीसी । अत्याधुनिक प्रविधिबाट निर्मित ‘हाइपरलुप पड’ मा वास्तविक यात्रु राखेर गरिएको विश्वकै पहिलो परीक्षण सफल भएको छ । अमेरिकी कम्पनी भर्जिनद्वारा सञ्चालन गरिएको यो परियोजना नेभाडास्थित मरुभूमिमा निर्माणको क्रममा छ । 

‘हाइपरलुप पड’ भनेको भविष्यमा आधारित नयाँ युगको अत्यन्तै तीव्र गतिमा चल्ने सवारीसाधन हो जुन रेल र विमानभन्दा पनि छिटो चल्न सक्छ । चुम्बकीय प्रणालीमार्फत यसलाई एक विशेष किसिमको ट्युबभित्र चलाइन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसको ट्रायलमा कम्पनीकै दुईजना स्टाफलाई यात्रु स्वरुप चढ्न लगाइएको थियो जसपछि ५०० मिटरको ट्रयाकलाई सो हाइपरलुपले १७२ किलोमिटर प्रतिघण्टाको रफ्तारमा १५ सेकेन्डमै दूरी पार गरेको हो । तर कम्पनीले यसको गति अझ बढाएर एक हजार किलोमिटर प्रतिघण्टा बनाउने लक्ष्य राखेको छ ।

हाइपरलुप बनाउन प्रयास गर्ने भर्जिन एउटा मात्र कम्पनी होइन तर यसअघि कसैले पनि तिनमा वास्तविक यात्रु राखेर परीक्षण गराएको थिएन । कम्पनीमा उपभोक्ता अनुभव विभागकी निर्देशक सारा लुचेन यसको पहिलो यात्रुका रुपमा सवार थिइन् जसले आफ्नो अनुभूति मानसिक र शारीरिक दुवै रुपमा अत्यन्तै उत्साहजनक भएको बताइन् । उनी र प्राविधिक अधिकारी प्रमुख जोश गिगेलको सो यात्रा अत्यन्तै राम्रो भएको र बीचमा कतै केही अवरोध नभएको बताए । लामो ट्रयाक भएकाले अकस्मात् एकदम छिटो कुद्‌दा एकछिन अनौठो भएको तर पनि उनीहरु दुवैमध्ये कोही बिरामी परेनन् ।

यस किसिमको सोच पहिले टेस्ला कम्पनीका संस्थापक एलन मस्कले ल्याएका हुन् तर धेरैले यसलाई असम्भव र ‘साइन्स फिक्सन’ भनेर आलोचना गरेका थिए ।

अहिले भर्जिन हाइपरलुपले दुबई र आबुधाबीको बिचमा १२ मिनेटको कनेक्सन निर्माण गर्ने सम्भावित योजना बनाइरहेको छ जसलाई साधारण सवारीसाधनबाट यात्रा गर्दा एक घण्टाभन्दा बढी समय लाग्छ ।

लुचेनले यस परियोजनाका कठिनाइहरु स्वीकार गर्दै भनिन्, “अवश्य पनि यो संरचनाका लागि धेरै तयारी र लागत् आवश्यक पर्छ तर मानिसहरुले यो सम्भव छैन भन्दाभन्दै पनि हामी यति ठूलो जोखिम उठाइरहेका छौँ । किनकि मानिसहरु आगामी युग, भविष्यको यातायात प्रणालीबारे अहिले अधिक चासो दिइरहेका छन् । अवश्य पनि हामीले हिजोकै सवारीसाधनहरुमा सुधार ल्याउन र निर्माण गरिरहन सक्छौँ या केही नयाँ बाटोको खोजी गरि समस्या समाधानमा लाग्न सक्छौँ ।”

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  १०:२२
प्रतिक्रिया दिनुहोस्