म मुख्यमन्त्री भए

क्रिस अर्याल

नेपालको संविधान, २०७२ ले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेको छ । फलस्वरूप, केन्द्र प्रदेश र स्थानीय गरी तीन तहको शासकीय संरचना निर्माण भएको छ । संविधानमा जम्मा ७ वटा प्रदेश सरकारको व्यवस्था भएकाले मुख्यमन्त्री पनि सातवटै रहने प्रावधान छ ।

संविधानअनुसार कुनै एउटा प्रदेशको मुख्यमन्त्री भएको भए म विभिन्न प्रकारका विकास तथा शान्तिपूर्ण कार्यलाई प्राथमिकता दिने थिएँ । त्यसमा पनि मेरो पहिलो प्राथमिकता गुणस्तरीय तथा निःशुल्क शिक्षा हुने थियो ।  एक जना शिक्षित नागरिकले आफ्नो देशमा भइरहेका घटनालाई मूल्यांकन गरी देश विकसित बनाउन ठूलो योगदान गर्छ । शिक्षित जनशक्ति नभएसम्म देश विकासका नारा तथा अभियान अव्यावहारिक हुन्छन् । दुर्गम र ग्रामीण क्षेत्रका बासिन्दाको शिक्षामा पहुँच नपुग्दासम्म पूर्ण साक्षरता खोक्रो नारामात्र हुन्छ । अशिक्षित भएकै कारण कैयौं मानिस आफ्ना अधिकारको जानकारी नहुँदा विभिन्न सामाजिक आर्थिक शोषण र भेदभावका सिकार हुन्छन् । स्तरीय विश्वविद्यालय,  कलेज,  स्कुलहरु स्थापना गर्न पहल गर्ने थिएँ ।  शिक्षाक्षेत्रमा  वैज्ञानिक प्रविधिहरु राखेर उत्कृष्ट काम गर्ने थिएँ । विद्यार्थी तथा शिक्षकहरुलाई प्रविधि मैत्री वातावरण सिर्जना गरेर शैक्षिक क्षेत्रमा एउटा नयाँ क्रान्ति ल्याउने थिएँ ।  

स्वास्थ्य क्षेत्रको विकास मेरो अर्को प्राथमिकता हुनेथियो । कैयौं मानिसले अस्पतालमा उपचार नपाई अकालमै ज्यान गुमाएका छन् । मानिसहरु स्वस्थ भएमात्र सक्षम तथा ऊजावान् जनशक्ति उत्पादन हुन्छ । नागरिक स्वस्थ भए आफ्नो काम ध्यान दिएर गर्छन् र देश विकासका कार्यमा मद्दत गर्छन् । देश विकासको लागि शिक्षा र स्वास्थ्य क्षेत्रको उन्नति एवं विकासको गहिरो सम्बन्ध हुन्छ । 

कृषि तथा सञ्चार क्षेत्रको विकास र आर्थिक स्वावलम्बन पनि महत्त्वपूर्ण पक्षहरु भएकाले त्यसका लागि दीर्घकालीन योजना बनाएर दिगो विकासमा जोड दिने थिएँ । साथै किसानहरुलाई समयमै मल तथा  बीउ उपलब्ध गराई उनीहरुलाई खेतीपाती र तरकारीे उत्पादनमा सहयोग गर्ने थिए ।  किसानहरुले उत्पादन गरेका तरकारीलाई बजारसम्म ल्याउँदा किसानलाई बढी फाइदा हुनेगरी  उत्पादित तरकारीको मूल्य तोकी उपभोक्ता र किसानबीच राम्रो सम्बन्ध  बनाउने थिएँ ।  स्वदेशमै फलेका तरकारीहरुलाई विशेष प्राथमिकता दिई किसानहरुलाई प्रोत्साहन भत्ता पनि प्रदान गर्ने थिएँ । 

यातायात कुनै पनि देशको विकासका लागि मेरुदण्ड हो ।  यातायातको विकासले एक ठाउँको सेवा तथा सुविधालाई सजिलै अर्को ठाउँमा पुर्याउन सकिन्छ । मानिसको गतिशीलता वृद्धि हुन्छ र उनीहरू स्वावलम्बी भएर विभिन्न प्रकारका रोजगारमूलक कामहरू गरेर आम्दानी वृद्धि गर्छन् । 

कालोबजारी र भ्रष्टाचारप्रति निकै आक्रमक भई कार्य सम्पादन गर्ने थिएँ । सुशासनको आभास नभएसम्म देश विकास सम्भव छैन । लामो समयदेखि रहिआएको भ्रष्टाचारी संस्कारलाई म जरैदेखि उखेलेर फाली दिने थिएँ ।

युवालाई प्राविधिक तालिम प्रदान गर्ने व्यवस्था मिलाउने थिए ।  यहीँ रोजगारीको अवसर दिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रोक्ने थिए ।  

प्रदेशका स्रोत र साधनलाई विकेन्द्रित गरेर र केन्द्रीय सरकारसँग सहयोग मागेर प्रदेशका जनताको घरदैलोमा विकासको प्रतिफल पुर्याउने थिएँ । त्यसमा भइरहेका विकासका काममा आफ्नो प्रदेशका जनताहरुसँग महिनाको कम्तीमा पनि एकपटक छलफल गरी उनीहरूबाट राय सुझाव लिने थिएँ । 

मुख्य मन्त्रीको हैसियतले मैले प्रतिबद्धता प्रकट गरेका सबै कामहरु पूरा गर्ने थिएँ । मेरो क्षेत्रका जनताको जीवनस्तर उकास्न गरिबी उन्मूलन गर्ने थिएँ ।  साथसाथै महिला अधिकारमा महिलाहरुलाई विशेष प्राथमिकता दिएर बलात्कार,  महिला हिंसाहरु अन्त्य गर्न  नयाँ कानुन बनाउने थिएँ । 

वातावरण रक्षा र प्राकृतिक सुन्दरताको जगेर्ना गरी पर्यटकीय क्षेत्रको विकास गर्नु मेरो अर्को प्राथमिकता हुनेथियो । नेपालका प्राकृतिक सम्पदाहरुलाई संरक्षण र कला संस्कृतिलाई अभिवृद्धि गर्ने थिएँ । यसरी म एक असल, इमानदार र प्रेरणादायी मुख्यमन्त्री हुने थिएँ । 
 

प्रतिकृया दिनुहोस
ad