संक्रमण रोकथाममा योग तथा प्राकृतिक पद्धति

दीनेश राई

संक्रमण रोकथाममा योग तथा प्राकृतिक पद्धति

सर्वोत्तम उपाय रोग लाग्नै नदिनु हो । रोग लागिहाले सही उपचार गराउनु पर्छ । कोरोनाभाइरसको खोप र औषधि पत्ता नलागिसकेको अवस्थामा रोकथामका उपाय अपनाउनु अति नै आवश्यक छ । किनभने यसको संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ । स्वस्थ  मान्छेमा भन्दा दीर्घरोगी व्यक्तिमा यो भाइरसको संक्रमणपछि जटिल समस्या देखिन सक्छ । स्वास्थ्यको ख्याल राखेर कोरोनाभाइरस रोकथामका उपायको साथै शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनु, तनाव व्यवस्थापन गर्नु, पोषणयुक्त खानपान र व्यायाममा  उत्तिकै ध्यान दिनु बुद्धिमानी हुन्छ । स्वास्थ्य रक्षाको निम्ति योग, प्राकृतिक चिकित्सा र जडिबुटी उपयोगी हुनछन् । मौसमी फ्लु, रुघाखोकी, नाक, घाटी र श्वासप्रश्वास आदिको समस्यामा परम्परागतरुपमा गरिँदै आएको शुद्धीकरण प्रक्रिया कोभिड – १९ मा पनि फाइदाजनक हुने देखिन्छ ।

मानव शरीरमा कोरोनाभाइरस छिर्ने मुख्य अङ्गहरु नाक, मुख र आखा हुन् । शरीरभित्र प्रवेश गरिसकेपछि केही दिनसम्म नाक र मुखको पछाडिको भाग वा स्वास नलीको माथिलो भागमा रहन्छ । बिस्तारै संक्रमण बढाएर फोक्सोमा पुगी निमोनियाको जस्तै लक्षण देखाई सास फेर्न कठिन,ज्वरो आउने, जिउ दुख्ने, खोकी आउनेजस्ता समस्या देखापर्दै जटिल हुने गर्छ । 
हरेक दिन यी अंगहरु नाक र मुखको पछाडिको भाग सफा गर्ने सरल विधि नियमित प्रयोग गरेर कोरोनाभाइरस संक्रमण रोकथाम गर्न सकिन्छ । बढ्दो संक्रमणको अवस्थामा हामीले नाकको पछाडि, मुखको पछाडिका भागमा केन्द्रित गरी नियमित शुद्धि क्रिया गर्नु उचित हुन्छ । 

योग तथा प्राकृतिक चिकित्साअन्तर्गत शरीर शुद्धीकरणका लागि ६ वटा वैज्ञानिक यौगिक शुद्धीकरण प्रक्रिया छन् जसलाई हामी षट्कर्म भन्छौँ । यसै षट्कर्म र परम्परागतरुपमा प्रयोग गर्दै आएका उपचार पद्धति जलनेती, अनुहार वाष्प स्नान, गार्गल, रबरनेतीको प्रयोग यस क्रममा हुँदै आएको छ।  

जलनेती 
जलनेती गर्दा यन्त्र वा करुवाद्वारा नाकको एउटा प्वालबाट शुद्ध मनतातो नुनिलो पानी प्रवेश गराई अर्को प्वालबाट झार्ने गरिन्छ । यसले नाकभित्रको फोहोरको पूर्णरुपमा शुद्धीकरण हुनेगर्छ । यस विधिलाई जलनेती भनिन्छ ।
विधिः ५०० मिलिदेखि ६०० मिलिसम्म पानी अटाउने भाँडो लिने । आवश्यकताअनुसार १ लिटर मनतातो पानीमा एक चम्चा नुन मिलाई मन्द नुनिलो बनाउने । मनतातो, नुनिलो पानीलाई जलनेती गर्ने भाँडामा राख्ने अनि बिस्तारै नाकको प्वालमा जलनेतीको भाँडाको टुटी जोड्ने र टाउकोलाई बिस्तारै दाहिनेतिर झुकाउने । अनि नाकको प्वालमा बिस्तारै भाँडोको माध्यमबाट पानीको प्रवाह नाकको प्वालमा पठाउने । नाकको बाँया प्वालबाट पानी पठाउँदा दायाँ प्वालबाट पानी निस्कन्छ र दायाँबाट पठाउँदा बाँयाबाट निस्कन्छ ।
यो प्रक्रिया तीन–चार पटक दोहोर्याउने । यसरी नाकबाट पानी पठाउँदा सास फेर्ने काम मुखबाट गर्नुपर्छ ।
जलनेतीको विधि गरिसकेपछि नाकभित्रको फोहोर र जम्मा भएको पानी फ्याँकी नाक सुख्खा गराउनुपर्छ । सोका लागि थोरै अगाडि झुकेर दुवै कान बन्द गरी केही समय (एक, दुई मिनेट) टाउकोलाई दायाँबायाँ, तलमाथि गरी जोडजोडसँग नाकद्वारा श्वास फाल्नुपर्छ ।
फाइदा
लामो समयदेखिको रुघा, खोकी, नाकबन्द हुने, गन्ध थाहा नपाउने, पिनास, टाउको दुखाइ, माइग्रेनजस्ता रोग र समस्या निराकरणका लागि फाइदाजनक रहनेछ ।
तनाव, अनिद्रा, एकाग्रतामा कमी, डिप्रेसनजस्ता मानसिक रोगमासमेत जलनेतीले फाइदा गर्नेछ । धुँवा, धुलोबाट हुने एलर्जीमा महत्त्वपूर्ण क्रिया नै जलनेती हो ।
नियमित जलनेती गर्नाले श्वासप्रश्वाससम्बन्धी समस्याको निराकरण गर्न सहयोग पु¥याउँछ । नाकभित्र रहने फोहोर र धुलो, धुँवाबाट प्रवेश गरेका कीटाणुहरुको सफाइ गरी नाकको शुद्धीकरणको लागि उपयुक्त उपाय हो जलनेती ।

अनुहारको वाष्प स्नान 
पानी तताएर अनुहारको भागमा मात्र बाफ लिने जल चिकित्सालाई अनुहारको वाष्पस्नान भनिन्छ । यसरी वाष्पस्नान गरे नाकमुखको विभिन्न समस्या समाधानका साथै अनुहारको छालालाइ राम्रो गर्छ .
विधि
वाफ यन्त्रर भाँडामा आइरहेको वाफमाथि अनुहारलाई राखी ठूलो कपडाले यन्त्र र भाँडासहित टाउको ढाक्ने ।. नाक र मुखबाट सास फेर्ने । प्रत्येक पटकमा ७–१० मिनेट अनुहारको वाष्पस्नान गर्ने जसको तापक्रम लगभग ७० – ८० डिग्री सेल्सियस हुन्छ । वाष्पस्नानपछि चिसो पानीले अनुहार धुने र हल्का पुछ्ने । अनुहारको बाफ लिँदा आँखामा चिसो पानीमा भिजाएको कपडाको पट्टि लगाउनु राम्रो हुन्छ । यसले आँखाको स्वास्थ्यमा राम्रो प्रभाव पर्छ ।
फाइदा 
भाइरल र मौसमी फ्लु, रुघा, खोकीमा धेरै फाइदा गर्छ । पिनास, नाक बन्द हुने र दममा समेत फाइदा गर्छ । घाँटी दुख्ने, निल्न गाह्रो हुने साथै टन्सिल हुँदासमेत फाइदा गर्छ । डन्डिफोर, अनुहारको दाग, अनुहारको चायाँका साथै अन्य अनुहारको छालामा देखिने समस्याहरु निको पार्छ र अनुहार सफा, चम्किलो र स्वस्थ हुन्छ ।

गार्गल (कुल्ला गर्ने) 
सफा तातो सेलाइन पानीले मुख, घाँटी सफा गर्ने प्रक्रियालाई कुल्ला गर्ने वा गार्गल भनिन्छ । यो सरल प्राकृतिक विधि प्राचीन समयबाटै प्रयोगमा आएको हो ।
विधिः सहनसक्ने उमालेको पानीमा नुन, जडिबुटी राखेर थोरै थोरै गरी लगभग ५–७ मिनटसम्म बिहान र साँझ खाली पेटमा घाँटी सफा गर्ने ।
फाइदाः घाँटीमा रहेको कीटाणु नष्ट हुन्छ । टन्सिलाइटिसको समस्यामा फाइदा गरी श्वास नलीमा रहेको फोहोर निकाल्न मद्दत गर्छ । घाँटी दुख्ने, मुख दुर्गन्धित हुने, दाँतका समस्या, निल्न गाह्रो हुने, श्वास फेर्न गाह्रो हुने, छाती भारी हुने, आदि समस्यामा फाइदा गर्छ .

रबर नेती 
यो नाकमा जम्मा भएको कफलाई सफा गर्ने शुद्धीकरण क्रिया हो । यस उपचार विधिमा रबर क्याथेटरको माध्यमबाट नाकको प्वाल हँुदै मुखबाट निकालेर नाक र साइनास सफा गर्ने गरिन्छ ।
विधि : 
आरामसँग उभिएर टाउकोलाई थोरै पछाडि उठाउने र बिस्तारै एउटा नाकको प्वालबाट भित्र छिराउने अनि बिस्तारै मुखबाट निकाल्ने । त्यस्तैगरी अर्को प्वालबाट गर्ने । नाकमा घाउ, पोलिप, बांगिएको हड्डीजस्ता समस्यामा भने चिकित्सकको सल्लाह लिनुपर्छ .  
फाइदा : नाकको प्वाल मा जमेर रहेको फोहोर कीटाणुको सफाइ हुन्छ । बास्ना सुधार र एलर्जी कम गर्छ । नाकको मासु र हड्डीको समस्यामा फाइदा गर्छ । नाक, कान, घाँटीलाई स्वस्थ्य बनाउँछ ।
विशेष सावधानी 
*   ज्वरो आएमा, रुघाखोकी लागेमा अथवा अरू कुनै लक्षण देखापरेमा घरमा नै बस्ने । कोरोनाको शंका लागेमा तुरुन्तै चिकित्सकलाई देखाउने ।
*    मुटु रोग, दम, मधुमेह तथा कुनै पनि दीर्घरोग भएमा तिनको राम्रो हेरचाह गर्ने ।
*    मद्यपान र धुमपान नगर्ने ।
*    सम्भव भएसम्म घरबाहिर खाना नखाने । खानैपर्ने भएमा सरसफाइमा विशेष ध्यान दिने ।
*     पर्याप्त मात्रामा उमालेर राखेको मनतातो पानी खाने ।
*    दैनिक मनतातो दूधमा एक चिम्टी शुद्ध बेसार र थोरै मरिचको धुलो मिसाएर पिउने ।
*    प्राकृतिक र स्वस्थ खाना खाने । अस्वस्थ खाना त्याग गर्ने ।
*    खानासँग काँचो सलाद खाने । सलादमा २ वा ३ पोटी लसुन र प्याजलाई अनिवार्य गर्ने ।
*    गुर्जो, अदुवा, बेसार, तुलसी, अमलाजस्ता प्राकृतिक जडिबुटी उचित मात्रामा सेवन गर्ने ।
*    रोग प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक खाना, काँचो सलाद, उमारेका गेडागुडी, फलफूल, अमिला जातका फलफूल, गेडागुडी, सूर्यमुखी तथा फर्सीको बियाँ, गाजर, हरिया सागपात इत्यादि खाने ।
 
योग तथा प्राकृतिक उपाय 
दैनिक योगको अभ्यासले रोग प्रतिरोधात्मक क्षमता बढाउन र तनाव व्यवस्थापनमा सहयोग पुग्छ । नियमित गर्न सकिने योग अभ्यास ः
*    आसन - सूक्ष्म व्यायाम, सूर्य नमस्कार, गोमुखासन, नौकासन, मार्जरी आसन, धनुरासन, त्रिकोणासन, टाडासन, बज्रासन, शशंकासन, शवासन् आदि ।
*   प्राणायाम - अनुलोम विलोम, भस्त्रिका, कपालभाती, नाडीशुद्धि, भ्रामरी आदि ।
*   जल नेती (दैनिक), कुञ्जल ( सातामा २ पटक) ।
*    सूर्य स्नान दिनहुँ सम्भव भएसम्म (बिहान ९ बजेभित्र अथवा बेलुका ५ बजेपछि मात्र, २० देखि ३० मिनेटका लागि)।
*    मनतातो पानीमा नुन राखेर घाँटी कुल्ला गर्ने (दिनको १ –२ पटक) ।
*    तातो पानीको बाफ लिने (दिनको १ –२ पटक) ।
*    उपवास बस्ने (सातामा १ पटक वा १५ दिनमा एक पटक) ।
*    बेलुका छिट्टै सुत्ने तथा बिहान सबेरै उठ्ने ।
*    ६ देखि ८ घन्टा निदाउने ।
*    शारीरिक तथा मानसिक शान्तिमा ध्यान दिने ।
*    मोबाइल, टिभी तथा विद्युतीय सामग्रीको कम प्रयोग गर्ने ।
*    सामाजिक दूरी बनाउनुपर्ने भएकाले भावनात्मकरुपमा आफ्नो परिवार, साथीभाइ, नातेदारसँग निकट रहने ।
यी विधिहरु योग तथा प्राकृतिक अस्पतालहरुमा चिकित्सकको निगरानीमा गराइने हुँदा सुरुको बेलामा चिकित्सकको सल्लाह र सुझाव लिएरमात्र गर्नुपर्छ । 
साबुन पानीले नियमितरूपमा हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने, भिडभाड नगर्ने, शारीरिक दूरी कायम गर्ने र नियमित नाक, मुख, घाँटी र अनुहारको सफा गरौँ । रोगसँग आत्तिनु पर्दैन आफ्नो व्यवहारमा परिवर्तन गरे पुग्छ ।


(योग प्राकृतिक चिकित्सक) 
 

प्रतिकृया दिनुहोस
ad