काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएको छ । चाबहिलमा रहेको ओम अस्पतालमा उपचारत महामन्त्री कोइरालाले पार्टीका नेता-कार्यकर्तासँग शुभचिन्तकहरुलाई चिन्तित नहुन आग्रह गरेका छन् ।
उनले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै आफू अस्पतालमा अझै २-३ दिन बस्ने पनि जानकारी दिएका छन् । “म कोभिड-१९ बाट प्रभावित भएको व्यक्ति आज ओम नर्सिङ होममा आइसोलेसनमा छु । तपाईंहरुले चिन्ता गर्नुपर्दैन । दुई-तीन दिन अझै यहाँ बसेर म डिस्चार्ज हुन्छु । यति नै भनौं भनेर तपाईं सम्पूर्णलाई आग्रह छ,” महामन्त्री कोइरालाले भिडियो सन्देशमा भनेका छन् ।
ओम हस्पिटल एन्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वमा रहेको चिकित्सकीय टोलीले उनको उपचार गरिरहेको छ । उनका अनुसार महामन्त्रीको उपचारमा सिनियर कन्सल्ट्यान्ट पल्मोनोलाजिस्ट डा. सुबोधसागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभस्ट डा. प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम संलग्न छ ।
मंगलबार राति एक्कासि शरीरको तापक्रम बढेपछि होम आइसोलेसनमा बसेका महामन्त्री कोइरालालाई अस्पतालमा भर्ना गरिएको थियो । उनको आईसीयूमा राखेर उपचार भइरहेको छ । महामन्त्री कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।