काठमाडौं । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्प्युनिकेसन्स स्थापनाको २५ वर्ष पूरा गरेको छ । सन् १९९५ मा इमेल सेवासँगै सुरु भएको वर्ल्डलिङ्कको यात्राले मंगलबार २५औं वसन्त पार गरेको हो ।
अध्ययनका लागि अमेरिकामा रहेका दिलीप अग्रवालले सन् १९९५ नेपालमा रहेका आफ्ना आमाबुबासँग इन्टरनेटमा जोडिने रहर पूरा गर्न सेवाको थालनी गरेका थिए । अहिले एफटीटीएच प्रविधिसहित वर्ल्डलिङ्कको इन्टरनेट सेवा देशका ७३ जिल्लामा विस्तार भइसकेको छ ।
नेपालमा प्रयोग हुने कुल इन्टरनेट ब्याण्डविथ मध्ये ४३ प्रतिशत ब्यान्डविथ वर्ल्डलिङ्कबाट नै खपत भइरहेको छ । कम्पनीका अध्यक्ष अग्रवालले हरेक तीनजना प्रयोगकर्तामा एकजना वर्ल्डलिङ्क प्रयोग गर्ने हुनु आफ्ना लागि गर्वको विषय भएको बताए । कम्पनीले ३५ सयभन्दा बढी दक्ष कर्मचारीलाई रोजगारीसमेत प्रदान गरिरहेको छ ।
कम्पनी समग्र दूरसञ्चार क्षेत्रकै तेस्रो ठूलो कम्पनीको रुपमा स्थापित भइसकेको छ । वर्ल्डलिङ्क नेपाल सरकारलाई धेरै मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने दशौं तथा सूचना प्रविधि क्षेत्रबाट आयकरमा पहिलो ठूलो कम्पनीको हो । कम्पनीका चार लाख ग्राहक छन् ।
सन् २०१४ मा १ अर्ब लगानी गर्ने योजनाका साथ सुरु गरिएको एफटीटीएच पूर्वाधारले कम्पनीलाई नयाँ उचाईमा पुर्याएको हो । सन् २०१७ मा ग्रामीण दूरसञ्चार विकास परियोजना हात पारेको कम्पनीले २०१९ मा उक्त आयोजना सफलतापूर्वक सम्पन्न गरी कर्णाली जस्तो विकट क्षेत्रमा समेत आफ्नो इन्टरनेट सेवा दिँदै आएको छ ।
कम्पनीको २५ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा दूरसञ्चार सेवा प्रदायकका नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले २०५४ सालमा अनुमतिपत्र जारी भएसँगै वर्ल्डलिङ्कसँग प्राधिकरणको सम्बन्ध जोडिएको स्मरण गरे ।
उनले फ्री वाईफाई, सेफ्टी नेट, इन्टरनेट सेवामा पहिलो विदेशी लगानी भित्र्याएर वर्ल्डलिङ्कले छुट्टै पहिचान बनाएको भन्दै अध्यक्ष खनालले वर्ल्डलिङ्कको प्रसंसा गरे ।
वर्ल्डलिङ्कको २५ वर्षे यात्रा
सन् १९९६ नेपालमै पहिलोपटक लिनक्सको प्रयोग गरेको कम्पनीले सन् १९९७ मा डायलअप इन्टरनेट सेवाको सुरुवात गर्यो । काठमाडौंमा सीमित रहेको इन्टरनेट सेवा सन् १९९९ मा काठमाडौं बाहिरसमेत विस्तार हुन थाल्यो ।
सन् १९९९ अन्तर्राष्ट्रिय ब्यान्डविथको लागि भिस्याटको प्रयोग सुरु गरेको वर्ल्डलिङ्कले सन् २००० वायरलेस ब्रोडब्यान्ड इन्टरनेट सेवा दिन थालेको अध्यक्ष अग्रवाल सम्झिन्छन् । त्यसपश्चात सन् २००१ नेपालमै पहिलो कन्टेन्ट क्यास सेटअप गर्न कम्पनीले अकामाईसँग साझेदारी गर्यो ।
कम्पनीको भिस्याटमार्फत सन् २००२ देशका प्रमुख सहरहरु आपसमा जोडिए । सन् २००३ मा केबल इन्टरनेट सेवाको सुरुवात पनि कम्पनीको जीवनमा महत्त्वपूर्ण कोसेढुंगा बन्यो ।
सन् २००६ मा वायरलेस प्रविधिबाट राष्ट्रव्यापी सेवा आरम्भ गरेको वर्ल्डलिङ्क त्यसको दुई वर्षपछि अन्तर्राष्ट्रिय क्रसबोर्डर फाइबर कनेक्टिभिटीमार्फत भारतसँग जोडियो । लोकप्रिय हुँदै गएको गुगलसँग सन् २०१० मा कन्टेन्ट क्यासका लागि साझेदारी भयो । सन् २०१२ मा १० एमबीपीएस केबल इन्टरनेट सेवाको सुरुवातले इन्टरनेट अनुभवलाई नयाँ स्तरमा पुर्याउने काम गरेको अध्यक्ष अग्रवाल बताउँछन् ।
"हामीले सन् २०१४ घर घरमा फाइबर इन्टरनेट पुर्याउने सेवाको सुरुवात गर्यौं," उनी स्मरण गर्दै भन्छन्, "त्यसको दुई वर्षपछि हामीले नेपालमै पहिलोपटक आईपीटीभी सेवासमेत दिन थाल्यौं ।" कन्टेन्ट क्यासका लागि सन् २०१६ मा फेसबुकसँग साझेदारी भयो । कम्पनीको योगदानलाई कदर गर्दै सरकारले सन् २०१७ सूचना तथा सञ्चार क्षेत्रमा उच्चतम् करदाताको रुपमा सम्मान प्रदान गर्यो ।
इन्टरनेटमा बालबालिकाहरुको सुरक्षाका लागि सन् २०१७ मा कम्पनीले आफ्नो सेवामा सेफनेटको अवधारणा ल्यायो । यस्तै सबै व्यक्तिहरुमा इन्टरनेट पहुँच पुर्याउने उद्देश्यका साथ कम्पनीले सन् २०१८ सार्वजनिक स्थानहरुमा फ्री वाईफाई जडान गर्ने परियोजना सुरु गर्यो ।
आईपीभी सिक्सको प्रयोग गर्नेमा पनि वर्ल्डलिङ्क नेपालकै पहिलो सेवा प्रदायक हो । कम्पनीले सन् २०१८ मा यसको सुरुवात गरेको थियो ।
सन् २०१९ नेपाल सरकारको आईसीटी पुरस्कारबाट कम्पनी सम्मानित भयो । सन् २०१९ मा कर्णालीको सबैभन्दा दुर्गम भागहरुमा ब्रोडब्यान्ड इन्टरनेट सेवाको विस्तार गर्ने कामसमेत कम्पनीको जीवनमा एउटा गौरवपूर्ण परिघटनाको रुपमा रहेको अध्यक्ष अग्रवालले दाबी गरे ।