site stats
बाह्रखरी :: Baahrakhari
विचार
बहुलवादी राजनीतिक दर्शन

विवेकशील नेपाली दलले करिब आठ वर्षको अनुभव, गत वर्ष असारमा रोल्पामा भएको नीति सम्मेलन र विगत ६ महिनाको निरन्तर बहसबाट भदौ ३ गते सङ्घीय समितिबाट पारित राजनीतिक दस्ताबेजमा ’पुस्तान्तरण सहित रूपान्तरणकारी युवा नेतृत्व’को अवधारणा अघि सारेको छ । उक्त राजनीतिक दस्ताबेजका तमाम बुँदा राष्ट्रिय बहसहरूमा उठिसकेका छन् । 

यस आलेखमा युवा राजनीति वा नेतृत्वभन्दा पनि युवामाझ लोकप्रिय बन्दै गएको विवेकशील नेपाली दलले भर्खरै दस्तावेजीकरण गरेको आफ्नो राजनीतिक दर्शन, ’गतिशील लोकतान्त्रिक बहुलवाद’को सेरोफेरोमा रहेर बहुलवादी दर्शनको तुलनात्मक अध्ययन तथा व्याख्या गर्ने जमर्को गरिएको छ । नेपाली राजनीतिमा बहुलवादको चर्चा बिरलै भए पनि नेपाली राजनीतिक इतिहासको उतारचढाव हेर्ने हो भने राज्यले कहिले स्वीकार गरेको देखिन्छ भने कहिले ठाडै अस्वीकार ग।ेको ।  विसं २००७ साल, ४६ साल र ६२ ÷६३ सालको आन्दोलनले बहुलवाद स्थापित गरेको थियो भने पञ्चायतले निषेध गरेको थियो । नेपालको संविधानको धारा ७४ मा समेत यस विषयमा स्पष्ट उल्लेख भएको छ।

अन्य दर्शन र मतहरुसँग तुलना

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अझ चाखलाग्दो विषय वर्तमान संविधान निर्माण प्रक्रियामा कम्युनिस्ट त्यसमा पनि माओवादीले बहुलवाद स्वीकार्न ठूलै आनाकानी गरेको थियो । सामाजिक वञ्चितीकरणमा परेका समुदायको प्रतिनिधि दल भएको दाबी गर्ने र पछिसम्म पहिचानमा आधारित सङ्घीयताको वकालत गर्ने माओवादी दलले वास्तवमा कट्टर कम्युनिस्ट दर्शन, भौतिक द्वन्द्ववाद र सर्वहारा अधिनायकत्वप्रतिको मोहले गर्दा बहुलवाद स्वीकार गर्न नसकेको हुनुपर्छ । सशस्त्र द्वन्द्वबाट कम्युनिस्ट सत्ता स्थापना गर्ने बाटो छोडेर बहुदलीय प्रतिस्पर्धा स्वीकारी शान्तिपूर्ण राजनीतिमा आए पनि बहुलवाद नमान्नुले बहुदलीय प्रतिस्पर्धा र बहुलवाद  नितान्त फरक भएको स्पष्ट हुन्छ ।

विश्वका कतिपय कम्युनिस्ट पार्टीहरूले आआफ्नो देशको परिस्थितिअनुसार बहुलवाद मानेको देखिन्छ भने अझै कैयौं कम्युनिस्ट बहुदलीय प्रतिस्पर्धा माने पनि बहुलवाद स्वीकार्न तयार छैनन् । यसैगरी समाजवादले कुनै वर्ग विशेषको मात्र एजेन्डा बोकेर सबै मिल्न सक्दैनन् भनी वकालत गर्छ । समाजवादको खोलमा राज्य अति नियन्त्रणकारी हुने वा पुँजीवादी व्यवस्थामा कुलीनहरूको राज चल्ने व्यवस्थालाई फरक वर्ग, पहिचान र मान्यताहरूबीच सहकार्य, सहअस्तित्व र एकता खोज्ने बहुलवादले यथावत् स्वीकार गर्न सक्दैन । 

बहुलवाद र लोकतन्त्र एकअर्काको अस्तित्वको लागि अपरिहार्य छन् । त्यसैले होला यदाकदा बहुलवादलाई उदार लोकतन्त्र वा प्रतिनिधिमूलक लोकतन्त्रको पर्यायवाचीरूपमा लिइएको देखिन्छ । बहुलवादको परिकल्पना लोकतान्त्रिक समाज, संस्कार र मान्यतामा मात्र सम्भव भए पनि लोकतन्त्र हुँदैमा बहुलवाद स्वतः हुन्छ भन्नु गलत हुन्छ । लोकतन्त्रमा जित्नेले नै सबै राज गर्ने वा पुँजीवादले व्यवस्था गरेजस्तो सक्नेले सबै रजाइँ गर्नाले समाजमा अस्वाभाविक खाडल निम्त्याउँछ । आर्थिक, सामाजिकरूपमा कमजोर वर्ग र समुदायले सबल समूह र कुलीन वर्गसँग लोकतन्त्रको नाममा उपलब्ध राजनीतिक समानताको आधारमा मात्र लड्न सक्दैनन् ।

लोकतन्त्रका ज्ञाता बहुलवादी चिन्तक रोबर्ट डालले प्रत्यक्ष लोकतन्त्र बहुलवादको निम्ति अनुचितमात्र होइन अनावश्यक नै रहेको तर्क गरेका छन् । सम्बर्द्धनवादले (कन्जर्भेटिज्म) सामाजिक राजनीतिक यथास्थितिवादी चिन्तनलाई नछाड्ने हुँदा समय सापेक्ष परिवर्तन आत्मसात् गर्ने बहुलवादलाई यससँग जोडेर हेर्न मिल्दैन । त्यसै गरी हारल्ड लास्कीले बहुलवादलाई सामाजिक लोकतन्त्रसँग (सोसल डेमोक्रेसी) नजिक रहने गरी तुलना गरेका छन् । यी सबै तुलना र व्याख्या आफैँमा अपूर्ण छन् । 

बहुलवादले लोकतान्त्रिक निर्वाचन पद्धतिको सर्वोच्चता र व्यावहारिक महत्त्वलाई आत्मसात् गर्छ । लोकतन्त्रमा निर्वाचन अपरिहार्य भए पनि मतदाताले उम्मेदवारलाई मत दिँदैमा उम्मेदवारको सारा व्यवहार र नीतिमा सहमत भएको मान्न मिल्दैन । अझ गम्भीर विषय राजनीतिक दल र निर्वाचनमात्रले सबै जनताको निःसर्त प्रतिनिधित्व गर्छ भन्ठान्नु अपूर्ण तर्क हो । निर्वाचित, अनिर्वाचित र सरोकारवालाहरू सबैलाई निर्णय प्रक्रिया र कार्यान्वयनमा कसरी सुनिश्चित गरिन्छ भन्ने मूल प्रश्न हो । त्यसैले बहुलवादले लोकतन्त्रको नाममा हुने अङ्कगणितीय बहुमत र अल्पमतको खेलभन्दा माथि उठेर सम्बन्धित पक्षबीच निष्पक्ष ढङ्गले वार्ता, संवाद र छलफलसहितको सहभागिताका माध्यमबाट सबैको अपनत्व र स्वामित्वसहितको जित—जितको नतिजा निकाल्न प्रेरित गर्छ । बहुलवादले एकातिर कम्युनिस्ट वा समाजवादमा हुनसक्ने सर्वसम्मतिको नाममा अधिनायकत्व वा निरंकुशताको खारेज गर्छ । अर्कातिर लोकतान्त्रिक विधिबाट समेत कुनै एक पक्षले राजनीतिक प्रणालीमा आधिपत्य जमाउन सक्ने वा लोकरिझ्याइँबाट (पपुलिज्म) अतिवादमा जान सक्ने हुँदा त्यसलाई पनि बहुलवादी दर्शनले मान्यता दिँदैन । 

बहुलवाद आफैँमा समाजवाद, पुँजीवाद, उदारवाद, सम्बर्द्धनवादभन्दा भिन्न राजनीतिक दर्शन हो । यसले कुनै पनि राजनीतिक प्रणाली वा व्यवस्थालाई सोझै खारेज गर्दैन बरु खण्डन गर्छ । एउटै विचार, शैली वा मान्यतामा जडता राख्नुभन्दा ’साझा हित’को निम्ति सन्तुलन कायम गर्छ ।

आदर्शवादी दार्शनिक प्लेटोले एकल यथार्थ वा निरपेक्षवादको पक्षमा मत राख्दा उनकै विद्यार्थी तथा समकालीन दार्शनिक अरस्तुले ब्रह्माण्ड खुला र परिवर्तनशील भएजस्तै राजनीतिक सामाजिक बहुयथार्थको लागि सापेक्षवादको वकालत गरेका छन् । यस्तै मतभेद सामाजिक करारका सिद्धान्तकारहरूबीच पनि भेटिन्छ । थोमस हब्सले ’लेभियथा’मा एकल, अकाट्य सार्वभौम शासकको पक्षपोषण गर्दा एकलवादको पक्षमा उभिएका छन् । तर, जोन लकले संवैधानिक सरकारको पक्षमा उभिँदा होस् या मोन्टेस्क्युले सरकारको तीन अङ्गबीचको शक्ति पृथकीकरण तथा सन्तुलनको अवधारणा ल्याउँदा एकलवादमा आधारित सार्वभौमिकतालाई खण्डित गरेर बहुलवादलाई आत्मसात् गरेको पाइन्छ । यसै गरी जेम्स मेडिसनले अमेरिका स्वतन्त्र हुँदा बखत ’फेडेरलिस्ट पेपर’मा दुई सदनात्मक व्यवस्था र सङ्घीयताको पक्षमा राखेका विचारहरू बहुलवादी दर्शनबाट प्रभावित छन् । पछिल्लो समय इसा बर्लिन देखि रोबर्ट डालसम्मलाई बहुलवादी चिन्तकका रूपमा लिइन्छ भने विभिन्न दर्शन सिद्धान्तभित्र पनि बहुलता खोज्न थालिएको छ । 

धार्मिक, नस्लीय वा विचारको जडता वा उग्रताबाट माथि नउठेकाहरूले भने धेरैजसो बहुलवादको विरोध गरेको पाइन्छ । कतिपय धर्म गुरुहरूले आआफ्नो धर्मलाई सत्य साबित गर्न र आआफ्नो ईश्वरमात्र परमेश्वर भन्न एकल यथार्थ वा निरपेक्षवादको सहयोग लिने गरेका छन् । हिन्दु धर्ममा ’एकम् सत् विप्राः बहुधा वदन्ति’ भनिरहँदा सत्य एक भएको तर सत्यको मार्गमा विविधता भएको व्याख्या गरिएको छ । बुद्धको ’मध्यमार्ग’ले अतिवादमा जान रोके पनि जैन धर्मको ’अनेकान्तवाद’को दर्शनले धर्महरूमा अपवादको रूपमा बहुदलवादलाई प्राचीन समयबाट नै अभ्यास गरेको देखिन्छ ।

सामाजिक संस्कृतिकरूपमा मात्र विश्लेषण गर्ने हो भने बहुलवादलाई यदाकदा बहुसंस्कृतिवादसँग (मल्टिकल्चरलिज्म) जोडेर हेर्ने गरिन्छ । सांस्कृतिक पक्ष, सामुदायिक अधिकार र समुदायहरूको सहभागिताको दृष्टिले बहुसंस्कृतिवाद अझ प्रगतिशील विचार हो । त्यसैगरी समुदायहरूबीचको राजनीतिक अधिकार र सहभागिता सुनिश्चितका हिसाबले बहुलवादभन्दा सहमतीय लोकतन्त्र (अरेन्ज लिज्पार्ट्को कन्सोसेसनल डेमोक्रेसी) अझ ज्यादा उन्नत लाग्न सक्छ । तर समग्रता, व्यावहारिकता, ऐतिहासिकता, प्रचलित विधि, प्रणाली र सहकार्यसँगै प्रतिस्पर्धा गर्न सकिने आधारहरू हेर्दा बहुलवाद ज्यादा उपयुक्त देखिन्छ । बहुलवादले पहिचानको मात्र राजनीति गर्दैन बरु विविधता र पहिचानलाई स्वीकार सम्मान गर्दै सबै पक्षहरूलाई सहभागी गराएर वैचारिक राजनीति गर्छ । कुनै समुदाय, वर्ग विशेषलाई सर्वश्रेष्ठ, एकाधिकार वा अग्राधिकार त अर्कालाई उपेक्षित गर्ने गर्दैन । द्वन्द्व बल्झाउने होइन दीर्घकालीन र शान्तिपूर्ण समाधान खोज्छ । साथै, सबैको निरन्तर सहभागिताबाट मात्र बलियो एकता र साझा हित हुन्छ भन्ने मान्यता राख्छ । 

बहुलवादी राजनीतिक दर्शन 
बहुलवादले सामाजिक वा राजनीतिक सत्य वा यथार्थ के हो भन्दा पनि यो बहुआयामिक र समय सापेक्ष हुन्छ भन्ने मान्यता राख्छ । कुनै वर्ग, संस्कृति वा समुदाय विशेषमात्र होइन सम्पूर्ण मानवजाती, प्रकृति र ब्रह्माण्डमा नै विविधता हुन्छ भन्ने सहर्ष स्वीकार गर्छ । विचार, भावना, शैली र पहिचानको विविधतालाई बहुलवादले ढृढरूपमा स्वीकार र सम्मान गर्नेमात्र होइन पर्वकै रूपमा मनाउँछ । त्यो पनि विगत, वर्तमान र आगतलाई ध्यानमा राख्दै यसका परिवर्तित रूपहरूलाई समायोजन गर्दै अघि बढ्छ । भिन्नभिन्न मान्यताबीच सहकार्य गर्ने अवसर दिन्छ । अतिवाद र उग्रवादलाई निस्तेज गर्छ । यसले परिवर्तनलाई आत्मसात् गर्दै शान्तिपूर्णरूपमा निरन्तरको वार्ता, संवाद र छलफलबाट समाधान खोज्छ । 
बहुलवादले कम्तीमा विधिमा अधिकतम नतिजामा एकरूपता खोज्छ । बहुलवादले ठ्याक्कै यही मोडेल वा प्रणाली (तन्त्र) भनेर सुझाउँदैन । समाज र परिवेशअनुसार राजनीतिक व्यवस्था फरक हुन सक्छन् । उन्नत लोकतान्त्रिक समाज वा राज्यमा बहुलवाद धेरै हदसम्म अभ्यास गर्न सकिन्छ भन्ने मान्यता राख्छ । 

लोकतन्त्र जित्नेहरू वा बहुसंख्यकप्रति पक्षधर भएजस्तो, बहुलवाद कोहीप्रति पनि पूर्वाग्रही वा अनुग्रही हुँदैन । बहुलवादी राज्य फुटबलको ’रेफ्री’ जस्तै तटस्थ हुन्छ । स्वार्जमेन्टलले भनेजस्तै राज्य सेवक हो मालिक होइन । कतैकतै वकालत गरिएजस्तो बहुलवादमा समूह वा समुदायमात्रले भूमिका सुनिश्चित गर्छ भन्नू आफैँमा अर्धव्याख्या हो । बहुलवादको एकाइ व्यक्ति वा नागरिक नै हो । यद्यपि, समुदायलाई सामूहिक अधिकार उपयोग गर्नसमेत यसले प्रोत्साहन गर्छ । तसर्थ, बहुलवादले राज्यभन्दा समुदाय र समुदायभन्दा व्यक्तिलाई अधिकार सम्पन्न बनाउँछ ।

नेपाल राज्यका सानै मानिए पनि विविधतामा असाध्यै धनी देश हो । हामीले ’विविधतामा एकता’ कहिले किताबमा पढ्यौ त कहिले ’सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल’ भनेर गीत गुनगुनायौ । अब राज्य व्यवस्था र सामाजिक संरचनाहरूमा समेत सहअस्तित्व, सहकार्य र एकता सुनिश्चित गरिनुपर्छ । अन्य विश्वदृष्टिहरुबाट सकारात्मक तथा व्यावहारिक ज्ञान लिँदै बहुलवाद अभ्यास गर्न सकिन्छ । प्रकृतिको अनेकता बुझेर नेपालको सबै प्रकारको विविधतालाई आत्मसात् गर्ने हो भने नेपाल बहुलवादी दर्शनको उर्वर भूमि र गुरु राज्य हुनसक्छ । 
(महासचिव, विवेकशील नेपाली दल )
 

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  १६:४१
प्रतिक्रिया दिनुहोस्