म प्रधानमन्त्री भएको बखत   

भेषराज घिमिरे

 म प्रधानमन्त्री भएको बखत   

हजुरलाई राष्ट्रपतिज्यूले प्रधानमन्त्रीपदको शपथका लागि १०ः३० बजेको शुभ साइतमा तय गर्नुभएको छ–फोनमा मलाई निम्ता गर्ने राष्ट्रपति कार्यालयका सचिव थिए । मैले म तयार नै छु भने । मलाई भन्न मन त लागेको थियो– यति ठूलो जनमत प्राप्त गरी आफ्नै पार्टीले पनि संसदीय दलको नेतामा चयन गरेको मलाई सबै समय शुभनै हुनुपर्ने हो । तर यसमा कसैलाई पनि हानी नोक्सानी हुने कुरा थिएन । त्यसैले केही भनिन ।

हतार हतार भेडासिंहबाट किनेर ल्याएको रेडिमेड दौरा सुरुवाल लगाएर राष्ट्रिय पोसाकमा करिब १०ः२५ मा शपथ ग्रहणका लागि तोकिएको ठाउँमा पुगे । काठमाडाैंमा ट्राफिक जामका कारण ढिलो हुने हो कि भन्ने डर लागेकाले  बेलैमा निस्किएको थिएँ । समयलाई महत्त्व दिनुपर्छ भन्ने सोच आफ्नो रहेको र यसबाट परिवर्तन गर्न सकिने धेरै विषयवस्तु छन् भन्ने लागेका कारण तोकिएकै समयमा नै शीतलनिवास पुगेँ । 

मेरो शपथका लागि विशेष कार्यक्रम आयोजना गरिएको रहेछ । उच्च पदस्थ प्रशासकहरु, सुरक्षा निकायका प्रमुखहरु, प्रमुख राजनीतिक दलका नेताहरु सबैलाई आमन्त्रण गरिएको रहेछ । संवैधानिक अंगका प्रमुखहरु पनि उपस्थित हुनुहुन्थ्यो । जे होस्, एउटा विशिष्ट र भव्य समारोह थियो । राष्ट्रपति आएपछि सबैले आआफ्नो स्थानबाट उठेर अभिवादन गरे । अनि तोकिएको समयमै शपथ गहण भयो । 

शपथ ग्रहणपछि सिधै प्रधानमन्त्रीको कार्यालयमा पुगेर कार्यभार सम्हाल्नु अगाडि सहिद मञ्च गई सम्पूर्ण ज्ञातअज्ञात सहिदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरे । त्यति नै बेला एकजना विशिष्ट महानुभावले एउटा चिट हातमा दिनुभयो । मैले त्यो चिट नहेरी उहाँलाई नै फर्काएँ र भने नीतिनियम र प्रक्रियाअनुसार भेट्न सक्नुहुन्छ । अहिले हतार नगरौँ ।   

प्रधानमन्त्रीको कुर्सीमा बसेपछि मलाई एउटा फाइल निर्णयको लागि पेस गरियो । फाइल मेरो प्रयोगको लागि अत्याधुनिक गाडीको खरिदसम्बन्धी थियो । जुन मैले त्यसमा लेखेँ — ‘‘मुख्य सचिवज्यू, मलाई मेरो अवस्था, हैसियत र देशको आर्थिक स्थिति बारे धेरै थाहा छ । तसर्थ यस्तो फजुल खर्च गर्ने परम्परा आजैका मितिदेखि अन्त्य गर्ने प्रयत्न गर्नु होला ।’’ 

अनि मैले मेरो कुर्सीको अगाडि राष्ट्रपतिको फोटो र अर्कोतर्फ म यो कुर्सीमा बसुन्जेल नैतिकताबाट कहिल्यै पनि विचलित हुन नसकुँ भनेर मलाई नैतिक शिक्षा पढाउने गुरु स्व. महानन्द शर्मा ज्यूको फोटो राख्न लगाएँ । 

मन्त्रीमण्डलका सदस्यहरुको शपथ अनि सामान्य परिचयलगत्तै क्याबिनेट राख्न लगाएँ र उपस्थित सबै मन्त्रीलाई देशको नियम कानुन मिचेर कुनै कार्य नगर्नु र जनताको हितलाई शिरोधार्य गर्नु भनी संक्षिप्त निर्देशन दिए । मेरो प्रथम मन्त्रिपरिषद्ले गरेका निर्णयमा नेपालबाट ल्पास्टिकका झोलामा सधैँका लागि बन्देज लगाउने साथै त्यस व्यवसायका लागेका उद्योगीलाई अन्य विकल्प छनोट गर्ने अवसर र सहुलियत कर्जाको व्यवस्था गर्ने थियो ।

दोस्रो निर्णय, राजनीति र निजी व्व्यवसाय अलगअलग विषय भएकाले राजनीतिमा सक्रिय व्यक्तिले कुनै स्कुल, कलेज, पेट्रोलपम्प, हस्पिटललगायतका उद्योग व्यवसायमा लगानी गर्न नपाउने र त्यसैसँग सरोकार राख्ने कानुन तत्काल निर्माण गर्ने, साथै शिक्षा र स्वास्थ्यमा सम्पूर्ण लगानी राज्यको रहने, त्यसको बजेट व्यवस्थाका लागि देशमा सरकारसँग रहेका सुविधा सम्पन्न गाडीहरु लिलाम विक्री गर्ने, संसद् विकास कोषको रकम रकमान्तर गर्ने र बाँकी नपुग रकम शिक्षा र स्वास्थ्यकर बाटै पूर्ति गर्ने । दिगो स्वास्थ्य र शिक्षा नीतिको लागि एउटा अधिकार सम्पन्न प्राधिकरणको गठन गर्ने र त्यसको अध्यक्षमा प्रा.डा. गोविन्द के.सी.लाई नियुक्त गर्ने र उहाँलाई सो पद स्वीकार गर्न अनुरोध गर्ने ।

अर्को निर्णय थियो नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई निरन्तरता दिने । मेरो निर्णयमा एकजना मन्त्रीले आपत्ति जनाउँदै थिए– मैले भने यो प्रधानमन्त्रीय पद्धति हो । तपाईँले आफ्नो कुरा राख्न सक्नु हुन्छ तर प्रधानमन्त्रीको निर्णयमा असहमत हुने हो भने कता लाग्ने स्वतन्त्रता पनि छ । क्याविनेट बैठकलगत्तै चुरे संरक्षण समितिका पदाधिकारी र वन तथा वातावरण मन्त्रालयका मन्त्री, सचिवहरुसँग बैठक गरेँ ।

चुरे विनाशले नेपालको तराई क्षेत्रमा भएको ह्रास र सिञ्चाइ तथा खानेपानीमा आएको समस्यालाई गहिरो किसिमले छलफल गर्दै चुरेलाई पूर्ण संरक्षित क्षेत्र घोषणा गरी त्यहाँका वासिन्दालाई विकल्पसहितको कार्ययोजना तत्काल पेस गर्न निर्देशन दिए । 

परिवर्तन आफैँबाट सुरु गर्नुपर्छ भन्ने थाहा थियो । तसर्थ प्रधानमन्त्रीको सचिवालय सानो आकारमा बनाए । विज्ञ समूह निर्माण गरेँ र सामान्य खालको गाडीको प्रयोग गरेँ । त्यसबाट बिस्तारै अरु मन्त्री र सचिवलाई पनि अप्ठ्यारो लाग्नेछ र सामान्य खालका सवारी साधनको प्रयोग गनेछन् भन्ने अपेक्षा थियो । 

राष्ट्रिय लगानी बोर्डको बैठक राख्न लगाएँ । अनि अबदेखि विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्सको लगानीमा करिब २६०० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना अगाडि बढाउन निर्देशन दिएँ र सोहीअनुरुप कानुन तर्जुमाको लागी निर्णय गरेँ । साथै लगानी बोर्डलाई अलि सक्रिय पूर्वक काम गर्न सल्लाह दिएँ । 

अर्को दिन संवैधानिक निकायका प्रमुखहरुसँग छलफल गरेँ । अख्तियार दुरुपयोगको काम अलि सन्तोषजनक नभएको र कतिपय अवस्थामा दोहोरो मापदण्ड राख्ने प्रवृत्ति देखापरेको सन्दर्भमा ध्यानाकर्षण गरेँ । साथै सबै खालका भ्रष्टाचारको अनुसन्धान र निवारणमा सरकारको सम्पूर्ण सहयोग रहने र कुनै हस्तक्षेप नहुने कुरा राखेँ ।

त्यस्तै लोकसेवा आयोगका अध्यक्षले वर्तमान कानुनले लोकसेवाको स्वायत्तता र निष्पक्षतामा पुर्‍याएको अवरोध बारे जानकारी गराए । त्यो मनासिब थियो । मैले सो कानुन तुरुन्तै संशोधन गर्ने आश्वासन दिएँ । साथै आइन्दा लोकसेवाको सिफारिसविना अस्थायी वा करारमा समेत कर्मचारी नियुक्ति नगर्ने निर्णय गरेँ । त्यसैगरी मानव अधिकार आयोग र महिला आयोगका पदाधिकारीसँग सघन छलफल गरे र निर्मला पन्तको हत्याको निष्पक्ष छानबिन हुन नसकेकोमा माफी माग्दै पुनः छानबिनको लागि अधिकार सम्पन्न आयोग गठन गरँे । अनुराधा कोइरालालाई आयोगको अध्यक्ष बसिदिन अनुरोध गर्ने र आयोगले समग्र महिला सुरक्षासम्बन्धी कानुनको मस्यौदा तयार गर्ने जिम्मा दिने निर्णय गरियो । 

संविधानमा लेखिएअनुसार मुलुकले समाजवाद उन्मुख लोकतन्त्रको अभ्यास गर्नुपर्ने हुँदा सरकारका अधीनमा रहेका आयल निगमको प्रतिस्पर्धा गर्न निजीक्षेत्रलाई पनि पूर्णरुपमा पेट्रोलियम पदार्थको आयात निर्यातका साथै बेचबिखन गर्ने कानुनी व्यवस्था निर्माण गर्ने प्रक्रिया अगाडि बढाएँ । सम्पूर्ण स्कुल र अस्पताल सरकारी भइसकेपछि सबै जनताको समान पहुँच सुनिश्चित हुने हुँदा देशमा आशाका केही किरण देखिन थाल्दै थिए । नागरिकहरु बिस्तारै गाउँ फर्किने छन र गाउँहरुमा रौनक आउनेछ भन्ने कुरामा म विश्वस्त थिए । कोभिड—१९ को महामारीमा भए गरेका भ्रष्टाचारहरुको छानबिन गर्न अख्तियारलाई अनुरोध गरे र साथै सरकारको सम्पूर्ण सहयोग रहने कुरामा आश्वस्त गराए । भ्रष्टाचार हुन पनि नदिने र नसहने भन्ने अघिल्लो सरकारको नारालाई कार्यान्वयनमा ल्याउन राज्यका सम्पूर्ण निकायलाई निर्देशन दिएँँ । भ्रष्टाचार र कालोबजारीलाई पूर्णरुपमा नियन्त्रण गर्न लगाए । 

मेरो सचिवायलयका एकजना कर्मचारीले गैरकानुनीरुपमा लाभ लिएको सूचनाको आधारमा छानबिन गरी निजलाई पदबाट मुक्त गरेँ । साथै रिबन काट्ने कार्यमा व्यस्त हुने कार्यतालिका हटाएर औचित्यको आधारमा प्राथमिकता दिन लगाएँ । किसानले आफ्ना छोराछोरीलाई कृषि पेसाबाट शिक्षादीक्षा दिन नसकेसम्म नेपालको दिगो विकास हुनै सक्दैन भन्ने मेरो सोच कार्यान्वयन गर्न सामूहिक कृषिप्रणाली र वैज्ञानिक विधिको प्रयोगमा जोड दिए । 

विगतमा सरकारबाट अनुचित लाभ लिएकाहरु मसँग निकै रुष्ट थिए । तैपनि कुनै पर्वाह नगरी राष्ट्र निर्माणमा लागेँ । अझै भन्ने हो भने मेरै परिवारका सदस्यहरु सुविधा उपभोग गर्न नदिएकोमा रुष्ट थिए । तर पार्टीगत स्वार्थ र परिवारको घेराबाट निस्किन नसके सिंहदरबारमा फोटो झुन्ड्याउनेबाहेक कुनै योगदान हुनेछैन । 
नेपाली सेना पेसागत रुपमा दक्ष बनोस् भनेर विभिन्न व्यवसाय र ठेक्कापट्टाबाट बाहिरै राख्ने निर्णय लिए । सुरुमा केही समस्या देखिए पनि नेपाली सेनाले सहजरूपमा लियो र अन्तर्राष्ट्रिय क्षेत्रमा सेनाको छवि अझै उच्च बन्यो । 

शिक्षा र स्वास्थ्य सरकारको लगानीमा हुने भन्ने निर्णय पूर्णरुपमा कार्यान्वयनमा आइनसके पनि त्यसबाट परिवर्तन हुन थालेको थियो । गाँउहरु सुविधा सम्पन्न बन्दै थिए । अव्यवस्थित सहरीकरण घट्दै थियो । जिन्दगीभरको कमाइबाट एउटा घडेरी किन्ने सोचमा भएका नागरिकसमेत परिवर्तन देख्दा खुसी हुँदैथिए ।

त्यहीबेला एउटा आवाज आयो — आज के भयो र ढिलासम्म सुतेको, ‘मर्निङ वाक’ जानु पर्दैन ? म त निद्रामा पो रहेछु । लाग्यो, मेरो जीवनमा प्रधानमन्त्री बन्ने अवसर आए सपनामा देखेजस्तै कार्य गर्नु पर्ला !  
 

 

प्रतिकृया दिनुहोस
ad