Skip Advt.

नास्टको "लेन्स"बाट नेपाल हेर्दा

डा. मनोज कुमार यादव

 नास्टको

स्विडेनमा मेरो दोस्रो महाविद्यावारिधि (पोस्टडक्टरेट) सकेपछि म नेपाल विज्ञान र प्रविधि प्रतिष्ठान (नास्ट)मा प्रवेश गर्ने र  आफ्नै देशमा अनुसन्धान कार्यलाई निरन्तरता दिने ठूलो आशासहित नेपाल फर्कें। नेपालमा विज्ञानसम्बन्धी विशुद्ध सैद्धान्तिक अनुसन्धान सुरु भएको हुँदा यस क्षेत्रमा  उल्लेखनीय योगदान पुर्‍याउन सक्नेमा धेरै आशावादी थिएँ। सन् २०१५ को सुरूमा नास्टद्वारा रिसर्च फेलोसिप (आरएफ) को लागि निवेदन आह्वान गरिएको थियो। मैले मेरो प्रस्तावसहित आवेदन दिएँ। रमाइलो कुरा अन्तर्वार्ताको दिन भयो। प्रस्तुतीकरण कोठामा पावर पोइन्ट  उपकरणहरू जडान गर्न बिजुलीको कुनै प्वाइन्ट थिएन । त्यसैले उनीहरूले  अर्को कोठाबाट तार जोडेर प्रबन्ध गरे। त्यसपछि उनीहरूले प्रस्तुतिको लागि ल्यापटप ठीक गर्न सकेनन्। सबै उम्मेदवारह आइसकेपछि उनीहरू यी सबै गरिरहेका थिए। अन्त्यमा, उनीहरूले प्रोजेक्टर प्रयोग नगरी अन्तर्वार्ता लिने निर्णय गरे । त्यसैले हामीले हाम्रो ल्यापटपबाट सिधा प्रस्तुत गर्नुपर्‍यो। यी सबै कुराले हामीलाई हाम्रो देशमा अनुसन्धानको शीर्ष निकायको दयनीय अवस्थाको बारेमा अवगत भयो। जेहोस्, रिसर्च फेलोका लागि जम्मा ६ जना आवेदक थिए र हामीमध्ये ४ जना छानिए।

 नास्टमा मेरो पहिलो असामान्य अनुभव:

 त्यहाँ शोधकर्ताहरूको लागि १० देखि ५ अफिस समय तोकिएको  थियो । मैले ३ विभिन्न देशहरू भारत, स्विडेन र संयुक्त राज्य अमेरिकाको अनुसन्धान प्रयोगशालामा यस्तो अनुभव गरेको थिइन। त्यहाँ अनुसन्धान प्रयोगशालाहरू २४  घन्टा र सात दिनका लागि खुला हुन्छन्।

नास्टमा प्रवेश गरेलगत्तै मैले एडभान्स्ड कम्प्युटर  प्रदान गर्न निवेदन लेखेँ । किनभने मेरो परियोजना कम्प्युटेसनल  काममा आधारित थियो। धेरै ताकेताहरूपछि,  फेलोसिपको १ वर्षको अवधि सकिनुभन्दा २ महिना पहिलेमात्र कम्प्युटर आयो।
मेरा सहकर्मीहरूको पनि यस्तै अवस्था थियो । उनीहरूका रसायनहरू पनि यही समयको वरिपरि आइपुगे। यो वैज्ञानिक संस्थानमा नोकरशाही झन्झटको एक प्रकारको अति नै थियो। 

हामी यो अवस्थाबाट अन्य सरकारी संस्थाहरूको अवस्था कल्पना गर्न सक्छौँ।

बजेट खर्चको गति पनि अन्य कुनै सरकारी निकायमा जस्तै थियो। मलाई याद छ - एक पटक हामीले उपकुलपति डा. जीवराज पोखरेलसँग भेट गरेका थियौँ । त्यसमा उनले फाल्गुनसम्मको खर्च कम भएको बारेमा दुःख पोखिरहेका थिए। सचिव डा. बुद्धिरत्न खड्गेसँगको छुट्टै बैठकमा हामीले "एकातर्फ बजेट फ्रिज हुँदै गइरहेको छ र अर्कोतर्फ तपाईँले हाम्रो फेलोसिप  जारी राख्नुहुन्न" भन्दा उनले जवाफ दिए - बजेट फ्रीज भयो भने होस् यो तपाईँको टाउको दुखाइ होइन ।

एक अनुसंधानकर्ताका रूपमा हामीलाई कुनै पनि अतिरिक्त सुविधाविना प्रतिमहिना रु १७ हजार रिपयाँ दिइन्थ्यो। यो रकम प्राथमिक विद्यालय शिक्षकको तलबभन्दा कम थियो। पाँच वर्ष  अघि यो कार्यक्रम सुरू भएदेखि रकम कहिले पनि थप गरिएको थिएन। हामीले यसका बारेमा तत्कालीन विज्ञान संकाय प्रमुखसँग कुरा गरेका थियौँ। संकाय प्रमुख डा. कान्ति श्रेष्ठले यस विषयलाई वास्ता गरिनन्। हामीलाई राम्ररी थाहा थियो रकम बढाइए पनि यो हाम्रो लागि लागू हुँदैन तर अर्को वर्ष सम्मिलित हुनेहरूका लागि हुनेछ। तैपनि, हामी वैज्ञानिकहरूको लागि तलब वृद्धिको अभियानमा लागि परेका थियौं। त्यसपछि हामीले उपकुलपतिसँग कुरा गर्‍यौँ।

उपकुलपतिको धारणा थियो कि उनी पनि रकम बढाउन चाहन्छन्  तर नोकरशाही राजी हुँदैन। तैपिन, हाम्रो अभियान आंशिकरूपमा सफल भयो। अर्को वर्ष,  रिसर्च फेलोसिप   पहिलो  ६ महिनाका लागि रु २० हजार र अर्को ६ महिनाको लागि २५ हजार बनाए। हामीले दोस्रो श्रेणीका अधिकृतको तलब बराबरको तलब माग गरेका थियौँ। तलब वृद्धि भएपछि पनि दुई जना रिसर्चरमात्र अर्को वर्ष आए । फेलोसिप पूरा भएपछि निरन्तरताको कुनै आशा नदेखेर एक सातापछि नै तिनले छोडे ।
  
एक दिन, नास्टमा दिसा बस्न शौचालय जानुपर्नेभयो। शौचपछि  हात धुने साबुन फेला पार्न सकिएन। त्यसपछि दुइटै बिल्डिङमा रहेको ६ वटै ट्वाइलेटमा खोज्दा पनि साबुन पाइएन । अन्त्यमा मैले आफ्नो हात माटोले धुनु पर्‍यो। म ल्याबमा फर्कें र कार्यालयको दैनिक खर्चको रकम पत्ता लगाएँ । यो प्रतिवर्ष करिब ३ करोड थियो अर्थात्  प्रतिदिन करिब १ लाख तर अवस्था यस्तो थियो।

राष्ट्रको अनुसन्धानको शीर्ष निकायमा करिब बीस पच्चीस जना वैज्ञानिकले काम गरिरहेका छन् ।  तर, त्यहाँ सय जनाभन्दा बढी कर्मचारीह छन्। सबभन्दा चाखलाग्दो त के थियो भने नास्ट सेवा अयोगमा बाह्रजना कर्मचारी थिए, एउटा कार र ड्राइभरसहित एकजना अध्यक्ष थिए। यी सबै २ वर्षको अवधिमा एउटा पनि  नियुक्ति नगर्नका लागि। वैज्ञानिकहरू र कर्मचारीको अनुपात  उल्टो थियो। नास्टमा अनुसन्धानकर्ताको संख्या हरेक वर्ष घट्दै छ।

केही सेवानिवृत्त भइरहेका छन् भने अरू कतै राम्रो अवसर पाएर नास्ट छोड्दैछन्। नास्टका वरिष्ठ कर्मचारीमध्येका शिव उपाध्यायका अनुसार नास्टका अधिकारीहरूले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नास्टमा २०० भन्दा बढी कर्मचारी रहेको भने भट्टराईले तुरुन्तै २०० मात्रै ? प्रश्न गरे र नास्टमा दुर्इ हजार वैज्ञानिक हुनुपर्छ भनेका थिए रे ।   विडम्बना,  अहिले वैज्ञानिकको संख्या २० को हाराहारीमा छ र सायद एकल अंकमा झर्ने सम्भावना बढेको छ।

यद्यपि, बजेट धेरै गुणा बढेको छ तर बजेटको सही उपयोगमा भने ठूलो प्रश्नचिन्ह छ। अनुसन्धान बजेटको ठूलो हिस्सा तिमाल नमुना वैज्ञानिक गाउँजस्ता कागजी परियोजनामा खर्च गरिएको छ। जब हामी गुगल गर्छौ २ करोड बजेटको परियोजनाको केही पनि भेटिँदैन। त्यस्ता परियोजनाको नेतृत्व उपकुलपति र सचिवले गर्थे । यसले समग्रमा बजेट दुरुपयोगको स्पष्ट तस्बिर दिन्छ।

लगभग बीस जना वैज्ञानिक ८ वटा विभागहरूमा फैलिएका छन्। केही विभागमा १ वा २ वैज्ञानिक छन्। हामी कसरी एउटा टोलीविना अनुसन्धानको कल्पना गर्न सक्छौँ?  प्रत्येक विभागमा कम्तीमा ८-१० वैज्ञानिक हुनुपर्छ। चाखलाग्दो कुरा के छ भने भौतिक विज्ञान विभाग जुन विश्वभर प्रमुख विभागहरूमध्ये एक मानिन्छ त्यो २ जना वैज्ञानिकको सानो विभागका रुपमा रहेको छ।  जनशक्ति अभावको कारण नै  कोरोना महामारीको समयमा नास्टको उपस्थिति देखिँदैन जब कि भर्खर स्थापना भएको आविष्कार केन्द्र र काठमाडौं इन्स्टिच्युट सक्रिय देखिन्छन्। विसं २०७२ को भूकम्पपछि, नास्टले झिलीमिली नाच प्रतियोगिता आयोजना गरेको थियो । त्यो पनि भूकम्प गएको एक वर्षपछि करोडौंको बजेट खर्चेर। अहिले यो कोरोना महामारीको कारण हुने विनाशलाई कम गर्न नास्टले कुन्नि कुन कार्यक्रम ल्याउने हो ? हेर्न बाँकी छ ।

हामी (मनोज कुमार यादव, पुष्पराज आचार्य, अनुप बस्नेत छेत्री,  र किशोर पाण्डे) अनुसन्धान वृत्तिपछि निरन्तरताको आशामा नास्टमा गएका थियौँ। नत्र  एक वर्षको फेलोसिपका लागि नास्टमा जानुको     कुनै अर्थ थिएन। अघिल्ला आरएफहरू वरिष्ठ वैज्ञानिकमा पदोन्नति हुने परम्परा थियो। यो तर्कसम्मत थियो । किनभने अनुसन्धानलाई समय र निरन्तरता चाहिन्छ।

हाम्रो मामलामा नास्टको सचिव हाम्रो निरन्तरताविरूद्ध उभिए। कारण,  विज्ञान विभागको संकाय प्रमुख नियुक्तिको विषयमा उपकुलपति र सचिवबीच मतभेद थियो। वास्तवमा उनीहरु दुई फरक राजनीतिक दलको कोटाबाट नियुक्त थिए । यही उनीहरूको मतभेदको मुख्य कारण थियो। उपकुलपति हाम्रो निरन्तरताका पक्षमा थिए ।

त्यसकारण सचिव कुनै कारणविना हाम्रो निरन्तरताको विपक्षमा उभिए। हामीले उपकुलपति, सचिवलाई धेरै निवेदन लेख्यौं र गेटको अगाडि धर्नामार्फत प्रदर्शन पनि गर्‍यौँ। हामी बालुवाटारमा तत्कालीन नास्टका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेट्न गएका थियौँ। हामीले उनलाई त भेट्न सकेनौं  तर चक्रपाणी खनाल, बलदेव  र डा. रवीन्द्र ढकाल (प्रधानमन्त्रीका वैज्ञानिक सल्लाहकार) लाई यस विषयमा संक्षिप्त जानकारी दियौँ।

कुनै कुराले काम गरेन। अन्त्यमा, उपकुलपतिले छ महिनाका लागि सेवा करारमा हामीलाई वरिष्ठ वैज्ञानिकको रूपमा नियुक्त गरे। त्यसपछि सचिवले हाम्रो तलब रोके। धेरै विरोध र निवेदनपछि उनले हाम्रो तलब निकासा गरे। यस अवधिमा मलाई नास्टले नेपालको सर्वोच्च वैज्ञानिक पुरस्कार 'विज्ञान अवार्ड'  दियो । नास्टको वार्षिकोत्सवमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालबाट पुरस्कार प्राप्त गरेँ।

छ  महिनाको कार्यकाल समाप्त भएपछि फेरि हामीले निरन्तरताका लागि आवेदन दिनुपर्‍यो। सचिव फेरि पनि निरन्तरताविरुद्ध उभिए। उपकुलपतिसँग धेरै बैठकपछि अन्ततः हामीले २ महिनाको नियुक्ति पायौँ र त्यसपछि फेरि ४  महिनाको नियुक्ति  भयो। यस तरिकाले, हामीले एक वर्षमा ३ पटक  नियुक्ति पायौँ। पछिल्लो ४ महिनाको कार्यकाल समाप्त भएपछि पनि हामीले थप निरन्तरताको लागि प्रयास गरेका थियौँ तर यसपटक सफल भइएन। विज्ञान संकाय प्रमुख जयश्री सिजापतीको औपचारिक सिफारिसलाई पनि सचिवले खारेज गरे। हामीले राजनीतिक शक्ति प्रयोग र मिडियावाजीबाहेक सबै  प्रयास गरेका थियौं ।सायद त्यसले काम गर्थ्यो तर हामी त्यस्तो अभ्यासबाट टाढा रह्यौँ।

अन्त्यमा 

नास्टमा निरन्तरताका लागि ४ जना वैज्ञानिकको संघर्ष समाप्त भयो।

कम्प्युटेसनल मटेरियल साइन्सको क्षेत्रमा काम गर्ने नास्टमा म एकमात्र अन्वेषक भएकोले मलाई प्रदान गरिएको एडभान्स्ड कम्प्युटर पनि बेकार भयो।


तीन महिनापछि हामीले छोडेको निवेदनको आधारमा  नास्टले हामीलाई फर्काउने आशयको आवेदन आह्वान गर्‍यो तर यो फेरि ४ महिनाको सेवा करारको लागि मात्र भएकोले मैले आवेदन दिइन र  स्वतन्त्ररूपमा काम गर्ने निधो गरेँ  र अहिलेसम्म मैले कुनै स्थायी जागिर पाइन। भारतसँग तुलना गरौँ। करिब २ लाख वैज्ञानिकमध्ये एक चौथाइ अर्थात् करिब ५० हजार विदेशबाट फर्केका छन् । चाखलाग्दो कुरा, यही समयावधि वरिपरि जतिबेला हामी हाम्रो निरन्तरताका माग गर्दै थियौँ, नास्टले एक अकर्षक नारा सहित "फर्क वैज्ञानिक फर्क" कार्यक्रम सुरू गर्‍यो  तर हामीलाई त्यस श्रेणीअन्तर्गत आवेदन गर्न अनुमति दिइएन। यस कार्यक्रमअन्तर्गत दुई वैज्ञानिक कोरियाबाट फर्केका थिए। एक वर्षपछि उनीहरूले पनि हाम्रो जस्तै नियति भेटे । 'फर्क वैज्ञानिक फर्क' कार्यक्रम नास्टबाट फर्क भनेजस्तो पो भयो। लगत्तै त्यो कार्यक्रमको पनि अकाल मृत्यु भयो।

नास्टले जम्मा ४ जना वैज्ञानिक पनि राख्न सकेन । वडम्बना, आँफैले पुरस्कृत गरेको वैज्ञानिक (यस पंक्तिको लेखक) लाई पनि राख्न सकेन जसले छोटो अवधिमा दुर्इवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलमा शोधपत्र प्रकाशित गरेको र उद्योग मन्त्रालयमा पेटेन्टको लागि दर्ता गरेको थियो ।  जुन नास्टको लागि महत्त्वपूर्ण उपलब्धि पनि थियो । दुईजना राजनीतिक कृपाबाट नियुक्त व्यक्तिहरूको टकरावको लागि धन्यवाद ! समग्रमा नास्टको जस्तै रोगबाट हाम्रो देश ग्रस्त छ।

(लेख सन् २०१५-२०१७ को अनुभवमा आधारित छ)
पीएचडी (भौतिक विज्ञान)
 

प्रतिकृया दिनुहोस
ad