बाह्रखरी
sticky  ncell
British college
British college
ब्लग प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
ब्लग बालबालिकालाई व्यावहारिक शिक्षा दिने अवसर ! डा. अच्युतशाली घिमिरे
NMB Bank
NMB Bank
बाह्रखरी - आईतबार, जेठ ११, २०७७
Laxmi Bank
Laxmi Bank

बालबालिकाको मस्तिष्क काँचो माटो समान हुन्छ भन्छन् । जस्तो रुप र आकारमा बदल्न सकिन्छ भविष्यमा त्यसले त्यस्तै भूमिका निर्वाह गर्न सक्छ । कोरोना विषाणुको भयावह संक्रमणबाट अहिले विश्व नै आक्रान्त छ । मानिसहरुले अकालमै ज्यान गुमाइरहेका छन् । अनि बन्दाबन्दीमा लामो समय एकै ठाउँमा बस्दा मानसिक समस्यासमेत उत्पन्न हुन थालेको छ । अझ विशेषत बन्दाबन्दी (लकडाउन)को बृहत् र नकारात्मक असर स्कुल जान नपाएका ससाना बालबालिकामा बढी परेको छ । 

कापी, कलम र किताबको दुनियाँमा दिनहुँ लामो समय स्कुलको ‘नजरबन्द’मा रहने बालबालिका अहिले खाली मगज लिएर अभिभावकको काखमा छन् । गृहकार्यका बोझबाट सधैँ थकित र स्कुलका शिक्षकबाट सधैँ त्रसित बालबालिकाको मानसपटल अहिले अभिभावकसँग भावनात्मकरूपमा नजिकिएको छ । यस बेलाको सिकाइ र बुझाइ बालमस्तिष्कमा चिरस्थायी रहन सक्छ । यस्तो अवसर फेरि लामो समयसम्म नआउन पनि सक्छ । अनलाइन कक्षाका नाममा बालबालिकालाई मोबाइल र ल्यापटपकै शरण पर्न दिँदा विद्युतीय माध्यममा नै जीवनभर टाँसिने बानी पर्न सक्छ । दुई चार महिनाको स्कुले औपचारिक शिक्षाको अभाव भएर केही बिग्रँदैन ।

तर, घरायसी व्यावहारिक ज्ञान बालबच्चालाई दिन नसके जीवनभर उनीहरू गलत बाटोमा जाने जोखिम रहन्छ । सन्तानलाई शिक्षितमात्र बनाउने कि असल शिक्षा पनि दिलाउने भन्ने जिम्मा अभिभावकको हातमा छ । उसो त नेपालका धेरै ग्रामीण इलाकामा इन्टरनेटको सहज पहुँच छैन तर पनि बालबच्चाले सानैदेखि घर व्यवहार चलाउने युक्ति जानेका हुन्छन् । जीवनोपयोगी शिक्षामा पोख्त हुन्छन् ।

Global bank

Agani Group

वनपाखा गर्न, घाँस दाउरा गर्न, खेती किसानी र घरका धन्दा सम्हाल्नसमेत गाउँबस्तीका बालबच्चाले सानैदेखि सिकिसकेका हुन्छन् । स्कुल हुँदासमेत उनीहरुले पढाइलाई निरन्तरता दिँदै कुटो कोदाली खेलाउन सिकिसकेका हुन्छन् । बाध्यता पनि होला तर जीवनका सप्तरंगी आयाम जीउन र जीवनमा आइपरेका तमाम प्रश्नको सामना गर्न ग्रामीण भेगका बालबच्चाले जानिसकेका हुन्छन् ।

तर उच्च र अंग्रेजी शिक्षाको लोभमा काठमाडौं वा सहर केन्द्रित गराइएका बालबच्चा भने यसमा अपूर्ण नै रहन्छन् । सहरको सानो कोठामा चार भित्ताको बीचमा उही गृहकार्य गर्ने, स्कुल जाने अनि फर्किने एउटा नियमित शृंखलाबाहेक केही पनि नयाँ अनुभूत गर्न पाउँदैनन् । न त गाँउमा जस्तो चहलपहल गर्न चिनेजानेका आफन्त नै हुन्छन् न त खेल्न जानलाई मिल्ने दाैँतरीहरु । गाईभैँसी चराउन गोठालो जाँदा डन्डीबियो खेल्ने साइत पनि कहाँ सहरमा जुट्छ र ? घरैघरले निस्सासिएजस्तो खुल्ला चौरको अभावमा सहरमा प्रायः बालबच्चा भिडियो गेम र टीभीमा कार्टुन हेरेरै फुर्सतका शनिवारहरु बिताउँछन् । कति कृत्रिम छ जिन्दगी ? सोच्दैमा पनि दिक्क लाग्छ । 

sarbottam cement

अहिले बन्दाबन्दी (लकडाउन)ले बालबच्चाका ती अप्ठेरा दिनचर्यालाई सुनौलो बनाउने अवसर दिलाइदिएको छ अभिभावकहरुको हातमा । वार्षिक परीक्षा दिएर अहिले खाली मगज लिएर बसेका यी तमाम बालबच्चालाई सक्दो भोगाइ र जीवनयापनका संघर्ष सिकाउनुहोला । सहरमा नै बालबच्चासँग हुनुहुन्छ भने आफ्ना अनुभूतिहरु कथाजस्तै बनाएर सिकाउनुहोला । नभए सँगै गाउँ लिएर जानुभएको छ भने प्रत्यक्ष अनुभूत गराउनुहोला । यो सिकाइ धेरै प्रभावकारी बन्न सक्छ । 

सर्वप्रथम बालबच्चालाई ब्रम्हमूहुर्तमा उठ्ने बानी बसाल्नुस् । स्वच्छ एवं प्रदूषणरहित वायुको प्राप्तिसँगै बिहानै उठेर योग, व्यायाम गर्न सिकाए स्वस्थ जीवन शैली जिउन सकिन्छ ।  आजकल राति अबेरसम्म मोबाइलमा झुन्डिने बानीका कारण धेरै बालबच्चा बिहान ढिलो उठ्न थालेका छन् । यस्को दीर्घकालीन असर स्मरणशक्तिमा पर्न सक्छ ।

त्यस्तै मौन बसेर मलोत्सर्ग गर्नु पर्ने, मुख शुद्धिका लागि आचमन गर्नु पर्ने, जिह्वा एवं दन्तरोगबाट बच्न दाँत माझ्नुपर्ने जस्ता दैनिक क्रियाकलापसमेत उचित ढंगले सिकाउनुहोस् । आफैँ नुहाउने र आफ्नो लुगा धुने पनि बनाउनुहोस् ।  त्यसपछि फुर्सतका केहीबेर महाभारतका मीठा र प्रेरक कथाहरु सन्तान सुनाउनुहोस् । आदि पर्वमा वर्णित एकलव्यको गुरुभक्ति सुनाउनुहोस् ।

गुरु द्रोणाचार्यबाट शूद्र भएकै कारण तिरष्कृत हुँदा पनि असल शिष्य बन्न एकलव्यले माटाको गुरु मूर्ति थापेर धनुर्विद्यामा पाण्डवहरुलाई जितेको कथा बालबच्चालाई निकै प्रेरणादायी हुनसक्छ । कसरी निरन्तरको मेहेनत र साधनाले जीवनमा सफल बन्न सकिन्छ भन्ने सन्देश दिन सक्छ । साथै  ईष्र्याकै कारण गुरु द्रोणाचार्यले गुरु दक्षिणमा औँला मग्दा पनि केही चिन्ता नगरी गुरुको वचन पालना गर्न औँला काटी गुरुका चरणमा राखिदिने एकलव्यको पराक्रम बालबच्चाका लागि कौतुलपूर्ण रहन सक्छ । साथै, आफूलाई ज्ञानको ज्योति बाँड्ने गुरु कति महान् हुन्छन् भन्ने बुझ्न पनि बालबच्च सक्षम हुन्छन् । 

त्यस्तै, महाभारत कै भीष्म पर्वअन्तर्गत रहेको गीतासार पनि बालबच्चाका लागि धार्मिक बन्धुत्व तथा जीवनको मूल्य मान्यता सिकाउने माध्यम बन्न सक्छ । अर्जुनले आफ्ना गुरु द्रोण, भीष्म पितामह एवं अन्य मान्यवर मारेर राज्यको भोग नगर्ने र युद्ध नलड्ने भनिरहँदा कृष्णले दिएको ज्ञान बालबच्चालाई सत्मार्गमा लाग्ने प्रेरणा बन्न सक्छ । कृष्णले देहभित्रको आत्मा नमर्ने र अनाशी, अजन्मा रहने वाणी व्यक्त गर्छन् । हारजितको आशा नराखी समभाव लिई युद्ध गर्दा पाप नलाग्ने कुरा गर्छन् । इन्द्रीयबाटै उब्जिएका सुखदुःख अस्थिर हुन् भन्दै नचाहिने कुरामा शोक गर्नुभन्दा सत् असत् कर्म छुट्याई अगाडि बढ्दा नै सबैको हित हुने बताउँछन् । फलको आशा नगरी निरन्तर कर्ममा लाग्न कृष्णले अर्जुनलाई दिएका उपदेश पनि बालबच्चालाई जीवनको भावी रेखा कोर्न निकै फलदायी हुन सक्छन् । 

त्यस्तै, बारीमा तरकारी खोज्न जाँदा, मकै गोड्न जाँदा बालबच्चालाई सँगै लिएर जानुहोस् । हाम्रो कृषि प्रधान देशमा दैनिक जीविकोपार्जन गर्न माटोको मूल्य कति हुन्छ बुझाउनुहोस् । पसिनाका रंग र सुगन्धसँग घुलमिल गराउनुहोस् । अँगेनामा खाना पकाउने बेलामा आगो फुक्न सिकाउनुहोस् । नाकाबन्दीको बेला दाउरा बालेरै गुजारा गरेका हामी नेपालीका लागि यो सीप उपयोगी हुनसक्छ ।

भात पकाउने बेलामा कसौँडी चिनाउनुहोस्, तरकारी पकाउने कालोमाटे कराई चिनाउनुहोस्, मकै भुट्ने बेलामा हाँडी चिनाउनुहोस् । गोबर फाल्दा होस्, घाँस काट्दा होस् वा दूध दुहुने बेला होस् सँगै लैजानुहोस् । दूध उमाल्ने भदालो, दही मथ्ने ठेकी, मदानी सबै चिनाउनुहोस् । भोजन गर्ने बेलामा पवित्र र प्रशन्न भएर अग्निमा हवन गरेर एकान्तमा भोजन गर्ने बानी बालबच्चामा बसाल्नुहोस् ।

आफूले खाएको भाँडा आफैँ माझ्न सिकाउनुहोस् । विधि एवं निषेधद्वारा सद्वृत्तको उपदेश पालना गर्न सिकाउनुहोस् । ऋतुचर्याहरु सिकाउनुहोस् । कुन ऋतुमा कस्तो आहारविहार गर्ने सबै ज्ञान दिलाउनुहोस् । ऋतुअनुसार कहिले कुन फूल फुल्छ? कुन फल पाक्छ? अनि वायु र सूर्यको स्वभाव कसरी ऋतुअनुसार बदलिन्छ सबै बालबच्चालाई सिकाउनुहोस् । 

दिउँसो घरमै बसिराख्नु पर्दा आफूले भोगेका दुःखसुख सुनाउनुहोस् । आफ्नो थर, गोत्र, पुर्खा र पहाड घरको वृत्तान्त बालबच्चालाई बुझाउनुहोस् । घरमा पाको उमेर भएका हजुरआमा हजुरबुवा हुनुहुन्छ भने उहाँहरुकै समिपमा धेरैबेर बालबच्चालाई छोडिदिनुहोस् । पहिले पहिले लगाइने पहिरन, खाने आहार र गरिने विहार र संघर्ष निकै रोचक हुनसक्छन् । हिँडेरै सहर जानुपर्ने बाध्यता, अन्नसँग लुगाफाटा साट्नु पर्ने बाध्यता, पढ्नलाई बर्खामा खोला तरेर आउँदा चप्पल बगाएका घटना जति सुन्दा रमाइला हुन्छन् त्यति नै बालबच्चाका लागि अहिलेको समाजसँग पहिलेको समाज तुलना गर्ने अवसर पनि मिल्छ । 

घरकै देवताको थानमा धुपबत्ती, आरती र पूजा गर्न सिकाउनुहोस् । किन गणेश अरु देवताभन्दा सर्वप्रथम पुजिन्छन् भन्ने बालबच्चाको जिज्ञासा मेटाउनुहोस् । यो सुन्दा बालबच्चामा आफ्ना मातापिताभन्दा दुनियाँमा कोही महान् नहुने ज्ञान पैदा हुन्छ ।  साथै जन्मदाताप्रतिको सम्मान पनि सदैव रहन्छ । 

वरिपरि नजिकै खोला नदीहरु छन् भने सँगै लैजानुहोस् र जीवन गतिशील छ भन्ने ज्ञान प्रत्यक्ष अनुभूत गराउनुहोस् । माछासँगै चञ्चल बनी पौडी खेल्न दिनुहोस् । बन जंगल घुम्न जाँदा शीतल हावाको स्पर्शलाई अनुभूत गर्न सिकाउनुहोस् । चरीको चिरबिर आवाज र प्रकृतिको सुन्दरतामा डुब्न दिनुहोस् । चराका गुँडहरु देखाएर सानो सानो मेहेनतको फल ठूलो हुने शिक्षा दिनुहोस् ।

फूलको सुन्दरतामा मोहित भएर कोपिला नै चुँड्न आँटे भने महाकवि देवकोटाको कविता सुनाउनुहोस् । विभिन्न जीव जन्तुको ध्वनि निकालेर नक्कल गर्न सिकाउनुहोस् ।

बालबच्चालाई असारमा धान लहलह झुल्ने खेतहरु देखाउनुहोस् अनि मंसिरमा धान थुपार्ने भकारी पनि देखाउनुहोस् । विभिन्न चाडपर्वमा खाइने परिकार, लगाइने पोसाकसँग साक्षात्कार गराउनुहोस् । वीरहरूको गाथाको चर्चा गर्दै नेपालको सिमाना नक्सामा चिनाउनुहोस् । देशभक्ति जागृत गर्नुहोस् । स्थानीय जडीबुटी र तिनको प्रयोग चिनाउनुहोस् । वेदको केन्द्रमा रहेर वैदिक सभ्यता, मानवविश्वास, रीति रिवाज पनि बुझाउनुहोस् । 

अभिभावकत्व  महत्त्वपूर्ण जिम्मेवारी हो । त्यसैले विश्वप्रेमको भावना पैदा गर्दै आफ्ना बालबच्चालाई यो बन्दाबन्दीको समयमा विज्ञानभन्दा ज्यादा विश्वास, कल्पना र मानवजीवनका प्रगतिका अध्यायहरु सिकाउनुहोस् । सादा जीवन उच्च विचारको आदर्शमा टिकाइराख्नुहोस् । एउटा मालीजस्तै बनेर सन्तानको गोडमेल गर्न अल्छी नगर्नुहोस् । तपाईँले भोगेको जीवन र घर वरपरको पर्यावरण नै बालबच्चाको पहिलो पाठशाला हो । अनि तपाइँ पहिलो शिक्षक । त्यही भएर व्यावहारिक शिक्षा सिकाउने अवसरका रुपमा यस बन्दाबन्दीलाई सदुपयोग गरौँ । 

Nepal Investment bank
Nepal Investment bank
आईतबार, जेठ ११, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्