site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मदनसँगका १४ वर्ष १० महिना
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

यकिन सम्झना छैन । २०३५ को असार अन्तिमतिर वा साउन नै लागि सकेको हुनुपर्छ । मध्य वर्षात्मा हराभरा बनेका खेतबारी र वन बुट्यानले गर्मी यामको खपिनसक्नु उष्णतालाई रोक्न सकिरहेका थिएनन् । म भने कहिल्यै नगएका–नपुगेका वस्तीहरू छिचोल्दै पार्टीका एकजना स्थानीय कार्यकर्तासँग मोरङको इटहरा गाउँ खोज्दै हिँडिरहेको थिएँ । मेरो यात्रा ‘झापाली क्रान्तिकारी लाइन’बाट प्रभावित भइ ‘को–अर्डिनेशन केन्द्र’ (कोके) मा भर्खरै सामेल भएका एक जना क्रान्तिकारी ‘जीवन शर्मा’लाई कोकेको ‘तेस्रो सम्मेलन’मा सहभागी गराउने उद्देश्यबाट प्रेरित थियो ।

कुरा के थियो भने– पुष्पलालले नेतृत्व गरेको कम्युनिष्ट पार्टीको ‘मोर्चा संगठन’ का अधिकांश नेता–कार्यकर्ताले भर्खरै ‘विद्रोह’ गरेका थिए । नेतृत्वको ‘अवसरवादी आचरण’का कारण देखाउँदै विद्रोह गरी उनीहरूले ‘झापाली क्रान्तिकारीहरू’ ले गठन गरेको ‘को–अर्डिनेशन केन्द्र’मा सामेल हुने घोषणा गरेका थिए । उनीहरूको संगठन ‘मुक्ति–मोर्चा’ नामले चिनिन्थ्यो । ‘जीवन शर्मा’ त्यही समूहका एकजना अगुवा हुनुहुन्थ्यो र म उहाँलाई सम्पर्क गरी २०३५ साउन ४–९ गते हुन लागेको ‘कोके’ को ‘तेस्रो सम्मेलन’मा सहभागी गराउन गएको थिएँ । सोध्दै–खोज्दै, रात–साँझ गर्दै म ‘जीवन शर्मा’को गाउँ इटहरा पुगेको थिएँ । एकदिनको पखाईपछि कालो टोपी, फिक्का आकासे रंगको टेरिकटनको सर्ट र हाफ प्यान्ट लगाएको, जुँगा पालेको र कम्मरमा खुकुरी भिरेको एउटा नौजवानलाई मैले भेटेँ । आखिर ‘जीवन शर्मा’को नामले मसँग चिनाइएका ती व्यक्तित्व नै मदन भण्डारी हुनुहुँदो रहेछ !
                               
०००

‘कोके’ को ‘तेस्रो सम्मेलन’ अत्यन्त कडा सुरक्षाका बीचमा भैरहेको थियो । हाम्रो कार्यक्रमको छनक पाएर पञ्चायती व्यवस्थाका पुलिसहरू बाहिर बाक्लो गस्तीमा खटिएका थिए । कार्यक्रम स्थलमा कुनबेला छापा मारिने हो त्यसको ठेगान थिएन, कुनै पनि बेला छापा मारिन सक्थ्यो । जनस्तरबाट तह तहमा सुरक्षा प्रबन्ध त हामीले गरेका थियौं तर पनि पुलिसहरूको अस्वाभाविक आक्रमणको सम्भावनालाई टार्न सकिन्नथ्यो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

हामीले सहभागीहरूकै तर्फबाट थप सुरक्षाको विशेष व्यवस्था गर्‍यौं । यसका लागि हामीहरूले आफूसँग भएका दुई थान बन्दुक प्रयोग गर्ने निधो भयो । ती बन्दूक प्रयोग गर्ने जानकार साथीहरूको छनोट गरियो, जसमा रत्नकुमार वान्तवा, मदन भण्डारी र सङ्खुवासभाबाट आउनुभएका वासु शाक्यको टीमलाई जिम्मेवारी तोकियो । रत्न र वासुका बारेमा त साथीहरूले केही केही बुझ्नुभएको थियो तर मदन पनि बन्दुक चलाउन सक्नुहुन्छ भन्ने कसैलाई थाहा थिएन । जब मदनले बन्दुक समातेर पोजिसन लिनुभयो, सबै चित खाए । यद्यपि, सम्मेलनले भिडन्तको सामना गर्नुपरेन । कार्यक्रम सुरक्षित र सफलतापूर्वक सम्पन्न भयो । मदनले भने हामी सबैमा एउटा नयाँ छाप छोड्नुभयो– वैचारिक रूपमा प्रखर, वाचाल नेता त उहाँ हुनुहुन्थ्यो नै, आवश्यक परे भौतिक लडाईंका निम्ति पनि तयार नेताका रूपमा हामीले उहाँलाई चिन्यौं ।

Royal Enfield Island Ad

०००

‘कोके’ को संगठन विस्तारमा मदनको भूमिका वेगवान थियो । मेची–कोशी अञ्चलका दक्षिणतिरका जिल्ला समेटेर ‘पूर्व–दक्षिण क्षेत्र’ नामको सांगठनिक संरचना खडा गरियो, जसको प्रमुख स्वयम् मदन हुनुहुन्थ्यो । आफ्नो क्षेत्र अन्तर्गत पर्ने सबै जिल्लामा नेतृत्वदायी कमिटीहरूलाई पुनव्र्यवस्थित गर्ने काम मदनले पूरा गर्नुभयो । 

२०३५ साल पुस ११–१४ मा ‘कोके’ को राष्ट्रिय सम्मेलनबाट ‘नेकपा (माले)’ को जन्म भयो । मोरङको इटहरामा स्थानीय आधारभूत वर्गका किसानहरूको वस्तीमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । यसको सम्पूर्ण व्यवस्थापनको नेतृत्व मदनले गर्नु भएको थियो । सम्मेलन चलिरहँदा नै एकातिर संखुवासभामा पञ्चायती व्यवस्थाले हरि नेपाल र चन्द्र पुरीको हत्या गर्‍यो भने अर्का तिर पार्टीभित्र पोलिटव्युरो सदस्य रामचन्द्र यादव र धनुषा जिल्ला कमिटीका सदस्य अशेश्वर यादवले उग्रवामपन्थताको वकालत गरे । त्यसैको समानान्तर मणिलाल राई लगायतका केही साथीहरूले ‘कोके’ ले उग्रवामपन्थता त्याग्न नसकेको भन्दै अलग विचार पनि अघि सारेका थिए ।

‘राष्ट्रिय सम्मेलन’ स्थलमै केही साथीहरूले बाहिर कतै प्राप्त गरेको एउटा लामो पर्चा ल्याउनुभयो– पर्चाको शीर्षक नै ‘पथभ्रष्ट चन्द्र नेतृत्वदायी गुटके उपर गोलाबारी करें !’ थियो । त्यसवेला चन्द्रप्रकाश (सीपी) मैनाली पार्टी महासचिव हुनुहुन्थ्यो र, उहाँ बहुचर्चित हुनुहुन्थ्यो । हिन्दीमा छापिएको उक्त पर्चाले हामीलाई अत्यन्त आक्रोशित बनायो । पार्टी स्थापना गर्ने दिनमै रामचन्द्र–अशेश्वरहरूको उग्रवामपन्थी चिन्तन र दक्षिणपन्थी चिन्तनको सामना गर्नुपर्ने भयो । त्यसको प्रतिवादमा मदनले सकृयताका साथ भूमिका खेल्नुभयो । हामीले केही समयभित्रै यी दुवै विचारलाई निस्प्रभावी बनायौं ।

०००

२०३९ साल साउन २४ गते– अर्थात्, आजभन्दा ३८ वर्ष पहिले । त्यो दिन मदनको विवाहको आयोजना गरिएको थियो । बेहुली हुनुहुन्थ्यो– विद्या पाण्डे (अर्थात् वर्तमान सम्माननीय राष्ट्रिपति भण्डारी) । तत्कालीन नेकपा (माले)को ‘पूर्व दक्षिण क्षेत्रीय कमिटी’ले बिहेको आयोजना गरेको थियो । ‘मध्य दक्षिण क्षेत्रीय कमिटी’का सचिव माधवकुमार नेपाल र सदस्यहरू म र मुकुन्द न्यौपाने– भूमिगत ढङ्गले आयोजना गरिएको उक्त विवाह समारोहमा सहभागी थियौं । पार्टीका राम्रा समर्थक र सहयोगीहरूको उपस्थितिमा विराटनगरस्थित देवकोटाजीको एकान्तमा रहेको डेरामा बिहेको कार्यक्रम आयोजना गरिएको थियो । बेलुकी ८ बजे सुरु गरिएको बिहेको औपचारिक कार्यक्रमका प्रमुख अतिथि माधवकुमार नेपाल हुनुहुन्थ्यो र कार्यक्रमको सभापतित्व मैले गरेको थिएँ । 

‘पूर्व दक्षिण क्षेत्रीय कमिटी’का सचिव मदन स्वयम् बेहुला हुनुहुन्थ्यो भने त्यस कमिटीका अशोक राई, राजेश वान्तवा राई, चित्र निरौला आदि उपस्थित हुनुहुन्थ्यो । परिवारका सदस्यहरूमा मदनका भाई प्रेम र बहिनी गीता मात्र हुनुहुन्थ्यो । बेहुली बन्नु भएकी विद्याजी त्यसबेला विराटनगर नगर कमिटी तथा मोरङ जिल्ला कमिटीमा सङ्गठित हुनुहुन्थ्यो र मोरङ क्याम्पसको अनेरास्ववियूको राजनीतिक– सांगठनिक काममा नेतृत्व गरिरहनु भएको थियो । 

त्यसदिन विवाह समारोहमा हामी सबैले उहाँहरूलाई ‘क्रान्तिकारी जीवनले सफलता प्राप्त गरोस्,  देश र जनताको हितमा काम गर्न सक्नुहोस्....’ भन्दै शुभकामना व्यक्त गर्‍यौं । उहाँहरू दुबै जनाले पार्टीको झण्डा सामु उभिएर प्रतिज्ञा गर्नुभएको थियो । त्यसरात अबेरसम्म हामीहरूले क्रान्तिकारी गीत गायौं– कविताहरू वाचन गर्‍याैं र, क्रान्तिकारी जोडी उदाहरणीय बनोस् भनेर शुभकामना व्यक्त गर्‍यौं । तर, बिहे पछिको झण्डै ११ वर्षको अवधिमा मदन–विद्याको जोडीले प्रायः प्रतिकूलता नै झेल्नुपर्‍यो, अनिश्चितताको स्थितिको सामना गर्नुपर्‍यो । बिहे गरेको ११ वर्ष बित्न नपाउँदै मदनको शहादतपछि विद्याजीले वियोगको पीडा सहेर बस्न बाध्य हुनुपर्‍यो । पति वियोगको असहज पीडा सहनु परे पनि मदनका सपना र सङ्कल्पलाई पुरा गर्ने परिवर्तित अभिभारा सहित विद्या भण्डारी अविचल भएर उभिनु भएको छ । परिस्थिति बदलिएको छ, जिम्मेवारीहरु फेरिएका छन्– तर हाम्रा उद्देश्यहरू फेरिएका छैनन् ।

०००

२०४० सम्म मदन केन्द्रीय सदस्य मात्र हुनुहुन्थ्यो । तर बैठकहरूमा उहाँको उपस्थिति र त्यहाँ वैचारिक छलफलहरूमा स्पष्ट दृष्टिकोणका साथ गम्भीर सहभागिताका कारण उहाँ सबैको केन्द्र बन्दै जानुभयो । २०३९ मा सिपीसँगको विवादपछि महासचिव बन्नुभएका झलनाथ खनालको अगुवाइमा पोलिट्ब्युरो र मदनको अगुवाइमा जस्तो भएको थियो, केन्द्रीय कमिटी । बैठकमा बहस छलफल हुँदा म लगायतका अरू कति साथीहरू मदनले अगुवाइ गर्ने बहसमा पक्ष भएर उभिँदा गौरवबोध हुन्थ्यो । पछिपछि त उहाँकै विश्लेषण र दृष्टिकोण नै यति प्रभावी बन्दै जान थाल्यो कि उहाँलाई पोलिट्ब्युरोमा ल्याउनै पर्ने भयो ।

मदन पोलिटब्युरोको सदस्य बनेपछि तुरुन्तै पार्टीभित्र वैचारिक नेताका रूपमा स्थापित हुनुभयो । राजनीतिक छलफल थप सशक्त र जीवन्त बन्दै गयो । विगतको समीक्षा गर्ने, पार्टी परिचालनमा योजना निर्माण गर्ने र कार्यक्रमिक विषयहरूलाई अध्यावधिक गर्ने सवालमा उहाँको क्षमता प्रकट हुन थाल्यो । उहाँका यिनै क्षमताले २०४६ को चौथो महाधिवेशनबाट मदन सर्वसम्मतिका साथ पार्टीको महासचिव चयन हुनुभएको थियो ।

०००

चौथो महाधिवेशनबाट मदन सर्वसम्मतीले महासचिव पदमा निर्वाचित भएपछि त्यही सालको अन्त्यतिर भएको ऐतिहासिक जनआन्दोलन पश्चात् खुला भएका राजनीतिक पार्टीहरू वैधानिक ढङ्गले काम गर्न सक्ने भएका थिए । परिवर्तित राजनीतिक अवस्थामा आफ्नै पार्टीभित्र र मुलुकभित्रै देखिएका समकालीन नेताहरूमध्ये पृथक उचाईका साथ मदन सार्वजनिक हुनुभएको थियो । उहाँमाथि सबैको नजर गढेको तथ्यलाई त्यसबेला सहजै वुझ्न सकिन्थ्यो ।

साझा शत्रुका विरुद्धको संघर्षमा निर्णायक रूपमा विजय प्राप्त गर्न विभिन्न वामपन्थी समूहहरूलाई सके एउटै पार्टीमा, नसके पनि एउटै मोर्चामा ल्याउनैपर्छ भन्ने मान्यता थियो– मदनको । सिद्धान्त, कार्यक्रम र अन्य कतिपय विषयहरूमा एउटै धारणा र मान्यता भएका तर कार्यनीतिक प्रश्नहरूमा भने एक ठाउँमा नआइसकेका वाम समूहलाई मित्रवत् वहस, छलफल गर्दै नजिक रहने अवस्था सिर्जना गर्नुपर्छ भन्ने मान्यता पनि थियो– मदनको । छरिएका वाम पार्टीहरूलाई गोलबन्द गर्न सक्नुपर्छ, त्यही संयुक्त शक्तिका बलमा मुलुकमा परिवर्तन चाहने अन्य पक्षसित समेत सहकार्य गर्दै राजनीतिक परिवर्तन ल्याउनुपर्छ भन्ने निष्कर्षमा हुनुहुन्थ्यो– मदन । यिनै मान्यता र निष्कर्षका आधारमा तत्कालीन  नेकपा (माले)ले २०४६ सालको संयुक्त जनआन्दोलनमा महत्त्वपूर्ण र निर्णायक भूमिका खेल्न सक्यो । 

मदन महासचिव जस्तो गरिमामय र जिम्मेवार पदमा पुग्ने कुरा कसरी सम्भव भयो ? त्यसबेला उहाँ केवल ३९ वर्षको मात्र हुनुहुन्थ्यो । कतिपय मानिसले, यहाँसम्म कि अहिले नेपाल कम्युनिष्ट पार्टी भित्रकै कतिपयले समेत मदनको यो विकासक्रमलाई राम्ररी बुझ्नसकेका छन् जस्तो लाग्दैन । मदनको व्यक्तित्व र भूमिकाका सम्बन्धमा आ–आफ्नै धारणा राख्नेहरूको काफी सङ्ख्या छ । नेपाल कम्युनिष्ट पार्टी भित्रकै केही मदनको भूमिका र योगदानलाई अवमूल्यन गर्ने खालका पनि देखिएका छन् र कतिपयले त उहाँलाई भावनात्मक हिसावले मात्र बुझिरहेका पनि छन् । मदनलाई बुझ्नु एउटा व्यक्तिलाई बुझ्नेजस्तो मात्र कुरा होइन । यो त आन्दोलनलाई र कम्युनिष्ट आन्दोलन भित्रका सही विचारको विकासक्रम–गतिशीलतालाई कसरी बुझ्ने वा बुझ्नुपर्छ भन्ने विषय पनि हो । मदन कम्युनिष्ट आन्दोलन भित्रको व्यक्ति मात्र नभएर, विचार–प्रवृत्तिको अगुवा प्रतिनिधि र सशक्त आन्दोलनको वाहक पनि रहनु भयो । 

पूर्वीय साहित्य, दर्शन तथा माक्र्सवादी सिद्धान्तको गहन एवम् समीक्षात्मक अध्ययनका साथै तिनको सिर्जनात्मक प्रयोग गर्ने प्रतिबद्धताले विकसित भएको व्यक्तित्व हुनुहुन्थ्यो, मदन भण्डारी । नेकपा  (एमाले) को महासचिवको जिम्मेवारी लिने स्थानसम्म आइपुग्दाको यात्राक्रमलाई फर्केर हेर्दा मैले उहाँमा रहेको त्यो क्षमतालाई अत्यन्त तिलस्मी मानेको छु । 

०००

मुलुक ऐतिहासिक जनआन्दोलनको सम्मुखमा थियो । योजनाहरूको कार्यान्वयनमा सामञ्जस्यता, पार्टी  शक्तिको सही विन्यास, आवश्यक र सम्भव सबै राजनीतिक शक्तिका बीचमा समन्वय आदि विषयमा मदनको नेतृत्वले काङ्ग्रेस र वामपन्थी बीच सहकार्यको मार्गचित तय गर्‍यो । उहाँको यही वस्तुनिष्ठ विश्लेषणमा आधारित नेतृत्वले २०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल बनाउन निर्णायक भूमिका खेल्यो । 

आन्दोलन अगाडि बढाउन हामीबीचमा समन्वयका लागि छलफल हुन्थ्यो । तर प्रकृयाको ढिलाइले र विषयलाई बोक्ने प्रतिनिधिको कमजोरीका कारण केन्द्रमा राम्ररी समन्वय हुन सक्दैन्थ्यो । कतिपय बेला त विषयको सार समेत मरिसक्थ्यो । धेरैपटक त्यस्तो समन्वय केन्द्रमा खटिएका राधाकृष्ण मैनालीसँग फिल्डमा काम गर्नेहरूको समूह खासगरी मदन, केपी शर्मा ओली, माधव नेपाल र मेरो ठाकठुक परिरहन्थ्यो । म त्यसबेला काठमाडौं उपत्यकामा आन्दोलन परिचालनको प्रमुख थिएँ । २०४६ चैत्र २६ गतेको राजा, काङ्ग्रेस र वाम मोर्चासँगको त्रिपक्षीय सम्झौतामा जसरी राधाकृष्ण मैनालीले ‘माले’को तर्फबाट भूमिका खेल्नुपर्ने थियो, त्यस्तो गर्न नसकेको, दक्षिणपन्थी अवसरवादी रूझान राखेको भन्ने हामीलाई लागेको थियो । हाइकमान्डसँग परामर्श नगरी वा दिइएको निर्देशन विपरीत सम्झौताका लागि लहसिएको आरोप लाग्यो । मदन पनि राधाकृष्णसँग आक्रोशित नै बन्नुभयो । यही ‘सेन्टिमेन्ट’मा चैत्र २६ गतेको ऐतिहासिक र संयुक्त विजयसभामा राधाकृष्णलाई सभास्थलबाट बाहिर ल्याइयो, बोल्न दिइएन । अहिले मेरो मनमा सधैं एउटा प्रश्न उठिरहन्छ– त्यसबेला मदनसहितका हामीहरूले राधाकृष्णप्रति विवेक पुर्‍याउन सकेका थियौं कि थिएनौँ ? मदन आफैँ यसबेला रहनुभएको भए यो प्रशंगका बारेमा कसरी सोच्नुहुन्थ्यो होला ?

०००

२०४७ मा नेकपा (माले) र मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको माक्र्सवादी समूहका बीचमा एकीकरण हुने स्थिति बन्यो । मदन यी दुई समूहका बीचमा एकीकरण गराएर कम्युनिष्ट आन्दोलनमा इतिहास र उर्जाको सम्मिश्रण गराउने पक्षमा हुनुहुन्थ्यो । दुई अलग धार, पृष्ठभूमि र वैचारिक मान्यता लिएर अघि बढेका कम्युनिष्ट समूहहरूका बीचमा एकता गर्नु अत्यन्त जिम्मेवारीपूर्ण काम थियो । तर यही काम पूरा गरी छाड्ने सङ्कल्प लिएर मदनले मनमोहन अधिकारीलाई पार्टी अध्यक्ष बनाउने कुराको पक्षपोषण गर्नुभयो । आफू महासचिव बनेर पार्टीलाई नेतृत्व दिने कुरामा उहाँ सङ्कल्पबद्ध हुनुहुन्थ्यो ।

यसपछि मनमोहन अधिकारीलाई साथमा लिएर देशव्यापी रूपमा एकीकरणको सन्देश सभाहरू गर्दै मदन निस्कनुभयो । सूदुरपूर्वदेखि सूदुरपश्चिमसम्म मनमोहन अधिकारी लगायतका नेताहरूलाई साथमा लिएर उहाँ एउटा राष्ट्रिय अभियानमा निस्कनु भएको थियो । नेकपा (एमाले) एउटा नयाँ र उदीय, उदीप्तमान शक्तिका रूपमा एउटा अभियान बनेर देशव्यापी रूपमा निस्केको थियो, मदनको नेतृत्वमा । त्यो अभियानले मुलुकमा एउटा राजनीतिक तरङ्ग मात्र होइन, एमाले नामको एउटा नयाँ शक्तिलाई स्थापित गर्‍यो ।

तीव्र वैचारिक बहसकै वीचमा २०४९ माघमा एमालेको पाँचौं राष्ट्रिय महाधिवेशन आयोजना गरिएको थियो । त्यो राष्ट्रिय महाधिवेशनले मदनको नेतृत्वमा जुन विचारलाई (जनताको बहुदलीय जनवाद) अत्यधिक बहुमतले पारित गरेको थियो, त्यसले मुलुकको प्रजातान्त्रिक आन्दोलन, लोकतान्त्रिक आन्दोलन र देशभक्तिपूर्ण आन्दोलनलाई क्षमताका साथ नेतृत्व गर्ने उद्घोष गरेको थियो । विचारको उत्कृष्ट प्रस्तुतिले महाधिवेशनका सहभागीहरूको ठूलो समर्थनमा मदन भण्डारी एमालेको महासचिव चुनिनु भयो ।

०००

आम निर्वाचनमा भर्खरै काँग्रेसका लोकप्रिय नेता एवम प्रधानमन्त्री कृष्णप्रसाद भट्राईलाई पराजित गर्ने मदनले बहुदलीय जनवादको व्याख्या, पार्टी, समाज र राज्यको लोकतान्त्रीकरणको मान्यतालाई अघि सारेर माक्र्सवादलाई नेपालको विशिष्टतामा विकास गर्नुपर्ने मान्यतालाई अघि सार्नुभएको थियो । मैले अहिले पनि राम्ररी बुझ्न नसकेको एउटा प्रसङ्गको सम्झना भइरहन्छ । पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र काठमाडौंको दशरथ रंगशालामा बीसौं हजार जनताका बीचमा आयोजना गरिएको थियो । प्रतिनिधि, पर्यवेक्षक र आम जनताको त्यो विशाल उपस्थितिले मदनलाई खोजिरहेको थियो, उहाँलाई सुन्न चाहिरहेको थियो । विदेशी पाहुनाहरू समेत मदनलाई सुन्न लालयित देखिन्थेँ । 

तर अचम्म ! मदनले हजाराैंको त्यो उपस्थितिमा बोल्न पाउनु भएन ! त्यहाँ मनमोहनले बोल्नुभो, माधव, झलनाथ र सीपीलेसमेत वोल्नुभो तर मदनले बोल्न पाउनु भएन ! मदनले बोल्नुपर्छ भनेर मैदानमा बस्नेहरू आवाज उठाइरहेका थिए, तर पनि उहाँलाई वोल्ने अवसर दिइएन ! यसमा कसको योजना र कुन मनोविज्ञानले काम गरेको थियो कुन्नी ? उद्घाटनसभा सकेर मदन र मसँगै फर्किएका थियौं । उहाँले आफू चढ्नुभएकै गाडीमा मलाई पनि बस्न आग्रह गर्नुभयो । उद्घाटन सभामा आफूलाई बोल्न नदिएको बारेमा मुखै खोलेर त केही बोल्नु भएन तर पार्टीमा भित्रभित्रै मौलाउन खोज्दै गरेको अस्वस्थ्यताका बारेमा केही सङ्केत भने गर्नुभयो । यी सबै कुराका वावजूद पनि महाधिवेशनको बन्द सत्रमा उहाँले प्रस्तुत गर्नु भएका विचार, योजना र नेतृत्वको शानदार विजय भएको थियो ।

०००

२०४८ को आम निर्वाचनमा काङ्ग्रेसले प्रतिनिधिसभामा बहुमत प्राप्त गरेको थियो, जसले ऊभित्र भनि नसक्नुको उन्माद जन्मायो । काङ्ग्रेसको सर्वसत्तावादी चिन्तन र व्यवहारका कारण एमाले प्रमुख प्रतिपक्षी बनेको यथार्थलाई पनि स्वीकार गर्न नसक्ने अवस्था थियो । एमालेलाई प्रमुख प्रतिपक्षीको मान्यता समेत दिन नचाहने उसको व्यवहारका कारण राजनीतिक मुठभेडको स्थिति वन्यो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा काङ्ग्रेसभित्र देखापरेको अलोकतान्त्रिक चरित्र र गतिविधिका विरूद्ध एमाले लगायतका प्रतिपक्षीहरू मात्र नभएर स्वयम् काङ्ग्रेसभित्रै पनि विरोध हुन थालेको थियो, जसको अगुवाइ काङ्ग्रेसकै सर्वोच्च नेता गणेशमान सिंहले गर्नुभएको थियो । गणेशमानजी कै आग्रहमा यस मोर्चाबन्दीको एउटा महत्त्वपूर्ण भूमिकामा मदन भण्डारी रहनु भएको थियो ।

यस सिलसिलामा मदनको गणेशमानजीसित धेरैपटक भेटघाट र छलफलहरू भए । मलाई लाग्छ, केही महत्त्वपूर्ण सल्लाह भएका थिए र योजनाहरू समेत बनेका थिए । २०५० जेठ १ गते मदन र मेरो लगभग एक घण्टाजतिको भेटमा उहाँले यही जानकारी तथा अन्य केही सम्भावित विषयहरूतर्फ पनि सङ्केत गर्नुभएको थियो । गणेशमानजीहरूसित त्यसबीच पटकपटक भएका भेटघाटवारे जानकारी गराउँदै आफू काठमाडौं बाहिर रहेका बेला मलाई सम्पर्क विन्दुका रूपमा रहन निर्देशन दिनुभयो । त्यस प्रयोजनका लागि मदनले मेरो कोठाको ल्यान्डलाइन टेलिफोन नम्बर गणेशमानजीलाई दिनुभएको थियो । उहाँहरूले सम्पर्क गरेपछि आफूलाई तुरून्त सूचना दिन विभिन्न मितिमा आफू पुग्ने ठाउँ र सम्पर्क गर्नुपर्ने व्यक्तिबारे विवरण सहितको एउटा टिपोट पनि दिनु भएको थियो ।

मैले त्यसबेला मदनले भन्नु भएका सबै विषयलाई गम्भीरताका साथ सुनिरहेँ । आवश्यक केही केही कुराहरू नोट गरेँ र आफूलाई लागेका केही विषयबारे जिज्ञासा पनि राखेँको थिए । मदनको निर्देशन थियो– यी धेरै गम्भीर र दूरगामी महत्त्वका विषय हुन्, गोपनीयता बचाउनु होला, मैले दिएको मेरो कार्यक्रमको चिट पनि सुरक्षित राख्नुहोला । हामीबीच कुराकानी सकिनासाथ मदन कास्की जिल्ला अधिवेशनको उद्घाटनका लागि हिँड्ने तयारीमा जुट्नुभयो । म एकछिनपछि मदनलाई शुभ–यात्रा भन्दै आफ्नो ज्ञानेश्वरमा रहेको कोठातिर लागे । २०३५ असार आखिरीमा पहिलोपटक भेट भएको मदनसँग २०५० साल जेठ १ गते बिहान साढे आठ बजेपछि कहिल्यै भेट भएन ! 

मदन भण्डारीसित चौध वर्ष १० महिनाको लामो र निरन्तरको सम्बन्ध–सहकार्य, मित्रता र सान्निध्यतामा, अत्यन्त विश्वास र आत्मियतामा, एउटै कमिटीका सदस्य र सहयोद्धा कमरेडको रूपमा व्यतीत भएको थियो । मदनसित बिताएका ती दिनहरू मेरो राजनीतिक जीवनमा अत्यन्त महत्त्व राख्ने प्रेरणादायी दिनहरू हुन्, जसलाई म कहिल्यै बिर्सन सक्दिनँ । 

हार्दिक श्रद्धान्जली जननेता मदन भण्डारी !


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ३, २०७७  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro