प्रधानमन्त्रीज्यू हामीले कति पीडा सहने ?

रामराज शर्मा र अमृत पौडेल 

प्रधानमन्त्रीज्यू हामीले कति पीडा सहने ?

प्रधानमन्त्रीज्यू सारा संसारलाई नै कोरोनाभाइरसको चपेटामा पारिरहेका बेलामा अरुजस्तै तपाईँ पनि एकान्तवास ‘आइसोलेसन’मा हुनुहुँदो रहेछजस्तै लागेको छ  । होइन भने त यो संकटका बेलामा जनताले अनुभूत गर्ने गरी केही सहुलियतको घोषणा पक्कै गर्नुहुने थियो । कतै यो बन्दाबन्दी (लकडाउन)को समयलाई आफ्नै पार्टीभित्रका फरक विचारधारा राख्नेहरुलाई तह लगाउन र सत्ता मजबुत गर्न पो प्रयोग गर्नु भएको छ छैन भन्ने शंका पनि लाग्छ । नाकाबन्दी र चुनाव वरपर अनि यसपटक भर्खर प्रधानमन्त्री बन्नुहुँदाको केपी ओलीलाई सम्झेर विदेशबाट यो पत्र लेखेको छौं । अन्यथा नमान्नु होला ।

अहिले हाम्रै उमेरका लाखौं युवा खाडी, मलेसिया, अफ्रिका र संसारभर नै पलायनवादीको बिल्ला भिर्दै दैनिक समृद्ध  नेपालको  सपना देखिरहेका छन् ।  तपाईँले विकासका सपना भाषणका रुपमा हामीलाई देखाउँदा देशमा रहेका युवाभन्दा पक्कै पनि हामी धेरै खुसी भएका थियाैँ । लाग्थ्यो ती आयोजना निर्माण सुरु वा सम्पन्न हुँदा हामीहरु देशमै अवसर छ है भनेर विदेश त्याग्ने थियौँ र आफ्नै परिवारसँग सुखदुःखका समय बिताउन स्वदेश फर्किने  थियौँ । तर ती सपना त सपनामै रहिरहे । विपना बन्न सकेनन् ।  

प्रधानमन्त्रीज्यू ! तपाईँले घरघरमा ग्यासका पाइप र मिटर जोडीदिन्छु, फ्याट्ट ‘अन’ गर्ने हो चट्ट बाल्ने हो भन्दा नाकाबन्दी ताका सकिनसकी रित्तो ग्यासको सिलिन्डर बोकेर लाम बस्न जाने नेपाली कम्ती खुसी भएका थिएनन् । चुनावताका तपाईँले हाँसीहाँसी अब कोही जनता भोकै बस्नु पर्दैन भन्दा हजाराैँ अनुहार खुसीले धपक्क बलेका थिए देउतै भेटेझैँ । कामदारको सुरक्षा गरिनेछ, रोजगारी दिलाइनेछ भनेर भाषण गर्दा हजारौं ताली बजेका थिए । तर आज के भइरहेको छ थाहा छ तपाईँलाई ? 

प्रधानमन्त्रीज्यू, कि भने ती दुःखी जनताको सास्ती तपाईँलाई देखाइएको र बताइएको छैन नभए तपाईँले थाहा पाएर पनि यिनको भाग्य नै यही हो केही गर्न पर्दैन भनेर आराम गरिरहनु भएको छ । तपाईँ त बालुवाटारको सुविधा सम्पन्न आलिसान  महलमा जे खान मनलाग्छ त्यही अर्डर गर्दै स्वास्थ लाभ गरिरहनु भएको छ ।  बन्दाबन्दीले कति लाख जनताको स्वास्थ्य  सधैँका लागि बर्बाद गरिरहेको छ भन्ने तपाईँले ख्याल गर्नुपर्ने होइन र ?   

प्रधानमन्त्रीज्यू,

आज लाखौं नेपाली युवा विदेशमा पसिना बगाएर विदेशी भूमिलाई समृद्ध बनाइरहेका छन् ।  अरबको मरुभूमिलाई खेती योग्य जमिन बनाइदिएका छन् । आफ्नो उर्बर उमेर कतार र दुबईमा बिताएका कर्मशील युवा साथीभाइले बारम्बार फोनमा भन्ने गर्नुहुन्थ्यो – अब देशमा जलविद्युत्का ठूलाठूला जलाशय युक्त आयोजना निर्माण हुने भए रे ! पूर्वपश्चिम र तिब्बतबाट रेल चलाउन काम हुने भयो रे ! तपाईँहरु इन्जिनियर भएर देशमै काम गर्नुपर्छ । अनि हामीले पनि ती आयोजनामा पक्कै रोजगारी पाउने छौँ र अरबको सास्तीबाट मुक्ति पाउने छौँ । अर्का एकजना भाइ पानीजहाजमा काम गर्नुहुन्छ । भन्दै हुनुहुन्थ्यो – अब नेपालमै २ वर्षमै पानी जहाज चल्ने रे ।

मैले यता काम गरेको अनुभव र प्राप्त गरेको ज्ञान आफ्नै देशमा लगाउने छु । रेल इन्जिनियरिङ पढेका केही भाइहरु निकै प्रफुल्लित थिए अब देशभित्रै रोजगारी पाइने भो भनेर । हामी पनि त ढुक्क थियौँ नि विदेशमा आर्जन गरेको ज्ञान र काम गरेको अनुभव आफ्नै देशमा प्रयोग गर्न पाइने भो भनेर । तर, यी सबै सपनाले आज गिज्याइरहेका छन् । 

प्रधानमन्त्रीज्यू

मेलम्चीको पानी पोहोर नै आउँछ भनेर काठमाडाैंका जनतालाई धेरैपटक झुक्याउनु भयो रे । खै त ? अर्को वर्ष घरघरमा पाँच हजार वृद्धभत्ता पुर्याइनेछ भनेर पनि ढाट्नु भएको पो रहेछ । कहिले दिनेपाँच हजार भत्ता? हामी त सुन्दै छौँ अपाङ्गता भएकालाई दिइने गरेको जीविकोपार्जन भत्ता पनि बन्द पो भयो रे ! कृषि कर्म गरेर जीविका चलाइरहेका लाखौं नेपाली दाजुभाइ, दिदिबहिनी बजारमा दूध र तरकारी बेच्न नपाएर छटपटाइरहेको बेला तपाईँले हुती नभएका, ढंग नभएकाजस्ता तपाईँकै शब्दमा भन्दा निम्छरा शब्द प्रयोग गरेर होच्याउँदा र लकडाउन झनै कडा बनाइदिँदा ऊनीहरुको चित्त दुखेन होला  ? सुनिदैछ यो लकडाउनकै अवधिमा भारतबाट अर्बौंको तरकारी आयात गरियो रे । तर, हाम्रा गाउँघरको अर्गानिक तरकारी गाईवस्तुलाई ख्वाएर पनि बढी भएपछि मलखादमा फाल्नु परेको ती किसानको व्यथा तपाईँलाई कस्ले सुनाइदिने ? 

निम्न वर्ग, उद्योगी र अन्य व्यवसायीको उद्धारका लागि कार्यक्रम घोषणा गर्नुपर्ने समयमा तपाईँ आफ्नो सत्ता मजबुत बनाउन अरु दलहरु टुटफुट गराउने अध्यादेशको आवश्यकता महसुस गर्नुहुन्छ । जनता सयौं किलोमिटर पैदल हिँडेर घर फर्किरहेको पीडा तपाईँलाई पत्रकारले रचेको षड्यन्त्र लाग्दोरहेछ । स्वदेश फर्किन ज्यानको बाजी लगाएर महाकालीमा हामफाल्नेहरुप्रति तपाईँको ध्यान जाँदैन । आफ्नै गाउँ फर्किदा बाटोको पुलको छेकबार नाघ्न नसकेर खस्दा ज्यान गुमाउनेहरुको पीडाले तपाईँलाई छुँदैन । तर अर्को दलको सांसदलाई जबर्जस्ती तराईबाट काठमाडाैं ल्याउन आफ्नै सांसद र पूर्व प्रहरी महानिरीक्षकलाई खटाउनु हुन्छ तपाईँ । कहिले तपाईँ त कहिले तपाईँका मन्त्री कोरोना मुक्त देश हाैँ हामी भन्नुहुन्छ त कहिले कोरोनाको ठूलो संकट आउँदै छ भनेर घोषणा गर्नुहुन्छ । के पत्याउने के नपत्याउने हामीले ?

स्वास्थ्य जनताको मौलिक अधिकार भनेर संविधानमा त लेखियो तर अहिले निजी क्षेत्रलाई पोस्ने र जनता पिस्ने काम भयो । जनताको स्वास्थ्य शिक्षा र सेवामा पहुँच सहज र सुलभ हुनुपर्छ भनेर अनशन बसेका डा. गोबिन्द केसीलाई अरिंगाल लगाएर खुइल्याउने असफल प्रयास गरियो । मेडिकल माफियाहरु झनै बलिया हुँदै गए ।

धार्मिक स्वतन्त्रता भन्दै होली वाइन पिलाउने कार्यको स्वामित्व ग्रहण गर्नुभयो र गाँउघरमा झुटा अन्धविश्वास फैलाउँदै धर्म परिवर्तन गराउनेहरु मौलाउँदै गए । गुठी र अन्य सांस्कृतिक सम्पदामा आक्रमण सुरु भयो तर तपाईँ मौन बस्नु भयो । स्वास्थ्य सामग्री खरिदमा करोडौंको चलखेल भयो । जनताको करमा नेताको रजाइँ हुँदा तपाईँले उनीहरुकै बचाउमा बोल्नुभयो । दिनरात नभनी आफ्नो स्वास्थको पर्वाह नगरी आवश्यक पीपीईविना नै काम गर्ने स्वास्थकर्मीको हुमर्त लिने काम भयो । जनतालाई महामारीका बारेमा सत्य बताउने विशेषज्ञलाई मन्त्रालयमा बोलाएर धम्की दिने कार्य हुँदा तपाईँले थाहा नपाए झैँ गर्नुभयो । जनताले तपाईँलाई बहुमत दिएको यस्तै गर्न हो त प्रधानमन्त्रीज्यू ? विदेशमा रहेर देशको यो अवस्था देख्दा मन पोल्ने रहेछ । 

तपाईँबाट चुनावताका त निकै गम्भीर कुरा सुनिन्थ्यो । कालापानी, सुस्ता र लिपुलेकका समस्या सुल्झाउने भाषण पनि सुनाउनु भयो । त्यस्ता कुरा सुन्दा रगत उम्लिएर आउँथ्यो । तपाईँलाई साथ नदिनेहरु सबै राष्ट्रघातिजस्तो लाग्थ्यो तर अहिले तपाईँकै समयमा भारतले हाम्रो लिपुलेक र कालापानीलाई उनीहरुको नक्सामा राख्दा तपाईँले खासै चासो राख्नु भएन । हाम्रो तराईको सिमानामा बाँध बाँधेर डुबानमा पार्दा तपाईँले नदेखे झैँ गर्दिनुभयो । अहिले लिपुलेकमा भारतले आफ्नो सडक निर्माण गर्यो रे । तपाईँ फेरि पनि नदेखे झैँ गर्नु हँदैछ । चुनाव अगाडिको केपी ओली तपाईँबाट फुत्किएर गइसकेका हुन् ? तपाईँ अब केपी ओली होइन लरतरो प्रधानमन्त्री बन्नु भएको छ । परदेशमा बसेर आफ्नो देशको सिमाना अर्को देशले मिचेको समाचार हेर्दा र पढ्दा निकै पीडा हुने रहेछ । तपाइँको एउटा भिडियो सामाजिक सञ्जालमा निकै चर्चित छ नि । त्यो फुटबलमा जानाजान नरम पेनाल्टी हानेर गोल गरेनौ भन्ने । हेर्नु भएको छ ? त्यस्तो गर्नुलाई खेलको भाषामा ‘म्याच फिक्सिङ’ भनिन्छ । कतै त्यो पहिलाको अटल र निडर केपी ओलीको ‘राष्ट्रवाद’ त्यसै गरी सत्तासँग ‘फिक्सिङ’ भएर सकिएको त हैन ?

कोरोना संकटमा पनि तपाईँले गरिब, व्यवसायी र उद्योगीलाई केही सहुलियत दिन सक्नु भएनछ  । सरकारले ढाड सेकिनेगरी लगाएको कर त सबैले तिरेकै थिए । कोरोना संकटले थला परेर आफ्नो उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेका सबै उद्योगीले राज्यबाट केही सहुलियत पाइन्छ कि भन्ने आशा गरेका होलान् । तर, तपाईँ त यती र ओम्नी समूहबाहेकलाई के देख्नु हुन्थ्यो र ? ती उद्योग र व्यवसायमा रोजगारी पाएकाहरुले पनि आयकर त तिरिरहेकै थिए । खै ती मजदुरहरुले यो संकटमा सहुलियत पाएको प्रधानमन्त्रीज्यू ?

अन्त्यमा, तपाईँकै समयमा देश फर्किउँला, समृद्ध नेपालमा आफूले जानेको केही सीप सदुपयोग गरौँला, नयाँ नेपाल बनाउन थप योगदान गरौँला, हाम्रा आमाबुवाहरुले ग्यासको सिलिन्डर बोक्दै लाममा बस्न पर्दैन, अशक्तहरुले सडकमा भिख माग्न पर्दैन, उपचार र एम्बुलेन्स नपाएर बिरामी मर्नु पर्दैन, भाइभतिजा, भान्जाभान्जीले सस्तो र राम्रो शिक्षा पाउनेछन्, कृषकहरुले आफ्नो उत्पादनको मूल्य पाउनेछन्, आवाज विहीनहरुको आवाज सजिलै सुनिनेछ भन्ने हाम्रो विश्वास टुटेको छ । अहिले त तपाइैँले देखाएका सुन्दर सपनाले हामीलाई ऐठन हुन थालेको छ प्रधानमन्त्री ज्यू ! 

तपाइैँले देखाएका विकासका सपना सबै धोका रहेछन् । राष्ट्रियताको नारा त फगत भोटका लागि रहेछ र नाकाबन्दी ताकाको अडान सत्ता हात पार्ने दाउमात्र रहेछ भन्ने निष्कर्षमा पुग्यौँ हामी । समय अझै बाँकी छ केही राम्रो सुन्न चाहन्छौँ कृपया, पुरानै केपी ओलीको अवतारमा फर्किदिनुहोस् !

( शर्मा बेलायतमा जलविद्युत् इन्जिनियरका रुपमा र पौडेल सिङ्गापुरको नान्याङ टेक्नोलोजिकल विश्वविद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ क्षेत्रमा अनुसन्धान वैज्ञानिकका रुपमा कार्यरत ।) 

प्रतिकृया दिनुहोस
ad