site stats
बाह्रखरी :: Baahrakhari
देश
सामाजिक दूरी कायम गरी काम गर्न निर्देशन

ओखलढुङ्गा । प्रदेश नं १ सरकारले लकडाउनको समयमा विकासका काम नरोक्न स्थानीय तह र निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले १४ वटै जिल्लाका १३७ वटै स्थानीय तह र विकास निर्माणको जिम्मा लिएका व्यवसायीलाई लकडाउनको समयमा पनि भौतिक विकासको काम नरोक्न निर्देशन दिएका हुन् । 
 
कोभिड–१९ को जोखिमबाट बच्न उच्च सतर्कता अपनाएर प्रदेशमा सञ्चालित अति आवश्यक योजना स्थानीय श्रमिक प्रयोग गरी अगाडि बढाउन सबै जिल्लामा परिपत्र गरेको उनले बताए । आज गृहजिल्लामा स्थानीय तहका प्रमुखसहितका सरोकारवालासँग राज्यमन्त्री गुरुङले रोगको डरले विकास रोक्न नहुने बताए । 

“कोरोनाको त्रास त छँदैछ, यसबाट बच्न सतर्कता अपनाऔँ, कुनै कुरामा कमी नहोस्”, उनले भने, “आर्थिक वर्ष सकिन लागेको छ, रोगको डरले काम नरोकौँ । स्थानीय मजदुरको प्रयोग गरेर अलपत्र योजनाको काम तत्काल अगाडि बढाउनुहोला ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सामाजिक दूरी कायम गरी निर्माणको कामलाई गति दिन आग्रह गर्दै राज्यमन्त्री गुरुङले कोरोना महामारीको त्रासका बीच आगामी वर्षको बजेटको तयारी भएको जानकारी दिए ।  

राज्यमन्त्री गुरुङले कोरोनाको कहरका कारण प्रदेश नं १ मा कोही भोकै मर्नुपर्ने अवस्था नआउने बताए । उनले भने, “हामीले रु १० करोड ५० लाख रकम विनियोजन गरेर स्थानीय तहमार्फत राहत वितरणका लागि पठाएका छौँ । अहिले स्थानीय तहले राहत वितरणको काम गरिरहेका छन् ।” प्रदेश सरकारले केही दिनअघि गाउँपालिकालाई रु पाँच लाख र नगरपालिकामा रु १० लाखका दरले राहत वितरणका लागि बजेट पठाएको थियो । रासस

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  १३:२८
प्रतिक्रिया दिनुहोस्