दाङ । सरकारले लकडाउन घोषणा गर्नुअघि दाङका अधिकांश कार्यालयहरुमा विद्युतीय हाजिरी नै प्रयोगमा थियो । तर कोभिड १९ को संक्रमणसँगै कार्यालयहरुले ई हाजिरी रोकेका छन् ।
कार्यालयमा उपस्थित हुने कर्मचारीहरुले रजिस्टरमा नै हाजिरी गर्न थालेका छन् । संक्रमणको समयमा ई–हाजिरीसमेत जोखिम मानिएकाले कार्यालयहरुले तत्कालका लागि रोकेका जनाएका छन् । ई–हाजिरी गर्दा एकै ठाउँमा धेरै जनाले औलाले ल्याप्चे लगाएझैं गरी हाजिर गर्न पर्छ ।
लमही नगरपालिकाले लकडाउनभन्दा अघि ई–हाजिरीको व्यवस्था गरेको भए पनि लकडाउनसँगै ई–हाजिरी रोकेको जनाएको छ । ‘ई–हाजिरी तत्कालका लागि रोकेको छौं’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र केसीले भने, ‘सहज वातावरण निर्माण नहुँदासम्म रजिस्टरमा नै हाजिर हुन्छ ।’
त्यसैगरेर राप्ती गाउँपालिकाले पनि तत्कालको लागि ई–हाजिरी रोकेको जनाएको छ । कार्यालयमा उपस्थित हुने कर्मचारीले रजिस्टरमा हाजिर गर्ने गरेका छन् ।
घोराही उपमहानगरपालिकाको कार्यालयका कर्मचारीले पनि हिजोआज रजिस्टरमा नै हाजिरी लगाउने गरेका छन् । ‘विगतमा ई–हाजिर गर्ने गरिन्थ्यो । तर, लकडाउनसँगै कार्यालयमा जाने कर्मचारीले रजिस्टरमा हाजिरी गरेका छौं’, उपमहानगरपालिकाका शाखा अधिकृत प्रेम केसीले भने ।
सरकारले लकडाउन गरेसँगै अत्यावश्यक कामबाहेक अरु सबै स्थगित नै छन् । सरकारले आफूभन्दा माथिको कर्मचारीको सम्पर्कमा रहेर काम गर्न कर्मचारीलाई निर्देशन दिएको छ । त्यो कारण पनि अधिकांश कर्मचारी कार्यालय जाने गरेका छैनन् ।
विगतका वर्षदेखि नै सूचना तथा सञ्चार प्रविधि मन्त्रालय मातहतको सूचना प्रविधि विभागले ई–हाजिरी प्रणालीमा आबद्ध हुन चाहने सरकारी कार्यालयलाई डिभाइस र सफ्टवेयर उपलब्ध गराउँदै आएको थियो ।
यस प्रणालीले उपस्थित कर्मचारीको व्यवस्थित हाजिरी संकलन र विदा तथा व्यक्तिगत सूचनाको केन्द्रीय व्यवस्थापन गर्ने र ई–हाजिरी प्रणालीमा आबद्ध भएका कार्यालयमा दैनिक कति कर्मचारी उपस्थित र अनुपस्थित भए वा विदामा छन् भन्ने आँकडा नियमित अपडेट राख्ने काम समेत गर्ने गरेको छ ।