site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अहिले गाउँमा छ मेरो मित्र 
Sarbottam CementSarbottam Cement

राजिन पनेरु


प्रिय मित्र !

काठमाडौंबाट कोरोनारहित नमस्कार ।

Prabhu Bank
Agni Group
NIC Asia

पत्र लेख्दाको मितिसम्म म सुरक्षित छु । आगे पनि सुरक्षित रहन सक्छु भन्ने पूर्ण विश्वास छ । तँ यतिबेला गाउँमा छस् । लकडाउनको दोस्रो रात एम्बुलेन्स रिजर्भ गरेर तँ गाउँ पुगेको खबर तैंले नै ‘मुहारपुस्तिका’मा पोस्ट्याएपछि थाहा पाएको हुँ । पर्सिपल्ट तेरो फोन आयो, ‘‘तँ अभैm पनि काठमाडौंमै छस् ? मर्लास् !’’

त्यो दिन तँलाई मैले जवाफमा भनेको थिएँ, ‘‘गाउँमा पुगेछस् । बाँच्ने भइस् । बधाई छ । शतायू बाँचेस् ।’’

Global Ime bank

त्यसपछि हामीबीच कुनै संवाद भएन । मलाई थाहा छ तैंले मेरै लागि भनेको होस् । तर पनि तेरो भनाइमा खास थियो । गाउँ र सहरका बीचमा कुनै दिन तेरो र मेरो चर्काचर्की वहस चलेको आज ताजा भएको छ । मैले बिर्सिएको छैन त्यो दिन ‘मुहारपुस्तिका’मा मैले गाउँमा घाँस काटेको तस्बिर पोस्ट्याउँदा तैंले मलाई पाखेपनको डाइलग प्रहार गरेको । तँसँग जति पुरुषार्थ सहरमा बस्नु वा घर बनाउनुमा थियो त्यति नै घृणा गाउँले जीवनसँग । 

तैंले धरातल बिर्सिसकेको थिइस् । जन्म दिने आमाबुबा, इष्टमित्र र पूर्खाको पदचिह्न बोकेको त्यो प्रिय आदिम धर्तीलाई तैंले यसरी लत्याएको थिइस् कि कहिल्यै त्यो तेरा निम्ति योग्य हुने छैनन् । तर तँ आज सहरबाट एकाएक त्यही माटोमा जोतिन पुगेको छस्, जहाँ तेरो जीवनको एक कालखण्ड कुनै समय सबैभन्दा सुरक्षित र सर्वप्रिय भएर बितेको थियो । आज तेरो हृदय र विवेकले यो निष्कर्ष निकालेको छ कि, ‘जीवनको सुरक्षा कहीँ कतै छ भने यही माटोमा छ ।’ बाआमाका रगत र पसिना, पूर्खाको इतिहासले सिञ्चित त्यही माटो, त्यही हावा, त्यही पानीमा तैंले आज जीवनको हरियाली पाएको छस् । धन्य महसुस गर्दै होलास् ।     
     
०००
घर सुरक्षाको अर्को नाउँ हो । तर सबै घरहरूले सुरक्षा प्रदान गर्न सक्दैन । जस्तो कि तँसँग सहरमा भएको घरले तँलाई पत्याएन । तँ सहरमा बस्दा सुरक्षित हुने देखिनस् र त रातारात पलायन भइस् । तैंले धन कमाइस् । प्रतिष्ठा कमाइस् तर सहरमा विश्वास कमाउन सकिनस् । सायद सहरप्रति विश्वास हुन्थ्यो भने तँ रातारात ‘थातथलो शरणम् गच्छामि’ गर्दैनथिस् । हुन त तेरो सहरी घरमा पनि सुरक्षित झ्याल–ढोकाहरू थिए होलान् । सिङ्गमरमरले कुँदेको, अनेकौं बुट्टा हानेको, झुमर लाइटहरूले रङ्गिएको, घरभित्रै पाइखाने जडित, मानौं स्वस्थानीमा मय दानवले निर्माण गरेको मयपुरजस्तै अनेकौँ कलाले पूर्ण भएको । तथापि यी विचित्र वस्तुले सजिएको घरलाई मालिकविहीन बनाएर आज तँ बाआमाले रोइकराइ माटोले टालेर, टिनले छाएर जसोतसो काल पर्खिरहेको घरलाई अँगाल्न पुगिस् । यो अर्थमा तँ गज्जबको प्राणी होस् । तँलाई यसैगरी खान पुगोस् । लाउन पुगोस् । शुभेच्छा !  

प्रिय मित्र, मैले तँलाई यसो भनिरहँदा सहरमै जन्मिएर सहरमै हुर्किएका कयौं पाठकले पनि यी हरफहरू पढिरहेका हुनेछन् । पाठकवृन्द, यो मैले त्यो व्यक्तिलाई भनिरहेको छु, जसले जीवनमा सहर र गाउँका बीचमा ठूलो दुरी कामय गर्न खोज्यो । जति नै कुरुप भए पनि जति नै अविकसित भए पनि जन्म दिने आमा र जन्मभूमि सर्वप्रिय हुन्छ । सबै कुरा पैसाले किन्न मिल्ला तर यी दुई चिज कहिल्यै किन्न सकिँदैन र साँच्चै भन्दा यिनको कुनै मूल्यसँग तुलना नै हुँदैन ।  
०००
गाउँघरका बीसौं रोपनी वनमारा फुलाएर सहरमा तीन–चार आनामा घर बनाएको ‘गर्व’ गर्ने तँलाई चार महिनाको ‘गर्भ’ बोकेर रातारात कुलेलम ठोक्ने दिन आउनेछ भन्ने कहिल्यै हेक्का भएन । तँ अभैm पनि ढाकछोप गर्दै होलास््, ‘डरले होइन गाउँघरको माया लागेर आएका हौं ।’ यो अक्सर सन्ततिले आमाबुबा सामुन्ने दर्शाउने गज्जबको डाइलग हो । 

प्रिय मित्र, म आज तँलाई कुनै आदर्श पाठ सिकाउन खोजिरहेको छैन । मात्र यी हरफ र तेरो माध्यमबाट हजारौं गाउँ छोडेर सहर छिरेका सन्ततिलाई केही स्मृति ताजा गराउने यत्न गर्दै छु । 

वास्तवमा जन्मस्थान चाहे त्यो गाउँ होस् या त सहर, हामीहरूको आदिम विश्वास हो । जहाँ हामीले पहिलो पाइलो टेक्यौं, जहाँ हामीले हाम्रो बाल्यकाल बितायौं, वास्तवमा त्यो हाम्रो भरोसा हो । मानिसले विश्वास त्यही ठाउँलाई गर्दछ, जुन भूगोललाई उसले हरघडी स्पर्श गरिरहेको हुन्छ । गाउँ पुगेका मित्रजस्तै हजारौं मित्रहरू ! आज तपाईंहरू जुन भूगोलमा रमाइरहनुभएको छ, जसलाई मरणको विपरीतार्थी जीवनको साक्ष्य ठान्नुभएको छ, त्यो वास्तवमै हामीले भुलेर गएको तर उसले सम्झिरहेको असल मित्र हो । असल साथी त्यो हो, जसले तपाईंलाई दुःख–सुखमा समभावले सहयोग गरिरहन्छ । आज हाम्रो माटोले हामीलाई त्यही गरिरहेको छ, जुन तपाईंको असल मित्रले गर्छ । 

प्रिय मित्र, तँलाई मैले धेरै ठाउँमा ‘प्रिय’ शब्दले सम्बोधन गरिरहेको छु । आलेखमा खर्चिएका शब्द अप्रिय लागे पनि सम्बोधनार्थ प्रयोग प्रिय शब्दले चित्त बुझाउनू ।

समय सबैभन्दा ठूलो अस्त्र हो । समयले एउटै व्यक्तिलाई रत्नाकर र बाल्मीकि बनाउँछ । यी दुईमा कुन रोज्ने व्यक्ति स्वयम्मा भर पर्छ । आज समयले हामीलाई यही पाठ सिकाएको छ । विश्व यतिबेला चरम सङ्कटको घडीमा छ । हिजोसम्म अस्त्रशस्त्रको होडबाजीमा आपूmलाई विज्ञानी युगको सर्वशक्तिमान नायक मान्नेहरू अदृश्य भाइरसका कारण हायलकायल भएका छन् । 

यस्तो लाग्छ, यति बेला अघोषित तेस्रो विश्वयुद्ध चलिरहेको छ । परन्तु यस युद्धमा बम, बारुदको गन्ध होइन कोरोनाको मन्द विष तेज गतिमा पैmलिरहेको छ । मानिसहरू समयको पञ्जामा नियतिको डोरीले बाँधिएर टुलुटुल हेर्न विवश छन् । थाहा छैन अझ यो दृश्य कतिञ्जेल नियाल्नुपर्नेछ ! यो महाविपत्तिको घडीमा आत्मानुशासनमा बस्नु शिवाय हामीसँग केही पनि छैन । 

०००
“ज्ञान मर्दछ हाँसेर रोई विज्ञान मर्दछ”, बालकृष्ण समकृत ‘प्रह्लाद’ नाटकको प्रस्तुत भनाइसँग नजिक हुँदा यस्तो लाग्छ, दुवैको ‘मृत्यु’ एउटै केन्द्र भए पनि विज्ञानको मृत्यु ज्ञानको मृत्युको तुलनामा डरलाग्दो र कारुणिक हुन्छ । हामी अहिले यही मृत्युलाई आत्मसाथ गरिरहेछौं । ‘अहं ब्रह्मास्मि’को मर्म नबुझेर पूर्खाका सबै विधिविधानलाई कुसंस्कारको सङ्ज्ञा दिने विज्ञानी पुस्ताहरू मृत्युसँग जुधिरहेछन् । हामीले पुर्खाका पदचापलाई यदि सही तरिकाले विश्लेषण गर्न सक्थ्यौं भने आज यस्ता विपत्तिहरू सायदै आउँथे । 

मृत्यु अन्तिम सत्य हो । सत्य हो भनेर हामी यसलाई अपनाउन सक्दैनौं । मनोविज्ञानीहरू भन्छन्, आत्महत्या गर्नुपूर्व पनि व्यक्ति निकै सचेत भएर मृत्यु योजना बनाइरहेको हुन्छ र पटक–पटकको यत्नपछि मात्र ऊ आपूmलाई मार्न सफल हुन्छ । जसलाई हामी आत्महत्याको दुःखद् सङ्ज्ञा दिन्छौं । सार यो हो, हामी कोही पनि मर्न चाहँदैनौं तर मृत्यु र जन्म कसैको अधीनमा रहँदैन । चाहे पूर्वीय होस् या त पश्चिमी, दुवैतिरको दर्शनले जन्ममृत्युलाई राम्रोसँग पर्गेलेका छन् । हामी यही मृत्युबाट जोगिन सकेसम्म भागिरहेका हुन्छौं ।  
०००
    
रुसी कथाकार लियो टल्स्टयको कथा ‘हाउ मच ल्यान्ड डज अ म्यान निड’को पात्रजस्तै अन्ततः नि–धन भएर संसार छाड्छौं । जति नै ठूलो महत्वाकाङ्क्षा बोके पनि, संसार नै आफ्नो बनाए पनि अन्ततः जाने भनेको रित्तो हो । यही सत्य बुझ्न सकेको भए यसरी महाविपत्तिहरूले मानव समुदायलाई त्राहीमाम बनाउने थिएन । मानवता लिलामीमा जाने थिएन । यसर्थ प्रिय मित्र, आजको समय हाम्रा पूर्खाका बारेमा सोच्ने समय पनि हो । तिनको जीवनपद्धतिलाई विश्लेषण गर्ने समय पनि हो । 

आज हामी हाम्रा सन्ततिलाई जुन पाठ सिकाइरहेका छौं, यस्तो लाग्छ, हाम्रा सन्ततिका प्रत्येक सङ्कथनहरू कृत्रिमताको चाङमा चुलिएका छन् । उनीहरूलाई प्रकृतिको लीला पठन गराउने समय हामीले कुनै कृत्रिमताको पाठ कण्ठ गर्न उर्दी जारी गरेका छौं । यति बेला हजारौं बालबालिका बाआमाको साथमा गाउँमा छन् । फन पार्क र चिडियाखानाको सीमित घेराभित्र बन्धक प्रकृतिसँग जिस्किएका हाम्रा सन्ततिलाई प्रकृतिसँग नजिक हुने ठूलो अवसर मिलेको छ । कोरोना यस अर्थमा हाम्रा लागि सकारात्मक पाठ बनेर आएको छ । 

प्रिय मित्र, तेरो जीवनसाथी यति बेला दुई जिउकी छिन् । उनी सहरमा जन्मिएकी र यहीँ सभ्यतामा हुर्किएकी पात्र हुन् । उनलाई तेरो गाउँको प्राचीन बिम्बसँग उति ख्याल नहोला जति तँलाई छ । तिनको खुब ख्याल गर्नू । तिनलाई तेरो मातापिताका जीवनपद्धतिका बारेमा पाठ सिकाउनू । ग्रामीण जीवनको यथार्थ चित्र उनको मस्तिष्कमा कोरिदिनू । गाउँले जीवन कति सहज छ ? तिनको दैनिकी कति कष्टकर छ ? रहरले गाउँमा बसेका छन् कि बाध्यताले ? हाम्रा विगत यस भूमिमा कसरी बितेको थियो ? यी सबै प्रश्नको जवाफ खोजिदिनू । घर नजिकैको पराले टौवा, खरबारीका डिलमा हुर्किएका खनिमका बुटाहरू, जङ्गमा पाक्दै गरेका तिजूँ–ऐँसेलुका दानाहरू, निम, कटुस, बादुलपातेका पातहरू, घोडताप्डेका जराहरू, सिल्टिमुर, पाँचऔँले आदि जडिबुटीहरूसँग साक्षात् गराउनू । बाआमाले पानी खाने कुवाको आदिम कथा । झाँक्रीबाको टुनामुना । कुटिनी बुढीका साक्षात् कथा । यी सबै कुरा जीवनसङ्गीनीका माध्यमबाट तेरो सन्तानले भोलिका दिनमा बोध गर्न सकून् । किनकि तँलाई राम्ररी थाहा छ, आमाले बुझ्नु भनेको छोराछोरीले बुझ्नु हो ।  

मेरो मित्रलाई मात्र होइन, उसैगरी गाउँ पुगेका हजारौं बालबालिकाका बाआमाले पनि यतिबेला आफ्ना बच्चालाई यो सिकाउनू, भात दाउरामा पकाइन्छ । दाउरा जङ्गलमा पाइन्छ । भैंसीले कुँडो खान्छ । दुध डेरीमा होइन भैंसीगोठमा पाइन्छ । दुधबाट मोही बन्छ । ठेकीमा राखेर मोही मथिन्छ । घर नजिकैको धन्सार, धन्सारमा उक्लने काठको लिस्नो, हजुरआमाले प्रयोग गर्ने सन्दुस, तेल राख्ने गरियो, घिउ हाल्ने थुर्मे, हजुरबाले खेत जोत्ने हलो, हल्लुँडो, अनौ, बाउसो, पधेँराबाट पानी ल्याउने डोको, थुन्से इत्यादि । तिनै चिजको चित्र उनीहरूले आफ्नो कलिलो मस्तिष्कमा कोरुन् जहाँ हाम्रो पुर्खाले आफ्नो जीवन कथा कोरेर गएका थिए । त्यही प्राचीन रसहरूले हाम्रा बच्चाहरूको हृदय भरियोस्, जहाँ हाम्रा आफ्नाहरूको रगत र पसिना पोखिएको थियो ।

हाम्रा बच्चाहरूले यो कुरा बुभूmन्, ‘प्रिय हजुरबा, हजुरआमाहरूको पट्पटी फुटेका हातखुट्टाका रेखाहरू मेरा पितामाताले बाँचेको वर्तमान हो । यही वर्तमानको रेखामा दौडिएर हामीले हाम्रो भविष्य कोर्नु छ ।’ 

०००
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘शाकुन्तल’ महाकाव्यबाट एउटा पङ्क्ति साभार गरेँ, 
“मीठो लाग्छ मलाइ ता प्रियकथा प्राचीन संसारको, 
हाम्रो भारतवर्षको उदयको हैमप्रभासारको ।। 
जाडामा पनि कोयली कुसुमका बास्नाहरू सम्झिँदै, 
फर्केलान् दिन फेरि उत्तर भनी बस्छे अकेली रुँदै ।।” 

यही पङ्क्तिको सारभैंm हाम्रा बच्चाहरूले हाम्रा प्राचीन कथाहरूलाई श्रवण गरुन् । केवल मिथकीय श्रवण मात्र होइन, त्यसभित्रको ज्ञान र विज्ञानलाई छुट्याउन सकून् । हाम्रा वनजङ्गल, नदिनाला, पहाड–पर्वत, जडीबुटी, परम्परा, संस्कृति, सभ्यता आदिको अनेक गन्धले हाम्रा पुस्ताहरू तन्दुरुस्त होऊन् । चराको विष्टाबाट पीपल उमार्न सक्ने माटोलाई विकासको नाउँमा जर्जर नबनाऔं । 

विश्व कोरोना कहरमा हायलकायल भएको बेला बाआमाका घरदैलामा मानौं एउटा उत्सव आएको छ । यस अर्थमा कोरोना धन्यवादको पात्र भएको छ । सायदै यस्तो सङ्कट आउँदैनथ्यो भने यति लामो समय तिनका काखपोल्टामा सर्वप्रिय नातिनातिना रमाउँदैनथे । बाआमाहरू जहिल्यै सङ्कट बोकेर बाँचेका छन्, सहर जाऔं, भैंसी–बाख्रा कसले हेरिदिने ? नातिनातिनाको मुहार हेर्ने कुनै इन्टरनेटको सुविधा तिनलाई छैन । सहर बसेका सुविधा सम्पन्न छोराबुहारी फोनमा बोल्न समेत दिक्क मान्छन् । मानौं बाआमाको प्रत्येक बोलीमा गाउँको नमिठो गन्ध आइरहेको छ । 

समय बदलिएको छ । अब फोहोर नै जीवन जिउने ‘मोहोर’मा रूपान्तर भएको छ । हिजोसम्म ऊ तिम्रा गाउँका बा, गाउँका आमा भन्ने बाआमाले पनि आज तिनै गाउँका बाआमालाई ‘मारे पाप, पाले पुण्य’ भनेर जीवनको भारी बिसाएका छन् । विचरा बाआमा, सन्ततिका सारा वैगुणलाई बिर्सिएर, गुण सम्झेर आइपुगेको चरीभैंm, ‘अब केही हुन्न, जसोतसो गरेर भकारी भरेका छौं पेट पालिन्छ’, भन्दै जीवनको शितलता छर्किरहेका छन् । 

०००
प्रिय मित्र, तँजस्तै वसन्त ऋतुको फेर पक्रिएर हजारौं युवा आफ्नो पुख्र्यौली थलामा आएका छन् । तिनका दिन मोजमस्तिमा होइन, बाआमाका तिनै थातथलो सिँगार्न बितोस् । बाआमाको चरचरी चिरिएको हातखुट्टामा केही समय भए पनि मलम लगाउन सकून् । वर्षौंदेखि जर्जर परेका गह्रा–कान्लाहरू खन्ने–जिलाउने र केही फलाउने मौका हामीलाई प्रकृतिले दिएको छ । के थाहा, भोलि कुन सङ्कटले हामीलाई पुनः गाउँ फर्काउने छ ! त्यति बेला सहरका आनाले गाउँका रोपनीमा धपाउनेछ । समयले लगाएको घाउ समयले नै पुर्दछ । यो प्राकृतिक नियमलाई आत्मसाथ गरेर मानवताको रक्षा गर्ने बेला हो । दैलामुनिको बारी बाँझो राखेर परदेशी भएका लाखौं सन्ततिलाई कोरोना कहरले आफ्नै थातथलोमा फर्कन आग्रह गरेको छ । जीवनको लयमा सिर्जनाको मूल फुटाउने बेला आएको छ ।  

मित्र, मलाई अझ पनि भरोसा छ । तैंले भने जस्तो मर्ने स्थिति म देख्दिनँ । म सचेत छु । हामी सचेत बनौं । मृत्यु सहज हाम्रो मार्गमा आउने छैन । जीवन र मरण हाम्रो प्रारब्धले निर्माण गरे पनि कतिपय सन्दर्भमा मृत्युको कारक मनुष्य आपैंm बन्न जान्छ । कारक बन्नतिर हामी नलागौं । अन्त्यमा, शतायू बाँच्न सक्ने कवि माधव घिमिरेको जीवनबोधी यो कवितांश सापटी लिँदै तँलाई पनि शताब्दी बाँच्ने शक्ति मिलोस् भन्दै यो मित्र लेखनी अन्त्य गर्दछ :

    बोक्रा फेरीकन समयले घाउ सारा पुरिन्छन्
    मौरी आई मधुपवनमा सुन्तलामा धुरिन्छन् ।।
    कस्तूरिले गिरिवन घुमी खोज्छ आफ्नै सुगन्ध
    हुन्नन् कैल्यै कुसुम वनमा प्रीतिको गीत बन्द ।।  
 
          


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  १०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC