बाह्रखरी
sticky  ncell
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
मनाइयो रामनवमी 
बाह्रखरी - बिहीबार, चैत २०, २०७६
Laxmi Bank
Laxmi Bank

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइएको छ ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामले त्रेता युगमा आदर्श राजाका रुपमा पुर्‍याएको योगदानको सम्झनामा रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा देशभर रहेका भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिएको छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी ‘लकडाउन’का कारण भक्तजनले भने घरमै बसेर पूजा आराधना गरेका छन् । धेरै भक्तजन राममन्दिर जान पाएनन् ।

विगत वर्षमा आजका दिन जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्ने गरेकामा यस वर्ष दुवै देशमा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न लकडाउन गरिएकाले मन्दिर बाहिर सुनसान देखिएको जनाइएको छ । प्राचीनकालदेखि नै विवाह पञ्चमी र रामनवमीमा दिन जनकपुरमा भारतका धार्मिक पर्यटकको भीड लाग्ने गर्छ ।

Rohto Landing

Agani Group

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा भगवान् विष्णुको अवतार लिएर श्रीरामको जन्म भएको थियो । पुत्र नहुँदा दुःखी रहनुभएका राजा दशरथले ऋषि बसिष्ठको सल्लाहमा पुत्रेष्टि यज्ञ गरेपछि तीन रानीबाट चार पुत्रको जन्म भएको थियो ।

जनताको भावनाअनुसार शासन गर्ने विष्णुको अवतारका रुपमा मनुष्य लोकमा जन्म लिइ आदर्श शासन गर्नुभएका राजा रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मिकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने एवं पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

sarbottam cement

आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने विषय ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मिएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेका थिए । उनले संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेको किंवदन्ती छ । 

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम ‘लोक रञ्जनात् राजा’ अर्थात् जनतालाई खुशी राख्नसक्ने राजा हुनुपर्छ भन्ने शास्त्रीय मान्यतालाई श्रीरामले पूरा गरेको बताउँछन् । त्यसैकारण रामको जीवनबाट अहिलेका शासकले शिक्षा ग्रहण गर्नुपर्ने उनको सुझाव छ ।

रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायण लगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ । आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

यस वर्ष लकडाउनका कारण बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति आर्यघाट पारिको राममन्दिर, गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राममन्दिरलगायत स्थानमा लाग्ने मेला स्थगन गरिएको थियो । ती मन्दिरमा रामनवमीका अवसरमा परम्परादेखि गरिने गरेको विशेष पूजा भने गरिएको जनाइएको छ । -रासस

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, चैत २०, २०७६ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्