एजेन्सी । लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले पछिल्लो एक दशक विश्व फुटबलमा हलचल मचाए । तर, दुई पटकका विश्व विजेता काफुले नेयमार विश्वकै उत्कृष्ट टेक्निकल खेलाडी भएको बताएका छन् ।
“रोनाल्डो र मेस्सी भन्दा प्राविधिक रूपमा नेयमार उत्कृष्ट खेलाडी हुन् । नेयमार भन्दा उत्कृष्ट खेलाडी कुनै पनि छैनन् । म उनको ठुलो प्रशंसक हुँ ।” काफुले भने, “विश्वले चाहेको विषय भनेको नेयमारले फुटबल खेलिरहुन् भन्ने हो । किनकि उनले आफूलाई फुटबलमा पूर्णरूपमा समर्पण गरेका छन् ।”
नेयमारले पीएसजीका लागि लिगवानमा १३ गोल गरेका छन् । जबकी मेस्सीले बार्सिलोनाका लागि लालिगामा १९ गोल गरे । नेयमार फ्रान्समा आफ्नो तेस्रो सिजन बिताउँदै पुनःबार्सिलोना फर्किने संकेत देखाएका छन् ।
बार्सिलोना नेयमारलाई फर्काउन फीफा नियमको प्रयोग गरिरहेको रिपोर्टमा उल्लेख छ । यता क्लबले पनि नेयमारका लागि ढोका खुला गरेसँगै नेयमारले पनि आफु बार्सिलोना फर्किन खुसी रहेको बताएका छन् ।