आफन्तको मृत्यु शय्यामा स्वाथ्यकर्मीमात्र नहुन् ! 

युरोपेली देश स्पेन र इटालीको अवस्था साह्रै डरलाग्दो हुँदै गएको छ । कोरोना संक्रमण र मृत्युको दर बढ्दै जाँदा मृत्यु शैयामा भएकाहरू आफन्तको हैन कुनै अपरिचित नर्स वा स्वास्थ्यकर्मीको हात समाएर अन्तिम सास गन्दैछन् । आफन्तहरू घरमा बसेर तिनको पीडामा साथै हुन नपाएकोमा पीडित छन् तर संक्रमणको डरले घरबाट निस्कनसक्ने अवस्थामा छैनन् । नेपालका युवालाई यो अवस्था नआओस् । आफू घरबाट बाहिर निस्कन नसक्ने अनि आफन्तलाई अस्पतालको जिम्मा लगाएर मृत्युको समाचार पर्खनुपर्ने दिन नआओस् । 

सरकारले अहिले जे गरिरहेको छ सो गर्नैपर्ने काम हो भन्ने सर्वसाधारणलाई विश्वास नभएसम्म सबैजना जिम्मेवार हुने अवस्था आउँदैन । काठमाडौंमा कतिपय स्थानमा समूहमा बसेर गफ गर्ने, चिया कफी पिउने र फुर्सदको समयमा नातेदार भेट्न जाने प्रक्रिया चली नै रहेको छ । सार्वजनिक यातायात चलिरहेको छ र त्यसमा अटिनअटी सिटभरी यात्रु बसिरहेका छन् । यो अर्को ठूलो दुर्घटना निम्त्याउने कारण हुनसक्छ ।

आज बिहानीको हिँडाइको क्रममा पशुपति नजिकै पिङ्लास्थानमा करिब १५–२० जना मान्छे लाइन लागेर देवताको पूजा गर्दै गरेको देखेर आश्चर्य लाग्यो । बाटोमा एकदमै कम व्यक्ति, सबै मुखमा मास्क लगाएर एक अर्कासँग एउटा दुरी राखेर हिँडीरहेको अवस्थामा पिङ्लास्थानमा भने एउटा समूह एकदमै नजिकबाट लाम लागेर मुखमा मास्क पनि नलगाई पूजा गर्दै रहेछ । साधारणतया अन्य दिन त्यो मन्दिरमा एक पल्टमा एकजनाले पनि दर्शन गरिरहेको हुँदैन । किन रहेछ भनेर बुझेको पशुपतिनाथको जात्रा सुरु भएको रहेछ । यो पूजा सोही जात्राको एउटा कडी रहेछ । स्थानीय बासिन्दा सबैले जात्राको क्रममा पिङलास्थान र बत्छलेश्वरीको पूजा गर्नुपर्ने रहेछ । सिफलको चौरमा तीनपल्ट रथ जुधाएपछि पशुपतिको जात्रा समाप्त हुने र काठमाडौंका अन्य जात्रा सुरु हुने रहेछ । परन्तु,संकटको अवस्था हेरेर यस्तो पूजाआजालाई समयमै कम नगर्ने हो भने नेपालमा पनि स्पेन र इटलीको अवस्था नआउला भन्न सकिँदैन । 

यो लेख लेख्दालेख्दै स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेरै फ्रान्सबाट कतारहुँदै आएकी एक १९ वर्षीया नेपाली युवतीमा कोरोनाको संक्रमण देखिएको पुष्टि गरेको छ । यो एउटै सूचनाले सम्पूर्ण स्वास्थ्य क्षेत्रलाई हल्लाएको छ । अबको अवस्था अत्यन्त संवेदनशील हुनसक्छ । 

साधारणतयाः युवा व्यक्तिमा यो भाइरसको असर धेरै नदेखिएको कारणले धेरै युवा यो भाइरससँग नडराउने प्रवृत्ति पनि देखिएको छ । समस्या आफूलाई सर्ने वा नसर्नेमा सीमित रहेन । कुनै पनि व्यक्ति कोरोना संक्रमणको लक्षण नदेखिइकन पनि सो भाइरस बोकेर हिँडेको हुनसक्ने र उसले अरुलाई सार्न सक्ने हुँदोरहेछ । यस्तो अवस्थामा मलाई केही हुँदैन वा भएको छैन भनेर असुरक्षित ढंगले बाहिर निस्कने, अरुसँग सम्पर्कमा बस्र्ने व्यक्ति नै रोगका मुख्य वाहक हुनसक्छन् ।

कोरोना संक्रमणको विषयमा धेरैले नबुझेको वा मनन गर्न नचाहेको विषय के हो भने यो रोग आफैँमा अत्यन्त सशक्त ज्यानमारा रोग होइन । यो रोग लागेका ८० प्रतिशत व्यक्तिलाई आफैँ निको हुनसक्छ । २० प्रतिशतलाई औषधि र विशेष हेरचाहको जरुरी हुन्छ भने सो २० प्रतिशतमध्येको एक चौथाइसम्मलाई आईसीयूमा अक्सिजन दिनुपर्ने वा भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले साधारणतया यो रोग लागेको खण्डमा स्वस्थ र कम उमेरका व्यक्ति धेरै डराउनु पर्दैन । 

डराउनै पर्ने विषय चाहिँ एकैपल्टमा अनगिन्ती जनालाई यो भाइरस सर्नसक्छ भन्ने हो । अर्थात्, यस रोगमा मृत्यु दर इबोलाकोजस्तो डरलाग्दो नभए पनि यसको फैलावट सबैभन्दा डरलाग्दो पक्ष हो । नेपालमा आज कोरोनाको संक्रमण एक व्यक्तिमा देखिएको छ (पहिलो संक्रमण देखिएको व्यक्ति निको भइसकेका छन्) । तर, एक व्यक्तिमा देखिनुको मतलब तिनले धेरैजनामा सारिसकेको प्रमाण हो । आज एक जना देखिँदा एक सातामा नै यो संख्या सयौं र हजारौंमा पुग्न सक्छ । यसरी बढेर गयो भने नेपालमा ती बिरामीलाई हेरचाह र उपचार गर्न न त स्वास्थकर्मी नै पुग्छन् न अस्पतालका बेड र भेन्टिलेटर नै । 

एउटा अनुमानअनुसार अहिले सरकारसँग करिब २०० भेन्टिलेटर होलान् र निजी क्षेत्रमा करिब त्यति नै होलान् । तर, ती भेन्टिलेटर हरेक दिन आउने अन्य रोगका बिरामीलाई उपचार गर्नमै पुगेका छैनन् । अर्थात्, कोरोनाको संक्रमणबाट आएकाका लागि हामीसँग थप भेन्टिलेटर छैनन् । एकैदिन १०० भन्दा बढी बिरामीलाई भेन्टिलेटरको उपचार दिनुपर्‍यो भने नेपालको स्वास्थ सेवामा ठूलै दबाब पर्ने स्थिति देखिन्छ । अर्कोतिर संक्रमण नियन्त्रण गर्न समयमै ध्यान दिइएन भने एकैदिनमा हजारौंलाई उपचार चाहिने अवस्था आउन सक्छ । यस्तो अवस्थामा नेपालको कुनै पनि स्रोत र साधनले साथ दिन सक्तैन ।

त्यसैले, आफू स्वस्थ छु वा आफूलाई कोरोनाको संक्रमण हुँदैन भन्ने सोच राखेर कोरोना फैलाउने कारक बन्दै हिँड्नु हुँदैन । हरेक व्यक्ति सुरक्षित तवरले आफूलाई घरभित्र थुनेर बसेको खण्डमा कोरोनाको प्रकोपलाई नियन्त्रण गर्न सकिन्छ । संक्रमित व्यक्तिले छोएका फलामे वस्तु होस् वा कागज, कपडा आदिमा यो भाइरस धेरै घन्टासम्म जीवित रहन सक्छ । सो संक्रमित व्यक्तिमा रोगको लक्षण नदेखिईकन कैयौं घरमा उसले रोगको आगो सारिसकेको हुनसक्छ । 

अर्कातिर, आर्थिक क्रियाकलापका कारणले पनि कतिपय व्यक्ति घरबाट निस्कनुपर्ने अवस्था छ । तिनले एकदमै सावधानी अपनाउनुपर्ने र कुनैपनि अन्य व्यक्तिको सम्पर्कबाट टाढा रहनुपर्छ । सबैजना घरबस्दा आर्थिक अवस्था जर्जर हुनेमा शंका छैन । त्यसैले सरकारले आर्थिक सहायताको प्याकेज चाँडोभन्दा चाँडो घोषणा गर्नुपर्छ । जनतालाई कुनै प्रकारको सहायताको प्याकेज आएको विश्वास भएमा सरकारले लगाएको अनुशासन र नियम पनि सहजै मान्ने अवस्था सिर्जना हुन्छ । 
 

 

प्रतीक प्रधान

प्रतिकृया दिनुहोस
ad