Skip Advt.

शासकको हठमा पिल्सिएका जनता

दुवै देशका जनताले शासकहरूको सनक र हठको मूल्य चुकाउनु परेको देखियो ।

संयुक्त राज्य अमेरिकाले कोरोनाभाइरस (कोविड–१९)को  संक्रमणको रोकथाममा दिन खोजेको सहयोग इरानले अस्वीकार गरेको छ । विश्वव्यापी महामारी कोरोनाभाइरसको चर्को संक्रमणमा पर्ने मुलुकमा इरान र अमेरिका दुवै छन् । अमेरिकामा २६ हजारभन्दा बढी संक्रमित भएका छने भने आधाभन्दा बढी राज्यमा फैलिइसकेको छ । कोरोनाबाट ज्यान गुमाउनेहरूको संख्या ३४० पुगेको छ । इरानमा चीन र इटालीपछि सबैभन्दा बढी कोरोनाभाइरस प्रभावित मुलुक हो । इरानमा संक्रमितको संख्या २१ हजार ६३८ पुग्दा १ हजार ६८५ जनाको मृत्यु भइसकेको छ । अमेरिका संसारकै ठूलो अर्थतन्त्र भएको विकसित मुलुक हो । तर, कोरोनाको संक्रमण नियन्त्रण गर्न भने असक्षम देखिन थालेको छ । इरान पनि संक्रमण नियन्त्रण गर्नमात्र हैन उपचारको प्रबन्ध मिलाउन पनि असमर्थ देखिएको छ । संयोग, यी दुवै मुलुकका शासकहरू एकअर्काप्रति बढी नै असहिष्णु छन् । 

कोरोना भाइरसको संक्रमणमा इरानका अयातुल्ला अली खमेनेइ वा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष दिन मिल्दैन । तर, उनीहरूले बेलैमा यसको संक्रमण रोक्न आवश्यक प्रयास गरेको भए ती मुलुकका जनताले यति ठूलो संकटको सामना गर्नुपर्ने थिएन । अमेरिकी राष्ट्रपति ट्रम्पले कोविड–१९ को संकटलाई सुरुमा उपहासको विषय बनाए । उनले जति बेला संकटको गम्भीरता बुझे निकै ढिलो भइसकेको थियो । यो महाविपत्तिको सामना गर्न अमेरिकाले संसारको नेतृत्व गर्नुपर्थ्यो । तर, राष्ट्रपति ट्रम्पले त्यो अवसर गुमाए । सन् १९९० पछि विश्वको एकल केन्द्र बनेको र दुनियाँका सबै भागका मानिसहरूको ‘सपनाको देश’ अमेरिकाको साख राष्ट्रपति ट्रम्पका क्रियाकलापले गिराउन थालेको छ । 

कोविड–१९ को प्रकोप थेग्न नसकेका बेला सहयोगका लागि अमेरिकाले गरेको प्रस्ताव इरानले अस्वीकार गर्नु उचित थिएन । त्यसमाथि अयातुल्ला खमेनेइले सहयोग अस्वीकार गर्ने निहुँ ‘षड्यन्त्रको सिद्धान्त’लाई बनाएका छन् । इरानसँग राष्ट्रपति बाराक ओबामाको कार्यकालमा गरिएको परमाणु सम्झौता एकपक्षीयरूपमा खारेज गरेर इरानमाथि प्रतिबन्ध थप्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट इरान क्रुद्ध हुनु अस्वाभाविक होइन । तर, नागरिकहरूको ज्यान जोगाउने समयमा वैज्ञानिकरूपमा पुष्टि नभएको षड्यन्त्रलाई आधार बनाएर अमेरिकी सहयोग अस्वीकार गर्नु भने शासकको गैरजिम्मेवार अहंकारमात्र हो । यस्तै, संकटका बेलामा इरानमाथिको प्रतिबन्ध खुकुलो बनाएर सदाशय देखाउनु अमेरिका सुहाउँदो उदार व्यवहार हुन्थ्यो । तर, दुवै देशका जनताले शासकहरूको सनक र हठको मूल्य चुकाउनु परेको देखियो । राष्ट्रपति ट्रम्प र अयातुल्ला खोमेनेइले आआफ्नो महंकारभन्दा इरानी जनताको जीवनरक्षालाई महत्त्व दिने अपेक्षा गर्नु असम्भव लागे पनि अनुचित होइन । के अमेरिकाले मानवीय सदाशय देखाएर इरानमाथिको प्रतिबन्ध हटाएको र इरानले अमेरिकी मानवीय सहायता स्वीकार गरेको समाचार सुन्न पाइएला ? 


 

प्रतिकृया दिनुहोस
ad