गाँजाको गाँजिएको गफ 

डा. पुण्यसागर मरहट्टा

 गाँजाको गाँजिएको गफ 

मैले मेरा हजुरबा नामुद कविराजलाई चिन्ने मौका पाउँदा उहाँ सरकारी सेवाबाट निवृत्त भइसक्नु भएको थियो र गोरखा बजारको हाम्रो मूलघरमा आफ्नो निजी चिकित्सालय चलाउनु हुन्थ्यो । मसँग हजुरबाका  सम्झनामा आँगनभर सुकाइएका थरीथरीका जडिबुटी, दलिनभर झुन्ड्याइएका अनेकौं सेता पोका, ठूलाठूला घैलाजस्ता भाँडामा राखिएका रसद छन् । तत्कालीन ग्रामीण  परिवेश, तल छेपेटारतिरबाट हस्याङ र फस्याङ गर्दै हाम्रो आँगनको डिलमा आइपुगेका एक जना कुमाल बूढाको ‘‘बाजे रातभरि बाख्राले छर्यो, के गर्ने होला?’’ भन्ने प्रश्नको जबाफमा पिंढीमा तमाखु खाइरहनु भएको हजुरबाले सहज उत्तर दिएको याद छ –  गाँजा खुवाइदेऊ । ती कुमाल हस् भनेर फर्के । बाख्रालाई जाति भयो, भएन त्यो भने थाहा भएन । अहिले आएर के थाहा भयो भने गाँजामा औषधीय गुण हाम्रो आयुर्वेदले चिनेको रहेछ । 

सन् २०१४ जुनदेखि २०१८ अगस्टसम्म मैले क्यानडाको एउटा प्रान्तीय राजधानी सहरको नगर नियोजक (सिटी प्लानर) का रुपमा का मगर्ने मौका पाएँ । सन् २०१५ मा क्यानाडाको सङ्घीय चुनाव हुँदैथियो र त्यति नै बखत हाल सत्तारुढ लिबरल पार्टीले सन् २००१ मा औषधीय प्रयोजनका लागिमात्र वैध मानिएको गाँजा खेतीलाई र समग्रमा गाँजालाई मनोरञ्जनार्थसमेत कानूनी वैधता दिने कुरा उठायो, चुनाव जित्यो र सरकार बनायो । सरकार बनेपछि दुई वर्षभित्र निश्चित मात्रामा गाँजा प्रयोग गर्न पाइने गरी ऐन बन्यो । यसले गाँजासम्बन्धी केन्द्रीय नीति बन्यो । तर, प्रान्तीय नीति बनिसकेका थिएनन्, स्थानीय त झन् निकै पछि थिए । स्थिति अझै पनि अन्योलग्रस्त नै छ । तथापि, वैधतालाई एकांकी तथ्यका आधारमा हेर्दा क्यानाडामा यत्रतत्र सर्वत्र गाँजाघारी भएजस्तो भान हुन्छ जुन सर्वथा गलत छ ।  निश्चय नै त्यस समयदेखि यहाँसम्म आइपुग्दा म आफैँ पनि करिब चार हजार किलोमिटर पुर्व सरेको छु, जागिर सारेको छु र आर्कै प्रान्तमा छु । र, म हाल पनि क्यानाडाको एक स्थानीय सरकारको योजना शाखाको प्रमुखको रुपमा कार्यरत छु र अनुभव लेख्दैछु । क्यानाडा आफैँ गाँजामा गाँजिएको अवस्थामा छ ।

पश्चिमाहरु वा विकसित देशकाहरु हामी अल्प विकसित वा विकासोन्मुख मुलुकका मानिसजस्ता जियाला ( रेजिलिएन्ट) हुँदैनन् र चाँडै द्रविभूत र आतंकित भइहाल्छन् । क्यानाडेलीका हकमा समेत यही तथ्य लागू हुन्छ । सन् २०१५ को निर्वाचनको मेसोमा गाँजाको नारा आइरहेको बेला म कार्यरत सहरको योजना महाशाखा निर्देशकले आकस्मिक बैठक बोलाइन् र सोधिन् – हाम्रो पूर्वतयारी के छ ? के गर्नुपर्ने हो र कसो गर्दा समुदायको बृहत्तर हित गर्न सकिन्छ? राजनीतिक नेतृत्वले त दिशा निर्देशमात्र गर्ने हो हामी स्थायी सरकारले गुँढ र गोबर छुट्याएर नीति नियम बनाउन मद्दत गर्नुपर्छ । उनको हरेक वाक्यको अन्त्यमा एक प्रकारको हैरानी, बेचैनी र उदेक देखिन्थ्यो । बैठक पद्धति सराहनीय हुन्छ यताहुँदो । आफूलाई लागेको कुरो निर्धक्क भन्न पाइन्छ र प्रत्येकलाई बोल्ने मौका दिइन्छ ।

जब मेरो पालो आयो मैले भनें – गाँजा र ट्याटु दुई त्यस्ता कलंकित उपमाहरू छन् यहाँको समाजमा, दक्षिण एसियाली हुनुका नाताले र त्यसमा पनि एक हिन्दु हुनुको नाताले मेरालागि ती दुवै सांस्कृतिक पहिचान हुन् । करिब ३० जनाको त्यो बैठकमा सबै हलल्ल हाँसे । समग्रमा हिन्दुको विम्ब गँजडी र ट्याटु खोपुवाजस्तो बनेछ क्यारे । मैले सच्याएर भने – साथीहरु, अंग्रेजी मेरो दोस्रो भाषा हो, त्यसैले कहिलेकाहीँ सिधा अनुवादले अर्थको अनर्थ लाग्न सक्छ तर म केही पृष्ठभुमिसहित व्याख्या गर्न चाहन्छु र त्यसपछि मेरो कथन ठट्टाजस्तो नसुनिएला । म सुरु भएँ उही हाम्रो हजुरबा, आयुर्वेद र आयुर्वेदीय पद्धति अनि हाम्रो दैनिकीमा त्यसको अन्तरघुलनबाट ।

योगी शब्दको विवेचना, हठ योग र हट योगाको अन्तर, एकाग्रताका लागि गाँजाको प्रयोग र टुंग्याए औषधीय प्रयोजनको सर्वस्वीकार्यतामा लगेर । अब बैठक हाँसेन, उत्सुक भयो । मैले  भने – उता हाम्रा हरेक वैज्ञानिक आविष्कार आफ्नो शरीरमा प्रयोग गर्थे, जीवनमा प्रयोग गर्थे, त्यसभन्दा जोखिम के हुन्थ्यो होला र ? हरेक पटक मुसा वा बाँदरमा प्रयोग गर्नुभन्दा धेरै जोखिमयुक्त काम थियो त्यो, लामो अनुसन्धान चाहिन्थ्यो, गहन परामर्श हुन्थ्यो र मानवोपयोगी अनुसन्धानको लागि मानवीय प्रयोग वाञ्छनीय थियो । गाँजा त्यसैले विकट ओडार, पहाड कन्दरामा आफैँमाथि गरिएका लामा अनुसन्धान, लेखाजोखाका आधारमा गुणवेत्ता प्रमाणित भएपछि मात्र दैलोभित्र छिरेको थियो, सांस्कृतिकरुपमा स्वीकार्य भएको थियो । तपाईँहरुले प्रयोग गर्ने गाँजा र हाम्रो गाँजामा बुझाइको त्यति नै दूरी छ जति भौगोलिक । अरु त अरु, हाम्रो पहाडतिर त त्यसको बीउको चट्नी ( केचप) बनाएर रोटी चोपेरसमेत खान्छन् । त्यसको रेसाले भांग्रो बनाएर लगाउँछन् । गाँजा समग्रमा कलंक होइन । बैठक एकप्रकारले स्तब्ध भयो ।

त्यसै बैठकमा मैले ट्याटुसमेत दक्षिण एसियाली संस्कृति हो भन्ने जिकिर गरेँ । मैले भने – त्यो त्यहाँसम्म कसरी आयो मलाई यकिन छैन तथापि हिन्दु–मुसलमान युद्धताका नारी संरक्षणको अचुक उपाय बनेको भन्ने मैले पढेको छु । मैले बुझेअनुसार तत्कालीन मुस्लिम महिलाहरुको शरीरमा सियो रोपिए, रंग खोपिए, जुठो, अपवित्र मानिने प्रचलन थियो । त्यसैले सायद अहिले पनि कट्टर मुसलमान परिवारका महिला सदस्यहरुको नाक, कान छेडिएको हुँदैन । त्यसैले बलात्कार जस्तो जघन्य युद्ध अपराधबाट बच्न तत्कालीन हिन्दु महिलाहरु ट्याटु खोपाउँथे । यसको सबुद प्रमाण त मसँग छैन तर मैले कतै पढेको यो कथ्य कम तथ्य बेसी लाग्छ । त्यो बैठकपछि हाम्रो विभागले दुईवटा गहन निर्णय गर्यो –

१. गाँजा प्रयोगको नियमन गर्ने सुझाव दिन एक वरिष्ठ नगर नियोजकको नेतृत्वमा विनियम ( बाई ल) बनाउनेतर्फ अघि बढ्ने ?

२. ट्याटु सम्बन्धमा तथ्य अद्यावधिक गरी समयोचित नियमन खातिर विनियम बनाउन अध्ययन गरी प्रतिवेदन पेस गर्ने जिम्मा मलाई दिने । मेरो भागमा परेको काम तुलनात्मकरुपमा सजिलो थियो वा भनौ नियमले एक बचन बोलिसकेकै थियो । किनभने तत्कालीन अवस्थामा समेत ट्याटु खोप्ने कलाकारहरुलाई सीमित भू उपयोग क्षेत्र ( ल्याण्ड युज जोन )मा मात्र व्यवसाय गर्न पाउने छुट थियो । सो क्षेत्र भित्री बजारमा सीमित थियो जहाँको कोठाभाडा निकै महँगो र साना व्यवसायीलाई अत्याउने खालको थियो ।

ट्याटु कलाकारहरुको जिकिर थियो यो पेसा एक पोट्रेट पेन्टरको भन्दा, वा एक सुचीकारको  भन्दा वा एक हेयर स्टाइलिस्टको भन्दा के कति आधारमा पृथक छ? किन उनीहरुको व्यवसाय घरेलु उद्यम हुन सक्छ र हाम्रो हुन सक्तैन ? यी त्यस्ता प्रश्नहरु थिए जसको सहज जबाफ थिएन । सन् १९९२ मा बनेको ‘जोनिंग बाइ ल’ले निर्दिष्ट गरेका आधारमा भन्नुपर्दा ट्याटु एक कलंकरुपी कला थियो, पंकहरुको सौख थियो ।

यसबाहेक कुनै प्रष्ट खाका थिएन । त्यसमाथि क्यानाडामा जनस्वास्थ्य प्रान्तीय राज्यको अन्तर्गत छ र ट्याटु एक प्रकारको कलंकमात्र नबुझिएर जनस्वास्थ्यसँग समेत प्रत्यक्ष सरोकार राख्ने विषय पनि मानिन्छ । ट्याटुमा प्रयुक्त सुईबाट संक्रमण सर्न सक्ने जोखिम त रहन्छ नै । तसर्थ, प्रान्तीय सरकारसँग समन्वय नगरी यसै हो भन्न सक्ने अवस्था पनि थिएन । त्यसैले, मैले प्रान्तीय सरकारको जनस्वास्थ्य निकायसँग समन्वय गरेँ ।

प्रान्तीय जनस्वास्थ्य ऐनअनुरुप ट्याटु कला अन्य घरेलु व्यवसायजस्तै जनस्वास्थ्य निरीक्षकबाट निरीक्षण गरिने, प्रान्तीय स्वास्थ्य प्रमाणपत्र लिनुपर्ने र त्यसका लागि निर्दिष्ट मापदण्ड पूरा गरेको हुनुपर्ने रहेछ । यति यकिन भइसकेपछि सोही मुताविकका तथ्यसहित सामुदायिक परामर्श ( पब्लिक कन्सल्टेसन) गरियो । सामुदायिक परामर्श नगरी कुनै नीति, नियम, विनियम ल्याउन कुनै तहको सरकारलाई पनि अधिकार दिइएको छैन ।

पछिल्लो पुस्तामा ट्याटुको स्वीकार्यता छ कि छैन?  आगामी पुस्ताको हितमा ध्यान दिई विद्यमान  नीति, नियम संशोधन गर्नु उचित वा अनुचित के हुन्छ ? जस्ता तर्कका आधारमा सामाजिक संजालमार्फत सामुदायिक परामर्श गरियो । करिब ८२ प्रतिशतले ट्याटु अब कुनै कलंकको रुपमा नरहेको, अन्य घरेलु उद्यमभन्दा पृथक नहुने र समाजमा स्वीकार्य रहेको जबाफ दिएका आधारमा प्रतिवेदन बनाइयो ।

निश्चित तहगत छलफल हुँदै नगर परिषद्को बैठकमा पुग्यो र ट्याटु केही ‘पंक मोटरबाइकर्स’को  सोखमात्र नभई अहिलेको पुस्ता र आउने पुस्ताको लागि स्वीकार्य रहेको तथ्य, त्यससँग जोडिएको जनस्वास्थ्यबारे मिहीन अध्ययन तथा सम्भावित संक्रमणमाथि निश्चित नियन्त्रण रहेको र कर तिर्ने कलाकारलाई आर्थिक भार पार्नु अनुचित हुने तर्कको आधारमा नगर परिषदले एकमतले सो विनियम पारित गर्यो । अहिले सायद ट्याटु व्यवसायीले बितेका वर्षहरुमा भन्दा बेसी कर तिरेका छन् । किनभने, अब सो व्यवसाय कानुनी दायरा र नियमनमा आएको छ ।

अब प्रसङ्ग गाँजाको । निकै कोसिस र अभ्यासपछि एउटा प्रतिवेदन बन्यो हाम्रो शाखाका एक वरिष्ठ नगर नियोजकको नेतृत्वमा । त्यस प्रतिवेदनले एउटा विनियम (बाई ल) समेत सुझायो । यो अभ्यास र निचोड अहिले केही नेपाली लहडी आवाजहरु उठेका हुनाले राज्यलाई एउटा दिशा निर्देश र नीति निर्माणको यज्ञमा होम्न मद्दत पुगोस् भन्ने हेतुले लेख्दै छु । सम्भवतः यसले समग्रमा  सुशासन (गुड गवर्नेन्स), उत्तरदायी ( अकाउन्टेबल) सरकार र जनसरोकारमा जनसहभागितामा गरिने नीति निर्माणजस्ता क्षेत्रका अनुभव साँट्ने प्रयत्न गर्नेछ । 

सबैभन्दा पहिले केन्द्रीय ऐनको कुरा गरौँ । मनोरंजन हेतु गाँजा क्यानाडामा रातारात कसैको लहडमा आएको होइन । ओखतीका लागि गाँजा सन् २००१ देखि नै प्रचलनमा थियो । कसैले निश्चित मात्रामा गाँजा वा गाँजाजन्य पदार्थ आफ्नो ओखतीका रुपमा चिकित्सकको सिफारिसका आधारमा प्रयोग गर्न पाउँथ्यो । तर, त्यसका लागि आफ्नो करेसामा रोप्न, हुर्काउन भने बन्देज थियो ।

सरकारले तोकेको क्षेत्रमा तोकेको किसान र फर्मास्युटिकल कम्पनीले मात्र गाँजा खेती गर्ने इजाजतपत्र पाउँथ्यो । गाँजा वा तज्जन्य ओखती कुनै डिस्पेन्सरीबाट खरिद बिक्री हुँदैन थियो । उत्पादकले चिकित्सकको सिफारिस गरेको सम्बन्धित बिरामीको घरठेगानामा पत्र (मेल)मार्फतमात्र पठाउन पाउँथ्यो । यो पद्धति एकातिर प्रचलनमा थियो भने गँजडीहरुको समूहले घरभित्र हरितघर बनाएर त्यहाँ नै गाँजाको खेती गर्थे जुन गैरकानुनी थियो ।

यसरी एकातिर ओखतीका माग पुर्याउन उत्पादकलाई हम्मे परिरहेको र अर्कातिर मनोरंजन हेतु गैरकानुनीरुपमा उत्पादन भइरहेको दबाबका बीच केन्द्रीय ऐन आयो । यो नियमनको एउटा प्रक्रिया थियो । नेपालमा हल्ला गरिएझैँ व्यापारको पाटो थिएन र गाँजाखेतीका कारण क्यानाडाले आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यसमेत राखेको कमसेकम मलाई थाहा छैन । यो केन्द्रय ऐनले थप एवं चुस्त नियमनका लागि प्रान्तीय एवं स्थानीय सरकारहरुलाई अख्तियार प्रत्यायोजन गरेको छ । 

जतिखेर यो केन्द्रीय ऐन आयो त्यतिखेर स्थानीय त परै जाओस् प्रान्तीय सरकारसमेत यसको लागि तयार थिएन । म कार्यरत सहर रहेको प्रान्त आफैँ अन्योलमा थियो । तसर्थ, लामो समय हाम्रो विभाग, शाखा प्रान्तीय निर्णय पर्खिन बाध्य भयो । सन् २०१८ तिर आएर बल्ल प्रान्तले गाँजा खेतीलाई विशेष व्यावसायिक खेती ( स्पेसल कमर्सिअल फार्मिंग) को रुपमा स्वीकार गरेर उत्पादकहरुको सीमित घेरा फराकिलो बनायो ।

अनि अन्य किसानले समेत स्थानीय सरकारको अनुमतिमा उत्पादन, प्रशोधन र निश्चित क्षेत्र र मात्रामा वितरणसमेत गर्न पाउने भए । यो उत्पादन, प्रशोधन र वितरण ओखतीजन्य वा मनोरञ्जनात्मक दुवै किसिमको गाँजाका लागि खुला गरियो । तर, त्यसभन्दा अघिदेखि नै  स्थानीय सरकार भएकै कारणले सबैभन्दा पिँधमा बसेर काम गर्नुपर्ने नगरपालिकाहरु उद्यमी, व्यवसायी, उपभोक्ता आदि सबैको चरम दबाबमा थिए ।  उनीहरु केन्द्रीय ऐनको बलमा झगडा गर्न आउँथे ।

जनउत्तरदायी सरकार भएकाले माथिकाले नियम बनाए, गाँजा खानमाथि नै जानुस् भन्नसक्ने न अधिकार थियो न आचार । हाम्रो बोली एउटै हुन्थ्यो – हामी काम गर्दैछौँ । कहिलेसम्म नीति नियम बनिसक्छ थाहा छैन तर नीति नियम बनाउने बेलामा तपाईँहरुसँग पक्कै परामर्श गर्नेछौँ । मान्छेहरू आक्रोश लिएर आउँथे र शान्त भएर फर्किन्थे ।

प्रान्तीय नियम यस्तो बन्ला भन्ने आधारमा एउटा नीतिगत खाका र विनियम बनाउने निर्णय हाम्रो शाखाले गरेको थियो  । यो निर्णयपछि कम्तीमा पनि तीनवटा नीतिगत दस्तावेजको पुनरावलोकन र  त्यसका लागि जनपरामर्श नगरपालिका ऐन र योजना ऐनले नै निर्दिष्ट गरेका थिए । ती आवश्यक अध्ययन सम्पन्न गरी तिनको आधारमा प्रतिवेदन र विनियमको खाका बनाउनुपर्ने देखियो । हाम्रो शाखा त्यसको लागि तयार भयो ।

प्रारम्भिक केही तहगत अध्ययनमा मेरो संलग्नता रह्यो तर पछि मैले त्यसमा मेरो बसाइँ सराइका कारणले ध्यान दिन पाइन । तथापि, हामीले सुरु गरेका अध्ययनका तह निम्नानुसार थिए :

१. केन्द्रीय ऐन – केन्द्रीय ऐनले गाँजालाई कसरी परिभाषित गरेको छ, के के अधिकार प्रान्तीय र स्थानीय सरकारलाई अख्तियार गरेको छ? अन्तिम नियामक को हो? यी अध्ययन नगरी हाम्रो प्रतिवेदन बन्दैन थियो । 

२. प्रान्तीय नीति – हाम्रो अध्ययन सुरु हुँदा प्रान्तीय नीति बनेकै थिएन । तसर्थ, स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, स्थानीय सरकारसँग समन्वय गर्ने मन्त्रालय, कृषि मन्त्रालय, उद्योग मन्त्रालयसँग विद्यमान समान प्रकारका नीतिहरु अध्ययन गर्नु वाञ्छनीय थियो । 

३. स्थानीय नीति, नियम, विनियम आदि – क्यानाडामा स्थानीय सरकारको योजना औजार भनेको नै आधिकारिक सामुदायिक योजना (अफिसियल कम्युनिटी प्लान) हो । त्यसले आफ्नो सिमानाभित्र कस्तो विकास गर्ने भन्ने खाका बनाएर राखेको हुन्छ । त्यसैले भूउपयोग नीति बनाउँछ र त्यही भूउपयोग नीतिका आधारमा भूउपयोग क्षेत्रीय विनियम बन्छ । त्यहि विनियमका आधारमा कुनै पनि भूउपयोग कानुनी या गैरकानुनी ठहर हुन्छ । तत्कालीन अवस्थामा गाँजा खेती अवैध मानिनुमा त्यसको पहिचान माथि उल्लेखित कुनै पनि दस्ताबेजमा नहुनु थियो ।

यी अध्ययनका आधारमा प्रान्तबाट संशोधन भइआएमा लागू गर्न सकिने भनी एक नीतिगत प्रतिवेदन बन्यो । त्यस प्रतिवेदनले अफिसियल कम्युनिटी प्लानमा निश्चित क्षेत्रमा मात्र गाँजा खेती र प्रशोधन  गर्न पाइने भनी तोक्न सुझाउने निर्णय गर्यो । सो क्षेत्र मानव बसोवास क्षेत्रभन्दा टाढा, स्थानीय वायु मार्ग ( हावा चल्दा कुनै पनि हानिकारक प्रदूषण बस्तीमा नजाने), भूमिगत जलस्रोत र पानीका मूललाई असर नगर्ने अनि अन्य बालीनाली प्रयोजनार्थ माटोलाई वा उपलब्ध खनिजलाई गम्भीर क्षति नपुग्ने हुनुपर्ने भन्ने थियो ।  

त्यसैगरी, उत्पादन र बजार एकै ठाउँमा हुन नहुने, एउटा उत्पादक किसान र अर्को किसानको दूरी, एउटा पसल र अर्को पसलको दूरी, बिद्यालय, विश्वविद्यालय र गाँजा पसलको दूरी, सार्वजनिक स्थानमा गाँजा प्रयोग गर्न  निषेध गरिनुपर्ने जस्ता सुझाव पनि थिए । हरेक सुझावका पछाडि तर्क, तथ्य र बृहत्तर जनहित अन्तर्निहित थिए ।

आवादीभन्दा पर लैजानुको कारण गाँजालाई शंकालु दृष्टिकोणले हेर्ने जनसमुदायबाट टाढा राख्नु थियो भने हावा, पानी र माटो संरक्षणले बृहत्तर जनहित बोलेकै ठहर्थ्यो । त्यसमाथि अन्य खेती किसानी गरी कर तिरिरहेका किसानहरुको हित संरक्षण पनि उत्तिकै आवश्यक थियो । उत्पादन र बजार पृथकीकरणले आपराधीकरण नियन्त्रणमा ठोस योगदान दिनसक्छ भन्ने हाम्रो ठहर थियो भने किसानका दूरीले खेतीको विविधीकरणमा योगदान पुग्ने हाम्रो अनुमान थियो ।

त्यसैगरी पसलहरुको दूरीले सहरको कुनै एक भाग गाँजा अड्डा हुने खतरा शुन्य प्रायः हुने अनुमान गरियो । विद्यालय, विश्वविद्यालय र गाँजा पसलको दूरी वा सार्वजनिक प्रयोगमा बन्देज त सहजै बुझिने आवश्यकता थियो ।

यसरी हेर्दा, समग्रमा गाँजा खेती र प्रयोग पूर्ण नियन्त्रण ( अन्डर अब्सोल्युट रेगुलेसन)मा ल्याउन सकिनेदेखि सोही मुताविकको प्रतिवेदन बन्यो र उक्त प्रतिवेदन पहिले जनपरामर्शमा गयो । मैले थाहा पाएसम्म, उक्त परामर्श पद्धतिमा परम्परागत शैलीका सार्वजनिक बैठक, परामर्श, सूचनाबाहेक सोसल मिडियाको पनि व्यापक परिचालन गरिएको थियो ।

जनस्तरबाट आएका सुझावलाई पनि समेटेर सो प्रतिवेदन नगर परिषद्मा पेस गरियो । सोही प्रतिवेदनमा आधारित रहेर प्रान्तीय नीतिपछि उक्त सहरले नगर परिषद्मार्फत विनियम बनायो । सोही विनियमका आधारमा सबा दुईलाखभन्दा केही बढी जनसंख्या भएको उक्त सहरमा ओखतीको प्रयोजन र मनोरञ्जनार्थ प्रयोग हुने गाँजा विक्री कक्ष कुल छ वटा स्थापित हुनपुगेका रहेछन् । यसैबाट थाहा हुन्छ, क्यानाडा गाँजाबाट समृद्ध हुने लक्ष्य राखेर अघि बढेको छैन ।

बरु, अनियन्त्रित प्रयोगलाई नियमन गर्ने उद्देश्यका साथ सजग ढंगले अघि बढिरहेको छ । उसलाई थाहा छ, ओखतीको रुपमा गाँजा प्रयोगमा आउँदा केही विग्रिन्न तर अनियन्त्रित र सरकारी दृष्टिभन्दा बाहिर हुनसक्ने गैरकानुनी गाँजा खेतीले सीमित व्यक्ति त धनी हुनेछन् तर राष्ट्र जर्जर हुनेछ । आडैमा मेक्सिकोले भोगिरहेको द्वैध अर्थतन्त्र बुझेकै कारणले क्यानाडाले गाँजा नियमन र मात्रात्मक फुकुवा गरेको हो ।

नियमनका लागि सन् २०१५ को चुनावी नतिजामार्फत जनस्तरमा एक प्रकारको रुचिसमेत रहेको बुझी केन्द्र, प्रान्त र स्थानीय सरकार एकर्काका आड भरोसमा सँगै उभिएका हुन् । तथापि, अहिले म जुन ग्रामीण नगरपालिकाको योजना शाखाको सुपरिवेक्षक छु त्यो नगरपालिका प्रान्तले कृषि नगरपालिकाको रुपमा तोकेको नगरपालिका हो । त्यसका अधिकांश बासिन्दाको पेसा खेती हो र उनीहरुको  गाँजा खेतीप्रतिको रुचि अत्यन्तै न्यून छ । हामीभन्दा माथिल्लो निकायले जति नै बल गरोस् जनता मान्नेवाला छैनन् ।

स्थानीय तहमा जनताले नमानेपछि व्यापारी घरानाले जतिनै ठेलुन् स्थानीय राजनीतिक नेतृत्व त्यसका लागि फिटिक्कै तयार हुँदैन । 

अन्त्यमा, नेपालमा पनि गाँजा खेती गरे हुन्छ, किन नहुनु? तर के जनस्तरमा यसको नियमनको लागि पर्याप्त रुचि छ? के माथि उल्लेख गरिए झैँ नीतिगत दस्तावेजहरु छन्? छैनन् भने किन भएनन्? बनाउन कति समय लाग्ला? समग्रमा गाँजा खेती र प्रयोग सर्वथा नियन्त्रण ( अण्डर अब्सोल्युट रेगुलेसन) मा ल्याउन सकिने अवस्था छ? यी सबै त्यस्ता पेचिला प्रश्नहरुको निरुपण नगरी नेपालमा गाँजाबारेको बहस गाँजामा गाँजिएको गफबाहेक केही हुँदैन । लहडी सपनाले समृद्धि आउने भए करिब अढाई सालमा चीनबाट नेपाल हिँडेको रेल अहिलेसम्म रसुवागढी नाका आइपुगेको हुन्थ्यो । 

 

प्रतिकृया दिनुहोस
ad