site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काठमाडौं छिर्न सय रुपैयाँ घूस !

धेरै दिनदेखि सोचिरहेको थिएँ । यो ब्लग कसैले लेखिदेओस् । देशको बेथितिबारे अरू कसैले नै कलम डोबोस् । सुशासनका नाराभित्र कुशासनले परेड खेलेको अरूले पनि देखून् ।

प्रिय पाठक ! मैले किन यसो भनें भने निराश समाचार सुन्दासुन्दा पाठक आहत छन् । थप नैराश्यता अभिव्यञ्जित गरेर पाठकको मर्ममा किन बञ्चरो चलाऊँ ! अतिरिक्त मर्माहत किन बनाउँ ! यस्ता कुरूप र

विद्रूप घटना वर्णन गर्न मैले कैयौंपटक शब्दहरू गिजोलेको छु । फेरि गिजोलेर शब्दहरूलाई पनि आतंकित र भयभित किन तुल्याऊँ ?

Prabhu Bank
Agni Group
NIC Asia

यस्तैयस्तै सोचेर मैले यो ब्लग कैयौंपटक लेख्दा–लेख्दै डिलिट गरेँ । आफैंभित्र चिथोरिँए । मुर्मुरिएँ र कम्प्युटरको रिसाइकलबिनबाट पनि गलहत्याएँ र शान्त भएँ ।

अस्तिको दिन मात्रै कलङ्कीको अन्डरपासमा ज्यान गुमाएका मुन्ना चौधरी र राजेश चौधरीका शोकविह्वल प्रियजनसँग संयोगले नै भनौं भेट भयो । उनीहरूलाई चिनेजानेका आफन्तीसँग भलाकुसारी गरेँ । शिक्षण अस्पताल परिसर उनीहरूको आँसुले ओसिएको भान हुन्थ्यो ।

Global Ime bank

मृतकका आफन्तमध्ये कोही भर्खर काठमाडौं टेकेजस्ता देखिन्थे । उनीहरूलाई प्रत्येक मानिस नौला लाग्थे । सबै खुसी लाग्थे । दुःखको पहिरो आफूमाथि मात्रै खनिएजस्तो लाग्थ्यो । र त, उनीहरूका आँखाबाट आँसुको भल बगिरहन्थ्यो ।

मजबुरीको अर्को नाम थिए मुन्ना । उनको घाम ग्यारेजमा उदाउँथ्यो । ग्यारेजमै अस्ताउँथ्यो । घाम मात्रै होइन जून पनि त्यही उदाउँथ्यो । त्यहीँ अस्ताउँथ्यो । 

उनी ग्यारेज गएनन् र दुईचार पैसा कमाएनन् भने परिवारको घाम सदाका लागि अस्ताउँथ्यो ।

बुधबार (माघ २३ गते) मुन्नाको जीवन सदाका लागि अस्तायो । आफू मात्रै अस्ताएनन्, १९ वर्षका राजेशलाई पनि आफूसँगै लिएर गए ।

विदेश जाने, परिवारलाई मीठो मसिनो खुवाउने, जिन्दगीको ठेलालाई खुसीका साथ धकेल्ने राजेशले किशोरवयमै देखेका सपना थिए । कलङ्की अन्डरपासमै मृत भयो । स्वयम्भूतिरबाट आएको टिपरले मुन्ना र राजेशसँगै परिवारका सपनामाथि पनि घनछिनो चलायो ।

दुर्घटना दृश्य भयावह थियो । टिपरको गतिको तेज प्रहरीले पनि अनुमान गर्न सकेका छैनन् । दुर्घटनापछि आगलागी भएको कतिपय प्रहरीले पहिलोपल्ट देखेका थिए । आगलागीले पिच पनि पग्लिएको थियो ।

दुर्घटनाग्रस्त मोटरसाइकलको धातुका पाटपुर्जा मात्रै बाँकी थिए । जलेको ठुटोजस्तो मोटरसाइकल सडकको किनारपट्टि पल्टिएको थियो । रक्तमुच्छेल घाइतेहरू २० मिटरपर उछिट्टिएका थिए । ठक्कर दिएर कुलेलम ठोकेको थियो टिपर ।

दुर्घटनापछि फरार चालक अनील लामा शुक्रबार सिन्धुपाल्चोकबाट समातेर प्रहरीले फिर्ता त ल्यायो । मुन्ना र राजेश कहिल्यै फिर्ता आउँदैनन् । परिवारका सपना पनि सायदै तङ्ग्रिनेछन् । बरु वर्षौंसम्म उनीहरूका परिवारजनका आँखा सीमसार बनिरहनेछन् । सम्झनाको जुलुस उठिरहनेछ । छातीमा गाँठो परिरहनेछ । 

परिवारमा उनीहरू नै त थिए आसा–भरोसा !

टिपर साहूले मुन्ना र राजेशको परिवारलाई सात लाखको वचनबद्धता जनाएको छ । सहमतिमा दुवै पक्षको हस्ताक्षर पनि छ । तर रुपैयाँले पीडाको पूर्ताल कसरी हुन्छ ? जीवनको भरपाइ सम्भव छ र ?

मुन्ना र राजेशको वियोगको आँसु सरसर्ती पढेपछि मलाई विस्मृतिको गर्तमा धकेलिइसकेको पुरानो घटना ताजा भएर आयो । यस्तै घटना दुर्घटनाको कारक बन्न सक्ने, विदारक क्षण निम्त्याउन सक्ने र सपनाको छातीमाथि टिपर दौडिन सक्ने भयले उत्खनन गर्न मन लाग्यो ।

० ० ०

त्यसदिन पोखरासँग बिदाइको हात हल्लाउँदा पश्चिमको पहाडबाट घामले पनि बिदाइको हात हल्लाउँदै थियो । धूलाम्मे सडक नभएर होला साँझ ढल्किइसक्दा पनि पोखराको घाम पहारिलो नै थियो ।

गोधूलिमा त पोखरा झनै वयस्क देखिन्छ । चारैतिर हिमालको पहेंलपुर आभा फिँजारिएर वातावरणमा सुनको जलप लाग्छ । 

तर पोखराको सौन्दर्यमा आह्लादित भएर बसिरहने फुर्सद थिएन । काठमाडौं फर्किनै पर्थ्यो ।

साँझ ढल्किइसकेकाले गाडी पो पाइने हो कि होइन ? द्विविधा मनमा मडारिइरहेकै थियो ।

संयोग नै भनौं, महेन्द्र पुलको मुखैमा काठमाडौं जाने बस भेटियो । बस नै त भन्नुपर्ला बूढी भैंसीझै धकिरहेको थियो । स्टार्ट गर्नेबित्तिकै धुवाँको मुस्लो फाल्थ्यो ।

“पुग्ला त काठमाडौं ?” मैले सहचालकसँग संशय व्यक्त गरेँ ।

“अरे ! नम्बरी गाडी हो । सुबिस्ताले पुर्‍याउँछ । बरु बसिहाल्नूस् । अन्तिम गाडी हो,” उनले झोला समातेर तानूँलाझैं गरे ।

अन्तिम नै भनेपछि नगइ धर पनि त थिएन ।

विजयपुर खोला कट्दानकट्दै बसको गति मन्द हुँदै आयो ।

बसको गति जतिपटक मन्द हुन्थ्यो, त्यतिपटक सहचालक ओर्लिन्थे । बसमुनि पसेर कसकास पारेझैं गर्थे । केहीसमय रफ्तार बढेजस्तो हुन्थ्यो । निदान भए पनि ओखतिमूलो नपाएको बिरामीझैं बस घ्यारघ्यार गर्न थालिहाल्थ्यो ।

बस वृद्ध भए पनि चालक प्रौढ थिए । हारमान्नु देखिँदैनथे ।

नौबीसे आउन एक कोश बाँकी हुँदो हो, बस पूर्णरुपेण थला बस्यो । बसको हविगत देखेर चालक पनि पसिनापिच्छे भए । गलितम् आवाजमा भने, “तपाईंहरू यही झर्नूस् ।”

“उहाँहरू सबैलाई अर्को गाडीमा चढाएर पठा, पठा !”

चालकले सहचालकलाई आदेश त दिए । तर बिहानको ३ बजे कहाँ पाउनु बस ? पोखराबाट आएकाजति बस नौबीसेवरै रोकिँदा रहेछन् । चालकहरू आँखाको काँडा मारेर बिहानीपख मात्रै काठमाडौं लाग्दा रहेछन् ।

मध्यरातपछि त राजमार्ग पनि चकमन्न हुँदो रहेछ ! सवारीसाधनको चहलपहल उतिसारो नहुने ।

मसँगै उत्रिएका केही यात्रु निद्रा मारिरहेका बसभित्र लुसुक्क पसे । मेरो मनमा बस पाइने आश मरिसकेको थिएन । यताउति आँखा डुलाइरहेँ ।

पर, उत्तरपट्टि बत्ती बलेको देखियो । मकान कि दोकानको उज्यालो हो भन्ने द्विविधा कायमै थियो । हट्यो । चिया पसलको उज्यालो सडकतिर छरिएको रहेछ ।

रातभरि जागै रहने चियापसलमा टिपर चालकहरू खचाखच थिए । अनिदै बसेर चिया बेच्ने ढकाल बाजे उखान–टुक्कामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि माथ दिँदा रहेछन् । ग्राहकहरू बेलाबखत चिया सर्केलाजसरी खित्का छाड्थे ।

उज्यालो हुन अझै एक प्रहर बाँकी थियो । काठमाडौं टिप पुर्‍याएर फर्कनुपर्ने टिपर चालकहरू तातो चियाले ठिही भगाइरहेका थिए ।

चिया पसलमा तातात्तो चिया सुर्क्याउँदै थिए महादेवबेँसीकै शिव पौडेल । बूढानीलकण्ठ टिप पुर्‍याएर फर्किनुपर्ने हतारोले ओठ डाम्नेगरी चिया घुट्क्याइरहेका थिए ।

“कलङ्कीसम्म म पुर्‍याइदिन्छु, जानुहुन्छ ?,” उनले सोधिहाले । 

शिला खोजिरहेको थिएँ, शालिग्राम फेला पर्‍यो ।

उनकै पछि लागेँ । लुरुलुरु ।

मान्छे पिलन्धरे, पिलन्धरे । नाङ्लोजत्रो टिपरको स्टेरिङ समात्नेबित्तिकै उनमा के तागत आयो कुन्नी, गाडी बत्ताइहाले ।

“बिस्तारै चलाए हुन्न ?” उनको ‘रफ’ चलाइ देखेर मेरो आङ जिरिङ भयो । बेकार चढेछु जस्तो पनि लाग्यो ।

“कस्तो कुरा गर्नुहुन्छ तपाईं ? फर्किनु परेन ? सात नबज्दै थानकोट आइसक्नुपर्छ,” उनले अत्यास व्यक्त गरे ।

अझ बढाए टिपरको गति । टिपरको गतिभन्दा तेज धड्कियो मुटु । भयले कुँजिए ।

नागढुङ्गाको उकालोको अन्तिम घुम्तीमा विपरीत दिशाबाट लेन मिचेर आएको मोटरसाइकल झन्डै ठोक्कियो ।

“मा** ! मर्ने यस्तै हो, बुझ्नुभो !,” मुखको गाली र थुक एकैसाथै बाहिर हावामा हुत्याए र रिसाग्नि चिस्याए ।

उनी बेलाबखत टिपरको प्रशंसा गर्न छुटाउँदैनथे, “यो त फलामैफलामको साधन हो । ठोक्किए पनि केही हुँदैन । ठोक्किन आए सीधै यमराजकहाँ पुर्‍याइदिन्छ ।”

कुरा सुन्दा लाग्थ्यो– उनी टिपर चालक होइनन्, यमदूत हुन् । चालक अनुमति पत्र मान्छे मार्ने इजाजत पत्र हो ।

निःसन्देह मोटरसाइकल चालकले रफ चलाइरहेका थिए । त्योभन्दा कम थिएन टिपर चलाइ । तर पनि उनी वेपरवाह थिए । दायाँबायाँ, अगाडिपछाडिका सवारीसाधनलाई माखो बराबर गन्दैनथे । हान्ने राँगोझैं कहिले कता मुख जोत्न खोज्थे ? कहिले कता ? उनले जतिपटक गति बढाउँथे, त्यतिपटक मेरो मुटु भट्याकभट्याक उफ्रन्थ्यो । ब्रेक हान्न लगाएर त्यहीँ उत्रूँ हुन्थ्यो !

थानकोट आउन दस गजजति बाँकी भएपछि टिपर साइड लगाए । ज्याकेटको भित्री बगलीमा हात छिराएर ५०–५० को धमिला दुईवटा नोट झिके ।

“चुरोटसुरोट किन्ने अभिप्रायले होला ?,” मेरो सोझो मनले यही चितायो ।

चेकपोस्टसम्म टिपरको लामो ताँती थियो । चिसो बढेकाले चालकले खलाँतीले झैं सास छाडिरहेका थिए । बिहान नभइसकेकाले गन्न मुस्किल थियो । हामीभन्दा अगाडि अन्दाजी २०–२५ टिपर पक्कै थिए ।

लाइन खुलेपछि चालकले टिपरको गति बढाए । पाँच मिनेट पनि लागेन चेकपोस्ट पुग्न । दायाँबायाँका लेनबाट गाडी आवतजावत गरिरहेका थिए । रातो डिभाइडर राखेर टिपरका लागि बीचमा अलग्गै लेन तय गरिएको रहेछ । लेनको दायाँतर्फ दुईजना ट्राफिक खडेबाबाझैं ठिङ्ग उभिएका थिए । 

जाँचपासका लागि खटिएजस्तो देखिए पनि उनीहरूको ध्यान त्यता थिएन । बरु पल्याकपुलुक हेर्दै बहीदारलेझैं बहीखातामा केही टिपिरहेका थिए ।

पालोआएपछि चालकले अघि निकालको एउटा नोट पहिलो ट्रफिकको हातमाथि हात खप्ट्याएर खुसुक्क थमाइदिए । रुपैयाँ पाएपछि ऊ अर्को टिपरतिर सर्‍यो । अर्को अघि बढ्यो । उनको हातमा पनि त्यसैगरी ५० को नोट थमाइदिएर टिपरको गति अगाडि बढाए ।

किन थमाएका होलान् ५० को नोट ? मेरो मनमा खुल्दुली मडारिन थालेको थियो । तिनै चालकले जिज्ञासा मेटाइदिए, “के गर्नु हजुर ! साह्रै गाह्रो छ । ५० रुपैयाँ दिएपछि जाँचपड्ताल केही गर्दैनन् । लोडसोड केही हेर्दैनन् । पाएनन् भने अनेक सास्ती बेहोर्नुपर्छ । ठाउँकुठाउँ कागजपत्र मागरे हैरान पार्छन् । काम गरेर खाने जमानै रहेन !”

चालकले ५० रुपैयाँ घूस (रिसवत) बुझाउनुको पूरै कारण त बताएनन् । तर कुरैकुरामा थोरै खोले, “आज ढालाभन्द मुढीहात माथिसम्म बालुवा राखेर ल्याएको छु । धन्न देखेन ! कदाचित् देखेको भए ५० रुपैयाँले के मान्थे ? मैले मात्रै हो र हजुर, रोज तीन सय टिपर काठमाडौं भित्रन्छन्, ती सबैले सय–सय बुझाउँछन् ।

ए ! सय रुपैयाँ त काठमाडौं छिर्न घूस पो रहेछ ! सय रुपैयाँ बुझाएपछि ढालामाथि जति पनि माल–सामग्री राख्न छुट रहेछ ! जति गतिमा पनि टिपर हुइँक्याउन पाइने रहेछ ! गति अति भएपछि मुन्ना र राजेशको नियति जसको भागमा पनि पर्ने भयो !

थानकोट नाकाका ट्राफिकको भ्रष्टमतिको साक्षी बस्नुपर्दा मलाई ग्लानि भो । पेसा समाजको ‘वाचडग’ भए पनि यात्रीका रूपमा हात बाँधिनुपर्दा मन पिल्सियो पनि ।

काठमाडौं छिर्ने मुख्य नाकामा बस्ने घुस्याहा ट्राफिकले अहिलेसम्म कति रुपैयाँ कुम्ल्याए होलान् ? जनताको जिउधनको सुरक्षा गर्ने जिम्मा लिएका ट्राफिक प्रहरीको खराब आचरण, घुस्याहा चरित्रकै कारण कति नागरिकको जिउधन मासियो होला ? ५० रुपैयाँको नोटमा बिकेर कतिजनाको हत्याको मतियार बने होलान् ? दुर्घटना न्यूनीकरण गर्न बसेका आफैं कारक बने होलान् ?

जबजब काठमाडौैंमा टिपर आतङ्क समाचार बनेर छाउँछ मेरो मनमा यी प्रश्न टड्कारो बनेर आउँछ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC