कोइराला निवासमा पुग्दा

 कोइराला निवासमा पुग्दा

अगिल्लो साता एउटा समारोहमा उपस्थित हुन म विराटनगर पुगेको थिएँ । मेरो भूमिका र काम केही पनि नभएको समारोहमा पनि म साथीहरूको लहैलहैमा गइदिएको थिएँ । साथमा जो थिए तिनको संगत रमाइलो लाग्ने हुनाले जान्न भन्न मन लागेन र हवाइ यात्राको सास्ती सहन तयार भएको । 

उहिले विराटनगर र कोइराला निवास मेरा पुस्ताका धेरैका लागि पर्याय थिए । यसैले पहिलोपटक २०२८ सालको चैतमा विराटनगर पुग्दा पनि म कोइराला निवास गएको थिएँ । मेरा मामा नारायणप्रसाद लोहनीले मलाई त्यहाँ लगेका थिए । उनैको साथ लागेर म भारतको फारबीसगन्जमा कांग्रेसहरूको शिविरमा पुगेको थिएँ । त्यसपछि पनि केहीपटक म विराटनगर जाँदा कोइराला निवास पुग्थेँ । अचम्मको आकर्षण थियो कोइराला निवासमा बीपीको नाममा जस्तै । 

पछि पछि भने मलाई विराटनगर जाँदा पनि कोइराला निवास छिर्न मन लागेन । मूल घर छेक्ने संरचना बनेको देख्दा मन अमिलो हुन्थ्यो । लोकतन्त्रको यो तीर्थस्थल अपवित्र भएजस्तो लाग्थ्यो ।

यसपटक भने समारोह सुरु हुने बिहान टहलिँदै कोइराला निवासमा पुगियो । साथीहरूको पनि त्यहाँ जाने चाहना रहेछ । राजनीतिमा संलग्न नभएकाहरूसँगै कोइराला निवास छिरेको भने पहिलो पटक थियो । कोइराला निवास देख्दा पहिले रोमाञ्चित हुन्थ्यौँ हामीजस्ता कोइरालाहरूको धेरै संगत गर्न नपाएका तर बीपीको आकर्षणबाट कांग्रेसको राजनीतिमा समाहित भएकाहरू । कांग्रेससँग मोहभंग भए पनि कोइराला निवासप्रतिको श्रद्धा मरेको छैन । यसैले साथीहरूसँगै त्यता लागियो । 

एकछिन त घर ठम्याउनै मुस्किल भयो । सडकबाट हेर्दा नै देखिने जस्ताले छाएको लामो घर अब लगभग ओझेलमा परिसकेछ । दिक्क लाग्यो । त्यो घर एउटा सामान्य टहरोमात्र त थिएन । पिताजीका नामले विख्यात नेपाली जागरणका अग्रणी कृष्णप्रसाद कोइरालाले नै बनाएका घर गुणग्राही मुलुकमा भए राज्यले नै संरक्षण गरेर राख्थ्यो होला । कोइराला निवास र त्यस परिवारको इतिवृत्तान्त नेपाली आधुनिकताको इतिहासको अभिन्न अंग हो । तर, कोइराला निवासकै उत्तराधिकारीले महत्त्व नदिएपछि राज्यले वास्ता नगर्नु के आश्चर्य भयो र ? 

सडकबाट अझै देखिँदै रहेछ कोइराला निवास । तर, अगाडि विशाल संरचना बन्दै रहेछन् । एउटा भवन गिरिजाबाबुको स्मृतिमा पनि बनेको रहेछ । अरू व्यापारिक भवनजस्ता लाग्ने संरचना बन्दै रहेछन् । लाग्छ, केही महिनापछि नै कोइराला निवास पूरै छोपिनेछ । देशवासीको मात्र हैन पिताजीले बसाएका विराटनगरवासीकै सम्झनाबाट पनि हराउनेछ कोइराला निवास !  

भित्र नपुगुन्जेल पिताजीका नातिहरूलाई धिक्कार भनिरह्यो मेरो मनले । जाँखा म कति खिन्न भएको थिएँ भने गिरिजाबाबुको सम्झनामा बनेको भवन पनि देखिनछु । भित्र पुगेपछि भने थाहा भयो मूल घरको हेरविचार अझै भइरहेको रहेछ । सबै दाजुभाइ लाखापाखा लाग्दा पनि कोइराला निवास केशवप्रसाद कोइराला (कोशुबाबु) ले धानेका कुरा सुनेको पढेको थिएँ । उनका छोराहरूले मूल घर जोगाएर राखेका रहेछन् । बीपी र तारिणीका सन्तानले मात्र बेचेछन् । 

भित्र संग्रहालयकै ढाँचामा राखिएको रहेछ । जे जति छ त्यसलाई जोगाउन र देखाउन कोसिस गरिएको रहेछ । बीपीको हस्ताक्षरमा लेखिएको पत्रले त्यस घरको ऐतिहासिक गौरव सम्झाउँछ । घर केही थपिएको रहेछ । पुरानो घर, सदावर्तजस्तै खाना पाक्ने भान्सा र बैठकहरू सम्झना भयो । साथीहरूलाई भने । घर हेर्न बसेकाहरू कोइरालाहरूभन्दा बढी त्यस घरका बासिन्दाजस्ता लाग्थे । तिनीहरूको भावनात्मक लगाव र मोहले भावुक बनायो । 

त्यहाँबाट निस्कने बेलामा मनमनै कोशुबाबुका छोराहरू निरञ्जन र शेखरलाई धन्यवाद दिएँ । सुजातालाई धन्य भने । बीपीले बुझेरै कोइराला निवास नोना भाउजुको जिम्मा लगाएका रहेछन् । बीपीले बाँधेको स्थिति कायम राखेर नेपाली लोकतन्त्रको एउटा स्तम्भ जोगाएकोमा डा. शेखर कोइरालालाई धन्यवाद ! 

काठमाडौं आएपछि कोइरालाहरूको पनि राम्रै संगत गरेका नेपालको लोकतान्त्रिक आन्दोलनमा विशेषगरी २०१९ — २०३६ मा होमिएका एक जना अग्रजलाई कोइराला निवासको हाल सुनाएँ । उनले भने — पुर्खाको थलोकै माया नगरेपछि केको पुर्ख्याैली उत्तराधिकार खोज्नु ? 

गोविन्द अधिकारी

प्रतिकृया दिनुहोस
ad