site stats
बाह्रखरी :: Baahrakhari
विदेश
नागरिकता विधेयकका कारण दिल्लीमा पनि सल्कियो आगो, जामिया विश्वविद्यालयमा प्रहरीको हस्तक्षेप

नयाँ दिल्ली । भारतका विभिन्न क्षेत्रमा नागरिकता संशोधन विधेयकका विरुद्धमा भइरहेको आन्दोलन अब संघीय राजधानी नयाँ दिल्लीमा पनि आइपुगेको छ ।  आइतबार साँझ केन्द्रीय विश्वविद्यालय जामिया मिल्लिया इस्लामिया रहेको क्षेत्र सराय जुलेना र मधुरा रोडमा भएको विरोध प्रदर्शनमा कैयौं बसमा आगजनी भएको छ । 
बसमा लागेको आगो निभाउन गएको फायर ब्रिगेड र प्रहरीको गाडी पनि प्रदर्शनकारीले तोडफोड गरेका छन् ।

समाचार एजेन्सी एएनआइका अनुसार जामिया मिलिया इस्लामियाका छात्र सहित स्थानीयले सराय जुलेनामा नागरिकता संशोधन कानुनको विरुद्धमा प्रदर्शन गरेका हुन् ।  पीटीआइसँगको कुराकानीमा जामिया युनिभर्सिटीका एक अधिकारीले हिंसा सोही क्षेत्रका स्थानीय बासिन्दाले उत्पन्न गराएको जनाए । 
त्यसमा युनिभर्सिटीका विद्यार्थीको हात नरहेको उनको दाबी थियो । सो घटनापछि प्रहरीले जामिया क्षेत्रमा घेराबन्दी गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

युनिभर्सिटीका चिफ वसीम अहमद खानले ट्विट गर्दै दिल्ली प्रहरीले बिनाअनुमति युनिभर्सिटी परिसरमा प्रवेश गरेको जनाएका छन् । भित्र छिरेर कर्मचारी तथा छात्रलाई पिटेकोसमेत उनले जनाएका छन् । दिल्ली प्रहरीका अनुसार भीड निकै उग्र भएको र प्रहरीले नियन्त्रण लिन खोज्दा ढुंगा प्रहार गरिएको थियो । 
चार बस र प्रहरीको वाहनमा आगजनी गरिएको जनाउँदै प्रहरीले त्यही कारणले अश्रुग्याँस र गोली चलाउनुपरेको जनाएको छ ।

गम्भीर रुपमा घाइते भएका प्रहरीलाई आईसीयूमा भर्ना गरिएको जनाइएको छ ।  घटनामा घाइते भएका १० जना विद्यार्थीलाई स्थानीय फेमिली अस्पतालमा भर्ना गरिएको छ । २५ भन्दा बढीलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ । केहीलाई गएराति नै रिहा गरिएको बताइएको छ । 

दिल्ली मेट्रो रेल कर्पोरेसनले ट्विट गर्दै सुरक्षाका कारण वसन्त विहार, मुनिर र आरके पुरम मेट्रो स्टेशनमा अहिलेलाई सेवा बन्द गरिएको जनाएको छ । यस्तै पटेल चोक, विश्वविद्यालय, जीटीबी नगर, शिवाजी स्टेडियम मेट्रो स्टेशन पनि बन्द गरिएको छ । विद्यार्थीहरुको पक्षमा विभिन्न राजनीतिक दल, कलेजका विद्यार्थी लगायतले ऐक्यवद्धता जनाएका छन् । (एजेन्सी)
 

प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६  ०७:४३
प्रतिक्रिया दिनुहोस्