site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
हरिको कठोर सङ्घर्ष
Sarbottam CementSarbottam Cement

नरेश फुयाँल


पाखो खेतबारी त बाउले जोडिदिएकै थिए । तर हरि हुमागाईं बसेनन् । खेतबारी जोतेर हैन जोताएरै पनि जीविका राम्रै चल्थ्यो । तर हरिले आफ्नो सङ्घर्षको यात्रा आफैं तय गरे । चाहेको भए सुखैसुखको जिन्दगी भोग गर्न सक्थे । तर खुसीखुसी उनले दसनङ्ग्रा खियाउन रुचाए । 

उमेर १५ वर्ष । उनलाई जागिर खान मन लाग्यो । घरबाट अनुमति पाइँदैनथ्यो । भागे । गाउँकै साथीसँग काभ्रे कुशादेवीका हरि काठमाडौं आए । बालकै थिए । हातमा सीप थिएन । पकनाजोलको एक होटलमा भाँडा माझ्न थाले । खानेबस्ने सुविधा थियो । तलब डेढ सय । नचिनेको ठाउँ, नगरेको काम । कहाँ थियो र सजिलो ?
 
पकनाजोलपछि थापाथली, मैतिदेवी, नयाँबानेश्वरका होटलमा काम गरे । “पढ्नको दुःख र जागिरको लोभले घर छोडियो । तर किन हुन्थ्यो र सजिलो,” हरि भन्छन्, “ट्वाइलेटमा गयो । मज्जाले रोयो । मन अलि हलुङ्गो हुन्थ्यो । अनि फेरि भाँडा माझ्न थाल्यो ।” 

Prabhu Bank
Agni Group
NIC Asia

दुई वर्षमा घर फर्किए । बुवाले पढ्न दबाब दिन्थे । त्यहीबेला कलङ्कीमा घरको काम गर्ने, पढ्न पनि दिने,  तलब पाँच सय रुपैयाँ हुने खबर पाए । फर्किए हरि ।  

काम गर्दाको दुःखको अग्लो पहाड थियो । तर पैसाले त्यो दुःख बिर्साइदिन्थ्यो । “कलङ्कीमा काम गरेर एकपटक घर फर्किंदा सात सय रुपैयाँ पाएको थिएँ,” हरि पैसाले दिएको खुसी सुनाउँछन्, “त्यो सात सय रुपैयाँ घर जाँदा मन लागेजति खर्च गर्दा पनि सकिएन । काठमाडौं आउँदा पनि बाँकी थियो ।”

Global Ime bank

कलङ्कीमा हरि जुन घरमा बस्थे त्यही घरमा फूलको काम गर्ने एकजना दाइ थिए । उनले भन्थे– “म त हिरो रमेश उप्रेतीको घरमा काम गर्छु ।” हिरो/हिरोइनको स्टारडम भएको समय थियो । हरि उनका कुरा सुनेर लोभिन्थे । र, भन्थे– “मलाई पनि भेटाइदिनु न दाइ, भेट्ने मन छ ।” 

संयोग !

मामा (नारायण तिमलसेना) गौरीशङ्कर धुजुको स्पट ब्वाइको रुपमा काम गरिरहेका रहेछन् । चलचित्र थियो– ‘मुनामदन’ । 

हरिका दाइ (राजन हुमागाईं) मामाको पछि लागे । असिस्टेन्ट कुकको रुपमा । हरि दाइको पछि लागे । काम भाँडा माझ्ने नै थियो । ०५८ सालको समय । 

‘मुनामदन’मा पहिलोपटक छायाङ्कनका लागि हरि बालाजु एनएफडीसी स्टुडियो पुगेका थिए । एउटा गाडी, थुप्रै क्रु मेम्बर । गाडीको ढोकामा झुण्डिएर एनएफडीसी पुगे । 

हिरो–हिरोइनलाई देख्ने र भेट्ने लोभले हरि चलचित्रको सुटिङ युनिटमा मिसिएका थिए । 

तर विडम्बना !

हरि एनएफडीसीको गेटमा जान्थे, हिरो÷हिरोइनलाई हेर्न । ढोकामै छेक्थे, सुरक्षा गार्डले । अमिलो मन बनायो, दिनभरि भाँडा माझ्यो । त्यसैगरी बित्यो हरिको पहिलो दिन । 

० ० ०

कुशादेवीबाट काठमाडौं आउँदा न्युरोडमा साथीसँग भेट भयो हरिको । नाङ्लोमा डोनट बेच्थे उनी । त्यही काम केही दिन हरिले पनि गरे । त्यही साथीले हो, पहिलोपटक उनलाई चलचित्र देखाएको । चलचित्र भन्ने उनलाई थाहै थिएन । साथीले जाऊँ भने । 

कस्तो हुँदोरहेछ, हेरौैं न त ! हरि पछि लागे ।

हरिलाई कुमारी सिनेमा हल लगे । चलचित्र रहेछ, ‘दिल तो पागल हे’ । 

पहिलो दिनको याद– झ्यालको सानो प्वालबाट साथीले पैसा दियो । भित्रबाट कागजको सानो चिर्कटो आयो । त्यही चिर्कटो गेटमा देखाएर साथीसँगै हरि भित्र पसे । सिटमा सबै बसे । उसैगरी हरि र उनको साथी पनि बसे । एकछिनमा झापझुप बत्ती निभ्यो । चुक घोप्ट्याएजस्तो अन्धकार भयो । हातमा टर्चलाइट बोकेर दुई–तीनजनाले ढिलो आउनेलाई भित्र ल्याएर सिट देखाइदिए । केही समयपछि पर्दामा अक्षरहरु आउन थाले । ठूलो आवाज आउन थाल्यो । बडेमाका मान्छेहरु पर्दामा देखिन थाले । करिब तीन घण्टापछि चलचित्र सकियो ।
 
चलचित्र भनेको त यस्तो पो हुँदोरहेछ ! जति रोमाञ्चित बनायो, त्यति नै आश्चर्यचकित पनि । त्यो रङ्गीन सम्झना हरिको मथिङ्गलबाट आज पनि ओझेल परेको छैन । 

उनलाई पहिलोपटक हेरेको नेपाली चलचित्र पनि याद छ, ‘सीमारेखा’ ।

‘दिल तो पागल हे’ त हेरे । तर भाषा थियो हिन्दी । कति नै बुझे र ? भिजुअल हेरे । चित्त बुझाए । जब उनले ‘सीमारेखा’ हेरे त्यसबाट उनले बुझे खासमा चलचित्र ।

चलचित्रले मन खिचेको थियो । तर सङ्घर्षको पहाडले थिची नै रहेको थियो । मन लाग्दैमा कहाँ जुथ्र्यो र चलचित्र हेर्ने अवसर ? महिनौं कुर्नुपथ्र्यो चलचित्र हेर्न जान ।

० ० ०

‘मुनामदन’मा उनी चार–पाँच दिन सुटिङ बाँकी छँदा पुगेका थिए । होटल र घरमा बसेर काम गरिरहेका गाडी चढेर नयाँनयाँ ठाउँ जान पाइने । हिरो–हिरोइनलाई देख्न पाइने, खुब रमाउँथे । “केटाकेटी उमेर थियो । जाडोमा  कट्टु र चप्पलमै हिँड्दा पनि रमाइलो लाग्थ्यो,” हरिले पुराना दिन सम्झिए । 

‘मुनामदन’को छायाङ्कन सकियो । उनले त्यसमै काम गर्ने हेड कुकलाई भनेका थिए, “अर्को चलचित्रमा मलाई पनि बोलाउनु ल ?” 

फुक्काफाल भएर बसिरहेका बेला नभन्दै उनलाई बोलाइयो । चलिचत्र रहेछ ‘धनसम्पत्ति’ । काम भाँडा माझ्ने नै थियो । 

चलचित्र बन्ने क्रम बाक्लियो । हरिको मेहनत देखेर उनको मूल्याङ्कन भयो । शिशिर रानाले मसँगै काम गर भने । ‘पङ्क्षी’बाट उनी स्पटब्वाई भए । ‘आतङ्कवादी’, ‘भन्नै सकिनँ’लगायत थुप्रै चलचित्रमा उनले यही काम गरे । 

स्पटब्वाईपछि शिशिरको असिस्टेन्ट भए । एक स्टेप माथि उक्लिए । चलचित्र ‘बसन्त ऋतु’बाट लाइटम्यान भए । एक खुट्किलो त उक्लिए, तर त्यही चलचित्र उनका लागि अभिशापसरह बन्यो । 

कसरी  ? 

थापाथली पुलमुनि चलचित्रको छायाङ्कन चलिरहेको थियो । पहिलोपटक लाइटम्यान भएका हरि । लाइटको काम गरिरहेका थिए । करेन्ट लाग्यो ।  

वीरहस्पिटल पु¥याइएछ उनलाई । हेरेर डक्टरले भने, ‘हि इज अलरेडी डेड ।’ 

हरिलाई लिएर गएका राजकृष्ण महर्जनले डाक्टरले ‘चेकअप’ नै नगरी मरिसक्यो भनेपछि आफ्नो रिस थाम्न सकेनछन् । ‘हेर्दै नहेरी मर्‍यो भन्छस्’ भन्दै डाक्टरमाथि नै हातपात गरेछन्, हरि सुनाउँछन् ।  

चार दिन हस्पिटल बस्दा हरिलाई भेट्न राजेश हमाल, जल शाहलगायत पुगेका थिए । हरिलाई याद छ, चलचित्र युनिटले आठ हजार रुपैयाँ खर्च दिएको थियो । त्यो रकम उपचार गरेर केही उब्रिएको पनि थियो । ज्यान त बच्यो हरिको, तर अझै पनि कहालीलाग्दो त्यो घटनाका प्रमाण बोकेर हिँडिरहेका छन् उनी । हातको एउटा औंला सोझो हुँदैन । केही खतहरु छन् । तर पनि त्यसले उनलाई केही समयबाहेक रोक्न सकेन । काममा फर्किए । 

शिशिरले किशोर कार्कीलाई भन्दिए, “यो भाइ राम्रो काम गर्छ, तिम्रो टिममा राख ।” किशोरले उनलाई लिए । असिस्टेन्ट क्यामेराम्यानको जिम्मेवारी दिए । तर त्यो मात्रै उनको जिम्मेवारी थिएन । स्पट, लाइटदेखि क्यामेरा असिस्टसम्म उनकै जिम्मा थियो । 

किशोर र शिशिरसँग विज्ञापनको काम गर्न थाले हरि । त्यहीबेला उनले धेरैलाई चिने । धेरैमाझ उनले मेहनतीको छवि बनाए । धेरैसँग काम पनि गरे । 

धीरजजङ्ग शाहले उनलाई भने, “तिमी स्पट, लाइट, क्यामेरा असिस्ट सबै काम गर्छौ, तिम्रै कारणले सबैको काम सजिलो भइरहेको छ । पारिश्रमिक बढाऊ ।”

पाँच सय रुपैयाँ पाइरहेका उनले ३५ सय रुपैयाँ पाए । छ दिन काम गरेको पैसा एकैदिन आउन थाल्यो । 

पैसा त हरिले बढाए । तर केही महिना उनलाई धीरजले बाहेक कसैले काम दिएन । धीरजले महिनामा चार–पाँचवटा विज्ञापनको काम लिन्थे । त्यसमा हरिलाई लिन्थे । त्यसबाटै उनको खर्च चलिरहेको थियो । 

चार महिनापछि हरिलाई सबैले बोलाउन थाले । दिनको ३५ सयमा हरि काम गर्न थाले । पाँच सयमा काम गर्ने हरिले दिनकै ३५ सय रुपैयाँ कमाउन थाले । 

दुई वर्षपछि सिमोस सुनुवारसँग भेट भयो । उनीसँगै काम गरे हरिले । रियाज म्युजिकले भिडियो बनाउँथ्यो, त्यसको प्रोडक्सनको हरिले हेरिदिन्थे । 

त्यही समय चलचित्र ‘मिसन पैसा’मा सिमोसले काम गर्ने भए । उनले हरिलाई असिस्टेन्ट क्यामेराम्यान र प्रोडक्सनको जिम्मा दिए । पुनः चलचित्रमा फर्किए हरि । रोशन श्रेष्ठ क्यामेराम्यान थिए । पहिलो सेड्युल सकिएपछि उनी बाहिरिए । सिमोसले हरिलाई भने, “तेरो लाइट राम्रो छ । फोकस आउटबाहेक जे खिच्छस् खिच्, म लिन्छु  रिस्क । नभन्दै चलचित्र राम्रै भयो ।”

सिमोस त्यो बेला चलचित्रमात्रै होइन म्युजिक भिडियो र विज्ञापन पनि धेरै नै बनाउँथे । उनले हरिलाई छोडेनन् । एकवर्ष उनीसँगै काम गरे हरिले । 

‘भुल भए माफ गर’, ‘युगदेखि युगसम्म’, ‘फस्ट लभ’, ‘होस्टल’, ‘होस्टल रिटन्र्स’, ‘डन्डिबियो’, ‘छ माया छपक्कै’ लगायत दुई दर्जन चलचित्र उनले खिचे । 

शिशिर, सिमोस र आशिफ शाहसँग उनले लगातार काम गरे । हरिले सुरुसुरुमा आशिफको केही म्युजिक भिडियो खिच्ने क्रममा बिगारे पनि । तर उनले मेहनती र इमानदार छ, काम गर्दा बिग्रिहाल्छ नि भनेर एक्सक्युज गरे । त्यो गुन हरिले अहिलेसम्म भुलेका छैनन् । 

कोसँग काम गर्ने र कोसँग नगर्ने भन्दाभन्दै टिम आफैं बन्न थाल्यो । चाहे चलचित्रमा होस् या म्युजिक भिडियो अथवा विज्ञापनमा होस् । 

० ० ०

विज्ञापन बनाइरहेको टिमले निर्णय गर्‍यो, चलचित्र निर्माण गर्ने । चलचित्रको कथादेखि कलाकारसम्म तय भयो । जब चलचित्र फ्लोरमा जाने बेला भयो, त्यहीबेला विज्ञापनको फ्लो बढ्यो । प्रवीण मानन्धरले निर्देशन गर्ने भए । तर पछि उनले भने, “म तिमीहरुलाई साथ दिन्छु, तर निर्देशन गर्दिनँ ।”

छेतेन गुरुङलाई पनि प्रस्ताव गरे । अरु पनि केहीलाई भेटे । कोही चाहेर पनि काम गर्न नसक्ने, कोही नगर्ने । 

कसलाई निर्देशन गराउने ?

स्क्रिप्टमा नबसेको निर्देशकलाई कथाको अन्तर्वस्तु थाहा हुँदैन । एक्सन र कट भन्न मात्रै निर्देशक भित्राउनुभन्दा हरि नै निर्देशन गर, उनको समूहले भन्यो । हरिले नाइँ भन्न सकेनन् । र, चलचित्र ‘सरौंतो’ तयार भयो । 

अहिले नेपाली बजारमा निर्माण भइरहेका करिब ८० प्रतिशत विज्ञापन हरिले नै खिचेका छन् । चाहे नेपाली ब्रान्ड होस् वा मल्टिनेसनल कम्पनीको डबिङ विज्ञापन होस् । 

एसियन पेन्ट्स, मनीषा कोइरालाले खेलेको एनआईसी एसिया बैङ्कको विज्ञापन, बर्जर पेन्टस्, अनमोल केसीले खेलेको स्प्राइट, डाबर, हर्बलका विज्ञापन, महिन्द्रा रोडिज होस् अथवा हुन्डाइको नेपालको कपी विज्ञापन हरिले नै खिचेका हुन् । 

बुवाले छोराहरुले दुःख पाउलान् भनेर जोडिदएको जग्गामा उनले आँखा लगाएनन् । आफैं कमाए । चलचित्र, म्युजिक भिडियो र विज्ञापनमा काम गरेर उनले काठमाडौंमा घर जोडे, गाडी किने । एउटा चलचित्र तयार पार्नका लागि आवश्यक सम्पूर्ण इकुपमेन्ट अहिले हरिसँग छ । चलचित्र, म्युजिक भिडियो र विज्ञापनमा प्राविधिकको काम गरेर घर गाडी जोड्ने सम्भवतः एक मात्रै प्राविधिक हुन् हरि ।

हिरो–हिरोइनलाई एक झलक हेर्ने रहरले चलचित्र युनिटमा भाँडा माझ्ने काममा छिरेका हरि आज उनीहरुकै चलचित्र खिच्ने भए । चलचित्र खिच्ने मात्रै पनि होइन, उनीहरुलाई आफ्नो चलचित्रमा अभिनय गराउने समेत भए ।  

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६  ०९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC